Bhupin Byakul – Samaya-Naasiya

भुपिन ब्याकुल – समय-नासिया

आधी जून मन पराउने अहुनार सम्झिन्छु
कर्कलाको पातबाट चिप्लिएको पानीको थोपाजस्तै
पुरै रात चिप्लिएर जान्छ
र नयाँ बिहान
गहिरो निद्राबाट ब्युँझन्छ
मा बिर्सन्छु समय !

पढिरहेको हुन्छु कुनै किताब
जीवनलाई छोएर बगेको, कुनै नदीजस्तो
या सुनिरहेको हुन्छु कुनै सङ्गीत
बलेंसीमा तप्किरहेको पानीको मिठो आवाजजस्तो
या आँफै संग लाज लागेर
अब कहिल्यै दुख्दिनँ भन्ने झुटा कसम खाइरेहेको हुन्छु
मलाई ख्याल हुदैन समयको …. !

गुम्बामा पर्खिबस्छु
कहिल्यै बत्ति बाल्न नआउने उसलाई
कसैले बालेर गएका बत्तिहरु निभ्छन्
कसैले अर्को बत्ति जलाएर जान्छ
गीत सकिएपछि
क्रमशः बिलाउँदै गएको सङ्गीतको धूनझैं
मेरो आफ्नै धून निभ्दै जान्छ मभित्र

आह !
सालिकझैं टक्क अडिएर समय
मेरो जीवनको चोकमा उभिन्छ

गुम्बामा बत्तिहरु जलिरहन्छन्
गुम्बामा बत्तिहरु निभिरहन्छन्
अँह कदापि जलाउन चाहन्नँ म
निभेको बत्तिजस्तो समय !

यो कस्तो चरम आनन्द ?
आफ्नै जीवनको साँघुरो आँगनमा
सहिद भएको समयको लास हेरिरहेको छु
मानौं मलाई जीवनभरी
समय-नासिया भएको छ
र मानौं मैले
समयलाई चिन्न अस्वीकार गरिदिएको छु
जसरि प्रत्येक जुनेली रातहरुमा
जूनले मलाई चिन्न अस्वीकार गर्छ !

Chandra Gurung – Rajdhani Ka Bihan Din Ra Sanjh Haru

चन्द्र गुरुंग – राजधानीका बिहान, दिन र सांझहरु

बिहान सबेरै
(यहाँका सडकहरूमा
घामका कलिला पाइलाले नटेक्दै …)
धरहराभन्दा अग्लो महँगी,
अस्पतालभन्दा रोगी सभ्यता
र ‘डम्पिङसाइट’भन्दा बढी गन्हाउने
हाम्रो शासन प्रणालीको खबर बोक्दै
केही ‘न्युजपेपर हकर’हरू
प्रत्येक चोक,
प्रत्येक गल्ली
र प्रत्येक सडकमा ओहोर―दोहोर गर्छन्।
यहाँ,
बिहानी हावाले
बाग―बगैंचाबाट एक पोको सुगन्ध नल्याउँदै
चोक―चोकमा अनशन बसेका फोहोरको डुङ्गुरबाट
प्रत्येक घरको प्रत्येक कोठामा
आइपुग्छ एक हुल अनावश्यक दुर्गन्ध।
प्रत्येक बिहान,
यसरी उदाउँछ राजधानीको घाम।
यहाँ दिनैभरि
सडकहरूमा दगुर्छन् भ्रष्ट नेताका भारी पजेरो,
कर्मचारीहरू ओसार्दै बूढा सरकारी गाडीहरू
र कुद्छन् कुना―कुनाबाट
चेपिँदै―चेपिँदै … गरिब साइकलहरू।
यहाँ चोकहरूमा
उभिएका ‘ट्राफिक पुलिस’ देखेर
तर्सिन्छन् साना―ठूला गाडीहरू
कि, नपुग्ने भयो गन्तव्य निर्धारित समयमा।
ठाउँ―ठाउँमा,
अनुहारैभरि अश्लील ‘फिल्मी पोस्टर’ टाँसेर
उभिएका बाध्य पर्खालहरू भेटिन्छन्
र पार्कहरूका बेंचीमाथि प्रेमी जोडीहरू
लाज―शर्मलाई लोप्पा ख्वाउँदै
ननभेज मासाहारी प्रेममा मिक्स गरेर
खान्छन् सँगै जुग बिताउने ‘ककटेल’ वाचा―कसम।
साथ―साथै देखिन्छन्
बजारैभरि र व्यस्त चोकहरूमा
सस्तो चुरोटको धूवाँसित
आफ्ना रङ्गीन पीरमर्काहरू उडाउँदै गरेका भरियाहरू
र खुल्ला चउरहरूमा भेटिन्छन्
वर्गीकृत विज्ञापनले मुख छोपेर
दिउँसै निदाइरहेका बेरोजगार जीवनहरू।
प्रत्येक दिन,
यसरी हिँड्छ राजधानीको समय।

