रुपेश राई – उत्तर-आधुनिक सपना र निद्रा
आएन निद्रा रातभरि
छट्पटाइरह्यो उत्तर-आधुनिक सपनाहरू।
फर्लङ्गै छ रात पनि
सपनामा ! कसो मितज्यू गफ सकिएन ?
आईरनीहरू गाउँ पसेर
खासाको रिदम लगाइरहेछन्। अनुप्रासहरू घरैपिछे
अम्बल-डम्ल खेलिरहेछन्। सेलो र सवाई कतै उफ्री रहेछ, सायद।
कति… चिन्तनशील छ दिमाग ! फुर्सदमा पनि कुचुकुचु गरिबस्छ।
थाकेर भुसुक्क निदाउँ भन्छु… उत्तर-आधुनिक सपना र
मबाहेकका कुराहरू आँखा च्याती टुलटुल
हेरिबस्छ विश्वबजारमा।
म ! म ! म ! म !
उँहुँ… पत्यार लाग्दैन, चिम्म गर्छु फेरि
आँखीभौं उघार्दै निद्राहरू फुतु-फुतु निस्कन्छ।
हराउँछु। माथिदेखि तलसम्म
सोचेँर। कालो सेतो हुन्छ यी वर्ण र
पन्नाहरू। श्रीगणेश र इतिश्री जस्तो।
मेरो निद्रा कस्तो होला… यो मान्छे…
यो मान्छेले। के खोजेको हँ ??
तथ्य ?….?….?
रातभरि घुरेर डिप्रेसनले विज्ञानको अविष्कारलाई सल्हा दियो। हजूर अब एउटा औषधी यस्तो बनाउनुहोस् जसको सेवनले सारा मानिस पागल बहोस्। अर्थात् म पागल हुँदा कसैले मलाई पागल नभनोस्।