Ashok Parthib Tamang – Dharti Ko Harek Kuna Ma

अशोक पार्थिव तामाङ – धरतीको हरेक कुनामा

बिम्व नमिलेर टुक्रिएका केहि धरतीका सिसे-गमलाहरूमा
मानवताका आस्थाहरू रंग हालेर फुल्थेहोलान्
सिरानी राखेर सुतेका अल्छे रहरहरू !
संगठित भएर भालेबास्नु अघि नै जागीसक्थेहोलान्
घृणालाई स्नेहले गोड्दै
आहा! धरतीको हरेक कुनामा यो जखमले घामहरू पुरयाउँन पाए त ।

शताब्दी निदाएका केहि मानवियताका मुर्चुङगा अनि बिनायोहरू !
ट्याउँ-ट्याउँ,टिउँ-टिउँ भाकामा आफै सित बिभाजन भएको
आँगनको ईतिहाँस आत्मकथा रूँदै गुन्जाउँथेहोलान्
उष्णताले सेपिएका धरतीका कापमा पलाएका लेउहरू !
बुट्याँन बनेर मानव बस्तीकाहरूका बगैंचामा फक्रिन्थेहोलान्
चट्टान फोरेर मन रोप्दै
आहा! धरतीको हरेक कुनामा यो जखमले घामहरू पुरयाउँन पाए त ।

हुस्सुको अग्नीमा तापिएको श्रृजनशील मनका हाँगाहरू !
बसन्तको कोपिला बनेर लहलहाउँने थिएहोलान्
कुलो नभेटेका गैरीखेतहरू, रातामाटे डाँडाका प्लाँङ्खर भुमीहरू !
अनाजबृष्टी गर्दै सुडानका भोकहरू भर्नेथिएहोलान्
मानिसको सामुहिक प्रयासमा
आहा! धरतीको हरेक कुनामा यो जखमले घामहरू पुरयाउँन पाए त ।
आकाश बाँड्ने मान्छेको होडबाजीहरू !
धरती चिरा-चिरा पार्ने धर्म बिशेषका रंग र जातियताहरू !
सिङान पुछेर मान्छेले बिसर्जन गर्नेथिएहोलान्
बैरीमा दरिएका मानवताका साईनोहरू !
मित्रताको हात फैल्याउँदै मुसुक्क मुस्काउँथेहोलान्
युद्द त्यागेर शान्ती डाक्दै
आहा! धरतीको हरेक कुनामा यो जखमले घामहरू पुरयाउँन पाए त ।

एक अर्कोमा चिनारी हुँदा-हुँदै जानी-जानी निर्मित तिता क्षणहरू !
पुनर्मिलनको आँधीबेरीले उडाएर पत्कर उडाएसरी लाने थिएहोलान्
ईन्द्रेणीहरू फुलेर क्षितिजभरी अभाव काटेर धेरै सल्लेरी र मानेभञ्ज्याङहरू !
बिश्व ब्रम्हाण्ड नै बयस्क यौवन फक्रिएकी नव दुलही जस्तै देखिन्थिहोलिन्
एकको पिडा अर्कोले बुझ्दै
आहा! धरतीको हरेक कुनामा यो जखमले घामहरू पुरयाउँन पाए त ।

Rajeshwar Karki – Hatiyar

राजेश्वर कार्की – हतियार

सबैले भन्छन्-
हतियारको जङ्गलमा सुरक्षित होइन्छ
यतिखेर मेरो चेतना पनि
सम्पूर्ण हतियारबद्ध छ

र सङ्ग्राममा
तिमीले गुलेली हान्यौ
मैले घुयेँत्रो चलाएँ
तिमीले हँसिया चलायौ
मैले खुकुरी चलाएँ
तिमीले तरबार निकाल्यौ
मैले खुँडा चलाएँ
तिमीले थ्री-नट-थ्री पड्कायौ
मैले बन्दुक चलाएँ
तिमीले एस. एल. आर. देखायौ
मैले एल. एम. जी. उठाएँ
तिमीले ए. के. फोर्टीसेभेन प्रयोग गर्‍यौ
म हतियारविहीन उभिएँ