जब साँझ पर्छ
थकित सडकपेटीमाथि
हिँड्न थाल्दछन् अवैध निशाचरहरू
सापटी माँगेर लाटोकोसेरोसित आँखा।
छिप्पिँदै गरेको रातसित
गाउन थाल्छन् दोहोरी साँझहरू,
नाच्न थाल्छन् सुकुमारी डिस्कोहरू
र नाङ्गिन थाल्छन् अर्धनग्न डान्सबारहरू।
साथै,
भट्टीहरूका कुना―कुनामा
‘घरकी मुर्गी दाल बराबर!’ भन्दै
सल्बलाउन थाल्छन् राता―राता आँखाहरू।
यसप्रकार
केबिन रेस्टुरेन्टका होहल्लामा
र एकान्त पार्कको कुनातिर
यौवनपूर्ण मुस्कानको बल्छीमा
फस्छन् थुप्रै―थुप्रै ग्राहक रातहरू।
प्रत्येक साँझ,
यसरी अस्ताउँछ राजधानीको जीवन।

Pratima KC – Mero Buddha Ko Deshma Buddha Harayeko Chha

प्रतिमा के.सी. – मेरो बुद्धको देशमा बुद्ध हराएको छ

बुद्धत्व आत्मा हो
बुद्धत्व परमात्मा हो
बुद्धत्व ज्ञानको भण्डार हो
बुद्धत्व अर्धचेतन मनको लगाम हो
बुद्धत्व काम, क्रोध, लोभ र मोहलाई
टुक्र्याउने चैतन्य तरवार हो
बुद्धत्व अन्तरआत्माको ज्योति हो
बुद्धत्व दया र प्रेम हो
अन्तत यी सबैको प्राप्ती
बुद्धत्व हो /

आमा मायादेवीको कोखबाट
पच्चीससय बर्ष पहिले
नेपालको लुम्बिनीमा जन्मिएका
सिद्धार्थ गौतम
राजा शुद्धोधनका छोरा
यशोधराका पति
राहुलका बाबु र
तिलौराकोटका राजकुमार
भारतका गयामा
बोधिसत्व ज्ञान प्राप्तीपछि
सिद्धार्थ गौतमबाट
गौतम बुद्ध
महामानब
महापुरुष
शान्तिका अग्रदुत
भनेर संसारले चिनेको बुद्ध
हाम्रो मनभित्र
हाम्रो तन भित्र छ
हाम्रो राष्ट्रमा छ
अन्तराष्ट्रमा छ
र पनि
मेरो बुद्धको देशमा
बुद्ध हराएको छ /

बुद्ध चिन्न नसक्नेहरु
बुद्ध बेचिरहेका छन
बुद्धका देशका मान्छे भन्नेहरुले
बुद्धको छातीमा बन्दुक पड्काउछन्
बन्दुकको नालमाथि शान्तिको परेवा उडाउछन्
उडेका परेवाहरुलाई
बाज र चिलहरुले
आफ्नो आहारा बनाएर
प्राप्ती ठान्छन
त्यसैले
मेरो बुद्धको देशमा
बुद्ध हराएको छ /

शान्तिका अग्रदुत बुद्धको देश
महाभारतको कुरुक्षेत्र बनेको छ
धृतराष्ट्रका सन्तानहरु बढेर
धर्मराजहरुको बनिबास लगाएका छन्
सकुनीका कपटी पासाहरुले
मनाबबस्तीमा त्रासको आगो सल्काएर
तहसनहस पारेको छ
तेरो र मेरोको पर्खालले
शान्तिको बगैचा भत्काएको छ
मानब मानवको नाता कमजोर भएको छ
त्यसैले
मेरो बुद्धको देशमा
बुद्ध हराएको छ /

अहिंसाका प्रतिक
गौतमबुद्ध नेपालीको अनमोल सम्पति हुन्
बिश्व आकाशका चम्किला तारा हुन
दुखको महासागरबाट
जीबनरुपी डुंगा खियाउदै
पार तर्न मद्धत गर्ने
मार्ग दर्शक हुन्
संसारमा फैलिदै गएको
बुद्ध धर्मका प्रबर्तक हुन्
प्रतिपादक हुन्
तर पनि
मेरो बुद्धको देशमा
बुद्ध हराएको छ /

गौतमबुद्ध तिमी
गुम्बामा
बिहारमा
स्तुपमा
माला जप्दा
माने घुमाउदा
घन्टी बजाउदा
तिमि प्राप्त हुन्छौ हुदैनौ
मलाई थाहा छैन
तर
तिम्रो बुद्धत्व
हरेक आत्मामा
ज्योतिस्वरूप चम्केको हुनुपर्छ
यस्ता आत्माहरुको देश
तिम्रो जन्मभूमिमा
शक्तिको लडाईं छ
विचारको लडाई छ
अतिनिम्न बिषयमा
बादबिबाद र प्रतिष्पर्धा छ
ज्यामितीय तरिकाले अशान्ति फैलिएको छ
बालदेखि बृद्धसम्म
घरदेखी सरकारसम्म
बेइमान बढेको छ
मानबमनहरुलाई
अशान्तिको जातोले पिसिरहेको छ
मेरो बुद्धको देशमा
बुद्ध हराएको छ /

हे महामानब
मानबजातिको सृस्टिको संरक्षण गर्न
तिमि फेरी फर्किनु पर्छ
मेरो देशमा जन्मिनुपर्छ
तिमी हरेक धर्म र भाषामा परिभाषित हुनुपर्छ
हर मानब मनमा
तिमीले पुर्जन्म लिनु पर्छ
मानब हृदय तिम्रो बुद्धत्वले धोई पखाली गरेर
दया र प्रेम जगाउनु पर्छ
हामी सबै तिम्रा सन्ततिहरु
तिमीलाई पढ्न पाउनुपर्छ
बुझ्न पाउनु पर्छ
सारा संसारले छुन पाउनु पर्छ
तिमी छिट्टै फर्किनु पर्छ
जसरी भएपनि जन्मिनु पर्छ
किनकी
मेरो बुद्धको देशमा
बुद्ध हराएको छ /

