Prakash Thamsuhang – Chasok

प्रकाश थाम्सुहाङ – चासोक

नयाँ दिन
नयाँ मौसम
नयाँ परिवर्तनमा
पखालेर सप्पै क्षयग्रस्त पुराना बिम्बहरू
पुरानो जग
पुरानो घर
पुरानो राष्ट्रियता
आऊ सोल्टिनीहरू
नयाँ घाम लागेको बेला
नयाँ अन्न पाकेको बेला
नाचौं उल्लासले
नाचौं उमङ्गले

च्याङ्ब्रुङ ब्रुङ
च्याङ्ब्रुङ ब्रुङ

नयाँ संरचनाका लागि
नयाँ जीवनका लागि

हामी विजयको नजिक
हामी प्राप्तिको नजिक
अब, अग्लिएर चेतनाको कञ्चनजङ्घा
डाकौँ सहस्र उत्पीडित हंसहरू
डाकौँ सहस्र सिमान्तीकृत मुटुहरू
डाकौँ सहस्र मुर्झाएका सातोहरू
भाकौँ पवित्र मनले
मुजिङनाखेयङना
र बोलाऊँ ताजा हावा

लिऽखुरी लिऽऽखुरी
लिऽखुरी लिऽऽखुरी,

यो गुम्सिएको युगमा
जन्माऊँ नयाँ भ्रुण
साक्षी छन्
यो हावा
यो पानी
यो जङ्गल
आऊ निर्वासित मनहरू
जाग पराजित आत्माहरू
लेखौँ सुनौलो इतिहास
कोरौँ आफैले आफ्नो भाग्य

च्याङ्ब्रुङ ब्रुङ
च्याङ्ब्रुङ ब्रुङ

आऊ सोल्टिनीहरू
नाचौँ उल्लासले नाचौँ उमङ्गले
नयाँ संरचनाका लागि
नयाँ जीवनका लागि ।

1. चासोक : किराँत लिम्बूहरूका एक उधौली चाड, जसमा नयाँ अन्नहरू भित्र्याइने गरिन्छ ।

2. मुजिङनाखेयङना : मेन्छामगेन याप्मी कुबोक्मा (मानिसको उत्पत्ति) मुन्धुमअनुसार लिम्बूहरू मुजिङनाखेयङनाका छोरा सुऽसुवालिऽलिम याक्थुमहाङका सन्तान हुन् । मुजिङनाखेयङना हावाबाट गर्भवती भएको हुनाले आफनो छोरालाई हावा-बतासको छोरा भनेर सुऽसुवालिऽलिम भनेर न्वारान गरिदिइन् । यो नामको अर्थ सुस्तरी चल्ने बतास लाग्छ । मुजिङनाखेयङनाले आफनो दौतरीहरू नभेटेपछि थकित उनी रूखमा चढेर लिऽखुरी लिऽखुरी भन्दै मीठो हावा बोलाएर दौतरीहरूको तिर्सना मेटिन् । आज पनि रूखको फेद वा कतै थुम्कीमा बसेर लिऽखुरी लिऽखुरी भन्दा मीठो हावा चल्ने गर्छ ।