Padam Bhandari – Kheti Ma Palayeka Jhaar Haru

पदम भण्डारी – खेतीमा पलाएका झारहरू

कृषि विषय पढें तर गैससको खेती गरें
कस्तो अचम्म!
बीस वर्षसम्म खेती गर्दा पनि
यो बालीको जरो, टुप्पो, पात केही देखिन
फल पनि देखिन
पाकेको फलको स्वादको त कुरै नगरौं
सानो चिचिलोको स्वाद समेत चाख्न पनि पाईन
२०४६ साल पछि बिकासे बीऊ, मल बेच्न
चार सय भन्दा बढी बिदेसीहरु कस्सिएका छन्
तीस हजार भन्दा बढी नेपाली किसानहरूले बारी बनाएका छन्
महङ्गा चिल्ला कागजहरुमा, पाना पानामा,
खेती गर्ने तरिकाबारे राम्ररी जोतिएको छ,
बीऊ छरिएको छ, मलजल गरिएको छ
तर गैससको खेतीमा बाली भन्दा झारपात बढी मौलाएको छ
खेत बारीमा बाली भन्दा झारपात हर्लक्क बढेको छ
खेती गर्ने तरिका सिकाउन
अहिले त कलेजहरूले समेत नर्सरी बनाएका छन्
साना किसानको खेतीमा बाली भन्दा झारपात मौलाउँदो रहेछ
सानै खेती भए पनि झार उखेल्न धेरै संघर्ष गरें
मैले झारलाई उखेल्न खोज्दा उल्टै झारले मलाई तान्यो
मेरो केही लागेन
खेती गर्न औजार हुनेहरुका लागि
यो खेती रोप्न सजिलो छ, बाली थन्क्याउन सजिलो छ
औजार नहुनेहरुका लागि
न रोप्न सजिलो छ, न फडानी गर्न सजिलो छ
खेतबारीमा उम्रिएको झार उखेल्न म प्रयत्नरत छु
अपत्यारिलो तर सम्भव
यो खेतीभित्र उम्रिएको झार उखेल्न म लागिरहेछु
लागिरहने छु ।
★★★