जबसम्म मसँग हतियार थियो
जित्ने बहानामा मैले हारिरहेँ
तर जब हतियारविहीन चेतना, म
तिम्रो मनको सँघारमा उभिएँ
अनिमात्र म सुरक्षित रहेँ
र विजयी भएँ ।

Kshetra Pratap Adhikari – Ma Ta Lali Gurans Bhayechhu

क्षेत्रप्रताप अधिकारी – म त लाली गुराँस भएछु

म त लाली गुराँस भएछु
बनैभरि फुलिदिन्छु
मनैभरि फुलिदिन्छु

फाँटहरुले कसलाई पुग्छ
भीरमा पनि फुली दिन्छु
खुशी मातर कहाँ हुन्छ,
पीरमा पनि फुली दिन्छु
म त लाली गुराँस भएछु

हेरिदिने कोही भइदिए
नानीभित्र फुलिदिन्छु
लाई दिने कोही भइदिए
सिउँदोभरि फुलिदिन्छु
म त लाली गुराँस भएछु
बनै भरी फुली दिन्छु
मनै भरी फुली दिन्छु

शब्द – क्षेत्रप्रताप अधिकारी
स्वर – नारायण गोपाल

Rakesh Karki – Nepal Ko Geet Gaai Raheka

इन्जिनियर राकेश कार्की – नेपालको गीत गाइरहेका

बिहानै झिसमिसेमा हलो काँधमा हालेर
हरुवाहरु नेपालको गीत गाइरहेका
गाईबस्तु धपाउदै मकैभटमास चपाउदै
चरुवाहरु नेपालको गीत गाइरहेका

हिल्याएको खेतमा लस्करै रोपारेहरु
धान रोप्दै नेपालको गीत गाइरहेका
साँझमा खेतालाहरु भर्खरै रोपेको बीउ
झिक्राले छोप्दै नेपालको गीत गाइरहेका

खोलापारि हाटबजारमा दमाइँ र दमिनी
लुगा सिउदै नेपालको गीत गाइरहेका
स्कुलबाट फर्केका विद्यार्थी ढुङ्गेधारामा
पानी पिउदै नेपालको गीत गाइरहेका

आरानमा फलाम पिट्दै कामी दाइ
पसिना पुछ्दै नेपालको गीत गाइरहेका
ठाडो उकालोमा भारी बिसाएर भरियाहरू
ढिँडो मुछ्दै नेपालको गीत गाइरहेका

सिपाहीहरु, प्रहरीहरु नेपालको झण्डालाई
सलाम ठोकेर नेपालको गीत गाइरहेका
केटाकेटी देखी बूढाबूढीसम्म ठूल्ठूलो स्वरले
राष्ट्रप्रेम पोखेर नेपालको गीत गाइरहेका

Sita Adhikari – Timro Naam Ma

सीता अधिकारी – तिम्रो नाममा
(मधुपर्क भदौ , २०६७)

एउटा फूलको संसार
सागरको संसार
अनि जूनको संसार
एउटा पूर्ण संसार
आजैका दिनबाट तिम्रो नाममा
बिताउन चाहें मैले ।
भूल गरेँ या सही
छुट्याउने जिम्मा तिमीलाई दिएँ
तिम्रो नाममा लेख्न मन लाग्यो मनका चाहहरू
खुलेर गाउन मन लाग्यो हृदयका भाकाहरू ।
मैले लाख कोसिस गरेको हो तिमीलाई भुल्न
कैयौँ दिन बिताएँ मानिसका भीडमा
तर सकिनँ,
फेरि मनको कुनामा एउटा अध्याय पल्टियो
मैले नसम्झी धरै पाइनँ
तिम्रो अनुहार पढिरहेको छु ।
मलाई थाहा छ,
तिमीलाई पनि त्यस्तै भएको छ ।
तिम्रो मनमा पनि उकुस-मुकुस बाटिएका छन्
बोल्न खोजिरहेछन् आँखाहरू
खुल्न चाहिरहेछन् अधरहरू
मुस्काइरहेछ तिम्रो हृदय ।
म भ्रममा छैन
एऽ नव आगन्तुक,
तिम्रो आगमनको प्रतीक्षामा
नजर बिछ्याएको छु
आशा छ,
शुभकामनाको शिखा बालेर
धड्कनभित्र उज्यालो छर्नेछौ
त्यसैले तिम्रो भरोसामा यो जिन्दगी बिताउन चाहें मैले
यो आकास, यो धर्ती,
आजैका दिनबाट तिम्रो नाममा
अर्पिदिन चाहेँ मैले ।