Tanka Subba – Harke

टंक सुब्बा – हर्के

विवशताको कालो बादल मडारिने
आकास ओढेर कहाली लाग्दो
निराकार झुप्रोमा व्युझिएको
हर्के
जीवन छाम्न पाएर पनि
आज व्यवधानको शिकार भैरहेछ एकलाशमा
मुखुण्डो ओढी मान्छेको
जोगाउनलाई दुइमुठ्ठी प्राण आज
डुबुल्कि मार्दै आहतको पोखरीमा
बिरानो भैरहेछ आफ्नै आगन
खोजी गर्दा बासको
सहारा नपाएर आफन्तहरुको गुल्जारमा
हिडिरहेछ मलामी भएर गल्लीगल्ली
आफ्नै जिउदो लाशको

उसले पनि देख्यो सबैले देखेको जूनघाम
सबैले रङ्गीने क्षणहरुमा ऊ पनि रङ्गीयो
व्यहोर्योग लान्छनाहरु पनि सबैले व्यहोर्ने ठाउहरुमा
तर मरुभूमिको यात्री जस्तै
छट्पटिनु पर्दा अभावहरुमा
अर्थ व्यर्थ छ
हर्के हुनुको
निरीह मन बाधेर आशाहरुले
गर्न खोज्यो सम्झौताहरु धेरै समयसंग
गर्न खोज्यो संघर्षहरु धेरै बाध्यताहरुसंग
तर जन्मन सकेनन् विकल्पहरु
दिगो हुन पाएनन् उपायहरु
खर्चिनु पर्योप उपलब्धी विहीन पलहरु
त्यसैले हुन सकेन, कुनै रङ्ग
हर्के जिउनुको

हर्के, आज परिस्थितिको ज्वलनमा
ह्वारह्वार्ती जलिरहेछ भावनाको चितामाथि
खोज्दा खोज्दै शीतल छहारी
बूढो भएर एउटा रुख बज्रिएछ आफैंमाथि
खुशी चुडाएर हास्न खोज्दा
बल्झीएका व्यथाहरुले
दुःखिदिन्छ कोमल छाती
रहर कति-कति कुल्चिएर उभ्दा पनि
पटक-पटक मर्दै जिएको छ, वर्वादीहरुमाथि

तसर्थ हर्के
जीवन छाम्न पाएर पनि आज
व्यवधानको शिकार भैरहेछ एकलाशमा
मुखुण्डो ओढी मान्छेको
जोगाउनलाई दुइमुठ्ठी प्राण आज
डुबुल्कि मार्दै आहतको पोखरीमा
बिरानो भैरहेछ आफ्नै आगन
खोजिगर्दा बासको
सञ्जीवनी नपाउदा आफन्तहरुको बजारमा
मृत्यु घोषण गरिरहेछ गल्ली-गल्ली
आफ्नै जिउदो लाशको ।

Rajan Karki – Maile Umareko Pani Ko Thopa

राजन कार्की – मैले उमारेको पानीको थोपा

एक हुल बिम्बहरु
तँ छाड् म छाड् भन्दै
जब
क्यान्भास् माझ
पहिले म
पहिले म
भन्दा
जिल्ल परेको रङकर्मी जस्तै

भर्खर फुकेको भुङ्रोमा…..
कस्तो भोजन पकाँउ?
जुनदिन यो भोजनको भोक,
म,
तिमी,
तँ
पानीको थोपालाई थाहा दिन सफल हुन्छौं
तिनीहरु आँफै
रङ भर्नेछन्
जनजनका पोल्टोमा फेरी नयाँ भोक राख्नेछन्,
अनि म तिमीतिर
फर्केर
बिजेताले जस्तो हाँस्नेछु
अनी सोध्ने छु
मैले
उमारेको पानीको थोपाले सिँचेको
तिम्रो आँगनिले
बाह्रमासे फूल फुलाए ?

Pratima KC – Kabita

प्रतिमा के.सी. – कविता

शब्दहरुको कला हो कविता
मनको जिउँदो अनुभूति हो कविता
साहित्यको शसक्त विधा हो कविता
मनको स्वतन्त्र बगैंचा हो कविता
देश र समाजको ऐना हो कविता
त्यसैले

कविता
मन पराउंछु
कविताले Continue reading “Pratima KC – Kabita”

