राम प्रसाद प्रसाईं – छालहरूसँगको सँवाद (भाग १ देखि १० सम्म)
१.
मिथकीय शान्त समुद्र
शनैः शनैः
उत्ताउलो बन्दो छ—
छिचिमिराहरूको बिग्बगीसँगै
ऎतिहासिक
यो बिशाल सागर
बिस्तारै बिस्तारै
छिद्र छिद्रहरूमा
निख्रिदो छ
निथ्रिदो छ—
राजा महाराजाका
सिखण्डी प्रहसन तथा प्रदर्शनमा ब्यस्त
प्रवृतिभीरू एकलब्य मुसाहरूसँगै
शान्त समुद्र
असीम गहनता
अनि
आत्मिक प्रबोधन
विडम्बना
नूनिलो छ, नूनभन्दा पनि—
श्रमशालाको सम्मिलन
तथा
पसिनाको सम्मेलनजस्तै
कणकणमा पग्लेका सगरमाथाहरूझैँ
अन्धकारको रङ्ग उडेपछि
पूर्बतिर लाली छाउँछ
बसेपछि, हत्केलाका ठेलाहरू
फक्रन्छन्, यौवनका कोपिलाहरू—
चिन्तन परिपक्कताका मार्गहरूमा
स्मृतिका स्याउलाहरू
भावनाका प्रयोगशालामा
मनहरूसँगै लर्बराउंछन्
‘मनहरू’ मनमनै—
‘म-तिमी-अनि-उनी’
समागमका वियोगान्त
नाट्यशालाको
समाधि अनुष्ठान शुरू गरौँ
उधिनेर उभ्याऔँ
‘उम्दा-जाग्दा-जवान’ चिहानघारीहरूलाई
एवम् तवरले
सबलाङ्ग चेतनाहरू
रङ्गहरूको वैशाखीमा
ज्योति बोल्छ—
बुलन्द जिजीविषाको नापो
आकाशदीप नियालिरहन्छन्
अन्धकूपको धिपधिप
२.
प्रत्यक छालका लहरहरू
मनका लहडहरूसँगै
नापिरहेछन्—
दशगजाहरू
स्वाभिमानका
मनका मानसरोवारबाट
पिलिक्क पिलिक्क
चियाइरहन्छन्
झिल्का झिल्का प्रश्नहरू—
साँच्ची,
यी छालहरू
किन यसरी
मडारिरहेका होलान्?।—
सानो माछालाई
ठूलो मान्छेले खाने
मतस्य न्यायको विरूद्धमा
सेतो हिमशिखरसँगै
पग्लेका स्वाभिमान
अब
म्याथुसालेह बनी
भ्रूण बीजारोपण हुँदैछ
नीला पसिनाका लालसागरहरूमा
प्राकृत तथा रूमानी जलक्रीडा गर्ने
सामुद्रिक अभिप्सामाथिका
यान्त्रिक तोपका समयगोलाहरूमाथि—
जीवन मर्न
मृत्यु रम्न
श्रापित भूत—अभिसप्त वर्तमान—अधियाँ भविष्यमा
एक मूर्त क्षितिज स्पर्श गर्न
३.
ध्वनि घुलित छालका
प्रत्येक कोतराइहरू छेउमा
सर्रररररररररररर
सर्रररररररररररर
युगबिहीन सन्नाटामा
जन्मन्छन्
झ्याम्टाहरू
मेटालिकाका
मेडुसाका हरेक प्रतिकृतिहरू
मेरा पुर्खाका अस्तुहरू
बैतरणी जान सायद
यही बाटो हिँडे/दै होलान्
स्वाभिमानका बेर्नाका
ज्योतिपुञ्ज
यही सगरविन्दूमा देखिएलान्
झ्याउँकिरिका गीतहरूसँगै
उज्यालो लुटिइएका जूककिरिहरूसँगै
हातले छुँदा लाग्छ
चरिलमिनीका मनहरू
चिसा हुँदा हुन्
तिनै हातलाई
मुटुमा राख्दा लाग्छ
यो पानी न्यानो छ
अति न्यानो
हार्दिकता भन्दा पनि
स्पर्शहरू चिसा भए पनि
न्यानै रहेछन्
धड्कनहरू यहाँ
कत्लाहरूको कायापलटसँगै
माछाहरू चलायमान रहनुले
जिउँदै रहेछन्
हाम्रा छवि र अस्मिता
अनि अजर, अमर तथा कालजयी
रहनै पर्छ—
“जिजीविषाका हाम्रा ईप्साहरू यहाँ”
४.
