Kumar Simkhada – Mera Samjhana Ka Reel Haru

कुमार सिंखडा – मेरा सम्झनाका रिलहरु

मेरा सम्झनाका रिलहरु
एक पछि अर्को
अर्को पछि अर्को
दोहोर्याउँदै तेहर्याउँदै
कुनै प्रदर्शनीको फोटो हेरे झैं
प्रत्येक हाउ-भाउलाई
प्रत्येक भावनालाई
टोलाउँदै
मुस्कुराउँदै
म हेरिरहेछु
मेरा आँखाभित्रका
मेरा सम्झनाका रिलहरु।

मेरा अतीतका चक्काहरु
पहिलोपछि दोश्रो
दोश्रोपछि तेश्रो
अन्तिमपछि फेरि पहिलो
कुनै उत्कृष्ट गीति एल्बम सुने झैं
प्रत्येक ध्वनि
प्रत्येक शब्दसँगै
स्फुराउँदै
सुसेल्दै
म सुनिरहेछु
मेरा अतीतका चक्काहरु।

सम्झनाका रिलहरु
अतीतका चक्काहरु
न त बात गर्छन
न त घात गर्छन्
न त वर्तमानलाई लात गर्छन।
बरु,
भीडबिचको एकान्तमा
अनि कोलाहलको सुन्यतामा,
मेरा हर प्रयासलाई साथ गर्छन्
कदम-कदमलाई राहत गर्छन्
हर हिंडाइमा आहट भर्छन्।

म जिउँछु तर
मेरा अतीतका चक्काहरु सास भर्छन्
म हिंड्छु तर
मेरा सम्झनाका रिलहरु साहस थप्छन्।
हरपल
हरक्षण
ढोकामाथिको परदेशीका तस्वीरलेझैं
अटल मलाई पछ्याइरहन्छन्
मेरा प्यारा सम्झनाका रिलहरु।
भोल्युम बिग्रेको थोत्रो रेडियो झैं
लगातार बजिरहन्छन्
मेरा अमूल्य अतीतका चक्काहरु।

Asha Gurung – Timi Mero Banideu Na

आशा गुरुङ – तिमी मेरो बनिदेउन

म पर्खिबसेकी छु ती घुम्टोहरुलाई
तिमी बादल बनि आइदेउन
म रमाउन सक्छु तिम्रो बिशाल छातीमा
तिमी आकाश बनि आइदेउन
तिमीभित्र कतै म हराउन चाहन्छु
तिमी मेरो आँखीझ्याल भएर हेरिदेउन
म रुझिदिउला बरु तिमीसङै सधैं
साउनको झरी बनि तिमी आइदेउन

अबिरल फक्रिरहन सक्छु तिम्रो कोमल स्पर्शमा
तिम्रो आभास म भित्र रहिरहन देउन
आशाहरुको प्रतिक्षा गरी बस्छु म
प्रतेक बिहानीको किरण तिमी बनिदेउन
सजिदिउला म कान्लासरी तिम्रो लागि
तिमी खेतका गराहरु बनिदेउन
गोरेटो बनि म साथ दीरहुँला
नठाक्ने बाटोहरु तिमी मेरो बनिदेउन
म कतै कमजोर भएछु भने
मेरो दरिलो साहस तिमी बनिदेउन
अन्जानमा म बाट गल्तिहरु हुन गए
मार्गनिर्देशक तिमी मेरो बनिदेउन

समर्पिनेछु तिम्रो लागि म सारा
केबल मेरो आत्मा बनि तिमी आइदेउन
म सबै स्वीकारनेछु बरु कसम खाई
मात्र एकपटक त्यो सुन्यपनलाई पढिदेउन
मायाको निस्चल दुनियाँमा कल्पिरहेछु
तिम्रो सुन्दर ओठ्हरुबाट गुम्सिएका ती भावनाहरु छरिदेउन
अभाबहरु सहीदिउँला हाँसी हाँसी
पवित्र बन्धनको प्रतिमुर्ती तिमी मेरो बनिदेउन
तिम्रो श्वासहरुको भरमा म बाँचिरहुला
सदाबहार सहयात्री तिमी मेरो बनिदेउन
हजार्-हजार जुनी माया तिमीलाई गरिरहुँला
केबल ढुकढुकी तिमी मेरो बनिदेउन
म सुन्दर स्वर्गको संसार बनाउँला
तिमी मेरो मनको भगवान सदैब बनिदेउन।।

