Jyoti Jungle – Yo Raat

ज्योति जंगल – यो रात

अध्यारोको साङ्लोमा
लमतन्न बेहोस छ,
र निशब्द निदाएको बहाना गर्छ यो रात
हज्जारौं सपनाहरु
हज्जारौं तलाका महल उक्लन्छन्
बन्द आँखामा,
कोशौं टाढाको मित्र
सेकेण्डभर छेवैमा आइपुग्छ
टाउकाको क्षितिजमा उडेर ।

खै देवताहरु के गर्छन् ?
ड्युटीको सिपाही बन्दुक नचलाई
सपनाको हत्या गरिरहन्छ.।
कुन अनुसाशनमा उभिन्छन्
चुपचाप रुखहरु र थाम्छन् जङ्गंल
कसलाई राख्छन् अध्यारोले झपक्क बन्द गरेर
लज्जावती झारका आँखाहरु ?

अँध्यारोको पर्दामा कसरी जोगाउँदो हो ?
फूलले लोभलाग्दो रङ्ग…
कहाँ सुते ती चरा ?
त्यो सडक पेटीको अपाङ्ग भिखारी
जतापनि बोल्दै हिँड्ने त्यो पागल ।

घरहरुले ढोका लगाएपछि
ती बाटाहरु पनि सुते होलान्
कैदबाट छुटेर सपनामा
कैदीहरु घरमै पुगेहोलान् ।

पटक पटक कोल्टे फेर्दो हो र्
भर्खर प्रेम बसेको जवानी
सन्तुष्ट आमा नानीको ओड्नेले
निन्द्रा छोपिरहेकी छे
अभाव या तृष्णा
चोर्नेहरुको दाउ पर्यो कि परेन ?
एकान्त लेख्न बसेको कलम
अक्षरहरुमा सर्यो कि सरेन ?

विरामी मात्र एक्लै व्यथा सहिरहेको छ..
अँध्यारोमा आँखा देख्नेले
कुन सौर्न्दर्य हेरिरहेको छ ?
डरलाग्दा आवाज निकाल्ने
हिंस्रक अस्तित्व
भुँइभरि सल्बलाउने कीराहरु
कहिल्यै विश्राम लिदैंनन्…

निदाउनेहरुलाई मात्र
समयको गति ढाँटिरहेको यो रात
अनिदाहरुलाई
न भय बाँड्न सक्छ ?
न सपना बाँड्न सक्छ ?