Bidhya Prasad Ghimire – Bhari Bhari Prem Ghada

विद्याप्रसाद घिमिरे – भरि–भरि प्रेम–घडा

भरि–भरि प्रेम–घडा दिएकै त छु नि !
बदलामा विष–प्याला पिएकै त छु नि !

सुन्दर मेरा हिजोहरू उसकै नाममा थिए
अधुरो यो बाँकी जीवन उसैलाई नै दिएँ
निष्ठूरी त्यो बैगुनीलाई नपाए के भो र
निर्मोहीलाई सर्वस्व सुम्पिएकै त छु नि !
बदलामा विष–प्याला पिएकै त छु नि !

सके जति सहेँ पीडा धेरै बाँचिसकेँ
जति हाँस्नु जिन्दगीमा सबै हाँसिसकेँ
छाडिदेऊ भो साथ मेरा सारा खुसीहरू
सपना ठानी जिन्दगी यो जिएकै त छु नि !
बदलामा विष–प्याला पिएकै त छु नि !

भरि–भरि प्रेम–घडा दिएकै त छु नि !
बदलामा विष–प्याला पिएकै त छु नि !

Bidhya Prasad Ghimire – Annapurna, Gurans Ra Sagarmatha

विद्याप्रसाद घिमिरे – अन्नपूर्ण, गुराँस र सगरमाथा

सगरमाथा हेरेँ—गर्व गरेँ
लालीगुराँस हुर्काएँ—गौरव गरेँ
आँखामा अन्नपूर्ण राखेँ— शिर उठाएँ ।

मेरो सगरमाथाको शान
आज बस्तीबस्तीमा पग्लिएको देख्दैछु ।
गुराँसको लाली धुवाँमा उडेको हेर्दैछु ।
अनि, अन्नपूर्णको अस्मिता
चूर्णचूर्ण र खण्डित हुँदै गएको महसुस गर्दैछु ।

लुम्बिनी—बागमा हुर्किएका
एक जोडी सेता परेवा
आज, बीच बजारमा
लिलाम भइरहेछ,
खुल्लमखुल्ला मोलतोल भइरहेछ ।

अनि म र महरू
लाचारी, बाध्यता र विवशता बाँचिरहेका छौं ।

म आँखामा लगाउँछु—
घट्दै गएको कोसी
ध्यानमा राख्छु —
छोटिँदै गएको महाकाली
र, कानमा राख्छु—
आवाज हराएको नारायणी र सुस्ता ।

हिजोको
सूर्य, चन्द्र, तारा
आज पनि उस्तै छ ।
तर, चौडा छाती खोलेर हाँस्ने आकास
खण्डित छ, दण्डित छ ।
स्वच्छन्दतामा नाच्ने धर्ती
रातो धुवाँ र कालो रगत बाँच्दैछ ।

वर्तमानमा सुदूर चिच्याउँछ र भन्छ—
दासत्व–उन्मुक्ति नारामा
समेटिएको तिम्रो भूगोल—
कतै अर्काको दास हुने त होइनं
सासविनाको लाश बन्ने त होइनं
कतै, दुनियाँको उपहास बन्ने त होइन ।

Bidhya Prasad Ghimire – Sharadagaman

विद्याप्रसाद घिमिरे – शरदागमन

आयो फेरि शरद् रहरको उन्माद लिई साथमा
हिलो मैलो हट्यो सबतिर न मेघ नै आकासमा ।
हरित कुञ्ज दिन दिन गरि वर्ण फेर्दैछ स्वर्णको
चुलिएका शिखरहरू छन् दृष्टान्त अन्नपूर्णको ।।

लेक—बेँसी चहचह झुल्यो नानाथरिका पिङभैंm
सयपत्री र मखमली पूmल फक्रिदियो रङ्गिन भै ।
बर्षा गयो झलमल भयो दसैँ–तिहार बस्तीमा
वायुभित्र चिसोपन बढ्यो नाच्छ उमङ्ग मस्तीमा ।।

स्वच्छ जल कलकल बग्यो बज्यो मृदङ्ग गुञ्जन
वनबुट्यान हाँगा–पातमा ताण्डव नृत्य मञ्चन ।
पूर्ण यौवना उन्मुक्त जूनले हेरिरहन्छे रातमा
यही यामका किन्नरीहरू लजाउँछन् हर बातमा ।।

Bidhya Prasad Ghimire – Nishthurilai Afno Thaani Prit Laaye Pachhi (Nepali Gajal)

विद्याप्रसाद घिमिरे – निष्ठुरीलाई आफ्नो ठानी प्रित लाएपछि (गजल)

निष्ठुरीलाई आफ्नो ठानी प्रित लाएपछि
सस्तो बन्न थालेँ मित्र धोका पाएपछि ।

दिन–रात, हाँसो–खुसी उस्तैउस्तै लाग्छ
यस्तै हुने रै’छ साथी होश हराएपछि ।

कहिले छट्पटिन्छु कहिले मुर्छा परी रून्छु
मुर्दा सरी हुन्छु उनको याद आएपछि ।

मिल्नु–छुट्नु, हाँस्नु–रूनु जिन्दगीको खेल
नाङ्गिएछु यस्तै खेलमा सब गुमाएपछि ।

यही प्याला रह्यो साथ यस्मै रम्छु अब
आपैmलाई बिर्सिन्छु म यो रित्याएपछि ।

जीवन भन्नु गुम्नु अनि गुमाउनु नै रै’छ
मान्छे बन्न खोजिरा’छु सब लुटाएपछि ।

निष्ठुरीलाई आफ्नो ठानी प्रित लाएपछि ।
सस्तो बन्न थालेँ मित्र धोका पाएपछि ।