Kabitaram Shrestha – Japan

कविताराम श्रेष्ठ – जापान

फेरी एकपल्ट एकान्ततिर आमूख भएँ ।
घण्टौसम्म आफैँमा हराउन फेरि लालायित हुन लागेँ ।
कलमसँग आसक्ति बढ्यो ।
कलमहरु फेरी रसाउन लागे ।
कुनै पनि सुगन्धित मिठो खानाले अब लोभ्याउन छाड्यो ।
सडकमा लुढ्किएर हिँड्ने गह्रौँ नितम्बले आकार्षित गर्न छाड्यो ।
ती स्वच्छन्द आँखाहरु अब सडकका पेटीहरुमा दौडन छाडे ।
आफैँ आफैँमा हराएर आफ्ना गन्तव्यतिर त्यो यन्त्रवत साचालित हुन लाग्यो ।
मसँग अरु कोही छैन ।
केही छैन ।
पातला शरीरको त्यो तातोपना
चिम्सा आँखाको त्यो सरसता
मात्र त्यो अनुभूति ।
आफूलाई भूलाउन आज मोटरसाइकल मरम्मतमा लागेँ ।
तिमी त्यो व्यक्तित्व मेरै सामू रहेर मेरा हर्कतलाई हेर्दैरह्यौ ।
अनेक अनुभूतिका अभिव्यक्तिहरु नेपथ्यबाट पोखिरह्यौ ।
आज मीटिङमा पनि तिमी धेरैपल्ट चिहाउन आयौ ।
प्रत्येकपल्ट तिमीले मलाई मीटिङबाट पर
इन्द्रावतिको किनारमा खिच्यौ ।
माछा मार्न तानिरह्यौ ।
आफ्ना सुकोमल हातहरुले खुट्टाका मयलहरु माडिरह्यौ ।
मीठा खानाका स्वादसँग तिमी मेरो अन्तस्करणमा आइरह्यौ ।
मोटरसाइकलको प्रत्येक साचालनमा तिमी हलुङ्गोसँग त्यसमा चड्यौ ।
पछाड्बिाट कुमभरि आफ्ना ओठका लिप्सटिकले माया छापिरह्यौ ।
लामा सुडौल हातहरुले मलाई बेरिरह्यौ ।
अगप्रत्यङ्गमा छामेर विजुली साचार गरिरह्यौ ।
मेरी पि्रय प्रत्येक क्षण तिमी आयौ ।
सडकमा
बाटोमा
बाटो नाप्ने प्रत्येक पातलीहरुका झलकमा
तिमीले मलाई चिमोटिरह्यौ ।
प्रत्येक चिम्सा आँखाहरुमा तिमीले मलाई कचोटिरह्यौ ।
मेरी पि्रय कुनै पनि क्षण तिमी मबाट अलग्ग भइनौ ।
मभित्र तिमी हर्दम हलुका सुगन्धका रुपमा मसमसती छाइरह्यौ ।
मेरी पि्रय
म तिमीलाई कति माया गर्छु ।
कति चाहन्छु ।

Dipendra KC – Hanso Sanga Gansiyeko Saino

दीपेन्द्र के.सी. – हाँसोसँग गाँसिएको साइनो

रिसाउँछयौ भने तिमी
छोडिदिनेछु लुक्न तिम्रो छाँयामा
उपस्थिति बिझाउँछ भने कतै
मोडिदिनेछु अन्त कतै यात्रामा
यी सवैको मतलव एउटै हुनेछ
केवल देख्न चाहनु, हाँसेको तिमीलाई
किनकी
तिम्रो हाँसोसँग मेरो साइनो गाँसिएको छ ।

तिमी कतै हाँस्नु, र
म कतै रुनुमा पनि
गहिरो सम्बन्धको अर्थ छ
एकापसमा लुकाछिपी सही
हामीले आँशु र हाँसोको दुई पाटे
एउटा सिक्का तयार गर्नुछ;
जो तिमीलाई उपहार
जसले, किन्नेछ अरु हाँसोहरु
र, म अनुभूत गर्नेछु महँगो हाँसो
त्यहाँ पनि आँशुको पाटोमा वसेर;
साइनोको गजवको परिभाषाम बाँधिएको छ
किनकी
तिम्रो हाँसोसँग मेरो साइनो गाँसिएको छ ।।

त्यही सिक्काले –
धेरै मूल्य चुकाउन चाहन्छु,
धेरै उज्यालो खरीद गर्न चाहन्छु
तिम्रो हाँसोको लागि ।

चहर्याएर मन धेरै
पोखिएर धेरै आँशुहरु, रित्तिएपछि म
शीतल दिने त्यही हाँसो न हो
जो हाँसो बनेर प्रवेश गर्छ
र आँशु बनेर प्रस्थान गर्छ
किनकी
तिम्रो हाँसोसँग
मेरो यही साइनो गाँसिएको छ ।।

तिमी हाँसेर बाँच्नलाई मेरो आँशु चाहिएको छ
म रोएर बाँच्नलाई तिम्रो हाँसो चाहिएको छ
तिम्रो हाँसोसँग
मेरो यही साइनो गाँसिएको छ ।।।

बागलुङ, हाल ओस्टण्डे बेल्जियम ।
१२ मार्च २०१३

Kumar Simkhada – Bihana (Nepali Bal Kabita)

कुमार सिंखडा – बिहान
(बाल कविता)

उठ उठ साथी हो !
हेर आकासमाथि हो!
घाम झुल्केको देखेर
भाग्यो टाढा राति हो।

आकास हिमाल सूनौलौ
बादल रातो रमाइलो
झलमल्ल चम्केर
घामले छर्यो ज्योति हो।

तल खोंचमा कुहिरो छ
माथि बादलको धुइरो छ
निलो सेतो पहेंलो
संसार कति जाती हो।

गौंथली पार ताप्दछन्
भँगेरा बिस्कुन ताक्तछन्
सुगा ढुकुर रमाउँदै
गाउँछन् नानाभाँती हो।

