Pratima KC – Yo Shahar Ma

प्रतिमा के.सी.- यो शहरमा

यस्तै यस्तै अनौठो हुन्छ यो शहरमा
ढुंगा पनि पग्लिइ रुन्छ यो शहरमा

गगनचुम्बी महलले एकै रातमा
खाली खाली आकाश छुन्छ यो शहरमा

नियम कानून माथि नै बन्धकी छन
असहायले ब्यथा उन्छ यो शहरमा

रगत आँशु र इमानको पसिनाले
फगत बेइमान धुन्छ यो शहरमा

कसैले हिरामोती सजाउछ गलामा
कोही टालोमा टालो तुन्छ यो शहरमा

मान्छेको भाउ घटेर त होला मान्छेले
चर्को भाउको सुन चुन्छ यो शहरमा

बेचिए राम कृष्ण खालि छ यो मन्दिर
हृदयको कुरा को सुन्छ यो शहरमा

सत्य साँचो मानबता लिलाम भयो कि
साधक षड्यन्त्र बुन्छ यो शहरमा

२७ डिसेम्बर २०११
रेडिंग, बेलायत