Prakash Thamsuhang – Hariyo Graha Ko Manchhe

प्रकाश थाम्सुहाङ – हरियो ग्रहको मान्छे

१.
तिम्रो लुगाभन्दा हजारौँ गुणा मैलो
कालो आयातित कम्बल ओढेर
निस्लोट सुतेको यो सहर
तिम्रो नाङ्गो पाइतालाको हस्तक्षेपले
बेस्सरी थर्किएछ जमिन
सहर आतङ्कित ब्यूँझियो,

२.
छक्क पर्‍यो सहर
अचम्भित भए सहरवासीहरू
कसको भयङ्कर पदचाप हो यो ?
हेर कस्तरी हल्लिएको हाम्रो पृथ्वी ?
यो भवन, टावर, सोपिङमल
यो धरहरा, घन्टाघर, सिंहदरबार
किन हल्लिएको यस्तरी ?
कुन ग्रहको जीव आइरहेछ यहाँ ?
अनेकौँ प्रश्नहरूको थाक बोकेर
सहर सोचमग्न उभियो,

३.
तिमी आइपुग्यौ
आफ्नो आदिम अनुहारको चमक बोकेर
तिमी आइपुग्यौ
गहुँगोरो पसिनाको गन्ध छरेर
तिम्रो काँधमा भिरेको हतियार
तिमी युद्धमा हिँडेको हुनुपर्छ
तिमीले पिठ्यूँमा बोकेको पहाड
टाउकोमा ओढेको सुर्जे
घाँटीमा बेरेको जङ्गली लहरा,
तिम्रो गहना हुनुपर्छ
चौडा छातीमा किरिङमिरिङ कोरिएका शब्दहरूले
तिम्रो उत्पत्तिको कथा भनेको हुनुपर्छ
तिम्रो आँधीजस्तो हिँडाइ
बिजुली चम्केजस्तो बोली
तिम्रो चट्याङ विचार
तिमी पक्कै देउता हुनुपर्छ,

४.
आकाश छुन अग्लिएका भवनहरू
चर्किदैछन् जगैबाट
यो सडक फाट्दैछ धुजा-धुजा भएर
कस्तरी काँपेका भित्रैबाट
लोडसेडिङले रतन्धो लागेका
यहाँका असङ्ख्य मान्छेहरू
कुनै ड्रगिस्टझैँ
कस्तरी लुगलुग काँपेका
यहाँका डरपोक शासकहरू
सम्भवतः यिनीहरूले इतिहासमा
अक्षम्य गल्ती गरेको हुनुपर्छ
सम्भवतः यिनीहरूले यो ब्रह्माण्डमा
भयानक अपराध गरेको हुनुपर्छ,

५.
तिम्रो शरीरमा मगमगाइरहेको
जङ्गली फूलको सुगन्ध
तिमी जङ्गलकै बाटो भएर आएको हुनुपर्छ
तिम्रो नश्ल, तिम्रो संस्कृति, तिम्रो सौन्दर्यचेत
तिमी अर्कै देशको हुनुपर्छ
जङ्गली तरूलजस्ता पाखुराहरू
सखुवाको रूखजस्ता बलिष्ठ हातहरू
तिमी अर्कै पृथ्वीको हुनुपर्छ
तिमीले कानमा सिउरेको बुकी फूल
र हातमा लगाएको काँडाहरूका बाला
तिमी पक्कै यो ब्रह्माण्डको
आदिम मानिस हुनुपर्छ,

६.
झ्याप्प सडकको बत्ती निभ्यो
जहीँको तहीँ रोकिए सवारीहरू
डिस्कोथेकमा कर्कश सङ्गीत बन्द भो
स्तब्ध भयो समय
मूर्तिवत उभिए मानिसहरू
शासकहरू कुनै अर्को षड्यन्त्रका लागि
गोप्य बैठकमा सामेल भए
विचारको सवारीमा तिम्रो आगमन
रातो ग्रहझैँ तिम्रो अनुहार
ओ ! सृष्टिको प्रथम मान्छे
तिम्रो नाङ्गो पाइतालाको हस्तक्षेपले
एकाएक यो सहरको गति ठप्प भयो,

७.
यो सहरमा
तिम्रो आगमनको अर्थ
तिम्रो उपस्थितिको प्रभाव
पूर्वानुमान थिएन यिनीहरूलाई
फलस्वरूप विसङ्गतिले निर्मित यिनीहरूको चिसो मस्तिष्कमा
तिम्रो सटिक विचारको आक्रमण
तिम्रो सटिक तर्कको प्रत्याक्रमण
तिम्रो साँध-सिमानाको दस्तावेज
तिम्रो स्वतन्त्रताको खबरदारी
यस्तरी बजि्रएछ कि
गिदी छताछुल्ल निस्कियो
र तिमी घोरियौ निकैबेर
छामी हेर्‍यौ अनि चाख्यौ छरपस्ट गिदीलाई
कुनै खास जनवारको गिदी तिम्रो स्वादिष्ट भोजन
जस्तै लागेको हुनुपर्छ तिमीलाई,

८.
ल्याएर विचारको सुनामी
छरेर बीउ उत्सुकताको
आतङ्कित, भयभीत, स्खलित
यो सहरबाट
तिमी फर्कियौ आफ्नै बाटो
तिमी फर्कियौ आफ्नै भूगोल
तिमी फर्कियौ आफ्नै पृथ्वी
ओ पि्रय हरियो ग्रहको मान्छे !
तिम्रो नाङ्गो पाइतालाको पदचाप
यो सहरको चिसो छिँडीमा बसेर
ध्यानपूर्वक सुनिरहेछ एउटा कवि
प्रेमपूर्वक सुनिरहेछ ऊ, नेपथ्यमा बिलाउँदै गइरहेको
तिम्रो नाङ्गो पाइतालाको पदचापलाई ।