Raju Himanshu – Ritto Gilas Thinga Ubhiyeko Chha Ahile

राजु “हिमांशु” – रित्तो गिलास ठिङ्ग उभिएको छ अहिले

रित्तो गिलास ठिङ्ग उभिएको छ अहिले

कतिपल्ट पानी
कतिपल्ट ह्विस्की
खनिएर यसमा
रित्तो भएको छ अहिले यो
यसले
सुरिला स्वरहरु सुनेको छ धेरै पल्ट
नुनिला आँसुहरु झारेको छ धेरै पल्ट
कतिपल्ट छछल्किएर
बन्धनहरु पोखाएको छ धेरै पल्ट

ठूलो दर्शन छाट्ने यसको ओठबाट
समाधान भने खसेन कहिले
जाबो समस्याको खोपिल्टा पुर्न सकेन कहिले

टोड्का परेर समस्याहरु खाड़ल भए
गिलास रित्तियो
साहस सिद्धियो
जून-ताराजड़ित आकाश चियाउने रहरहरु
बन्दी बने
आकाङ्क्षाहरु भयभीत हुँदै पलायित भए

सपना टुङ्गो लागेन
विपना उँभो लागेन

अवनतिको नदी बगिरह्यो चुपचाप
एकताको हात भाँचियो ट्वाक्कै
दागाको चिप्लोमा लड़ेर

रित्तो गिलास उभिरह्यो ट्वा परेर

रित्तो गिलास ठिङ्ग उभिएको छ अहिले
चुपचाप !

डाउहिल पथ, खरसाङ, दार्जिलिङ

– बिहीबार, 19 भाद्र, 2071

Raju Himanshu – Man Ko Ghau Dukhi Rahyo

राजु “हिमांशु” – मनको घाउ दुखिरह्यो

कस्तो छायाले छेल्दैछ मायालाई ?
उज्यालो देख् नै पाएको छैन त्यसले
दिउँसै बलात्कृत भएर घरिघरि !

सामूहिक बलात्कारपछि
सामूहिक विरोधको आवाज सुनेर
पीड़िता–मायाले सञ्चोपन अनुभव गर्न सकिन ।

मनको घाउ दुखिरह्यो
सुरक्षा मूर्तिवत्: भएर उभिरह्यो
आरोपको तीरले छेड़िएर ।

घाउमा मलम लगाउने तरखर गर्छ सरकार
बथाने विरोधकों ऊर्जा देखेर
कानून पारित भएको भोलिपल्टै
उल्लङ्घन हुन्छ त्यो कानून फेरि
कुमारीत्व लुटिएर बिहानै
एउटा गाउँमा ।

अहो !
प्रजाको तन्त्रमा प्रजा नै असुरक्षित हुन्छन् प्रजाबाटै
त्यसरी अचेल !!

डाउहिल पथ, खरसाङ, दार्जिलिङ ,

– वुधबार, 28 श्रावण, 2071

Raju Himanshu – Baad, Bibaad Ra Pathak

राजु “हिमांशु” – वाद, विवाद र पाठक

अचेल म
मार्जिनलाइजेसनको आगोले जल्दैछु
साबल्टर्न सोचको एसिडले भित्रभित्रै गल्दैछु
डायोस्पराको रुख भएर चुपचाप ढल्दैछु
अचम्म !
राम्ररी निर्मित हुन नसकेको मेरो अस्मितालाई
विनिर्मित पार्न खोज़्छन्
माकुरे षड्यन्त्रहरु ।
राम्ररी कन्स्ट्रक्सन हुन नसकेको अस्मिता
कसरी डिकन्स्ट्रक्सन हुन्छ ह ?
त्यति लामो रात परेपछि पनि विहान नहुनु
उन्मुक्ति खोज्ने सोच लास भएपछि पनि
चुपचाप सुत्नुलाई चिहान धरि नहुनु
कस्तो प्रारब्ध हो यो कालको ?
कस्तो उपहास हो यो अकालको ?
मगजको कानमा प्रश्नहरू तिखो तीर बनेर पस्दै छन्
ग्वार्लम्म ढल्दै छ अपाहिज विचार
सिद्धान्त र वादको विवादमा परेर ।
बन्दको दिनमा कमाइ नभएर
निस्तो भात चियामा भिजाएर
भोकको राक्षसलाई मार्ने पाठक भने
अरकच्च परेको छ असुरक्षित भविष्य पालेर
निल्दै छ उसलाई भयवादले ख्वाप्पै
निल्दै छ उसलाई भोकवादले ख्वाप्पै
समाधान लुकिरहेछ
समस्या चुहिरहेछ
वाद भने फेरि लड़िरहेछ चम्कँदै
विवाद भने फेरि अघि बड़िरहेछ लम्कँदै
ट्वा पर्दैछ छ त केवल पाठक ।

डाउहिल

– सोमबार, 19 श्रावण, 2071