मकै सिरौंला चपाउँदै
तारे माले धपाउँदै
गैरी खेतमा जाँदैछन्
दँगेरेका ताँती हो।

घामले हतार गर्दैन
ढिलो पनि हुँदैन
चहार्छ एकै दिनमा
आकासको छाती त्यो।

हामी पनि हिंड्नुछ
बाटो गहारो काट्नुछ
मिलिजुली धैर्य गरी
लक्ष्य पुगौं साथी हो।

Manita Limbu – Bhabshunya

मनिता लिम्बु – भावशुन्य

न छ रीस न त छ आरीस
न छ दुःख न त छ कुनै चिन्ता
थाहा छैन कुन्नि किन
आजकल भावना त शुन्य छ…
न दुख्छ चोटले न लाग्छ बचनबाणले
न छुन्छ हर्षले न त विस्मातले
थाहा छैन कुन्नि किन
आजकल Continue reading “Manita Limbu – Bhabshunya”

Madan Rai – Chyangba Ko Man

मदन राई – च्याङ्गबाको मन

कैलेकाही त,
च्याङ्गवाको मन भताभुङ्ग फाट्छ
कुईरोमा अलमलिन्छ उस्को मन
धेरै टाढा.. टाढा सम्म डुलेर,
फेरी चौंरीको आङ्गमा ठोकिन्छ उस्काआँखा,
अनि हिमाल देखी पनि पारी.. सम्म
डुलाउन चाहन्थ्यो च्याङ्गबाले आँखा
तर, बाधक भैदिन्छ निर्मम् उभिएका टाकुराहरू
घुपिका पोथ्राहरूसँग औंधि रीस उठ्छ उसलाई
किनकि जैले तैले पनि उस्कै अगाडि
आँखा तरिरहन्छ ।
कैलेकाही त बिद्रोह पनि जाग्छ उस्लाई
कि भताभुङ्ग पारीदिऊ यी हिमालहरूलाई ?
ति खोंजका श्रृङ्खलाहरूमा
पत्रपत्र पल्टाउदै च्याङ्गबाको मन
कहिलै नभरीने माना पाथि जस्तो
खाल्डा परेको उस्को मन
अब ता थामिनसक्नु जत्तिकै भएकोछ
कि अब त आँखाको झटाराले छिटोछिटो
उक्लिएर माथि टाकुरामा
अनि गजधम्म उभिउं सगरमाथा भएर …।

Bijaya Pun – Ekai Chhin Ko Kuro

विजय पुन – एकै छिनको कुरो

एकै छिनको कुरो त थियो,
तिमीले हुन्छ भनेको भए,
त्यो कफीको बाफ
यो चिसो साझमा हराउने थिएँन,
डारलिंग हार्बर* को त्यो बिघ्न
अल्लारे मौसम,
किन चौपट्टको सन्नाटा हुन्थ्यो र,
हुनत,
अत्ताउने Continue reading “Bijaya Pun – Ekai Chhin Ko Kuro”

Sabina Sindhu – Ujyalo Bihana Bokeki Sundari Keti

सविना सिन्धु – उज्यालो विहान बोकेकी सुन्दरी केटी

झिस्मिसे हुने अगावै उठेकी तरुनी केटी
स्वयम् निस्सासिएर घैलाहरूसँगै
नदीले हुत्याउन खोजेका रहरलाग्दा छालहरूमा
बुनिरहन्छे पसिनाका नीला सपनाहरू,
बाटोभरि निमोठिएर जूनका कृत्रिम
आँखाहरूबाट,
यज्ञको रापिलो अग्निकुण्डमा
चिरकालदेखि होमिएकी
बलिरहेकी शरीरका शून्य मुस्कान बोकेर ।

उज्यालो बिहान बोकेकी सुन्दरी केटी
आफैलाई बलीमा झुण्ड्याएर
उभ्याउन चाहन्छे सभ्यताको सुन्दर विहान
सिंगै गोलो पृथ्वी भएर घुम्न चाहन्छे
शताब्दीको पीडा पन्छाउन
एकलास अन्धकारमा बारुद झैं पड्कन्छे र्
इश्वरको आराधनामा चिरकालसम्म
समर्पित गर्छे आफूलाई
स्वार्थको साँघुरो परिधिभन्दा धेरै टाढा
रगत बगाउँछे, लड्छे आगोका लप्काहरूसँग
आखिर खरानी बन्छे
नयाँ सभ्यताको खातिर
नयाँ कालखण्डको खातिर ।

जब फूलहरू फुल्छन्
ऊ निदाइसकेकी हुन्छे
निख्रिसकेकी हुन्छे
सुन्दर कविताहरू धरहरा भएर उक्लन्छन्
इतिहासले कोल्टे फेर्छ
पखेटा फट्फटाउँदै चराहरू उड्छन्
सधैं यस्तै हुने गरेको छ
उज्यालो बिहान आउनु अगावै
हराउने गरेकी छे, बिलाउने गरेकी छे
उज्यालो बिहान बोकेकी सुन्दरी केटी ।

Radhika Guragain – Abhav Ma Mero Gaun

राधिका गुरागाई – अभावमा मेरो गाउँ
(मधुपर्क २०६६ चैत)

