Pramod Poudel – Desh Dukheko Lekhna Sakina

प्रमोद पौडेल “शिशिर” – देश दुखेको लेख्न सकिन

तिमी देखि टाढा, धेरै टाढा
सात समुन्द्र टाढा
फुर्सद को समयमा
नितान्त एक्लो भएर बस्दा
प्रिया,
मलाई तिम्रो यादले सताउनु पर्ने हो
आँखा भरि तिमी नाच्नु पर्ने हो
थोरै भए पनि तिम्रो माया दुख्नु पर्ने हो
तर अफसोच !
छक्क पर्छु आफैं
न तिम्रो याद, न तिम्रो तस्बिर
न त तिम्रो माया नै दुख्छ
प्रेमी त म तिम्रै हुँ
त्यसैले माफ माग्छु प्रिया तिमीसंग
या त म असल प्रेमी हैन
या त ममा अर्कै पिंडा छ
जुन तिम्रो माया भन्दा धेरै दुख्छ
तिमी भन्दा धेरै दुख्छ |

तिमी देखि टाढा, धेरै टाढा
सात समुन्द्र टाढा
तिमी जस्तै आमाहरुले
आफ्ना लाला-बाला खेलाएको देख्दा
चसक्क मुटु दुख्नु पर्ने हो
तिम्रो सम्झनाले पिरोल्नु पर्ने हो
तिमी बिनाको दशैं, के दशैं
कल्पनामै आएपनि कति रमाइलो हुन्थ्यो-
“तिम्रा अनमोल हातहरु मेरो निधारमा राखेर
कहिल्यै नरित्तिने आशिष दिएको”
तर अफसोच !
छक्क पर्छु आफैं
न तिम्रो सम्झना, न तिम्रो कल्पना
न त तिम्रो ममता नै दुख्छ
छोरो त म तिम्रै हुँ
त्यसैले माफ माग्छु आमा तिमीसंग
या त म असल छोरो हैन
या त ममा अर्कै पिंडा छ
जुन तिम्रो ममता भन्दा धेरै दुख्छ
तिमी भन्दा धेरै दुख्छ ||

आफ्ना भन्ने सबै देखि टाढा, धेरै टाढा
सात समुन्द्र टाढा
भिडभित्र पनि एक्लो म
सकि-नसकि जिन्दगीको खुड्किलो चड्ने क्रममा भौतारिंदा
कहिलेकाहीं त
डन्डी-बियो, कपर्दी, लुकामारी र गुच्चा खेल्ने साथीहरु,
उनिहरुसंग बिताएका रमाइला पलहरु
दिदि-बैनी तथा तिहार का अबर्णनीय क्षणहरु,
बुई-बुई र ताते-ताते अनि परिका मिठा-मिठा कथाहरु सुनाउदै
हुर्काउने बाबा, उनको त्यो काख
आदि-इत्यादीहरुले झस्काउनु पर्ने हो
मनै कस्तो-कस्तो बनाउनु पर्ने हो
तर अफसोच !
छक्क पर्छु आफैं
न साथीहरु को साथ, न दिदि-बैनी
न त बाबा को काख नै दुख्छ
“आफ्नो” त म तिमीहरुकै हुँ,
त्यसैले माफ माग्छु आफ्ना भन्ने सबैसंग
या त म असल मान्छे हैन
या त म मा अर्कै पिंडा छ
जुन आफ्नो पन भन्दा धेरै दुख्छ
अफ्नाहरु भन्दा धेरै दुख्छ |||

दुख्न त दुखेकै छ तर
कस्तो दुखाई हो कुन्नि
न “आमा” दुख्छ, न “बाबा” दुख्छ
न “प्रिया” न त “साथी-संगी” दुख्छ
तैपनि दुख्छ, बेसरी दुख्छ
यता छाम्यो एतै दुख्छ, उता छाम्यो उतै दुख्छ
चारैतिर दुख्छ
अब त सहनै सकिन
मनको पर्दा च्यातेर सुस्तरी हेरें-
देख्छु चारैतिर तीन अक्षर कोरिएको
नेपालै नेपाल कोरिएको
बल्ल दुख्नु को अर्थ बुझेजस्तो लाग्यो
नेपाल दुखेजस्तो लाग्यो
मेरो देश दुखेजस्तो लाग्यो
कता-कता डर पनि लाग्यो
आत्तिएर “आमा” राखेको ठाउँमा हेरें देख्छु-
एउटा दुधे बालक आफ्नी आमा को काखमा रक्त्याम्य भएर लडेको
आमा, अब त माफ गर्छेउ हगि
के गर्नु तिमी दुख्ने ठाउँमा ति आमा को बिलाप दुखेछ
प्रिया राखेको ठाउँमा हेरें देख्छु-
सेतै पहिरेकी अधबैंशे आइमाई
निर्जीव शरीर झम्टी-झम्टी चित्कार गरिरहेकी
प्रिया अब त तिम्ले पनि माफ गर्ने पर्छ
के गर्नु तिमी दुख्ने ठाउँमा विधवाको सेतो पहिरन दुखेछ
उनको त्यो चित्कार दुखेछ ||||

अर्को कुनामा हेर्छु, आस्चर्य लाग्छ
खोला-नालामा बग्ने पानीले रंगै फेरेछन
सायद होलि धेरै खेलेछन क्यारे देशमा
रातै-रातो मात्र देख्छु
चारैतिर हेर्दै जान्छु, दुख्ने ठाउं धेरै रहेछन
कतै साँफे बगर दुख्छ
कतै नौमुले दुख्छ
कतै बेनी बजार दुख्छ
कतै नारायणीहिटी दुख्छ
छिया-छिया मन को पिंडा पोख्न
“कबिता” लेख्न बसें
तर सकिन, देश दुखेको पिंडा लेख्न
त्यसैले माफ माग्छु कबिता तिमि संग
किनकि मैले तिम्रो मर्म बुझ्न सकिन
देखेकै कुरा लेख्न सकिन
भएकै कुरा लेख्न सकिन
देशको पिंडा लेख्न सकिन
देश रोएको लेख्न सकिन
देश दुखेको लेख्न सकिन |||||

– प्रमोद पौडेल “शिशिर”
रचनाकाल: असार १४, २०६१
लेक्सिग्टन, केन्टक्की, अमेरिका

[नोट: प्रस्तुत कबिताले “ANMA-NASeA Joint Convention 2007” मा भएको प्रतियोगितात्मक कबि गोष्ठीमा प्रथम स्थान हाँसिल गरेको थियो | २००४ मा लेखिएको यो कबिता को पात्र “म” लाई देश दुख्ने क्रम अझै बढ्दो छ | देशको रुवाई अझै तिब्र छ | तर दुखाइको मर्म छताछुल्ल झल्कने यो कबिता अहिलेलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ | ]