बसन्त “विवश”आचार्य – गीतको बन्दुक
सुस्ता र कालापानीको आँसुले
कुलेखानी भरेर
मलाई उज्यालो बनाउन नखोज
जून पहेलिएर सुन बन्न सक्तैन
समयले बुढ्यौली ओढाएको पल
म अँध्यारो जिन्दगी बाच्नँ चाहन्छु
बोकेर गीतको बन्दुक
दौडिरहेका छन् सहस्र परेवाहरु
बुद्ध खोज्नलाई
हटाउन कालो साम्राज्य
लास जलाई रहेका छन्
अनि,
मुर्दा डढाएर न्यानो तापिरहेका छन् उनीहरु
अहँ
यो भूमिगत उज्यालोभित्र
म सपनाको रथ हाँक्न सक्तैन
सीमापारिका भाकाहरुमा
म क्लिीयोपेट्रा बनेर नाच्न पनि सक्तैन
फेरि पनि
सिसिफसहरु
लामबद्ध छन्
उठाउन परिवर्तनको ढुङ्गा
र, आईन्स्टाईनहरु
एटम विछ्याईरहेका छन् छातिभरिभरि
स्याउफूलजस्तै
लटरम्मै फुल्छन्
छातिभरि फुलमायाहरु
डोको ,डोकोमा राखेर
युक्लिप्टसका रुखहरुझैँ
नङ्गाईन्छन् , बेचिन्छन्
सडक ,मेला अनि पर्वहरुमा उनीहरु
बचेरालाई चारा खोज्न
मिर्मिरे पछ्याउदै हिडेकाहरु
गोधुली भेट्नै पाउदैनन्
यो पल
म कसरी
इन्द्रेनी सपनाको बाँसुरी बजाउन सक्छु ?
आफ्नै घरमा सलाई कोरेर
पराईको गुहार गर्नेहरुलाई
मुटु टुक्राएर
जीवन खोज्नेहरुलाई
दशरथ र बलभद्रका सपनाहरु
सुस्ताइरहेका छन् रगतको शयनकक्षमा
कुहिरोको घुम्टोबाट उन्मुक्त भएर
अहँ अझै आकाश उघ्रेको छैन
रगतले नुहाएको माटो
भिजेको भिज्यै छ अझै पूर्ववत्
पीडाको सिस्नेघारी
फैलिरहेकै छ पूर्ववत्
के अब त्यो घाम लाग्न सक्तैन
जसले,
माटो कहिल्यै रगतले नभिजोस्
थाहा छ मलाई
कुपोषणग्रस्त मष्तिस्कहरु
कहिल्यै सुन्दर माटो सोच्दैनन्,
कहिल्यै ममतामयी आमा सोच्दैनन्
थाहा छ मलाई
फूलको मेरो नियतिलाई
पाईला र चुम्वनका डोव छोडेर निमोठ्नेहरु
क्रसमा चढ्ने जिसस अनि
हेमलक पिउने सोक्रेट्स बनिरहन सक्तैन
काडाँ पनि बन्न सक्छु
ढुङ्गा पनि बन्न सक्छु
चट्टान पनि बन्न सक्छु
सुस्ता र कालापानीको आँसुले
कुलेखानी भरेर
मलाई उज्यालो बनाउन नखोज
जून पहेलिएर सुन बन्न सक्तैन
समयले वुढ्यौली ओढाएको पल
म अँध्यारो जिन्दगी बाच्नँ चाहन्छु
दाङ