Bashu Shashi – Mero Desh Ko Pustak

बाशु शशी – मेरो देशको पुस्तक

मेरो देशको पुस्तकका पृष्ठहरू
ठाउँ–ठाउँमा च्यातिएका छन् !
यसलाई पढ्ने मेरा बालकहरूले
अवश्य ‘यो त भएन बा !’ भन्नेछन् !
यसका पन्नाहरूको अक्षर नै मेटिने गरी
ठाउँ–ठाउँमा कालो मसी पोखिएको छ !
यसलाई पढ्ने बालकहरूले
अवश्य ‘यो त नराम्रो भो बा !’ भन्ने छन् !
अनि म बाँझोले बादललाई झैं हेरिरहुँला–
तिनीहरूले ती चौटाहरू ल्याएर जोडेको !
दागहरू माझेर पुस्तक सफा पारेको !
हो, मेरो देशको पुस्तकका पृष्ठहरू
ठाउँ–ठाउँमा च्यातिएका छन् !

Hari Adhikari – Prem Ko Pahilo Swad

हरि अधिकारी – प्रेमको पहिलो स्वाद
(मधुपर्क २०६६ चैत)

तिम्रो उत्तप्त निधारमा
मैले मेरो चिसो ओठलाई बिसाएँ
तिमी अलिकति चल्मलायौ
तिम्रा आँखाको ढकनीलाई
मैले विस्तारै बन्द गरिदिएँ
तिमीले मभित्र बलिरहेको
उन्मादको डढेलोलाई प्रस्टसँग देख्यौ
मैले तिम्रो ओठको खापा उघारेर
चञ्चल चपल जिब्रोलाई जगाउँन खोजेँ
तिमीले मेरै वाणी पो बन्द गरिदियौं
मैले तिम्रो कमनीय कैशौर्यलाई
एकै फड्कोमा ‘त्यो’ जङ्घार तर्न लगाएँ
तिमीले मलाई पो बनाइदियौ
तिम्रो पहिलो प्रेमी
र, पहिलो पुरुष ।

Nawaraj Subba – Chakka Pardai Chhu

नवराज सुब्बा – छक्क पर्दैछु

हालखबर !
खै के भन्नु
म त आजकल
छक्क पर्दैछु
यता सुकुम्बासी
गोली खान्छन्
र सहिद हुन्छन्
उता विदेशी आउँछन्
र नागरिकता लिन्छन्
सपनाको खेती गर्न सधैं
साढेजुधाई मात्र हने देश
अधिकारकै नाममा सधै वन्द हुन्छ यो देश
मन र बाटाहरू परदेशिए बिरक्तिएर
कतै हिडि सक्नु छैन
तीर्खा लाग्दा पिउने पानी छैन
टाउको दुख्दा सिटामोल पाइँदैन
दुखिरहने मनको पोको छ एउटा
त्यो पनि फुकाउने ठाउँ कतै छैन
न छोरा, न बुहारी, न नाति नातिना
आफ्ना सन्तान सवै परदेशी
म स्वदेशी आज विदेशी जस्तो
आफ्नै देशमा एक्लो भएको छु
हिड्दैछु पाउन शान्ति
सुख खोज्न भौंतारिदैछु
आज दोबाटोमा अचानक
घेरे शहीदहरूले मलाई
अनि रोए, कराए, झसङ्ग बनाए
गन्तव्य भुलि बरालिएको भेटेर
मलाई गिज्याउनसम्म गिज्याए
धत्तेरी ! लक्ष्य पुग्न हिडेको म बटुवा
पत्तै नपाई लठुवा पो भएछु
आफ्नै गतिमति यस्तो देखेर
म तीनछक्क पर्दैछु ।

Rupesh Rai – Gaun Biunjhera

रुपेश राई – गाउँ विउँझेर

गाउँ विउँझेर शहर तर्सियोस् ।

दानाहरू,
लाम्चिलो, डल्लो
केही सानो, ठूलो पनि
प्रयास गर्दैछु, छुट्ट्याउने ।
‘वीरबहादुर’हरू,
गाउँका, गरा बिराउँदैछन्
रोप्नलाई क्रान्ति, भुँड़ि अघाइन्जेल ।
‘वुद्धिमान’,
सुटुक्क, शहर रोप्न भन्छन्
अरू, के…के पनि !

पापा, शहर कसरी बस्यो होला ?
यो, उत्तर दिनु छ
शहरबाट गाउँ चियाएर
गोजिमा ‘न्यानो’ हात घुसारेर ।
म,
आफैलाई हेरदैछु
मान्छे उभिएर
गुन्द्रुकको सुप पनि पिउँदैछु ।
अलिक त….ल देख्दैछु
बगर खोला पटक्क नमिलेको
किन होला ?
उसले धर्ती थुक्यो,
मैले आकाश थुके । अनुहार भिज्यो
सोच्दैछु किन भिज्यो ?
शृङ्खलित विशृङ्खलताले हो कि
साक्षर अशिक्षितताले हो !!
तर..अहो !
पार्थक्य देख्दैछु, गाउँ शहर माझ ।
यसैले त!
गाउँ बिउँझेर शहर तर्सियोस्
विकासले माला उनियोस्
शिक्षाले सन्दुक बनियोस् ।।
(शहर, गाउँतिर पस्दैछ रे)

दार्जीलिङ

Baidyanath Upadhyaya – Aandhi Beri Ma

वैद्यनाथ उपाध्याय – आँधी बेरीमा

संक्रमणको आँधीबाट
गुज्रदैं छ समय!
ढोका खुल्दैछ
नयाँ नयाँ विश्व बजारको
अब त हामी आँफैं
किनिने र बेचिने पनि
भै सकेछौं।
तिम्रो शिप र खुबी को भाउ
तिम्रो दिमागको पनि
भाउ तोक्ने छ बजारले
सहानुभूति,दया,ममताको
उठिबास नै भै सकेछ
खै अब यो जीवन
निर्जीव यन्त्र सरह
घिस्रिंदैछ
कसैले थिच्दछ बुटाम कहीं
अनि खुल्नेछौं, दगुर्नेछौं
फेरि बन्द हुनेछौं
यो कस्को समय हो?
खै, अब त हैकिंग भै सके जस्तो छ
यो दिमाग पनि
मेरो आफ्नो भन्ने रह्यो नै
के र अब यो
आँधी बेरीमा!

Tanka Subba – Kun Utsav Ko Tayari Ma

टंक सुब्बा – कुन उत्सवको तयारीमा ?

दरिद्रताको टापुमाथि
चुहिएको फगत रगत र पसिना
हुस्की र ब्राण्डीसंग प्याला भरी भरी
मद्होस् हुदै मध्यानी रातमा
निर्मम उठाएर ओंठसम्म मदिरा
सल्बलाइ रहेछन् यत्रतत्र तिनीहरु
कुन उत्सवको तयरीमा ?

हर्षोल्लास छैन यहा कुनै विजयको
मौसम छैन यहा कुनै चाडपर्वको
तर पनि मनाइरहेछन् प्रत्येक साझ
रहस्यमय उत्सवहरु
अनभिज्ञ छन् उत्सवमा जुटेका पाहुनाहरु
अस्पष्ट छन् रमझममा उभेका आफ्न्तहरु
भोज र मोजमा छरिएको रौनकताले
बिर्सिएर आफैंलाई
कोलाहल भित्रबाट
बिष्फोटित
चियर्स आवाजहरुसंगै
मिस्सिदा
निरवताको छाप्रोमाथि
चुहिएको फगत रगत र पसिना
हुस्की र ब्राण्डीसंग प्याला भरी भरी
मद्होस् हुदै मध्यानी रातमा
निःसंकोच उठाएर ओंठसम्म मदिरा
खोजिरहेछन् झुम्न तिनीहरु
कुन उत्सवको तयरीमा ?

पोखिएर असमानता छ्यालव्याल
घाइते भएको देश
चर्मराइरहेछ प्रत्येक दुर्घटनाहरुले
आर्तहरुको घाउ झैं
छट्पटाइरहेछ बेदनाहरुले
रोगी मान्छेको पीडामय छात्ती झैं
तर अझैं सक्षम भएका छैनन्
मल्हम पट्टी बाध्न
उपचारार्थक देशभक्तिहरु
अझै बढ्न सकेका छैनन्
सिमा सिमामा रक्षार्थको लागि
पुरुषार्थका कदमहरु
केवल दीनताको मझेरीमाथि
चुहिएको फगत रगत र पसिना
हुस्की र ब्राण्डीसंग प्याला भरी भरी
मद्होस् हुदै मध्यानी रातमा
निःसन्देह उठाएर ओंठसम्म मदिरा
सोचिरहेछन् तिनीहरु
कुन उत्सवको तयरीमा ?