– धादिङ

Rakesh Karki – Na American Bhayen, Na Nepali Bhayen

इन्जिनियर राकेश कार्की – न अमेरिकन भए न नेपाली भए

कुर्सीको मोह हुनेहरु अध्यक्ष भए
बचेका खुचेका सबै उपाध्यक्ष भए
पैसा पैसा भन्ने कोषाध्यक्ष भए
कुनै न कुनै पदका दक्ष भए
न अमेरिकन भए न नेपाली भए
एउटा न एउटा संस्था खोली भए

घुमाउन जान्ने महासचिव भए
समाएर तान्ने सचिव भए
छाती फुलाउन मन लाग्ने सल्लाहकार भए
पद नभेट्नेहरु सबै हल्लाकार भए
न अमेरिकन भए न नेपाली भए
सकेसम्म दाउपेच चाली भए

चेसका गोटीजस्ता सदस्य भए
संघसंस्था नओड्ने अदृश्य भए
जताततै मुन्टो घुसाउने पदेन भए
जसरी पनि घुस्न खोज्ने जेनतेन भए
न अमेरिकन भए न नेपाली भए
पहिले नभेट्ने बल्ल यसपाली भए

Manoj Kafle (Mansoon) – Preet Ko Nasha Le

मनोज काफ्ले मनसुन – प्रीतको नशाले

प्रीतको नशाले रातमा माया बस्यो
अंगालेर छोडेका हातमा माया बस्यो

एकपल सहि खुसि त दियेउ तिमीले
तिम्रा हर बात बातमा माया बस्यो

नभेटेकै जाती बरु सुख दिन्छु भन्नेहरु
भेटेपछि दिएको घातमा माया बस्यो

कति सजिलै भुलेर गईछेउ तिमिभने
भुल्न सकिन तिम्रो मातमा माया बस्यो

प्रीतको नशाले रातमा माया बस्यो
अंगालेर छोडेका हातमा माया बस्यो

Ram Prasad Prasain – Delphi Bata Mokshadanta

रामप्रसाद प्रसाईं – डेल्फीबाट मोक्षदन्ता

पक्षपोषण यो,
सपनाहरूको-
हार्दिकताले भरिपूर्ण,
सम्मोहित उद्दातता।

अतीतको चास्नीमा
वर्तमानका बहनाहरूले
भविष्यका लहरहरू
अ/घोषित
प्रतिबन्धित भएपछि
मान्छे कवि हुन्छ
किनकि
कवि सच्चाइ बि/बश
अमान्छे हुन्छ।

वेग-प्रवेग-आवेग
समयको मृतरेखाहरूमा
अग्रगमनको रूद्राक्ष जपिरहून्,
एक हुल, हुटिट्याउंहरू,
किनकि
‘डिमेन्टेड’
ख्याकहरू
अ/श्वेत छलचित्रमा
अ/सफलताका क्षोभहरू।

धर्मशाला-कर्मशाला-यज्ञशाला
समयको पाठकीयता
पाठशाला बेहद प्रकृतिको
मानवताका अग्निहोत्रीहरू
आत्मसम्मानको बस्तिमा
‘निरो-नाद’
श्रवण गरिरहन्छन्/नेछन्।

फिलुङ्गेहरूका सुन्दर फांटहरूमा
मानुषिक मुहारहरू
‘ब्याधाहरू’को
भत्तेरमा,
‘केस नं. ००१’
जप्दै
गुम्बामा-
अधमरो शान्तिका
भत्करू
बनिरहन्छन्,
मोक्षदन्ता

अन्तमा,
डेल्फीबाट आ. वा. आउंछ-
“नो दाइसेल्फ” ।

जुलाई २७, सन् २०१०
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
अबुधाबी श्रमशिविरबाट।

(Sent to Sanjaal Corps via Email)

Nakul Silwal – Samanata

नकुल सिलवाल – समानता

अकास्सिएको छ चङ्गा
कुनै बाज हवाइजहाज जस्तै
अवतरणको तयारीमा छ
आफ्नो पञ्जाले
कुनै रक्ती भोजन
उठाउन सक्छ, सक्दैन
खरायो लुकाउँदै छ
आफ्नो प्राणसहितको शरीर
मुसा दुलैभित्र ढुक्क
चङ्गा ओर्लंदै छ बिस्तारै
बाजलाई फन्को मार्नु नै छ अझै
आफ्ना तिखा आँखा र्
र्सवत्र रोपेर आहारा चहार्नु छ ।

मान्छेले उडाएको चङ्गा
रुखमा अड्केर आराम गर्छ
हावाको गतिमा मात्र चलमलाउँछ
बाज पनि थकाई मार्न
रुखमा नै बस्छ
नदी किनार र बस्तीमा
सिनु वा शिकार
पाए पनि नपाए पनि
भोजन र आराम
रुखमा नै गर्छ ।

फेदमा बिसौनी छ
चौतारी छ
शीतल हावामा सुस्ताएको छ मान्छे
झुण्डेर हल्लिरहेको चङ्गालाई मतलब छैन
उसलाई खानु पनि पर्दैन, सुत्नु पनि छैन
र सुरक्षा पनि चाहिँदैन ।
बाज वा अरू कुनै पन्छी
र्सतर्क छ, प्राणी सजग छ
प्राण छ, जीवन छ र नै सुरक्षा चाहन्छ, आवास चाहन्छ
बाज वा मान्छे दुवैलाई खानुपर्छ
खाना चाहिन्छ, निद्रा चाहिन्छ
यस अर्थमा बाज र मान्छे समान छन् ।

Gopal Kawali – Bhana Kasto Parichaya Diun

भन कस्तो परिचय दिउँ, छद्म दिउँ कि यथार्थता?
जस्तो पनि बन्न सक्नु, यहि हो मेरो वास्तविकता

अमिर घरको साहब भनौं, या त जे हुँ उही सही?
छेपारो झैं रंग फेर्नु, यहि हो मेरो वास्तविकता

शहरको लाउके बनौ, या त गाउँको शरल युवा?
जता मल्खु उतै ढल्नु,यहि हो मेरो वास्तविकता

नेतासंग नाम जोडौं कि, कि त जनता जनार्दन ?
जसो पनि भन्न सक्नु,यहि हो मेरो वास्तविकता

गहिराईमा डुबी दिउँकी,बोक्रो बोक्रै तरी रहुँ?
जस्तो पनि गर्न सक्नु,यहि हो मेरो वास्तविकता!!!

Yogendra Raj Sharma – Nachineki Keti Ke Garne Hola (Nepali Gazal)

योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’ – गजल

नचिनेकी केटी के गर्ने होला ?
गर्छे मरिमेटी के गर्ने होला ?

देख्दा काली तर हिस्सी परेकी
आफुभन्दा जेठी के गर्ने होला ?

खोजेर बसें म एकान्त ठाउँ
आएर घचेटी के गर्ने होला ?

मायासगँ क्या! कुरा जम्दै थियो
देखेर लखेटी के गर्ने होला ?

म नै हुँ झैं उस्को यौटै सारंगी
जथाभावी रेटी के गर्ने होला ?

Sadhana Sharma – Mero Euta Ghar Chha

साधना शर्मा – मेरो एउटा घर छ

यहाँ भन्दा धेरै पर, मेरो एउटा घर छ
त्यहाँ मेरै चिन्ता, फिक्री मेरैलागि डर छ!!

जहाँ, मेरा बाबा आजपनि,
अनायसै मलाई बोलाउनुहुन्छ रे
मलाई नै संझी आमा
घन्टौं घन्टा टोलाउनुहुन्छ रे
मेरो भाइ प्रत्येक पल
मलाई नै संझन्छ रे
बोलाएँ कि मैले भनी
निद्राबाट ब्युँझन्छ रे!

यहाँ भन्दा धेरै पर, मेरो एउटा घर छ
त्यहाँ मेरै चिन्ता, फिक्री मेरैलागि डर छ!!