सु्न्दरता छाउने प्राकृतिक
बनोटहरू सँगै
गाँसिएर यतिबेला
आफ्नै परिवेशमा बाँच्नुको
वाध्यतासँगै
विपन्नताको वषर्ाद छिचोल्दै
ओरालो झरिरहेछ
अभावमा मेरो गाउँ ।
रित्तिएर खाली विचाररूप
टनाटन भरिएपछि
गाउँ अचेल
पीडाको दुखेसो पोख्छ
आँसु लुकाउँछ सुटुक्क
र हलुको बन्छ
मर्यादाभन्दा पनि अलिपर
वर्चस्व खेपेर सहिरहन्छ
अभावमा मेरो गाउँ ।
मेरो गाउँले नदेखेको जुन
धेरै टाढा रहेछ
मेरो गाउँले नसुनेको गीत
कोइली डाँफे मुनालमा पनि
रुखो सुनिदो रहेछ
पोल्टाभरि उज्यालोको भीख मागेर
अलिकति अलिनो
अलिकति नुन
भोको पेट र तिर्खाएको अनुहारलाई
रित्ता गाग्रीबाट प्यास मेटाउँदै
अनिश्चित भविष्य हिँडिरहेछ
अभावमा मेरो गाउँ ।
आखिर नछाड्नुको दुःख
नसाँच्नुको साँच्नुको सुख
विवशता र बन्धन
जतिसहे पनि
सन्त्रास नभेट्दै तलतल झरिरहेछ
क्रमशः
ओरालो लागिरहेछ
ओरालो झरिरहेछ
अभावमा मेरो गाउँ ।

Anu Shaha – Kalpana Ko Bahav

अनु शाह – कल्पनाको बहाव

सुकुमार कोमल पल्लवको आगमनले
बसन्त प्रवेश भइसकेको आभास दिन्छ।
झरनाको मिठो रोमान्चक झंकारमा
घनघोर वर्षादसँगै मयुर जस्तै भएर
मन आफ्नै आँगनमा नाच्न थाल्छ।
निस्फिक्रि कोइलीको कुहुकुहु र
पवनको सुगन्धित सुभास सँगै
गुन्जिरहेको जल तरंगको बीच
नृत्यमा पारंगत म चुर्लुम्म डुब्छु
सरगमको तालमा।
आफुलाई मधुवनको मीरा झैं ठानि
अंगप्रत्यंगको भावभंगिमाबाट
म प्रेमको निमन्त्रण दिइरहेछु।
मेरो मनमीत प्रियतमलाई
बिनम्र अनुरोध गरिरहेछु।
सजाएको छु मन्दिर श्रध्दाको फुलहरुले।
जगमगाई दिन्छु आस्थाको लाखौं दिपहरु
हजारौं सुमधुर घण्टाको आवाजहरुले।
पुलंकित मन भावविभोर हुनेछन
हाम्रो दुई आत्माको मिलनमा।
बर्सिने छन हजारौं रङहरु यस धर्तिमा।
हामी हुनेछौ प्रेमाभाव प्रेमालापमा।
अनि पूर्ण सन्तुष्टिको साथ
बिलिन हुन चाहन्छु चिर निन्द्रामा
सधैं सधैंको लागि।।।

Biplav Pratik – Bhatkiyeko Ghar

बिप्लव प्रतीक – भत्किएको घर

सुनौलो परालको छाना
कालो रङ्गले पोतिएको झ्याल
कमेरोले लिपिएको भित्ता
रातो माटो पोतिएको पिँढी
अनि आँगनको एउटा कुनामा
गाडिएको खम्बामा परेवाको गुँड
र अर्को सुरमा मेवाको बोट…

यही हो मेरो आँखामा रहेको सपनाको घरको चित्र
र अहिले त्यही घरको खोजीमा छन् मेरा पाइलाहरु ।
तिम्रो काखमा त्यसै आएको होइन,
ए गाउँ, भनन मैले भनेको घर कहाँ छ ?

तर, गाउँमा सन्नाटा छ,
मानौँ हावा पनि यो गाउँलाई छलेर
अर्कै बाटो बग्दैछ,
मानौँ प्रकाश चाल मारेर
गाउँको बाटो छलेर जाँदैछ अर्कै गाउँ ।

म, मुटु ढक्क फुल्ने त्रास वरिपरि डुलिरहेको
कहालीलाग्दो सुनसानसँग
नडराइकन खोज्दैछु मेरो स्मृतिमा रहेको घर ।

बेजोडले भुक्छ कुकुर एक्कासी
सातो जान्छ, फनक्क फर्किन्छु आवाजतिर,
भत्किएको घरको थुप्रोबाट
एउटा कुकुर खुर्रर दौडिएर कान्लामुनि हाम्फाल्छ
मेरो ध्यान भने सम्पूर्ण ओइरिन्छ
त्यो भत्किएको घरमा ।

माथ्लो तल्लाको झ्यालको चौकोस
भत्किएर खसेको थियो
र पसारिएको थियो मूलढोकाको अघिल्तिर त्रिकोण भएर ।
सँगैको झ्याल झरेको थियो सके घरभित्रै
र पुरिएको थियो मटानमुनि ।
बार्दलीको ढोका उत्तानो परेर पछारिएको थियो
खापासहित छिँडीभित्र ।
छिँडीको झ्यालको चुकुल
पिँढीमा खसेको थियो,
त्यसको चौकोस फुक्लिएर
झुण्डिएको थियो तुर्लुङ्ग झ्यालबाहिर ।