काचुली फेरिएर आदिम समाजबाट
क्रमशः हुदै गयौं प्रवेश
सशस्त्र युगको भीडतिर
उज्यालो पाउ”दा अलिकति विवेकको
कुल्चिरहेछौं निर्मम
आफ्नै वस्तीहरुलाई
जहा असंख्यौं चित्कारहरु छन् मानवताका
जहा असंख्यौं नाङ्गा आङ्हरु छन् स्वाभिमानका
तर चिहाएनौ कहिल्यै
यी परिवेशहरु
बरु मूर्ति झैं नतमस्क
कुल्चिएर दुनियाको उज्वल भविष्यलाई
उभिरहेछौ मपाईंत्वले
त्यसैले
दरिद्रताको टापुमाथि
चुहिएको फगत रगत र पसिना
हुस्की र ब्राण्डीसंग प्याला भरी भरी
मद्होस् हुदै मध्यानी रातमा
निर्धक्क उठाएर ओंठसम्म मदिरा
ओढ्न चाहिरहेछन् महानता तिनीहरु
कुन उत्सवको तयरीमा ?

Shekhar Dhungel – Kalo Chhaya

शेखर ढुङ्गेल – कालो छायाँ

त्यो छायाँ
अँझै पछ्याई रहेछ
घुसेको छ रौं रौं अनि
मस्तिस्कको नसा-नसामा
जति घस्रिए पनि
दरिद्रताको छायाँ हटेको छैन
जति भोगे पनि
कुलिषताको संस्कार
पखालिएको छैन
मनको कालो कोठरीभित्र
ज्योतिको भण्डार हुले पनि
‘दंभ’को छायाँ भागेको छैन
त्यही छायाँ च्याप्नु थियो त
यहाँसम्म लखेटियौ किन ?
‘कोख’को बिषाक्त दात
निकाल्नु थिएन भने
‘TO BE POSITIVE ”
संस्कारको देश नै रोज्नु किन ?
आफ्नो भूत्ते ‘दंभ ‘लाई
‘सम्पूर्ण’ सम्झेका थियौ त
शालीनहरूको बस्ती पस्यौ किन ?
अझै कति बतासिन्छौ ?
‘अहम्’ छायाँको दास बनेर ?
अझै छायाँ लस्सिरहेछ मनमा
अनगिन्ती कालो योजना रचेर

Hemanta Pardeshi – Bichara Kakakul Haru

हेमन्त परदेशी – बिचरा काकाकुलहरु

अनाबृष्टि र खन्डबृष्टिले ,
पटक पटक उजाडिएको मेरो मनको बस्ती ।
यो साल पनि रत्तिभर ओसिलो बनेन ,
अर्थात, त्याग र समर्पणको चर्को खडेरीमा ,
बिश्वासको पालुवा फेर्न सकेन Continue reading “Hemanta Pardeshi – Bichara Kakakul Haru”

Saraswati Shrestha Saru – Jhyaunkiri

सरस्वती श्रेष्ठ ‘सरु’ – झ्याउँकीरी
(Source: मधुपर्क जेठ, २०६८)