जहाँ, हरेक पारिवारिक जमघटहरुमा
कति आँशु पोखिन्छन् रे
हिंड्दा हिड्दै म जस्तै कोही देख्दा
कति पाइला रोकिन्छन् रे
म नभए नि जताततै
मेरै छायाँ छ रे त्यहाँ
माया, माया मात्र माया
मेरैलागि छ रे त्यहाँ

मैले केही नगरे नि जसलाई मेरो भर छ
यहाँ भन्दा धेरै पर मेरो एउटा घर छ!!!

Acharya Prabha – Desh Samjhera

आचार्य प्रभा – देश सम्झेर

हो, म चटक्कै
आफ्नो माटो बिर्सिएर
सात समुन्द्रको माटो
टेक्न आइपुगे,
तर मेरो देशको माटो
मेरो निधारमा टिका बनेर
टाँसिएको छ
कहिल्यै नमेटिने गरी ।
मेरा खाली पाईतालाहरुमा
टाँसिएका मेरो सानो देशका
माटोका कणहरु अझै पनि
मेरा औंला औँलाहरुमा
टल्किरहेछन् सगरमाथाको
पर्याय बनेर ।
निधारमा मेहेनतको पसिना पग्लँदा
म सम्झने गर्छु,
त्यो खेतबारी र करेसाबारीका
कुलेसोहरु, अनि तृप्त बन्छु
र…,
आनन्दानुभूतीको श्वास फेर्छु
पराई भूमीको यो आँगनमा ।
जब आकाशमा
परेवाका हुलहरु
छताछुल्ल बनेर
उडेको देख्छु
तब लाग्छ मलाई
मेरो देशको बुद्धले
मलाई सम्झेर शान्तिको दूत
पठाइदिए अनि म
आकाशतिर फर्किएर
शान्तिको गीत एक पटक
गुन्गुनाउँछु
बुद्धमशरणम गच्छामी……!

Ajaya Paudyal – Ke Haami Tayar Chhaun?

अजय पौडेल – के हामी तयार छौं

भन्दछन साँचो बोले याद गर्नु पर्दैन रे
यहाँ त साँचो साँचो भन्दै बोल्दा पनि याद छैन
वीर गोर्खालीका धरोहर र उत्तराधिकारी हरू
यहाँ त हामी मात्र एक गुर्खा बनेको थाहानै छैन

सायद नून र तेल नै कमि हुन्छहोला
येदि कसैले विदेशी हस्तछॆप को कुरा गरेमा
सायद मन्त्रिज्युले पैदल हिंड्न पर्ला
एदी दोश्रो मुलुक बाट पेट्रोल आयात नभएमा
के हामी तयार छौ त कठांग्रिएको चिसो खप्न,
येदि विदेशबाट कपास र सियो आयात नभएमा ?

पहिला त आफै मा आत्मनिर्भर हुनु पर्यो
आनी मात्र स्वाभिमानको कुरा आउछ
बिना हैसीअत बोलुभेने याहात
अस्तित्व नै बेपत्ता भईदिन्छ
रिट्ठे ले बोल्दा बादी कुरा.मन्त्रि ले बोल्दा भासण
एदी कसैले स्वाभिमान को गीत सुनाए मा
कहाँ बाट आयात गर्ने, घरमा ग्यास र रासन?

पहिला को आतित सम्झन्छौ जो आफैले भत्कायौ
तर आज तेही आतित नै प्रिय छ हामीलाई
मस्तिस्क का भित्ता भित्ता मा चोट हरू छन्
अनि बेहिसाब विदेशी ऋण छ हामीलाई

कसरि उठाएर हिड्ने यो शिर ?
जब ऋणको पोको ले थिचेको हुन्छ
यहाँ हामी काल ले मरौ या नमरौ
पदाधिकारी को सुबिधार्थ मारिएको हुन्छ
र अन्त्य मा एक अर्को सहिद थपिएको हुन्छ……..

