प्रल्हाद पोखरेल – मधुपर्क
(मधुपर्क माघ, २०६७)
चङ्गा चित्त बनाउने घिउसरि क्यास्वादिलो चम्चम
चाख्दास्वाद दिलाउने छ महझै आस्वाद झन् उत्तम
लाग्दा निल्न घुटुक्क शाब्दिक दही कस्तो मिठो कञ्चन !
नेपाली मधुपर्क मोहक बनी आनन्द पार्ने मन ।
प्यारो यो मधुपर्क रोचक छ यो साहित्यको द्योतक
भाषासेवक शब्दसेवक बनी तान्यो निकै लेखक
झन् आस्वादन-मग्न मुग्ध हृदयी छन् पारखी पाठक
साँच्चैस्थापित गर्न सक्षम भयो स्रष्टाहरूको हक ।
के लेख्यो मधुपर्कले ? नभन है हे शब्दशिल्पीहरू !
के लेखेन ? भनेर सोध्न सकिने धेरै बुँदा छन् बरु
स्रष्टाको इतिहास काव्यकृतिको जीवन्त साक्षी छ यो
नेपाली कविता-कथा -गजलको उत्कृष्ट गन्तव्य यो ।
कैले पुक्क गमक्कको पनि भयो कैले भयो ख्याउटे
जस्तो होस् मधुपर्क जीवित हुँदा साहित्यसेवी उठे
मुद्राराक्षसले निकै दुःख दियो, साना भए अक्षर
जस्तै कष्ट सही बसे पनि सबै पथ्र्यौं यसैका भर ।
छाप्यो नाटकका नयाँ कृतिहरू छाप्यो समालोचना
पार्यो ज्यान दरो नयाँ कलमका झेलेर आलोचना
हाम्रो यो मधुपर्क हो कलमको जीवन्त सञ्जीवनी
राम्रो कागजमाथि छापिन सकोस् हाम्रो नयाँ जीवनी ।
मुद्राराक्षस रोगले नथलियोस् मोटा बनून् अक्षर
बिर्सेरै पनि राजनीति नघुसोस् संस्था बनोस् उर्वर
सङ्ख्या आज पुगेछ पाँच सयको, स्रष्टा बनायो कति ?
स्रष्टा हो ! मधुपर्कको हृदयले आऊ गरौँ आरती ।