Dipen Tamang – MMS Ma Gandhi

दिपेन तामाङ – एम एम एसमा गान्धी

अमेरिकन पपुलरिष्ट
वेब साइटमा
अहिंसाका गान्धीका
धोती पुत्काउन तम्सिएका
महाभारतको कौरबलाई
म अर्जुनको के वास्ता ?
म कृष्णको के वास्ता ?

मस्तिष्क र
कमप्यूटरको इच्छाले
बुद्धिजमको बुद्ध
हिमाली शंकरको
बाघ छालालाई
एम एम एसको
विश्व बजारमा
स्वात्तै सुर्काईँदैछ।

हेर !
बुद्धिको
अहमको र
प्रतीक एडभान्सको
बिम्ब …
कुहिनु जुर्मुरिराको
नालीको आलु जस्तै।

देख्नु हुँदैछ ?
स्तम्भ युगको
आधारशिला राष्ट्रियताको
‘महान’ – हरूलाई
‘हरूको’- व्यक्तित्वलाई
‘व्यक्तिको’- अस्तित्वलाई
फ्री कन्सेसनमा
ब्लुतुथको सहारामा
अतृप्त रूपरङ्ग बनाई
अदृश्यको पछिपट्टि
फ्लास् दिँदैछ।

दार्जिलिङ

Dipen Tamang – Timi Bina

दिपेन तामाङ – तिमीबिना

अब त
बाँच्नै गाह्रो भएछ
तिमीबिना..!

आधुनिकीकरण तिम्रो रूप
बोली र चालले आफै
उठ्न-बस्न नसक्ने भएछु ।

त्यसैले
जिन्सको खल्तीमा
दङ्ग-दङ्ग गन्हाउने
तिम्रा ग्यालरी पेटका
पिक्चर-भिडियो र
एम.पी. थ्रीको सर्वस्व यातना बोकेर
बजार
गाउँ-बस्ती फनफनी घुमाउँदैछु।

हिजाज
नझस्काएसम्म, नब्यूँझाएसम्म
वीणमा लाठिएको साँप भाको छु
सातो हराएको मान्छे भाको छु।

सङ्घर्षमा
थोत्रे पत्र लेखनलाई पराजित गरि आएको तिमीलाई
बहभरिका
कानका जाली फुट्ने गरी
रातभर-दिनभर
सुनाएको प्रेमका कथाहरू
बिर्सन सक्छु कसरी !

तिम्रो आगमनले
जीवन परिधिभित्र
नपुंसकताको क्लिनिकमा
सय प्रतिशत ग्यारण्टीको साथ
हर्बलको काम गरेको छ।

अपरिचित सुन्दरीहरू
तिम्रो फ्री सिमकार्डको
म्यासेज् र बोली प्रवाहको भेलसँगै
बगेर आउँदैछन् कोठाभरि ! सडकभरि !!

अवसरवादी / सुविस्तावादी
भुक्तभोगीहरू
तिमी जस्तैहरूले गर्दा
नपुंसकताको सिँढी उक्लेर
यौन क्रीडामा डुबुल्की मार्दैछन्।

र ………त
डर छ मनभरि
कतै
हरण गरि लान्छन् कि तिमीलाई
अपरिचित बन्द कोठामा।

अनि…… त
तिम्रो पिक्सेल आँखाअघि
द्रौपतिहरू
बार नतर्कि जस्तै भएर
मिम्रो अङ्ग प्रत्यङ्गमा
औँला नचाई दिन्छन् कि !

दार्जिलिङ

Dipen Tamang – Mero Gaun Lai sodha

दिपेन तामाङ – मेरो गाउँलाई सोध

जिजीविषा प्रत्येक मान्छेको
लटरम्म तर नपाकेका फल र
फक्रन आतुरिएका फूलका कोपिला जस्तै
अपत्यारिलो जीवन चक्रमा
बाँच्नुछ, हुर्कनुछ त्यस्तै फक्रनु
व्यंग्यात्मक हाँसो
अवहेलित दृष्टिको घेराभित्रबाट
आत्मग्लानि, अभिशाप, दुर्भाग्यको कथा
मेरो गाउँलाई सोध

हेलचेक्राई, शोषित, दमित इच्छाहरू
एउटै रूखमा जीवन नबुझी तुर्लुङ्ग झुण्डिएका
भकटे, सुन्तला त्यस्तै डल्ले खोर्सानी
स्वशाषित, स्वतन्त्र, स्वअस्तित्वमा बाँच्ने आकांक्षा
भकटेभित्रको सन्तान भकटेको
सुन्तलाभित्रको सन्तान सुन्तलाको
खोर्सानीभित्रको सन्तान खोर्सानीको
धप्प छात्ती फुकाएर जिउन अघि
चिथोरिएर, निमोटिएर विवश बनेको कथा
मेरो गाउँलाई सोध

नभएको कसलाई छ ?
स्वतन्त्र बाँच्ने-बनाउने रहर
छुट्टै पहिचान जीवनको
छुट्टै मूल्य जीवनको
छुट्टै अस्तित्व जीवनको
यहाँ तर…
मानवता दानवताको घेराभित्र
केस्रा-केस्राभित्र
रस-रसभित्र
निर्धक्क आडम्बरको घुम्टो ओढेर
आफ्नै जीवनको मूल्यहीनतामा
फुस्रो हाँसो
पाइरियाको ङिच्च दाँत देखाएर
पल-पल ती
स्वशाषित, स्वअस्तित्व चाहनेहरूमाथि
जमाएका प्रभूत्त्वको कथा
मेरो गाउँलाई सोध

कठयाङ्ग्रिने जाडोलाई आफ्नै ठान्नेहरू
निर्धो, विदेशी कहलाइएका कथा
‘स्व’ भावना पटक-पटक लुटिइएका कथा
‘गाँस’ शिक्षाको गाईले खाएर
भूँडीभित्र पचाउन नसकेर
सुस्तरी-सुस्तरी भूँईमा तेर्सिएका कथा
मेरो गाउँलाई सोध !
आफ्नै गाउँलाई सोध !!

-दार्जिलिङ

Dipen Tamang – Bhasha Ani Hami

दिपेन तामाङ – भाषा अनि हामी

भाषा हो सभ्यता हाम्रो
नारा गुञ्जिन्दैछ
चेपचापका बन्द
साहित्यिक कोठेबारीमा….फोस्रा सब्दहरूमा।

त्यो बुँई चढेर आउन खोज्दैछ
भर्खर जन्मिएको अबोध शिशुको मस्तिष्कभरी
तर एड्भान्सको लेप लाएर
फेसनको रङ्गमञ्चमा उत्रिएका हामी
काउकुती मानेर थेचार्दैछौँ त्यसलाई।

शब्दले मुख फड्काल्न थालेकोदेखि हामी
शब्दमै हुर्कियौँ, बड्यॉँ र हुर्कियौँ
अब हामी स्वको धुरीमा घोडा चढेका छौँ
र जन्मबोधको ऋण फर्काउँदैछौँ यसरी
ख ! म त केही पनि जाँदिन नि ।

आर यू नेपाली ?
कम्प्युटरको च्याटस्क्रीनमा
शब्दहरू विदेशी झल्किन्दै छ
या आइ एम नेपाली
तर भन्दैछ यता हामी विदेशी।

यहाँ हेर्नु होस् त शब्दको अर्थ
अझै
आइ एम अल्सो नेपालीको भेल बग्दैछ
बट् आइ कान्ट् राइट एण्ड् स्पीक इन् नेपालीको समुन्द्रमा।

आमाले आज
मम्मी, ड्याडीको शब्द घोकाउनलाई
फकाउँदै स्तन चुसाउँछे
हातमा भविष्यको वेस्वादिलो मीठाई पाएर
उफ्री उफ्री फलाक्छ त्यो दुधे बालक।

युवा भन्नु कि युवती भन्नु ?
भाषाको सभ्यताले त होला
हाफ् प्यान्ट् भन्नु कि मिनि हाफप्यान्ट भन्नु
सुसंस्कृतको नारा लाउँदैछ त।

साइनबोर्डमा अनूवादित जस्ताको तस्तै शब्दहरू
उ..प..र.को देशमा
गल्ली गल्ली
दोकान अनि होटेलको ढोकामाथि उभिएर
वान्ता गर्नलाई घोप्टो परिगहेका छन्।
आज फेरि त्यो
अस्तित्त्वको मुखेञ्जीमा बरफ झैँ जाम्मिन्दैछ
तर पनि जुलुस थर्काउँदैछ अस्तित्त्वको
अस्तित्त्व!
अस्तित्त्व !
अस्तित्त्व!
कसको हो यो अस्तित्त्व ?
‘स्व’ को
‘स्व’ को हो हँ ?
एक्लो म ? प्रतिनिधित्त्व गर्ने जाति ? फेर भाषा ?
उफ् !
झाँक्रीहरू त सर्टिफिकेट बोकेर घुमन्ते भइरहेका छन्
एक गिलास फिक्का चियामा
कसरी जोखाना खुट्याउन मान्थ्यो र !

कथा सुनाऊँ ?
त्यो आदिम युगको
जहाँ, जोहरू बिना भाषा सभ्य थियो कि !
तर फरक यति छ भनौँ
उनीहरू सोँच्दथे भाषापछिको जीवन कस्तो होला
हामी सौँच्दछौँ बिना भाषाको संसार कस्तो होला !

अतः
भाषाको रथ यात्रामा गुढेर
आदिम मान्छे हामीकहाँ आइपुग्दा
फेरि विस्तारै भाषा मर्दै जान्छ
हामी आदिम युगको
त्यो नाङ्गो मान्छे बन्दै जान्छौँ।

दार्जिलिङ

(२० अगस्तलाई भारतीय नेपाली भाषा मान्यता दिवसको रूपमा मनाइन्छ । आजको प्रविधिकीकरणको जमानामा भाषामाथिको हाम्रो दृष्टिकोणलाई कविले उतार्ने प्रयास गरेकाछन् । सं.)