अनुदार भोका मनहरू लिएर
यी छालहरू किन दगुरिरहेछन्
अब्यक्त शोकका बारातझैँ
सीमाबिहीन परिमाण
तथा
आयतनबिहीन फैलावट हुँदै
अन्तर्मुखी ब्यथाका मन्दिरहरू
मौनताका आवरणभित्र
पर्खिरहेछन्—
आशिर्वादका शितनिद्राहरू
अनि
सामाजिक जागीत्रका मोच मार्ने
पूर्व परागसेचनका भैरवी अनुहारहरू
जसै जसै जिजीविषाका पेण्डुलमहरू
समय बास्न थाल्दछन्
परित्यक्त परम्परागत बहीखातामा
निश्कर्षबिहीन वासलातबाट
भ्रामरी समयका मुनाहरूबाट
यी छालहरू
निरन्तर चलिरहन्छन्—
भोक निलेर
पेट अघाएको
अतिमानव जस्तै
५.
रमझमभित्र रूमलिइएका
समयको रमिते डाँडामाथि
छुपु छुपु रोपिइएका
युगबोधका बेर्नाहरू
अनि
जनप्रबोधनका रोपाहरू
मनभरि लिएर
स्मृतिपटलको विन्यासपूर्ण
अनुभूतिमा हेरिरहेछु
“शर्त-सन्दर्भ-सँयोग”-हरू
बनिरहन्छन्
अन्तरमन भित्र
अवचेतन मथिंगलका
अ/भेद्य क्षेप्यास्त्रहरू
छालहरूसँगको
एकालाप, प्रलाप र गनथनमा
अभ्यस्त भइरहँदा
छेवैमा ठेहेरिरहेका
जोडी ऊँटहरू
समय सङ्कल्पको टुकीमा
सभ्यताको सलेदो भएपछि
“जीवनले
चेतना बोलिरहनु पर्छ
जीवनमा
चेतना बलिरहनु पर्छ
मिर्मिरे उज्यालो
अनि गोधूली साँझका
युगलबन्दीहरूमा”
६.
छालहरूले
घाउ खोपिरहेछन्
घाउहरूले
छाल खपिरहेछन्—
जीवनका भग्नावशेषहरूमा
यहाँ
दहनका दहहरू
डाहाका दोहनहरू
विचार, समाज र अस्तित्वका त्रिवेणीमा
अनि
भावना र भँगिमाका दोभानहरू
युगको बयलीमा
रोपिरहनेछन्
चेतनाका मट्याङ्ग्राहरू
गुलेलीका विभीषिकाहरू
साथमा
साज सज्जायुक्त
स्वगानका स्वाभिमानी जुरेलीहरूझैँ
हरेक रातको मध्यान्तरपछि
भुकभुके उज्यालोका लालिमाहरूसँगै
जाग्दैछन्, जन्मदैछन्
अनि
विपठित हुँदैछन्
सँस्कार र संरचनाका चेपुवामा
सुमरिइएका जनघुनहरू
—खलामा
—भकारीमा
—धन्सारमा
अनि लिगलिगकोटका चेपेनदीहरूमा
संघर्षको गहिराइबाट
भोलिको वर्तमानका
स्वाधीन मानकहरूका लागि
७.
समयका भाँटीहरूमा
युगाव्हान लेख्नु र देख्नुले
मनभित्रका छालहरू
छालभित्रका मनहरू
काव्यात्मक हुन्छन्
आकाशका बादलहरू
धर्तीका बालुवासँगै
जिजीविषाका महामारीमा
“फुल्ने-फल्ने-फक्रिने” गरेका
अधकल्चा अङ्कुरणहरूसँगै
“जन्म-मृत्यु-पुनर्जन्म”का
निरन्तर चक्रहरूका लागि
छालहरूसँगै गीत गाइरहन्छन्
मरणशील जीवनमा
अमरत्वको पक्षपोषण गर्न
८.
