Raju Syangtan – Euta Daas Ko Ghoshana Patra

राजु स्याङ्तान – एउटा दासको घोषणापत्र

आफ्नै चिहानमाथि चुपचाप निधाइरहेको
यस युगको असली दास हुँ म

कोर्रा लगाएको छैन आज
तर कुटिएको छु आफ्नै हातले
नेल देख्दिनँ खुट्टामा
तर बाँधिएको छु आफ्नै मस्तिष्कले
निधारमा छैन कुनै मूल्यसूची
तर बेचिएको छु प्रत्येक पल

यो तातो पृथ्वीलाई पसिनाले पगालेर
सभ्यताको पहिलो जग बसाउने म
आज हिँडिरहेछु हरेक साँझ बास माग्दै
नङ्ग्राले धर्ती खोस्रिएर सिसमहल बनाउने म
आज मागिरहेछु आफ्नै लास छोप्ने
एक चपरी माटो
युगौंयुगपछि आज
यो सुनसान मसानघाटबाट ब्युँझेर
सोचिरहेछु
मसँग किन छैन
स्वतन्त्रताको एकमुठी सास ?
किन बेचिन्छु पुस्तौँपुस्ता ?

अब जान्छु
मेरा पूर्वजहरुको चिहान खोज्न
मृत्युपर्यन्त पनि साङ्लामै बाँधिएका
करोडौँ कङ्कालहरु जम्मा गरेर सोध्छु-
आखिर कसले बनाएको हो यो संसार ?

आल्पस पहाडमा रोमसँग लड्दालड्दै
हारेर पनि संसार जितेका
स्पार्टाकसका अदम्य छातीका टुक्राहरु
जम्मा गरेर सोध्छु-
कसले जितेको हो दुनियाँ
दास मालिकले कि तिमीले ?

इजिप्टको पिरामिड बनाउन
नाइल नदीबाट ढुङ्गा बोक्दाबोक्दै
रगत सकिएपछि फालिएका
लाखौँ इजिप्टसियनका हाडहरु
उत्खनन् गरेर सोध्छु-
कसले बनाएको पिरामिड ?
बादशाहले कि तिमीले ?

ताजमहलमा
सिङगमर्मरको समाधिस्थल बनाउँदाबनाउँदै
पाउजुको पासोमा जीवन सुम्पेका
हजारौँ निर्दोष कालीगढका हाडहरु
जम्मा गरेर सोध्छु-
कसले बनाएको यो महल
मुगल सम्राटले कि तिमीले ?

ग्रेटवालको पर्खाल बनाउन
पर्वत फोडेर ढुङ्गा निकाल्दानिकाल्दै
प्रत्येक सिँडीमा आफै ढुङ्गा बनेका
लाखौँ दासहरुको अस्थिपञ्जर बटुलेर सोध्छु-
कसले बनाएको यो ग्रेटवाल
महाराजले कि तिमीले ?

आफ्नै खप्परको सिरानी हाली
चुपचाप निधाउन विवश
म यस शताब्दीको इमान्दार दास
पुर्खाको कङ्काल साक्षी राखेर
अब अस्वीकार गर्छु दासत्व
चुडाउँछु अदृश्य जङ्जिरहरु
र लेखिदिन्छु आफ्नै रगतको मसीले
यो गोलो पृथ्वीको निधारमा-
‘यो संसार मेरो हो ।’

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सव २०७१ मा तृतीय स्थानमा परस्कृत कविता

