मेरो गाउँको नाउँ
गैरी गाउँ
यहाँ
सूर्य उदाउँछ
आँगन लिप्न
तर गहिरा छन् अझै रातहरु
यहाँ
चन्द्र उदाउँछ
शीतल पोख्न
तर गहिरा छन् अझै पीडाहरु
यहाँ
श्रमले झुल्छन्
सुन्दर बाला
तर गहिरा छन् अझै भोकहरु
यहाँ
विपना Continue reading “Abhas – Gairi Gaun”
Tag: Sahityakar Abhas Ka Nepali Kavita Haru
Abhas – Godhuli Ma Hidne Euta Jiundo Manchhe
गोधूलिमा हिँड्ने एउटा जिउँदो मान्छे
संसारलाई फेर्छु भन्थ्यो आफैँ फेरिएछ
मझेरीको अँध्यारोलाई खाल्टो खनी पुर्छु भन्थ्यो
उनी आउने पूर्णिमालाई जुनीभरि कुर्छु भन्थ्यो
अँध्यारोको अङ्गालोमा आफैँ बेरिएछ
संसारलाई फेर्छु भन्थ्यो आफैँ फेरिएछ
मौसम साह्रै उजाडियो पालुवा झैँ झुल्छु भन्थ्यो
मेरो जन्म मेरो होइन अरु निम्ति फुल्छु भन्थ्यो
पुरानो त्यो हिसाब-किताब सबै केरिएछ
संसारलाई फेर्छु भन्थ्यो आफैँ फेरिएछ
Abhas – Pratistha
जाडोमा ओढ्न नमिल्ने
भोकमा खान नमिल्ने
आफैँले काँधमा बोकेको
एउटा कुकुर
न यसले शिकार खेल्ने
न यसलाई छोड्नै मिल्ने ।
Abhas – Lek Ka Hami Keta Keti
लेकका हामी केटाकेटी, कुहिरो भित्र स्कूल छ
चौरीलाई चराउँदै दिन बित्छ, पढ्नु र लेख्नु मुस्किल छ
हिउँमा कोरेको अक्षर त, एकछिनमा बिलाई जाइजान्छ
दिनभरि हेर्नु छ गाईबस्तु, नहेरे भालुले खाइजान्छ
Abhas – Bansuri Badika
म मेरो बाँसुरी फुकेर
देह शान्त पारिरहिछु
मेरो बाँसुरीको स्वरसँगै सुरेली खेलेर
मलाई मन पर्ने मेरो गीत
मेरो ओठसम्म चुम्न आइरहेछ
म मेरो बाँसुरी फुकेर
दुःख र पीर पोखिरहिछु
मेरो बाँसुरीको गुञ्जनसँगै चिप्लेटी खेलेर
मेरो खुसी
मेरो ओठसम्म चुम्न आइरहेछ
म मेरो बाँसुरी फुकेर
पर्खाल लगलग कँपाइरहिछु
मेरो बाँसुरीको स्वरसँगै पीङ् खेलेर
एउटा नवजवान योद्धा
मतिर आइरहेछ
ऊ मेरो ओठ चुम्नभन्दा
पर्खाल चिरा चिरा पार्न चाहिरहेछ
यसमा म छक्क परेकी छुइन
म जे खोज्दैछु
ऊ त्यही गरिरहेछ
पूरा आकाश प्रतिध्वनित हुने गरी
म मेरो बाँसुरी फुकेर
देह शान्त पारिरहिछु ।
Abhas – Rajdhani
यो काँशको कचौरा
भोड्का र उर्वशीले टन्न छ
यसलाई रित्याउन
प्रत्येक साँझ
कोही
मासङ्गल्ली छिर्छन् र आफैंलाई
रित्याउन थाल्छन्
कोही
बागबजार पस्छन् र आफैंलाई
खोज्न थाल्छन्
यो काँशको कचौरा
भोड्का र उर्वशीले टन्न छ
बासी रोटी र बासी सपनाले टन्न छ
