जब कवि
जेलमा थियो
वातावरण खुसी भएझैं
मौन थियो
शुभेच्छुक
कोही नभएजस्तो
मौन थियो
कविले
यातना खपेको दिन
क्रूरताको
भयानक अँध्यारोभित्र
ताडनका मसलहरू
दाराहरू, नङग्राहरू, सुइराहरू
कवि सहिरहँदा
बाहिर
आकाशमा डुल्नेहरू
मौन थिए
कविको एक्लो युद्धमा
मौन थिए सब
जो अहिले
कविको मृत्युमा
रोइरहेछन्
र आँसुको कसरत
गरिरहेछन्
यो कसरतमा
म हाँसु कि
के गरौं
म पनि
यातनाको
लाइनमा छु
मप्रति पनि
लुच्चाहरू अहिले मौन छन्
जो पछि रुनेछन् र
मेरो लासलाई दिनेछन् आँसु
त्यस बेला म हाँसु कि
के गरौं कवि
म आउँदैछु
हे मौसमी मौनहरू
मलाई अहिले नदिने भए
पछि मेरो लासलाई कसैको
आँसु चाहिँदैन
म लाखौं को
मुक्तिलाई
यातनामा क्रमशः मारिनेछु
यो क्रूर मौनबाट बिदा हुनेछु
तिमीहरू मौन
ओम (ॐ) जप