Raju Syangtyan – Remittance

राजु स्याङ्तान – रेमिट्यान्स

आरुको बोटमा झुण्डिरहने
एउटा रक्ताम्य कमिजथियो
हिजो बेलुकी हरायो
कसैले थाहा पाएन
सहिदगेटमा
धुम्धुम्ती टोलाइरहने
एउटा बेनाम शहीद थियो
त्यो पनि हरायो
कसैले वास्तै गरेन
ब्रिफकेसले च्यापेको घाइते झण्डा
मैलो कट्टुसँगै झुण्डिएर
झोक्राइरहन्थ्यो हर साँझ
मन्त्रीज्यूको कौसीमा
त्यो पनि एकाएक हरायो
लागेन कर्फ्यू शहरमा
कालापानीको डिलमा
एकलास मुर्झाइरहने
एउटा जंगेपिलर थियो
त्यो पनि हरायो
गाएन कसैले राष्ट्रियगान
खेतका गराहरूमा
कमिलासँग लाप्पा खेल्दै
नुन पर्खिरहने
एक टुक्रा रोटी थियो
त्यो पनि हरायो
भेला भएन
चौतारीमा कोही पनि
डाँफेको प्वाँख हराउन सक्छ अब
चुलीमा हिउँ हराउन सक्छ अब
राहदानीसँगै
अलिकति देश च्यापेर
प्रत्येक दिन उड्ने विमानसँगै
एक दिन यो संसारबाटै
नेपाल हराउन सक्छ अब
महोदय !
अनि तपार्इं
कुन देशमा बसेर गन्नुहुन्छ
रेमिट्यान्स ?

Raju Syangtan – Ram Bahadur Marga

राजु स्याङ्तान – रामबहादुर मार्ग

जब टेक्छु यो लमतन्न राजमार्ग
टेकेजस्तो लाग्छ
आपाको कुप्रो आङ

४० वसन्तअघि लक्का जवान हुँदा
गिट्टीमा सपनाको अलकत्रा घोलेर
बनाएका थिए रे आपाले यो मार्ग

ऊ त्यो जङ्गलको बीचमा
थोत्रो डोजरको पाटपुर्जासँगै लडिरहेको
पहेंलो टोपी
सायद मेरै आपाको हुनुपर्छ

त्यो पुरानो ट्याक्टरको टायरनेर
आधा डढेको हात्तीछाप चप्पल पनि
मेरै आपाको हुनुपर्छ

ऊ त्यही फ्याँकिएको क्रसरले
चुँडिलग्यो होला
मलाई तातेताते गराउने
आपाको दाहिने हात

हुइँकिन थालेपछि पुलमाथि मोटर
कति हिँडे होलान् तरुनी आमासँगै
पुलमुनिको बाटो
दुई रुपैयाँ भाडा नभएर

हिजो साँझ पिएपछि एक डबका जोस
आपा निस्केछन् राजमार्गमा
कराएछन् जोडजोडले,
‘साला को हो महेन्द्र भनेको ?
यो महेन्द्र राजमार्ग होइन
पूर्व–पश्चिम राजमार्ग पनि होइन
मैले बनाएको हुँ, मैले ’

बिहान ब्युझँदा टोल छिमेक
राजमार्गछेउमा लडिरहेको थियो आपाको लाश
किचिमिची पारेको थियो
वर्षौं भोट हालेको बुढीऔंला पनि

न कुनै मुचुल्का
न कुनै साक्षी
बेवारिस लडिरहेको छ आज
आँगनमा आपाको लाश

म गइरहेछु
मेरो आपालाई भेट्न
यो अमलेखगञ्ज
यो निजगढ
यो महेन्द्र राजमार्ग
पूर्व–पश्चिम राजमार्ग

तर,
तर किन भन्न पाउँदिनँ
रामबहादुर मार्ग ?

Raju Syangtan – Madhesh

राजु स्याङ्तान – मधेश

प्रत्येक वर्ष मेरो बस्तीमा
तूफान बोकेर आउँछ बाढी
बगाएर लान्छ हाम्रा झुपडी र नागरिकता
तर कहिल्यै बगाउँदैन जमिन्दारको खेत

प्रत्येक हिउँदमा
बन्दुक बोकेर आउँछ शीतलहर
उडाएर लान्छ घुर ताप्दै गरेका वृद्ध बाबुजी
तर कहिल्यै लाँदैन हाम्रो दुःख