मटान थचक्क बसेको थियो
भर्याङ खप्टिएको थियो मटानमाथि,
दलिनहरु चरक्क चिरिएर
यसरी धसिएका थिए भूइँतल्लामा
कि घुँडा जोतेर ढलेको छ
रणक्षेत्रमा एउटा योद्धा ।

कुनै दिन जब यसका झ्यालहरु खुल्थे
जब यसको ढोका खुल्थ्यो
सद्भाव, स्नेह र आत्मीयता
बाहिर निस्कन्थे
र बाँडिन्थे थकित बटुवाहरुको अँगालोमा ।
कुनैदिन यो घरको बाटो हिँड्नेहरुलाई
अझै पनि सम्झना होला
यो घरबाट फैलिएको सुगन्धी हावा ।

यी सबै सम्झिएर मेरो मन
यतिखेर चर्चरी चिरिएको छ

कुनै दिन आबाद यो घरका मान्छेहरु
कहाँ बर्साईँ सरे होलान् ?
यो भत्किएको घरका मान्छेहरुको निवास
कुन महादेशमा बन्यो होला ?

Manu Brajaki – Ago Le Ta Polchha Polchha (Nepali Gajal)

आगोले त पोल्छ-पोल्छ पानीले झन् पोल्छ
बोल्नेले त बोल्छ-बोल्छ नबोल्ने झन् बोल्छ ।

आफूलाई बेच्न खोज्यौ भने बुझिराख
किन्नेले त मोल्छ-मोल्छ नकिन्ने झन् मोल्छ ।

मनमा पर्दा लगाएर बसेका छौं किन ?
नाङ्गोले त खोल्छ-खोल्छ पर्दाले झन् खोल्छ ।

रङ्गीन यो दुनियाँमा आँसुसित रगत
घोल्नेले त घोल्छ-घोल्छ भिज्नेले झन् घोल्छ ।

दुख्ख आए पनि दुख्ख, गए पनि दुख्ख
पीर बसे पनि पिर्छ गए झन् पिरोल्छ ।

एकान्त मन पराउने ‘मनु’ घुइँचोमा,
एक्लो हुँदा आफूलाई आफैंले छिचोल्छ ।

-औरही-२, महोत्तरी

Khagendra Pandhak Limbu – Pagalbad Bata

खगेन्द्र पन्धाक लिम्बू – पागलवादबाट

मोक्ष
जीवनको गवेषणमा
विपक्व इन्द्रिय,
बेसरम,
बेडर,
बेतुक,
बेफिक्री –
-धित मरुन्जेल हाँस्न
-धित पुगुन्जेल रुन
‘पागलवाद’-मा पुगेर
निरुद्वेगम् रमाउँछ ।
***

काला कर्तुतका
पहाड उक्लेर
विरूपक वेदनाको
सागर तर्दै
पातकत्वको ज्वालामुखी
छातिभरी पाल्दै
मनोगत छटपटीमा
सत्त्व-वासना बहुलाएर
आगो निल्दै
मान्छेत्व जप्दा
जिन्दगीको अर्थ
अवचेतन मस्तिष्कमा
ढक-मक्क फूलेको भेट्छ ।
यहि मानेमा –
सत्यको निम्ति
पागल मर्न डराउँदैन,
मृत्यू पागलसंग हार्छ ।
***

सद्दे हुन खोजेको -मन
बार्दलीको निन्यौरा-फूल
त्यसैले प्रिय लाग्दैनन् ।
*****

ढुङ्गोले किचिएका
दुबोका पहेंला टुसाहरु
घामतिर फर्किएर हाँस्दा
‘पागलवाद’ मुस्कुराउँछ ।
*****

सन्तापबाट
आत्म-हत्या नभोगी
परमसुखको रस्वदान
खुलम-खुल्ला चाख्ने
सफल जीवन-
नाङ्गो -आँखा
नाङ्गो-मन
नाङ्गो-चेतना
नाङ्गो-शरीर
पागलसंग मात्र छ ।
****

अटुट बग्ने नदीहरु..
हिम्मतिला पहाडहरु…
ओजस्वी आकाशहरु..
ठेत्टर पवनहरु…
अर्थात् –
मानिवीय संस्कारमा
केवल मान्छेको निम्ति
हांसी-हांसी मर्ने सहिदहरु
बहुलाहा हुन् ।
पागल हुन् ।
****

साक्षात् मङ्गल
पूर्वबाट झुल्किने लालिमा
भौतिक संसारमा
सत्यव्रत सिधै ठोक्किन्छ ।
प्रकाश छेक्न उभिएका
सचेत तन्नाहरु
किरणलाई पागल नै मान्छन ।
प्रकाश कैद नहुँदा
प्राकाम्य पागल हो ।
****

अभय क्रान्तिमा
फाल हान्दा जिन्दगीले
अग्रस्थानमा
युग सामुन्ने मुस्कुराउंछ
मान्छेको भिडमा
नत्थी गरिएको
बन्दि संस्कारबाट झट्कीएर
तन-मन फुकाउँदा
सद्देवाला रमिते दृष्टि
खुम्चिएर रमाइलो मान्दो हो,
यहिनिर
जीवन गुमाउनुको मानेमा
एउटा पागल जन्मी दिन्छ ।
******