अब तराईका फाट हरू फैलाई
बुद्धत्व फैलाउने बेला आएको छ
अब हिमाल का टाकुरीहरू लाई छिचोल्दै
चन्द्र सुर्य छुने बेला आएको छ
हर घर बाट आधा बुद्ध बनेर
अनि आधा बल भद्र बनेर निस्किने बेला आएको छ

Deepak Jyoti Paudel – U Tyo Manchhe

दीपक ज्योति पौडेल – ऊ त्यो मान्छे

कपाल सेतै फूलेको
पिंठ्युमा पटुकी बाँधेको
ऊ त्यो मान्छे
अहिले ठिङ्ग उभिएको छ ।
कम्मरमा तरवार भिरेको
पूर्खा गौंरवको गीत गाईरहेको
ऊ त्यो मान्छे
सत्यत,नम्रता र धार्मिकताको अभावमा
सुन्न नसक्ने बहिरो भएको छ ।
जाती जाती बिच शत्रुता बढेको
शत्रुद्वारा वस्त्र खोसेको
आफ्नै भूमी टुक्रा टुक्रा पार्न खोज्दा पनि
धन्यवादमा वली चढाउने देखि
ऊ त्यो मान्छे
बोल्न नसक्ने लाटो भएको छ ।
धम्की र झुटका हतियार भिरि
शहर भित्र विधंश मच्चाईरहेका
अधर्म र उपद्रव देखि
ऊ त्यो मान्छे
व्याकुल भएको छ ।
आफ्नै घुँडा चिप्लिदा पनि
अरु माँथी तरवार उठाउन खोज्ने
न्यायदण्डको खोल फ्याँकी
देशको स्तूति गाँऊने देखि
ऊ त्यो मान्छे
हामी संग सोध्दैछ ।

Yagyesh Dhwoj Karki – Ishwar Bhetiyema Awashya Sodhnechhu

यज्ञेशध्वज कार्की – ईश्वर भेटिएमा अवश्य सोध्नेछु

ईन्द्रको स्वर्णगद्दीमा सायद ईन्द्र आफै छन्
या ज्यूस छन् या जूपिटर?
मृत्यु पश्चातको यात्रामा,
वैतर्नि तर्नुपर्ने हो कि
सेन्ट पिटरसँग इन्टरभ्युमा जानु पर्ने हो?
स्वर्ग पुग्न के-के गर्नु पर्ने हो?
ईश्वर भेटिएमा अवश्य सोध्नेछु।

भयाटिकन, मक्कामदिना, चारधाम
जेरुसुलम, लुम्बिनी, अमृतसर
मलाई कोही बताइदेऊ पृथ्वीमा ईश्वरको घर,
ईश्वर तिमी नै कहीं बोलाऊ
जहाँ म साक्षात तिम्रो दर्शन पाउँ,
अन्योलमा,
जाउँ पनि त म तीर्थ कहाँ जाउँ?
ईश्वर भेटिएमा अवश्य सोध्नेछु!

जिससका बोलीमा बुद्ध

बुद्धका बोलीमा सरस्वती,
शिवका अलौकिक जटामा गंगासँग
नाइल र मिसिसिपी निर्झरी,
आखिर शरीर
दफ्नाएपनि जलाएपनि माटोमै मिल्छ,
आत्मा परमात्मामै,
तिम्रो परमात्मालाई जे नाम बोलाऊ!
सृष्टिको सुरुवात आदम थिए या मनु,
यो जीवनको सुरुवात त गर्भबाटै हुन्छ,
धर्मबाट त होइन,
नत्र धर्मैधर्मले हराबरा यस पृथ्वीमा
शान्ति को शोक किन मनाइन्छ?

पृथ्वीलाई धर्मकै रणभूमी किन बनाइन्छ?
जहाँ फादरका रोब, मौलानाका दाडी र पण्डितका धोति
प्रतिपक्षीका ध्वजा भएका छन्।

ईश्वर भेटिएमा अवश्य सोध्नेछु!

मानिसले खोजे ईश्वरलाई,
ढुंगा र पत्थरमा,
सुन र चाँदीमा,
पृथ्वीमा बस्न बनाइदिएको डेरामा;
मन्दिरमा खोजे, मस्जिदमा खोजे,
चर्चमा खोजे, गिर्जाघरमा खोजे
मानिसले सायद खोज्न बिर्सेकी आफ्नो मनमा?
ईश्वर भेटिएमा अवश्य सोध्नेछु!

