Prabha Niraula – Saasu : Dosro Aama

प्रभा निरौला – सासु : दोश्रो आमा

भन्थ्यो त्यो समाज नानाथरी कुरा, सासुका बयान गरी
दिनहुँ झगडा, घृणा र तिरस्कार, सम्झाउँथ्यो घरि-घरि
कैयौं उदाहरण सुन्नमा आए, कति देखिन्थे पनि
बिहे गर्नै डराउँथे छोरीहरु, त्यस्तै होला कि भनी

सबै सासू एकै हुन्नन् जन हो! हुन्छन् कोहि अति गुणी
अनेक दु:खसुख, संघर्ष सहेकि ति अनुभवकि खानी
जो गर्छिन् हेरचाह बुहारी को, बिरामी पर्दा खेरी
जसको छाती चर्किन्छ उसैगरी, आमाकै चर्के सरी

दिन्छिन् आशिर्वाद हर समयमा, गर्छिन् सधैं कामना
जसको काखमा शिर अडाउँदा, आउँछन् मिठा सपना
जसको हातमा छ उत्तिकै जादु, वचन उत्ति नै मिठो
आमाकै सरह उनको स्पर्शमा, अमृत बन्छ त्यही पिठो

सिकाउँछिन् उनी छोराछोरिलाई, संस्कार र अनुशासन
असल श्रीमान् पाउँछौ यदि भने, उनकै हो देन यो जान
यस्ता महान् आमाको अझै किन, हुन्छन् यहाँ निन्दन ?
दोश्रो आमा हुन् भनी बुहारीहरु हो! गर उनको सम्मान
आमाकै उपदेश मानी जन हो! गर उनको सम्मान