उदेक..
अनौठो…
आश्चार्य…
सबै-सबै अप्ठयाराको
घान-भरेर
पौराणिक उकालोमा
भारी बोक्ने गधाहरु
तन्त्र निर्माता भन्दा
स्वतन्त्र छन
यहि मतलबमा
बुध भन्दा कुधि
खुशीका प्रवर्तक लाग्छन ।
*****

सेमिनारहरु..
सम्मेलनहरु…
आन्दोलनहरु…
बैठकहरु…
विज्ञप्तिहरु…
संबिधानहरु…
शास्त्रहरु…
अस्त्रहरु…
ग्रन्थहरु…
भनौं –
विशद सम्पूर्ण
नियमहरु
माकुरोका आत्मघाती
जाली त हुन् ।
आकाशले यसै भन्छ ।
प्रकाशले यस्तै कहन्छ ।
****

स्वन्त्र हुनुले
प्रकाश र आकाश
आखिर पागल नै हुन् ।
जो जिन्दगीले
सकी-नसकी
जीवनभर रुचाउँछ ।
जीवनभर माया गर्छ ।
***

मोक्ष
जीवनको गवेषणमा
विपक्व इन्द्रिय
बेसरम,
बेडर,
बेतुक,
बेफिक्री –
-धित मरुन्जेल हाँस्न
-धित पुगुन्जेल रुन
‘पागलवाद’-मा पुगेर
निरुद्वेगम् रमाउँछ ।

Anju Subedi – Aswikar

अन्जु सुबेदी – अस्विकार …..!
(Sent to Sanjaal Corps via Email)

न आ उ
भन्दा भन्दै
सुनामी आयो
प्रकृती हो
स्वीकार छ।
तर हामीहरुले
लगाम खिच्नै पर्छ!

हो,यो उज्यालो
अलिक धेरै भयो
ती र मि र ती र मि र
आखै देखेनौ,
आखाहरू देखनै पर्छ !

मैले सम्मान गरे
सीमाविहीन आकासको
र एउटा प्रयोग गरे
पवित्रताको नाममा
आफ्नै परिभाषा भित्र ,
कैले काही
मनहरु राख्ननै पर्छ।

त…. र….
म,
म भन्दा असीम स्नेह
अदृस्य अस्तित्वलाइ
गर्ने सक्दिन
खुशीहरु भेट्न
आफुले आफैलाई
स्नेह गर्ने पर्छ।

लाग्दै थियो
चिनारी हाम्रो
धेरै गहीरो छ
बिस्वास हरु
सधै अटल छ
त र
मेरा नीर्णयमा
तिम्रा अस्वीकृति,
छोडपत्र गर्ने पर्छ!

अस्वीकार तिम्रा दर्शनहरु !
अस्विकार तिम्रा पबित्र प्रेमहरु !

Sita Asim – Timro Mero Doori

सीता असीम – तिम्रो मेरो दूरी
(मधुपर्क साउन, २०६७)

कुभिण्डोलाई खुट्टा लगाइदिएर
हिँड्न सक्तैन भन्ने मलाई थाहा छ
ढेंडुलाई पगरी पनि कति गुथाइरहनु र !
काम आफैंले गरेेको हो
मैले आफँैलाई सम्मान गर्न खोजेँ
त्यसैले अहिले तिम्रो मेरो दूरी बढेको छ ।
‘केही न केही लेख्नुपर्छ, लेखिरहनुपर्छ, अन्यत्र समय खर्च नगर्नु’
तिमीले भनेका थियो ।
मैले आफ्नो पेट मार्न सकिन
कहिलेकाहीँ घरमा अभिभावक भइदिएँ
सडकमा पसारिएका आँसुहरूमा पनि अलिअलि अल्मलिएँ
तिम्रो अनुरोध पालना गर्ने समय पुगेन
हप्ता-महिनामा त के वर्षदिनमा पनि
एउटै केही फलेन
केही नल्याई तिमीलाई के भेट्नु र !
त्यसैले अहिले तिम्रो-मेरो दूरी बढेको छ ।
उचालेर काँधमा राख्नुपर्ने
काँधमा राख्दा पनि उचाइ नपुगे टाउकैमा टेकाउनुपर्ने
तिम्रो आशय हुँदो हो
भर्‍याङ्ग मात्रै बनेझैँ लाग्दा पनि मलाई त असहृय भो
चिल्लो-गुलियो पनि उपलब्ध गराउनै सकिन
त्यसैले अहिले तिम्रो-मेरो दूरी बढेको छ ।
निधार खुम्च्याइ-खुम्च्याइ बाबुको नाम सम्झेर
गर्भे टुहुरो भाइको नागरिकता बनाएका तिमीले
जीवित आमाको वास्तै गरेनौं
महिला दिवसका अवसरमा डटेर भाषण गर्‍यौ
उनीहरूलाई स्वतन्त्रता, स्वामित्व, स्वनिर्णय र पहिचानको
अधिकार दिइरहेको कुरा गर्‍यौ
मैले प्रश्न उठाउँदा तुकहीन तर्क गरेर टार्‍यौ
मेरो चित्त बुझेन
त्यसैले अहिले तिम्रो-मेरो दूरी बढेको छ ।

– पर्वत