बूढो बकैनाको रुखमा
उल्टो झुण्डिएर साँझपख
झ्याउँकीरी
घामले टेकेको डोब हेरिरहेछ
चरचरी छात्ती चिरिने गरी
बिदा हुने बेलामा घामले भनेथ्यो-
‘जीवन कर्कलाको पानी हो’
छुनै नपाई ढल्पलाउने
भोलि ब्यूँझदा बिहानीसँग
म पनि ब्यूँझेँछु भने
भेटौंला यही बकैनाको रुखमा ।
तिमी पानी भर्ने निहुँमा सुटुक्क यतै आउनु
तिमी खनायो खाने निहुँमा लुसुक्क यतै आउनु
तिमी गोठालो जाने निहुँमा खुसुक्क यतै आउनु
र भेटौंला तिर्खाएका मनहरु धित मरुञ्जेल
र टिपौंला आँसु रित्तिएका पोल्टाभरि खनायो धित मरुञ्जेल
गोठालोमा मनका गीत गाऔंला
रुँदै/हाँस्दै
हाँस्दै/रुँदै ।
बूढो बकैनाको रुखमा
उल्टो झुण्डिएर साँझपख
झ्याउँकीरी
बकैनाको फेद हेरिरहेछ
फेदैमा लेसिएको माटो हेरिरहेछ
फेदैमा टाँसिएको ढुङ्गा हेरिरहेछ
माटोको पनि जीवन छ
ढुङ्गाको पनि जीवन छ
र अनि यो साँझको पनि ।
घामले छोडेर गएपछि रोएको साँझमा
फेरि कुन बिहानीले ब्यूँझाउने हो यो साँझलाई
बकैनाका पातहरु हल्लेर
फेरि यो साँझ हल्लिरहेछ
र माथि आकाशबाट ताराहरु चुहिएर
झ्याउकीरी चिथु्रक्कै भिजिरहेछ ।
बूढो बकैनाको रुखमा
उल्टो झुण्डिएर झ्याउँकीरी
फेरि भोलि घाम ब्यूँझिएर आउने बाटो
पर्खिरहेछ-पर्खिरहेछ ।

-पोखरा

J B Sherpa – Timro Swarga

जे .बी . शेर्पा – तिम्रो स्वर्ग

असमयमै समयले झुत्रो पारिएको अनुहार माझ ,
अझै सपना देख्न नछाडेका चम्किला आँखाहरु ,
अगाध मायाँ र स्नेहका मूलहरु सुमसुम्याउँदै,
कसैको फिर्ती आगमनमा,
भत्किएको आँगन को डिल देखि एक टक ,
उजाड उराठ गोरेटो मा पर पर सम्म,
विछ्याई रहन्छ हरेक याममा !

अनि ,बुढो रुख झैँ ठिंग ,
बेढंगका भै सकेका खस्रा र फुटेका हात् खुट्टाहरु लिएर ,
हरेक यामको आगमन लाई,
कसैको सु-कोमल यादहरुले बेरेर,
पठाई रहन्छ लपक्कै भिजेको संदेश,
संदेशमा अटाइ नअटाइ कोचिएका हुन्छन ,
सल्ला घारीको एक झोंक्का वतास,
वर पिपलको एक भारी छायाँ,
खोला खोल्छाको मुरी मुरी कलकल छङ् छङ्,
हिमालको एक मोहनी मुस्कान,
ध्वजा पताका र लुङ्दरहरु को अनगिन्ति फरफर ,
मन्दिर र गुम्बाहरुको टिङ् टिङ् ,
हलीको अलिकति हःह :ह:ह: !!
घांसी , गोठालो र चराहरुको केहि गीत,
यी सवैले एकै साथ,
भक्कानो छाडेर वह गाईरहेको हुन्छ ,
न हराउनुहै …!!! फर्की आउनुहै छकालमै …!!!
अनि,
आँखामा भोलिको सुनौलो सपनाहरु टलकाउँदै !
ति हात् खुट्टाहरुमा संजीवनी परे झैं फेरी,
त्यही उजाड उराठ गोरेटोहरुमा जुटी रहेका हुन्छन,
कसैको स्वागतमा, आशाका नयाँ पालुवाहरू खोज्दै , सुम्सुम्याँउँदै !

यो सवै तिम्रै निमित्त भै रहेको छ थाहा छ तिमिलाई ?
तर हरेक संदेश पछी,
एकाएक दिनहरु पट्यारलाग्दा र लामा बन्छन,
समय लामो तगारो बन्छ,
समय एक क्रुर सिमाना बनिदिन्छ,
उनीहरुको लागि !

शत्रु त समयनै हो ,
जो हरपल बाधक बनि दिन्छ ,
जो हरपल तिमि लाई बन्धक बनाई रहन्छ ,
बनाउन खोजि रहन्छ ,
धेरै भो तिमि अब ,
समयको बन्दि, किमार्थ हुन सक्दैनौ ,
वाध्यताको बन्दि हुन् सक्दैनौ ,
तिमि त्यहाँ फर्कनै पर्छ !

