Dr. Jayanta Krishna Sharma – Ragat Uttar-Adhunik

डा. जयन्त कृष्ण शर्मा – रगत उत्तर-आधुनिक

रगत त सबैको रातै नै हुन्छ।
हो, सानै देखि उसले यस्तै देखेको छ।
जयन्तकृष्ण फगत् एक्लै
आफैंसँग बात मार्छ: प्रश्न गर्छ, उत्तर दिन्छ
आफैं प्रतिवाद गर्छ –
रगत सबैको साँच्चै नै उत्तिकै रातो हुन्छ नि !
कसरी हुन्छ त त्यसोभए धेर अथवा थोर हिमोग्लोविन !!
लेखापानी पुग्दा-पुग्दै लखतरान परेकी जयमाया
हिमोग्लोविन घटेरै हो कि कसो
थलासेमियामा थला परेको उसले सम्झेको छ।

आफैंसँग छलफल गर्न खोज्दछ उ,
हो, धेर-थोर जेसुकै नहोस्
रगत रातो रातै हो।
कालो-गोरो जोसुकै नहोस्
रगत सबैको रातै हो।

हो त,
धनी-गरीब जोसुकै नहोस्
काटे रगत् रातै निस्कन्छ।
निष्कर्षमा पुगी सक्छ उ ।

बिस्तारै आफैंसँग बात मार्न थाल्छ –
काटे रगत साँच्चै रातै निस्कन्छ त ?
निस्कँदै निस्केन रगत् नै भने ??
जयबहादुर पहेंलेग्रस्त हुँदा
रगतमा प्लेटलेट नै घटिसकेको भन्दै
डाक्टर आत्तिएको अनि.…
पित्तरोग,
फेरि ल्यूकोपेनिया भन्दै
दबाई-बुटी गर्दा -गर्दै
सर्बस्वान्त सबै-सबै अनि.…

छलफल अब के गर्नु छ र उसले !
रगतकै बीमार हेर्न
रगत नै जाँच गर्दा-गर्दै पनि दिनहुँ
डाक्टरकै थिएन केही-कुनै छलफल !

र पनि,आफैंसँग छलफल गर्न उद्दिग्न छ उ
आफैंसँग मन्थन गर्छ :
रगत् उसका निम्ति चिन्हारी हो
रगत् उसका निम्ति समानताको प्रतीक हो, मान्यता हो।

अचम्म:
मानि ल्याएको मान्यताको पनि यसरी अवमानना हुन सक्छ र ?
थापेर राखेको प्रतीकको पनि यसरी विचलन हुन सक्छ र ??

भित्री खबर। जयलाई ब्लड केन्सर : पुष्टी छैन !
उ अस्पताल दगुर्छ।
हो, रगत् तीन – तीन महीनामा साटी रखे
बिमारी ढुक्क बाँचि रहन्छ। डाक्टर कुरामा अटल छ।
जयबहादुर यता गरीब छ।
उसको शरीरमा अब आफैंलाई मार्ने रगत बसेको छ।
उसलाई आज बँचाई रहेको रगत्
भोलि उसैलाई मार्न तत्पर छ।
जयन्तकृष्ण छक्क पर्छ: हो, रगत भिन्न छ
अनि रगत कमश: भिन्न हुँदै पनि जाँदै छ।
कुनै रगत भित्र्याउँदा मान्छे बाँच्छ,
कुनै रगत निकाल्दा मान्छे बाँच्छ !
रगत थरी-थरीको ब्लड-बेंकमा छ
जयबहादुरलाइ साट्न तर रगत छैन
उसलाई चाहिने माइनस् रगत्
साथी-भाइ कसैको मिल्दैन।
जयन्तकृष्ण अलमल्ल छ।
उ आज ठोकुवा गर्न सक्तैन :
रगत सबैको रातो, एउटै नै हुन्छ !
आफैँलाई नै घरी-घरी प्रश्न गर्छ –
संसार पनि यो के रगत जस्तै नै छ त ?
उत्तर छैन। एकैछिन् विसाउँछ।
फेरी प्रश्न गर्छ –
रगत जस्तै यो संसार छ
कि संसार जस्तै यो रगत छ !!

गुवाहाटी विश्वविद्यालय, असम, भारत

Chandika Bhattarai – Ragatle Latpatiyeko Aangan

चन्डिका भट्टराई – रगतले लतपतिएको आँगन

हे मनुष्य!
तिमिलाई पनि उहि भगवानले सृष्टि गरे ,
हामिलाई पनि उनै भगवानले,
तिमिलाई मनुष्य जाति बनाए ,
अनि हामिलाई जनावर जाति।
उसै गरि भरे प्राण दुबैमा,
उस्तै बनाए फेर्ने श्वास पनि।
खोइ, कतिबेला मागेछन तिनै भगवानले
हामि जनावर जातिको बलि
अनि कतिबेला दिएछन् तिमि
मनुष्य जातिलाई यो अधिकार
हामि जनावर जातिको प्राण हर्ने अधिकार।

हे मनुष्य!
तिम्रो जस्तै ढुकढुक गर्ने मुटु
हाम्रो शरीरभित्र पनि,
बग्छ उसैगरि रातो रगत।
दुख्छ हामिलाई पनि काट्दा।
काप्छ यो सानो मुटु बेसरी,
छटपटि हुन्छ,
औडाहा हुन्छ,
जब बिसाउछौ त्यो धारिलो हतियारको भारि
कमजोर यो शरिरमाथी।

हे मनुष्य!
तिमिले जस्तै विपतमा पर्दा,
गुहार्न ‌‌‌मन लाग्छ मद्दतको लागि
चिच्याउन मन लाग्छ,
कराउन मन लाग्छ,
पुकार सुनि कोही आउला कि
बचाउन भनि।
तिमिलाई जस्तै चोट लाग्दा,
आउँछ आमाको सम्झना अति
तिमिले जस्तै ‘ऐया’, ‘आथा’ भन्न नसके पनि
पोल्छ, पोलिरहन्छ भतभती।
उम्केर जाने,
फुत्केर भाग्ने प्रयास
सब हुन्छ बेकार
छाउन थाल्छ आँखा वरिपरि अन्धकार
फितलो बन्दै जान्छ बाँच्ने आश।

हे मनुष्य!
तिमिलाई जस्तै अन्तिम घडीमा
याद आउँछ भगवानको,
कोस्न मन लाग्छ आफ्नै भाग्य माथि
कथित आफ्नो पशु जन्म माथि।
छुट्दै जाँदा यो देहबाट प्राण
भगवानसँग प्रश्न गर्न मन लाग्छ,
हे भगवान!
के तिमिलाई साँच्चै खेल्न मन लागेको हो त रगतको होलि?
हामि निर्दोष पशुको रगतको होलि!
के तिमिलाई साँच्चै मन पर्छ रगतले लतपतिएको तिम्रो आँगन?
सदा झै तिमि मौन छौ भगवान!
अनि तिम्रो मौनताको फाइदा उठाइरहेछन
तिमिले बनाएका यि मनुष्य जाति।
तिम्रै मन्दिरमा,
तिम्रै नाममा,
तिम्रै अगाडि,
तिमिले नै जन्माएका सन्तान माथि
भइरहेछ लगातार
यो अत्याचार।
हामि पशुलाई त निर्विवेकि बनायौ तिमीले,
हेर भगवान! तिम्रा विवेकशील प्राणी,
निर्ममताको पराकाष्ठा नाघ्दै
गरिरहेछन यो नरसम्भार।
तिम्रा विवेकशील प्राणी गरिरहेछन यो नरसम्भार।।

काठमाडौं।