अमर नेम्बाङ लिम्बू – मन
आज म मात्र कोठामा सुतिरहेँ,
केवल मेरो मनमात्र
घुम्नगयो बाहिर ।
कुनै वेला मेरो मनले
बाहिर एउटा अग्लो रुखमा बसेर
चियाइरहेको हुन्छ संसार।
कुनै वेला मेरो मनले
बुर्कुसी मार्दै चुम्नपुग्छ
टाढा एकार्कामा अडेस लागेर
उभिएका म्लान पहाडहरूलाई ।
तर आज भने यो मन
टुक्रा टुक्रा भएर
उड्दैछ आकाशभरि
टुक्रा टुक्रा भएका कागजहरू जस्तै ।
टुक्रिएका कागजहरू कहिल्यै जोडिंदैनन्
न टुक्रिएका पातहरू नै
जोडिनुसक्छन परस्परमा ।
तर जति मन टुक्रिए पनि ,
जति मन भाँचे पनि ,
जति मन मरे पनि ,
जति मन भौंतारिए पनि ,
जति मनमा पहिरो गए पनि,
आखिर मनले मनलाई
खोजीरहेको हुँदोरहेछ
एकापसमा जोडिनुलाई।
जिउको छायाँ त सबैले देख्छन् ,
तर मनको छायाँ देख्दैनन् कसैले।
छायाँका पनि छायाँ हुन्छन् मनका।
यही छायाँ र उप-छायाँभित्र
एउटा मनले अर्को मनलाई
खोजीरहेको हुँदोरहेछ सधैं।
जिउँदो मान्छेबाट तात्तातै
सञ्चार भएको यो मन
जहाँ उडेर गए पनि,
जहाँ उफ्रेर आकाशमा ठोके पनि,
जहाँ लडेर प्रिथ्वीमा खसे पनि,
आखिर जीवनमा एक न एक दिन
जुन मनले एउटा मनसँग जोडिनुखोज्छ
त्यही मनसँग जोडिनुपुग्दोरहेछ यो मन ।