प्रभा निरौला – सम्झना
तिम्रा सम्झनाले जब पोल्ने गर्छन उनको छाती
एकान्तमा आफ्नै आँसु पिउने गर्छिन रातिराति
छोराछोरी सामु सधैँ देखावटी हाँसो हाँसे-पनि
घोप्टो परि घुँक्क-घुँक्क रुने गर्छिन रातिराति
जतिसुकै घाँस-दाउरा, मेलापातमा दिन बिते पनि
बाल्ने गर्छिन हर साँझमा, तिम्रो नामको दियोबाती
घरजम गर्ने, गाडि किन्ने, छोरालाई डाक्टर बनाउने
आजकल देख्न थालेकी छिन, सपनाहरु रहरमाथि
तिम्रा तस्विर, तिम्रा सामान, तिम्रा कपडा नियालेर
सुँक्कसुँक्क गरिर’न्छिन खै के सोच्छिन नानाभाँति
खेल्न थाल्छन जब मनमा, ऋणका ठूला भकुण्डाहरु
हत्पत पुस्छिन आँसु अनि, रहरलाई त्यै कुनामा थाँति
कहिलेकाहीँ त भगवानले नि गर्छन क्यारे पक्षपाती
गरीब-निमुखा सधैँ गरीब, धनि चढ्छन अझै माथि
वर्षौँ भो रे चाडबाडमा नहाँसेको त्यो तिम्रो परिवार
यसपाली थोरै हाँसो लिई, भेट्न भनी जाउ है साथी