बाटो एक मार्गदर्शन अनेक!
इतिहास एक कहानी अनेक!
सृष्टि एक त सृष्टा कसरी अनेक?
विश्व एक त स्वर्ग कसरी अनेक?
सेन्ट होस् या ऋिषिमुनि
वेद-बाइबल लेख्ने हुन् या के के कुन्नि?
आस्था हृदयको कुनाकाप्चामा पाइन्छ
अक्षरका मन्त्र र बोलीको प्रवचनमा होइन,
त्यहि कुनामा सायद,
झूटा आश्वासनले बन्दी ईश्वर
मुक्तिको प्रतीक्षा गरिरहेछन्,

त्यसैले हे ईश्वर!

भेटभएमा म सोध्न चाहन्छु
धर्म धर्मात्मा ले बनाए कि परमात्माले?

Bibek Dulal Chhetri ‘Damak’ – Timi Prati

विवेक दुलाल क्षेत्री “दमक” – तिमिप्रती

नमाग मसित रहेको दुखेको मन
नमाग मसित टास्सिएर रहेको गरिबी
नमाग राम्रेरी पट्याउन खोज्दाखेरि उद्रिएको मेरो माया
र कहिल्यै नपलाउला कि जसरि ठुटे भै सकेको मेरो बैश ।

माग्नु त मैले पर्ने हो
तर म माग्दिन तिम्रो चुल बुले बैश
माग्दिन म तिम्रो लोभलाग्दो नागबेली केशरासी
माग्दिन म तिम्रो बदामीओठ र स्याउ झैँ राता राता गाला
माग्दिन म तिम्रो झरनाभन्दा कन्चन स्निग्ध शरीर

यौटा शर्त मान्न मन्जुर छ भने तिमीलाई
कुनै पनि सम्झौतामा नबाधिने मेरो मन
एक पल्ट तिम्रो नाममा लिखितानम गर्न चाहन्छु
त्यहा भेदभावको कुनै तरंग पैदा हुनु हुने छैन
त्यहा अग्लो होचोको कुनै ज्वारभाटा आउनु हुने छैन

तिमीले स्वीकार्यौ भने म तिम्रै हुनेछु
तिमीले साथ दियौ भने म तिमीसितै हुने छु
तिमीले अनुमोदन गर्यौ भने म त्यहीं हुनेछु
तिमीले आफ्नो ठान्यौ भने म तिम्रो लागि हुनेछु

अब म कहिल्यै भन्ने छैन
नमाग मसित रहेको दुखेको मन
नमाग मसित टास्सिएर रहेको गरिबी
नमाग राम्रेरी पट्याउन खोज्दाखेरी उद्रिएको मेरो माया
र कहिल्यै नपलाउला जसरी ठुटे भै सकेको मेरो बैश ।

अस्तु :

Prakash Thamsuhang – Saanjh Shabdachitra Ma

प्रकाश थाम्सुहाङ – साँझ शब्दचित्रमा

बैशालु युवती झैं लजाउँदै रातो घाम
जब पहाडको घुम्टो भित्र लुक्न खोज्छ
साँझ, गाउँमा बास माग्न आउँछ

दिनभर खटनपछिको सकुन र सन्तुष्टी
निश्चिन्त भई फर्किरहेछन् गोठालाहरू,
धुलो उडाउँदै मुलसटकमा
निर्धक्क चरेर जीवनको एक अध्याय
उग्राउँदै फर्किरहेछन् गाईबस्तुहरू

कुनै मायाबी लोककथाबाट अलप भएको नायक
अर्थात आनीको आँखाबाट ओझेल भएको सपना
जस्तै अचानक बिस्मृत भएका आफ्ना प्रेमीहरू सम्झेर
जोरधारामा पर्खेर पानीभर्ने पालो
सिरबन्दी जून हेरिरहेका छन् युवतीहरू

बालेर जीवनको उज्यालो साँझमा
कहाँ पुग्ने होला यी जुनकिरीहरू ?
कहाँ बास बस्ने होला यी कर्याङकुरुङहरू ?
कुन गीत गाईरहेछन् यी झ्याउँकिरीहरू ?