एकटक आँखाहरु बिछ्याएर
बिछोडिएका सवैले पर्खी रहेछन !
जब तिमि त्यहाँ पुग्नेछौ
वर्षौं देखि दिन दिन गन्दै मायाँ बाटेका डोरी हरु
दिन दिन गन्दै सपना बुनेका आँखा हरू
र छाँद हाल्न आत्तुर कम्पित हातहरु ले बाँधीनेछौ !
अनि फेरी
मन्द बतासमा , माटोमा ,
धुवाँ मा धुलोमा ,झरीमा , हिलोमा
खोलाको एकनास सुसाइमा घुलिएको,
आफ्नै माटोको सुवास हरुले गर्ल्याम्म अंगालो हाल्दा ,
विर्सिएर विगत , विर्सिएर भविस्य,
हर्षविभोर तिमि ,
आमाको काखमा एकाएक फेरी चुलबुले बन्दा ,
समय स्थिर पाउनेछौ , वर्तमान रोकिनेछ टक्क ,
बन्धक बन्नेछ समय,
हो त्यहिनैहो तिम्रो स्वर्ग !

Ram Gopal Ashutosh – Sandeha

रामगोपाल आशुतोष – सन्देह
(मधुपर्क २०६६ भदौ)

सफलताको पहाड झरेर
पीडाको नदी तर्नु
आकाश बिछ्याएर छातीमा पाताल ओढ्नु
विश्वासको छाताबाट
छलको छुरी मुटुमाथि तपतप खस्दा
रगत जमेको घाउ सिएर बाँच्नु
कठिन हुंदो रहेछ
अचानो जिन्दगी र चुपीको कथा बुन्नु ।
यतिबेला
म किंकर्तव्यविमुढ उभिरहेको छु
त्यही गणतन्त्रको पूर्वसन्ध्यामा
जहाँ मेरो नाम गएको छ
मलाई टेकेर तिनै ठालुहरू
जसले उनेको अक्षरका जञ्जिरहरूमा बाँधिएर
अढाई शताब्दीसम्म चिच्याइरहेँ
मेरो देश खोई ? खोई मेरो देश ?
मेरो भाषाको व्याकरण फेरेर
मेरो जिभ्रोमा जञ्जिर कसेर
पुस्तकमा मेरै तस्बिर राखेर
परिभाषामा रूपको नेल र अनुहारको बनोटमा
अट्टहास हाँस्ने आगन्तुक शब्दहरू
मेरा तत्सम शब्दहरूमा तत्पुरुष समास खडा गरेर
आयातित तद्भव शब्दहरू
प्रत्यय लगाएर मेरो नामसँग
उभिएको पाउँछु उपसर्ग भएर सदनमा
मलाई थाहा छैन उनीहरूले
दुःखका अजस्र असिना छिचोल्दै
हिमालजडित
धुजाधुजा ढाकाटोपीले पसिना पुछिरहेको
मेरो कविताको बिम्ब बुझ्लान् नबुझ्लान्
समयको बहाव, दुःखको पहाड
र पीडाको नदीलाई गोडमेल गर्दै फलेको
खलामा सुकेको अन्नपात खुवाउँदै हुर्काएको
मेरो परिभाषा बोकेर जाने आगन्तुक शब्दहरूले
मेरो कवितालाई न्याय गर्लान् नगर्लान्
उत्साहाको खलामा छरपष्ट अन्नपात बटुल्दै
खट्टे भुटेर बाटोको सामल बनाई पठाएका
निरासाको शहर
आलिसान महलमा हुर्केका प्रत्ययहरू
सुकिलो लुगामा, आफूभै”m आयातित अत्तर भिरेका
वर्तमान सत्ता साझेदारहरूलाई थाहा होला नहोला
मूल्यवृद्धि, अभाव र अतिवृष्टिले सुकाएको मेरो खलामा
कसरी अन्नको भकारी घट्दै गयो
मेरो तत्सम शब्दमा
कसरी प्रत्यय लाग्दैछ, उपसर्ग लाग्दैछ
कसरी तद्भव अक्षरहरूले च्यापिएर
मेरो खलाको अन्न
मेरो नाउँको परिभाषाजस्तै भूगोल
रोइरहेको होला कुन्ठित भएर सभ्यता
युगको अन्तरपछि म सोचिरहेँछु
युगको यो एकदिनमा
छैटौँ यो किताब लेखनमा पनि
के पहिलेजस्तै तत्सम शब्दहरू
खलामा सुक्दै घटेको अन्नजस्तै हराएको परिभाषा
तद्भव, उपसर्ग र प्रत्ययको अतिक्रमणबाट बच्न
हातमा भिषा र मनमा कम्ब्याटको सपना बोकेर
पिठ्यूँमा बालुवा र पत्थरको भार सहँदै
दौडिरहेका होलान् उकाली-ओराली
या भुकिरहेका होलान्
कोठाभित्र बसेर सहरी कुकुरझैं
गाउँका कुकुरहरू बाहिर आएर भुक्छन् ।