यसलाई
प्रवाहित गर्न र निम्त्याउन
साजी घामलाई
यहाँ कुनै मञ्जुश्रीले
अझै
फुलचोकीबाट
या कतै उचाइबाट
तरवार उज्याएको छैन
अझै
कुनै बुद्धले
स्वयंभूबाट
या कतै अग्लाइबाट
शंखनाद गरेको छैन ।
Abhas – Ekantama
एकान्तमा
पनीको तप् तप् बज्छ
र गुनगुनाउन थाल्छ
पिपलको पात
एकान्तमा
शीत झर्छ
र फक्रनथाल्छ
सयपत्री फूल
एकान्तमा
ककुर भुक्छ
र थुमथुम्याउन थाल्छे दमयन्ती
चलमलाउदै गरेको
नवजात शिशु
एकान्तमा
कविता जन्मन्छ
र अङ्कित गर्छ
यी सबै दृश्यलाई आफूमा
एकान्तमा
गोली चल्छ
र हुन्छ हत्या कविताको ।
Abhas – Roti
यो कुनै प्रतिष्ठित बिम्व होइन
जसलाई
न घाम झैँ कवितामा सजाउँन पाउँ
न जून झैँ गीतमा गाउँन पाउँ
यो कुनै गुराँस होइन
यो कुनै पलाँस पनि होइन
न मन्दीर पुज्नै पाउँ
न प्रेमीकाको हातमै थमाउँ ।
Abhas – Aaja Bholi Ko Akanchhya
आजभोलि आकांक्षा
किन यसरी चम्केको
लाग्छ कहिले
फुल भएर फुलूँ
र ढपक्क ढाकूँ प्रिय धरतीलाई
अरु केही नसके
अलिकति सुगन्ध छर्न सकिन्थ्यो
लाग्छ कहिले
आकाश भएर फैलिऊँ
र काखमा लपेटूँ सिङ्गै पृथ्वीलाई
अरु केही नसके
अलिकति छहारी भर्न सकिन्थ्यो
हैन
आजभोलि आकांक्षा
किन यसरी चम्केको
लाग्छ कहिले
आकाश पनि हैन
आगो भएर दन्कूँ
र खर बाले झैं बालिदिऊँ
आफैं भित्रको नामर्दीलाई ।
Abhas – Fewa Mathi Dui Chhayan
[छायाँ १]
ए पोखरा !
तेरी फेवा पोइल गई
नपत्याए
डुङ्गा खियाउने माझीलाई सोध्
डिलमा उभिएर
डुङ्गाको दृश्य हर्ने काजीलाई सोध्
पर्यटक महाशयले
फकाएर
छकाएर
उसलाई आफ्नै धुनमा नचायो
आफ्नै गीतमा हँसायो
तेरी फेवाले
सारङ्गीको धुन पनि भुल्दै गई
माछापुछ्रेले लाएको
गुन पनि भुल्दै गई
ए पोखरा !
तेरी फेवा पोइल गई
आजभोलि किन किन
माछापुछ्रे ऐना हेर्न लाज मान्छे
विन्ध्यवासिनी
परैबाट हाँस्छे
भन्थे–
फेवा त गहिरो खाडल र पानी हो
गण्डकीकी चम्किली आँखाकी नानी हो
अब त ऊ
बाजले हानेको
परेवाको आँखा जस्ती भई
विधवाको विरक्त मनको भाखा जस्ती भई
आखिर पानी हो फेवा
सौन्दर्यकी खानी हो फेवा
ए पोखरा !
ऊ तँ नजिकै त छे
फेरि किन परदेशी झैं भई
र पर्यटक महाशयको क्रीडापात्र भई
केवल क्रीडापात्र
न रुन सकी
न हाँस्न सकी
मात्र–
सुस्केरा हाल्दै वाफ बन्दै गई
ए नामर्द पोखरा !
तँ गुफा पसिस्
ऊ वेसहारा भई
पराईको इच्छा मुताविक रही
ए पोखरा !