साँझले इन्द्रेनी रङहरू छर्दै छ कि जस्तो
चुलो बाल्न हतारमा छन् गृहिणीहरू
नेपथ्यमा सुनिदैछ ढिकी कुटेको आवाज
साँझ एउटा दिनको अन्तिम बिन्दु
एउटा दिन बितेको समय
घटाएर एकदिनको आयु, टाढा… कतै
सुनिदैछ गाएको ख्याली-जुहारी

फेरि, चढाउँदै फूलपाती देउरालीमा
सपना बेचेर फर्किरहेछन् परदेशीहरू
के कती मूल्य पाए सपनाको ?
अहो रातो देखिन्छ नदी रातै देखिन्छ मनहरू
पना डढेर होकि रातो देखिन्छ आकाश ।

-ईलाम

Bibek Dulal Chhetri Damak – Muktak Haru

विवेक दुलाल क्षेत्री “दमक” – मुक्तकहरू

१ .

गरीबलाई दुनियाले झन् गरीब बनायो
शान्त बिष्णु थियो, अचम्मको शिब बनायो
अब त बिद्रोह गर्छ ,आफ्नै भोक र रिससित
भाग्यलाई दोष दिने अचम्मको जीव बनायो .

२.

हिड्दै गर्दा बाटो भरी भैगो मैले तिमीलाई सम्झे
धरतीको माटोभरी भैगो मैले तिमीलाई सम्झे
शुख र दुख बेगरको कस्तो होला र जीवन …
स्मृतीको पाटोभरी भैगो मैले तिमीलाई सम्झे .

३.

फूल जस्तो मुहार तिम्रो ,त्यो सधै हशिलो छ
बदाम जस्तो ओठ तिम्रो ,त्यो सधै रसिलो छ
दुनियाले हेरे हेरोस् ,आखातरि हामी दुइलाई
नङ मासु जस्तो माया तिम्रो, त्यो सधै कसिलो छ .

४ .

भोकासित खाना माग्ने हात धेरै सस्तो
अरूलाई खुचिंग गर्ने बात धेरै सस्तो
कतै छैन मानवता फूललाई लुक्षेपछि
परचक्रीको क्रूरतामा रात धेरै सस्तो .

५ .

पिर मर्का पर्दाखेरी आशु चुहाउने कोहि छैनन्
असत्य र कुकर्मलाई कुहाउने कोहि छैनन्
जति छन् वर पर अर्कै लाग्छन् त्यसै त्यसै
स्नेहको कुवा खनी नुहाउने कोहि छैनन् .

अस्तु :
दमक , झापा
हाल :अबुधाबी ,यू ए ई .

Baidyanath Upadhyaya – Goreto Haruma Hidnu

बैद्यनाथ उपाध्याय – गोरेटोहरुमा हिंडनु

सजिलो हुँदैन
गोरेटोहरुमा हिंडिरहनु
जहाँ दुवैतिर काँडे झारहरु उम्रिएका हुन
र बेलुकीको समयले
दिनको उज्ज्यालोलाई क्रमश निल्दै गरेको होस
र त्यहीं हिंडनेलाई
आफ्नो गन्तव्यको पनि थाह नहोस…
तब यसरी हिंडदै जानु
बीहड जङ्गलमा, एकलै
कति यातनाहरु जन्माउँछ।
मेरा साथी!
म पनि यस्तै गोरेटोहरुमा
हिंडिंरहेछु साँझ-बिहान
काँडे झारहरुको चुम्बनले
हरपल रगताम्य छन पाइलाहरु
अनेक वेदनाहरुको चिच्याई
सुनेको नसुनै रहन्छ एकान्तका पलहरुमा।
बाटामा छोडिएका रक्तिम पदचिह्न
धुलाको तरपमुनि गुमनाम सुतेका छन।
थाह छैन अरु अगाडि
कति बाटो हिंडनु छ
गुज्रदैं इ गोरेटाहरुबाट
कति व्यथाहरु झेल्नु छ
म दिशाहीन र पथभ्रष्ट भएको छु
कहाँ कहाँ अरु कति ठोकर
खानु छ…
यस्तो स्थितिमा इच्छा-अनिच्छाको
के सवाल उठन सक्छ!
केवल हिंडदै जानुनै
आफ्नो नियति भएको छ
बिकल्पको कुरानै यहाँ
कहाँ?