Pradeep Chapagain – Samaya Ma Ani Desh

प्रदीप चापागाईं – समय, म अनि देश

म सानै छँदा
बार्‍हखरी भर्‍याङ चढेर
क,ख,ग हुँदै
क्ष,त्र,ज्ञ सम्म पुग्थेँ
विभक्ती उपसर्गहरु
आकार ईकारहरु
अनि शब्द र वाक्यहरु
समयले नै सिकायो
चिनेँ अक्षरहरु
तोते Continue reading “Pradeep Chapagain – Samaya Ma Ani Desh”

Mukul Dahal – Pahad Ka Kura

मुकुल दाहाल – पहाडका कुरा

पहाडका यी कुराहरू मेरा मन नजिक छन्
त्यसैले म पहाडका कुरा गरिरहेछु
म यहाँका पुड्के थुम्काहरूलार्इ
त्यहाँका गौरवशाली चुचुराहरूसँग जोडिरहेछु ।

यी थुम्काहरू जसलार्इ उनीहरू Continue reading “Mukul Dahal – Pahad Ka Kura”

Rupesh Rai – Laaj Lagiraheko Chha

रुपेश राई – लाज लागिरहेको छ

लाज लागिरहेको छ
घरि-घरि त्यही कुरा सुन्नु/सुनाउनु।

स्कूलमा छँदा पनि कानहरू
त्यस्तै कुरा सुन्थे, आजझैँ। बोल्थे
मुखहरू आजझैँ।

चिप्रा निकालेको जस्तो
आँखाबाट पालै पालो। Continue reading “Rupesh Rai – Laaj Lagiraheko Chha”

Deep Raj Neyong-Hang – Samaya Ra Chhayan

दीप राज नेयोंगहांग – समय र छाँया

युगका साँची
अट्टल पत्थरहरुमा
लेउका लेपनहरु पखाल्दै
खोजिरहेछन् मान्छेहरु यथार्थ रङ्ग
समयसँगै
पानी बगीरहन्छ निरन्तर
खियाईएका पत्थरहरुमा
युगका तरङ्गीत ध्वनीहरुका
तस्विरहरु Continue reading “Deep Raj Neyong-Hang – Samaya Ra Chhayan”

Rupesh Rai – Positivity

रुपेश राई – पोजिटिभिटी

सधैंजसो कविता
माने! कविता सधैंजसो। प्यारप्यार बोलिरहन्छे।

तल्लो घरकी बुहारी
माथ्लो घरकीसँग च्याट गर्छे
कौसीमा बसेर। ब्राण्ड न्यु ल्याप्टप
नभ्याएर गाउँलाई भ्याउने मोबाइलमै।

[फ्लाशब्याक…
हतार-हतार Continue reading “Rupesh Rai – Positivity”

Bhairab Nath Rimal – Jun Phool Maile Chaheko Thiyen

भैरबनाथ रिमाल – जुन फूल मैले चाहेको थिएँ

जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ
सौन्दर्य भने यो सधैं मेरो आँखामा लुकेछ

सुख र दुख सँगाली दिन जीवनमा त्यै थियो
दिनरात अब मदेखि टाढा भएर गै दियो
बिरानु Continue reading “Bhairab Nath Rimal – Jun Phool Maile Chaheko Thiyen”

Rakesh Karki – Mahakabi Devkota Ko Samjhanama

इन्जिनियर राकेश कार्की – महाकवि देवकोटाको सम्झनामा

सात समुद्रलाई च्यातेर हेरेँ
अहा मैले त्यो प्यारो नेपाल देखेँ
माटो ढुंगाले बोलाईरहेको
महाकविको तस्विर टोल्हाईरहेको
लक्ष्मी पुजाको दिन रमाइलो
देउसी Continue reading “Rakesh Karki – Mahakabi Devkota Ko Samjhanama”