दीपेन्द्र के.सी – स्तव्ध छु म
स्तव्ध छु म
तिमी नआउने खवरले ।
बर्षौबर्ष प्रतीक्षाले ठडिएका
पहाडहरुमाथी उक्लिएर हेर्दैथिएँ
तिम्रा बाटाहरु ;
वाचा पूरा गर्ने
रहरका उपहारहरु लिएर आउंछौ भन्ने थियो
गोरेटोमा धेरै पाइलाहरु टेकिए
तर तिमी देखिएनौ ।
सल्लेरीका एकोहोरो सिरेटोसँग
खवर मात्र आइरह्यो –
तिमी आउंदैनौ यसपालि पनि !
जगै हल्लिन लागेको पहाडमाथी स्तब्ध छु म
तिमी नआउने खवरले ।
आज कान्ति देख्दिन जुनमा
अँध्यारो ओढेर निदाएको बस्ती
मेरै सपना निलेजस्तो लाग्छ
धाराहरुमा बाढी उर्लिएको छ
र पोथराहरु चुटिएका छन
गह्रुङ्गा पाइलाहरु लतारेर
भmर्छु फेदीतिर
आँधीजस्तै आउंछ कि ? खवरै नगरी ?
यस्तै झूठो आशा जोडेर
खोज्छु सपनाका अधिकारहरु ।
सवेरै यो उज्यालो, यो उमँग
हजारौं जवानी फक्राएर हाँसेका फूलहरु
यी सवैबाट टाढिएर देख्छु
त्यही डढेलो लागेको प्रतीक्षाको पहाड
र, ठोक्किइरहन्छ कानमा बारम्बार
तिमी नआउने खवर !
शँकैशँकाको सिंढी चढेर उक्लन्छु फेरि त्यही प्रतीक्षाको पहाड
र, रित्तो आकाश हेरेर
फेरि स्तब्ध हुन्छु म
तिमी नआउने खवरले ।।
१२ अप्रिल २०१३, बागलुङ हाल ओस्टण्डे बेल्जियम ।