एकाध वर्ष बिराएर
चुनाव चिन्ह बोकेर आउँछ सरकार
बदलिन्छ
बुढी औंलाको चक्रको रंग
तर कहिल्यै बदलिँदैन जिन्दगी

सुनेका छौं
कतै लेखिँदैछ रे देशको भविष्य
तर
देशभित्र छैनौ रे हामी

छाडिएका छौं आज पनि
त्यही किनारामा
जहाँ युगौंदेखि फरुवा बोकेर
गरिरहेछौं सिमानाको रखवाल

आधारातमा
जंगेपिल्लर सार्न आउनेसँग लड्दा
कति वटा करङ भाँचिए हाम्रा
कति दाजुभाइले गुमाए आफ्नो ज्यान
त्यसको हिसाब छैन तिमीसँग
कति बेटीहरुका इज्जत लुटिए
कति माइहरुका स्तन काटिए
त्यसको पनि अभिलेख छैन तिमीसँग

तिम्रो नजरमा
मात्र दोस्रो दर्जाका नागरिक भयौं हामी
र डाँडापारि लुकेर
प्रत्येक वर्ष पठाइरह्यौ
बाढी
शीतहलर र
विभेद

सरकार !
सेना पठाऊ
बमगोला र बारुद पठाऊ
र पड्काऊ चारवर्षे अबोध बालकको छातीमा
किनकि उसले
भोलि सपना देख्ने त्रास छ
अनि जारी गर तिम्रो एक बण्डल संविधान

तर
तर याद गर
पहरेदारबिना हराउन सक्छ
सिमानाबाट जंगेपिलर

Raju Syangtan – Gumnam Tara Haru

राजु स्याङ्तान – गुमनाम ताराहरु

आज बिहानै फोन गरेर
आदिकवि जुठबहादुर दमैले भन्यो
कति सिउनु– आँशुको धागोले अर्काको मुलुक
अब सिउँछु– उध्रेको आफ्नै देशको नक्सा
अनि पूरा गर्छु
कहिल्यै नसकिएको अभावको महाआख्यान
साथी !
घर फर्कने टिकट पठाइदेउ न

गोलघरमा भेटिएको
महाकवि आइतेसिंह तामाङले भन्यो
च्याङ्बा !
सैलुङ र माभारको डाँडैडाँडा
रोप्नु थियो लुङ्दारका बिरुवाहरु
अनि लेख्नु थियो
स्वतन्त्रताको एउटा महाकाव्य
अब त मर्छु पो होला
यही झ्यालखानामा
सत्ते
गाइमारी खाको हैन
गाई मार्यो (मर्यो) खायो

तोक्माको चुच्चोले
तमोर नदीको किनारमा कविता लेखिहिड्ने
कविशिरोमणी बीरबहादुर लिम्बु
अचानक गएछ ऊँट चराउन
उसले भनेको थियो
लुङ्गा !
अरुणपारिको डाँडापाखामा
रोप्नुछ गुराँसका बिरुवाहरु
मुस्कुराएपछि फूलका पत्रहरु
त्यही पत्रमा लेखेर पूरा गर्नुछ
अधुरो राष्ट्रियगान

सप्तरङ्गी झन्डा बोकी आउनेलाई
पिठ्यूँमा बोकी नदी तारिदिने
स्वरसम्राट पदमबहादुर माझीको
त्यही झन्डा बोक्नेले काटिदिएछ जिब्रो
उसले भनेको थियो
एकदिन सगरमाथाको टुप्पोमा गई
सुनाउछु सबै सबैलाई
आजादीको नयाँ गीत

कर्नाली पारिको छाउपडि गोठबाट
बेपत्ता भएकी स्वरसाम्राज्ञी लक्ष्मी बुढा
अचानक मृत फेला परिन्
समुन्द्र किनारमा
उनले भनेकी थिइन्
यो हिउँदमा पठेङ्ग्रीले पाठो पाई भने
रिडियो नेपालमा गीत गाउन आउँछु

देशको नामै नभएको नागरिकता सहित
कालापानीमा मारियो
राष्ट्रकवि नथ्थुराम चमार
उसले अदालत बाहिर भनेको थियो
अब जीवन भन्दा गह्रौं एउटा कविता लेख्छु
अनि प्रमाणित गरी देखाउँछु
को हो यो देशको असली नागरिक

यसरी
बिलाइरहेछन् यो धर्तीका कैयौँ ताराहरु
को हो यो
किताबको पानामा सदाबहार बाँचिरहने मान्छे ?
अनि कस्को हो यो
इतिहासको मूलसडकमा
बाटो छेकी बसेको शालिक ?

