श्रवणकुमार ढुंगाना – विष
जब फुलले
सुवास होइन विष फैलाउन थाल्छ
जब मानिसले
विचार होइन विष रोप्न थाल्छ
त्यो फुलको रूपले घोंच्न थाल्छ !
त्यो मानिसको बोलीले पोल्न थाल्छ !
विष को थैला बाट
–पसिना आए पनि विष नै आउँछ,
–आँशु आए पनि विष नै आउँछ,
विषको थैलाबाट
–सुगन्ध आए पनि विष कै आउँछ,
–दुर्गन्ध आए पनि विष कै आउँछ,
सुम्सुम्याएर ओच्छ्यानमा सँगै सुताए पनि
सर्प प्रीयतमा होइन,
उनेर धागोमा माला, गलामा लगाए पनि
काँडा फूल होइन ।
दुधमा मिसाएर पिउँदैमा
विष अमृत हुँदैन,
सामुन्ने आएर मुस्कुराउँदैमा
कोही मित हुँदैन ।
विषको थैलाबाट
बरदान आए पनि विष नै आउँछ
श्राप आए पनि विष नै आउँछ ।
समुन्द्र मन्थनबाट निस्केर आए पनि
विष विष नै हो ।
हिमालयको काखमा उम्रेर फुले पनि
विष विष नै हो ।
जब फुलले
सुवास होइन विष फैलाउन थाल्छ
जब मानिसले
विचार होइन विष रोप्न थाल्छ
त्यो फुलको रूपले घोंच्न थाल्छ !
त्यो मानिसको बोलीले पोल्न थाल्छ !