“ढुङ्गामा देउताहरूको
रूपान्तरण हुनु
अनि
हामी मान्छेहरू
जड हुन नसक्नु”को
विडम्बनाले
स्मृतिका टाकुरीहरूमा
लाँकुरी भञ्ज्याङ्गहरू
झ्वाम्झ्वाम्ती
हाम फाल्छन्
आरोही अवरोही छालहरूसँगै
एक हुल परेवाहरू
मिसिँदा नमिसिँदै
शिकारी बाजहरू र भलाद्मी गिद्धहरूको बथानमा
मनै छेउमा
करेसाबारीको डिलबाट
एमानको ढुङ्गो पल्टिँदा
आङ्खोप, खँखोला, तोक्मे, दोरम्बा र थेवानका गाउँहरूमा
एक एक गरेर
अनेक पिपिरा सपनाहरू ओइलाइरहेछन्
पहेंलपुर तोरीबारीहरूमा
हो,
त्यसैले
स्वाभिमानी मौरीहरू
अनि
मौन सँस्कृतिका खेताला
हाम्रा भ्रमराहरू
परिरहन्छन्—पारिरहन्छन्
कुटिल क्रुरताका सिकञ्जाभित्र
अबोध जटिलताका
चँगुल लतिका र लंगुरबुर्जाहरूमा
सलहका नपखालिइएका श्रापहरूसँगै
त्यसैले
छालहरूले समातिरहनु पर्छ,
विद्रोहका चुला चम्काहरू
—
आवर्तित
परावर्तित
पर्त्यावर्तित
—
अनन्त जीवनका
सहगामी, समनामी र सहजकर्ता
अल खिदिर महानसँगै
९.
सोच मग्न मन रम्दै थियो
सपनाका कुनै रङ्गहरू हुनन्
यथार्थहरू त रङ्गीन हुनु पर्ने हो
तर
त्यसो भएनन्
त्यसैले त
छालहरू हार्न जान्दैनन्
छालहरू हार्न उठदैनन्
किनकि
यिनीहरूका रैकर कित्ताहरूमा
इतिहाँसले कुत बुझाइरहनु पर्दैन
मानौ,
यी छालहरू हार्न नजानेका
हार्न प्रशिक्षित नभएका
हेमिङ्ग्वेपन्थी मान्छेहरू हुन्
सपना खोज्दा खोज्दै नथाकेका
कोहेलो खर्कका स्यान्टियागोहरू हुन्
जीवन भ्रमण
परिभ्रमणका लोकसुसेलीहरूसँग
अभ्यस्त छन्
छालहरू
युग सम्वादका हरित बागहरूमा
१०.
आकाशभरिका आँशुहरू
शीतका थोपा थोपामा बदलिए पछि
धर्तीभरिका खुशीहरू
खगोल मण्डलभरि फक्रिएपछि
छालहरूका तराजुमा
नरमेधका नैवेद्यहरू
फस्टाउँछन्—
मृत्युगामी यात्राहरू
र
कुमारीहरूसँगै आमा
जन्मिन्छन्
मात्रृवत्सल धरातलबाट
नव नव नवजात शिशुका चित्कारहरू
एक जीवनको असामयिक कायापलट
अर्को जीवनको मरणशीलताको तख्तामा
दर्खास्त दाखिल नहुँदै
दाँतहरू दण्डित हुनुपूर्व
लालिमा—कालीमा
रूपान्त्रण हुँदाको क्षण
मृत्यु घोषणा गर्छ
जीवन अवलम्बन गर्छ
अस्तित्व गवेषण गर्छ
अनि
श्रष्टा खिसिटियूरीको शिकार हुन्छ
छालहरूले छेउमा उतारेका
शङ्खेकिराहरू त केवल
अस्तुको अस्मिता बोकेका
हाम्रा साक्षात्कारमा
सादृश्य र युगीन हुन नसकेका
तर
युगहीन र अमिट
छाप छोड्न सफल
सभ्यताका झझल्काहरू
करूणा र भयको
विरेचनामा मस्त
निरङ्कुशताको सिङ्गो पहाडलाई
गिज्याइरहेछन्
डाइनोसरहरू
रामप्रसाद प्रसाईं
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
(अबुधाबी श्रमशिबिरबाट)
(Sent to Sanjaal Corps via Email)