तेरी फेवा पोइल गई
[छायाँ २]
पीडाले सुस्केरा हाल्दै
वाफ बन्ने पानी हो यो
यो माथि माथि लहरिँदै उड्छे
र भेट गर्छे शीतल
हिमालसित
फेरि रुँदै रुँदै तल झर्छे
शान्त र कोमल
आँखाकी नानी हो यो
यो तल तल डुब्छे
र भेट गर्छे
गहिराइसित
फेरि सुस्केरा हाल्दै
माथि माथि उड्छे
मानौं;
जीवनका तिक्तता
भोग्दै गरेको माझीको
छायाँ हो फेवा
बहनाले
मन हुँडलिरहेको माझीको
छायाँ हो फेवा ।
Abhas – Bainsh
घोप्टे काँडाबीच फुलेको
एउटा
नाजुक फुल
जसको मनमोहक सुगन्धले
हरेक बैँसालु मन पग्लन्छ
र फुल टिप्ने चटारोमा
पटक पटक दर्फरिन्छ ।
Abhas – Desh : Sapanama
देशले मलाई
आफ्ना सजल आँखाले हेर्दा
मैले सपनामा झैं
उसका आँखामा टाँगिएको
आफ्नो प्रतिविम्ब पाएँ
म मुस्कुराउँदा
ऊ मुस्कुराउँथ्यो
म रुँदा
ऊ रुन्थ्यो
मेरो मन जलेको मैन झैं पग्लन्थ्यो
र म शीत भएर
उसलाई Continue reading “Abhas – Desh : Sapanama”
Abhas – Bidroha Bhayechha Bhitra Bhitrai
अस्तिसम्म यो आरु
विधवा जस्तै
ठिङ्ग उभिएथ्यो बारी छेउमा
मेरो मन हुँडलिएथ्यो घट्ट झैं
निराशाले
एउटा गीत गाइथी
र घाँटीमा भक्कानो पारी गएथ्यो
त्यसको मूच्र्छनाले
अहिले देख्दैछु
त्यसको पनि यौवन चढेछ, एकपटक फेरि
मौलाएछ सायद इच्छा
विद्रोह भएछ भित्रभित्रै
आरु फुलेछ
ऊ, आफ्नो प्रेमी भेट्न
बाहिर टुसाइछ त्यसकी मुना ।
Abhas – Maato Muni Ko Biu
म माटो मुनिको बीउ
भरखरै एउटा कोमल हातबाट रोपिएको छु
खुला आकाश र उज्यालोसित बिछोडिएको छु
सिर्जना गर्न अँध्यारो पनि पिउनु पर्दोरहेछ
म अहिले
धरतीभित्रै
अँध्यारो पिएर बाँचेको छु
यतिबेला
आफ्नो भन्नु–
आफैंभित्रको पीडा छ
मलाई थाहा छ
यही पीडाले
मलाई उमार्न सक्छ
यो पनि थाहा छ
यही पीडाले
मैलाई मार्न सक्छ ।
Abhas – Ichchha
तिम्रो मन
सागर भैदिए
म त्यहाँ पौडने थिएँ
माछाको जुनी बाँच्ने थिएँ
तिमीले स्वीकृति दिइदिए
तिमीभित्रै हराउने थिएँ
र फेरि
बसन्तको खोजीमा
एउटा गीत गाउँने थिएँ ।
Abhas – Mero Hridaya
प्रिय मान्छे !
म तिम्रा सामु सपथ खान्छु
लिएर जाऊ मेरो फुलको हृदय
नचुँड्दै यसको एक पत्र पनि
पर…….
जहाँ तिनीहरु छन्
कामदारहरु
असल कामदारहरु
बनाऊ यसलाई हतियार
प्रिय मान्छे !
लिएर जाऊ यसलाई
मुर्दाहरुको बस्तीभन्दा बाहिर
पर……. टाढा
जहाँसुकै होस्
जिउँदा मान्छेहरुको बस्तीमा
प्रकृतिका सुन्दर काखमा
रोपी देऊ यसलाई
न्यानो माटोमा
शोभायमान पर्वतमाथि
सुन्दर रुख झैं
उभिन सकोस् यो
प्रिय मान्छे !
