Ram Prasad Prasain – Delphi Bata Mokshadanta

रामप्रसाद प्रसाईं – डेल्फीबाट मोक्षदन्ता

पक्षपोषण यो,
सपनाहरूको-
हार्दिकताले भरिपूर्ण,
सम्मोहित उद्दातता।

अतीतको चास्नीमा
वर्तमानका बहनाहरूले
भविष्यका लहरहरू
अ/घोषित
प्रतिबन्धित भएपछि
मान्छे कवि हुन्छ
किनकि
कवि सच्चाइ बि/बश
अमान्छे हुन्छ।

वेग-प्रवेग-आवेग
समयको मृतरेखाहरूमा
अग्रगमनको रूद्राक्ष जपिरहून्,
एक हुल, हुटिट्याउंहरू,
किनकि
‘डिमेन्टेड’
ख्याकहरू
अ/श्वेत छलचित्रमा
अ/सफलताका क्षोभहरू।

धर्मशाला-कर्मशाला-यज्ञशाला
समयको पाठकीयता
पाठशाला बेहद प्रकृतिको
मानवताका अग्निहोत्रीहरू
आत्मसम्मानको बस्तिमा
‘निरो-नाद’
श्रवण गरिरहन्छन्/नेछन्।

फिलुङ्गेहरूका सुन्दर फांटहरूमा
मानुषिक मुहारहरू
‘ब्याधाहरू’को
भत्तेरमा,
‘केस नं. ००१’
जप्दै
गुम्बामा-
अधमरो शान्तिका
भत्करू
बनिरहन्छन्,
मोक्षदन्ता

अन्तमा,
डेल्फीबाट आ. वा. आउंछ-
“नो दाइसेल्फ” ।

जुलाई २७, सन् २०१०
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
अबुधाबी श्रमशिविरबाट।

(Sent to Sanjaal Corps via Email)