Banshi Shrestha – Akash Ka Raajhans Haru

वंशी श्रेष्ठ – आकाशका राजहाँसहरु
(मधुपर्क साउन, २०६७)

समस्त प्राणीहरू आकाशमै उत्पन्न हुन्छन्
आकाशमै विलीन हुन्छन् ।
माथि, हामीमाथि, हिमशिखरमाथि
एक बथान राजहाँसहरू उड्दै आइरहेछन्
थाहा छैन, कुन अज्ञात प्रदेशबाट आए
अनि कुन अन-आविष्कारित प्रदेशमा जाँदैछन्
स्वच्छ-श्वेत-सुन्दर राजहाँसहरू
विशाल-निर्मल-नीलो आकाशमा
उड्दै आइरहेछन्-उड्दै गइरहेछन् ।
हामी सृष्टिका सर्वोत्तम सचेत प्राणीहरू
आफ्नै ज्ञान-गङ्गाका लहरमा पौडिरहन्छौँ
अनि अहंका आवरणले विक्षेपका बन्दी भएर
परा अनि अपराबीचको क्षितिजमा यात्रा गर्छौं
किन्तु हामी न त आकाशमा उन्मुक्त उड्नसक्छौं
न धराका वन-कुञ्जहरूमा अनाशक्त नाच्नसक्छौं
श्रृष्टिका सर्वोत्तम सौन्दर्यमयी हामी
शब्द र वाक्यका भारले
द्वैत अनि अद्वैतका सीमान्त-रेखाबाट
आकाशका राजहाँसहरू हेरिरहन्छौं ।
यी राजहाँसका उडानसँगै
निर्मल-निश्छल विचारका
व्यापक तर गहनतम् यो अन्तर्मन
पार्थिव-संसारको गुरुत्व-आकर्षणको सीमापार
दिन-रातका रेखापार
धर्महरूका व्याख्यापार
उज्वल आकाशबीच उड्छ
‘आकाशस्य न भेदोऽस्ति
अनि यात्रा गर्न चाहन्छ
नाम मात्र ज्ञान भएको
तर अन-आविष्कारित प्रदेशतिर
जहाँ प्रज्वलित सूर्यको उष्ण ताप छैन
अनि चतुर्दिक चकमन्न चन्द्रको शीतल किरण छैन
यात्राको त्यस दिग-दिगान्त प्रदेशबाट
फर्केका यात्री कहिल्यै भेटिएनन् यस धरामा
अथवा भनौँ-यात्रीहरू र्फकन्नन् यस धरामा फेरि ।
आकाशः तल्लिङ्गात ।

१. छान्दोग्योपनिषद् १।९।१
२. अनन्त आकाशमा भेद-विभेद छैन । माण्डूक्योपनिषद् -६ आकाश ब्रहृम स्वरुप हो, ब्रहृमसूत्र १।१।२२