Raju Syangtan – Sawari Chha

राजु स्याङ्तान – सवारी

वडा अध्यक्षको निर्दयी डोजरले
आँगनको चिउरी उखेलेपछि
गुहार माग्न सिंहदरबार खोज्दै हिँडेको
धनबहादुर चेपाङलाई
बबरमहलको खुला रोडमा
प्रहरीले धकेल्दै भन्यो–
‘सवारी छ’

६ वर्षीया छोरीको
बलात्कार र हत्यापछि
रक्ताम्य जामा र पुतली
सबुतका लागि झोलामा बोकेर
न्याय खोज्दै काठमाडौँ आइपुगेका
नेत्रबहादुर परियारलाई
कलंकीको आकाशे पुलैपुल
प्रहरीले लखेट्दै भन्यो–
‘सवारी छ’

पोहोर दाइजो नल्याएको निउमा
जिउँदै जलाएर मार्यो धनीरामकी बेटी
यसपालि विदेशबाट
बाकसमा आयो धनीरामकै बेटा
त्यही बाकस माथि टाउको ठोकेर
रोइरहेका धनीराम मुसहरलाई
विमानस्थलबाट लखेट्दै प्रहरीले भन्यो–
‘सवारी छ’

समुद्रपारीको अनाम सहरबाट
बुर्काभित्र गर्भ बोकेर
मानसिक सन्तुलन गुमाई
अरबी भाषा बोल्दै विमानस्थल ओर्लिएकी
मसिनीमाया लिम्बुको
चुल्ठोमा समाउँदै प्रहरीले भन्यो–
‘सवारी छ’

देशले ‘हाइब्रिड’ बीउ रोपेर गरिबी फलायो
गुन्जमान महर्जनले पसिना रोपेर धनियाँ फलायो
त्यही धनियाँ खर्पनभरी बोकेर
सहर झरिरहेका गुन्जमानलाई
बागमतीको किनारैकिनार लखेट्दै प्रहरीले भन्यो
‘सवारी छ’

तामाकोशीको तिरैतिर
जुटको बोरा फाटिन्जेल
ढाडको छाला खुईलिन्जेल
ढुंगाको भारी बोक्दाबोक्दै
क्षयरोगले निख्रिएको शरीर लिएर
एक झल्को श्रीपेच हेर्ने रहरले
नारायणहिटी पुगेका बिकमान थामीलाई
ठमेलतिर लखेट्दै प्रहरीले भन्यो
‘सवारी छ’

देशमा गणतन्त्र आयो भन्दै
पिपा बाजेले बनाएको दरबारमा
अब त बाजेको पनि नाम लेखियो ठानेर
टोटोलाको फूल निधारमा टाँसी
डाँडाको छ्योर्तेन तीन फन्को घुम्दै
खुसीले डम्फू बजाउँदै बजाउँदै
टुँडिखेल आइपुगेका सुर्जेमान तामाङलाई
घोक्रेठ्याक लगाउँदै प्रहरीले भन्यो
‘सवारी छ’

सहरमा रातदिन सवारी छ
सहरमा साँझबिहान सवारी छ
कहिले महामहिमको सवारी
कहिले सम्माननीयको सवारी
कहिले माननीयको सवारी
कहिले पुजनीयको सवारी
यताबाट उता सवारी
उताबाट यता सवारी

तर, देश
युगौंदेखि
जहाँको त्यहीँ छ