लिएर जाऊ यसलाई
टाँसेर आफ्नै छातीमा
रोपी देऊ यसलाई
विशाल आकाश मुनी
फैलिएका फाँटहरुमा
हराभरा
रमाउन सकोस् यो
माया देऊ
फुल्छ हृदय
लगाऊ यसलाई सुकर्ममा
बलिया पाखुरीलाई झैं
अझै दृढताका चित्र कोर
हृदय न हो दृढ हुन्छ
सजाऊ यसलाई
असल पुस्तक राखिएका
आलमारी जस्तै
मनको आलमारीमा
तर कतै
मनको आलमारी ढल्न नदेऊ
चोट लाग्ला है
हृदयमा ।
Abhas – Ananta Tirkha
युगौंदेखि
मैले तिमीलाई
पूmलमा खोजेँ
बास्नामा खोजेँ
मिर्मिरेको मधुर किरण
गोधूलिको क्षितिजमा खोजेँ
युगौंदेखि
निशब्द, मौन
मैले
तिम्रैनिम्ति युद्ध लडेँ
आफ्नै रगतको गन्धमा
मैले तिमीलाई खोजेँ
मेरो अनन्त तिर्खा
तिम्रो सुकोमल स्वरुप
शान्त
सौम्य
युगौंदेखि
मैले तिमीलाई
केबल तिमीलाई खोजेँ ।
Abhas – Tuki
म मेरो देहको
रस सुकाएर बल्ने गर्छु
मेरो जलनसँगै तिम्रो खुशी
आँखाका नानी चम्काउने गरी
तिमी सामु आउँछ
र मोहित पार्छ तिमीलाई
म मेरो देहको
रस रित्याएर बल्ने गर्छु
मेरो पीडासँगै
निल्ने गर्छु म
तिम्रो पीडालाई
यतिबेला
दर्दका कुरा छोड
बरु
मेरो देह नसुकाऊ न मान्छे !
मलाई बल्न देऊ ।
Abhas – Ajhai Samjhana Chha Andhyaro Badhariyeko
बाबु, मलाई बिर्सिस् कि कसो ?
अमाहरुको एउटा प्रश्न…….
बिर्सेर पनि
बिर्सि नसक्नु रहेछ आमा !
त्यो क्षण
जब
मेरो मस्तिष्कमा
चिन्ताको बीउ पनि थिएन
जब
पाइलाले माटो छामेकै थिएनन्
त्यस बखत
मलाई एउटा न्यानोले
छोप्ने गथ्र्यो
त्यो न्यानो
अझै सम्झना छ
तिमी
चोलोका तुना खोल्थ्यौ
एउटा सुगन्ध चल्थ्यो
त्यो सुगन्ध पनि
सम्झना छ
जब म
आँगन नाप्न
मुस्किलले सिक्तै थिएँ
मेरो कलिलो मुठीभित्र
एउटा औंला हुने गथ्र्यो
त्यसले छोडेको काउकुती
अझै सम्झना छ
यदाकदा
घाउ हुने गथ्र्यो औंलामा
औंलाको घाउ पनि
सम्झना छ
जब म
दौंतरीसित रम्दै गरेको हुन्थेँ
तिमी
वनका काढाँमा
हात दर्फराउँदै हुन्थ्यौ सायद
फर्कँदा
तिमीले बोकेको पत्करको भारीमाथि
गुराँसका थुँगा हुन्थे
ओठमा गुराँस जस्तै मुस्कान
जब
साँझ पथ्र्यो
तिमी दियो सल्काउँथ्यौ
दियो
तिमीले कसिँगर बढारेझैँ
मझेरीको सबै अँध्यारो बढारिदिन्थ्यो
आमा !
सम्झना छ
दियो र तिम्रो सामिप्य
अझै सम्झना छ ।
Abhas – Tyo Ko Aairahechha
टाउकोमाथि टोपी
र टोपीभित्र मथिँगल
मथिँगलमा
अनेकौं अमूर्त चित्र
र निधारमा
तिनै चित्रका सहीछाप
विलकुल मेरो हुलियासँग मेलखाने
म जस्तै
मतिर
त्यो को आइरहेछ ?
नकमाथि चस्मा
र चस्माभित्र निर्दोष आँखा
आँखामा
अनेकौं अधुरा सपना
र निधारमा
तिनै विफल सपनाका किरमिर रेखा
विलकुल मेरो हुलियासँग मेलखाने
म जस्तै
मतिर
त्यो को आइरहेछ ?
छातीमाथि सुनको सिक्री
र छातीभित्र मुटु पनि
मुटुमा
अनेकौं आगोका झिल्का
र निधारमा
त्यही आगोको राप
विलकुल मेरो हुलियासँग मेलखाने
म जस्तै
मतिर
त्यो को आइरहेछ ?
पृथ्वीमाथि पाइताला
र पाइतालामा
अनेकौं अचकल्टा यात्रा
सधैँ
अर्काको इच्छाको यात्री
एउटा स्वचालित बुँख्याचा
विलकुल मेरो हुलियासँग मेलखाने
म जस्तै
मतिर
त्यो को आइरहेछ ?
भन मित्र
म जस्तै
मतिर
त्यो को आइरहेछ ?