Prakash Dhamala – Ma Jun Ra Sun Ka Kiran

प्रकाश धमला – म जुन र सुनका किरण

म सानो छदाँ
मेरी हजुर आमाले
ऊ………..माथि देउकी माता भनेर जुन देखाउनु हुन्थ्यो
म रोइरहेपनि चुपचाप रहन्थें
मेरी कर्कश पनि ठप्प हुन्थ्यो
त्यही समयदेखि हुनुपर्छ सायद
जुनलाई शालिन र विनयशील ठानिरहें
शालिनता र विनयशीलता आमामा हुनुपर्छ भनिरहें
हो मैले
जुनलाई आमा मानिरहें
थाहा छ,
म आमालाई शान्ति मानिरहन्छु
तर,
आजकाल, राँके जुलुस बोकेर
असंख्य ताराहरु जुनसमिप जादै गरेको समाचार छ
म डराइरहेछु
म अत्तालिरहेछु
म बेहोस हुन खोजिरहेछु
कतै मेरो बाल्यकालको
एक जोडी वरपीपल त ढल्ने होइनन् –
अहिले,
म रोएको रात,
जुन पूर्णिमा भएर आउन सक्दिनन्
म थाकेको रात
शीतलता बनेर छाउन सक्दिनन्
नाङ्गो सडकमा निदाएको रात
प्रिय जुन धुवाँ चिरेर आउन सक्दिनन्
त्यसैले,
म हरेक सन्ध्याहरुमा
सुनका किरणहरु बटुलेर
हरेक मध्यरातहरुमा आँखाका ज्योति बटुलेर
जुनलाई समर्पण गर्ने पक्षमा छु ।।

– Adelaide Australia