Pravin Khaling – Gaun Ko Kura

प्रवीण खालिङ – गाँउको कुरा

अचेल गाँउ भुसुक्कै निदाइ पठाउँछ
झिसमिसेमा उठ्ने बानी हरायो गाँउमा
भालेको डाकमा उठ्ने क्रम टुट्दैछ
अचेल गाँउ नारा र झण्डा बोकेर शहरतिर कुद्दै छ।

***

अबेरसम्म सुत्छ गाँउ
शीताम्मे गोरेटो भएर एका बिहानै शहर पस्छ गाँउ
एक हातमा टेण्डरको फायल र अर्को हातमा झण्डा बोकेर
जब शहर पस्छ अचिनारू गाँउ
धनमान र धनमती भनेर होइन पार्टीको नामले चिनिन्छन्
साइनो र गाउँको माया पैसाले किनिन्छ।

***

पँधेरो, चौतारी र नागबेली उकालीहरू
एक तमासले भाषण जस्तो मालसिरी गाइबस्छन्
त्यसै गरि घरि-घरि भिडन्तमा परिबस्छन्
त्यत्ती मात्र कहाँ हो र उनीहरू त
चौतारीको थकान ,पँधेरोको पानी
र गोरेटोको उकालीमाथि पनि
राजनीति गरिबस्छन्।

***

राँको बालेर सधैं उकाली ओराली गरिबस्ने गाँउ
साइनो कै भरमा बास बस्न आइपुग्ने गाँउ
परिवारभित्रै संशयको घेरोमा परेपछि
साइनो र आत्मियता मरेपछि
शान्ति छ गाँउमा भन्नेहरू भन्छन्
तर गाँउले समसाँझै झोपडीको ढोका थुन्छन्।

***

हुन त गाँउको कथा-व्यथा उस्तै छ
विकासको पनि गति सुस्तै छ
तर किन किन अचेल मेरो प्यारो गाँउ
आमाको काख जस्तो ठाँउ
वैमन्यस्यता, षड्यन्त्र, नारा र भाषणको नाउँ बन्दैछ
सायद गाँउ धेरै दिन बाँच्दैन भन्नेहरू भन्दैछ।

दार्जिलिङ