कृष्ण प्रसाईं – पिटिरहन्छ तिम्रो सहर
ए, काष्ठमन्डप !
सपना छोडेर विपनामै आजभोलि
किन निर्धात पिटिरहन्छ तिम्रो सहर मलाई
कहिले भीड, भाषण र दाम भएर पिट्छ ।
कहिले नारा, जुलुस र जाम भएर पिट्छ ।
कहिले वेनाम र वेकाम को बन्द भएर पिट्छ ।
पिट्ने अनेक बहाना मात्र खोजिरहन्छ तिम्रो सहर,
चाँहे त्यो पानी र पहाडले होस् ।
चाहे त्यो खोलो र खानीले होस् ।
वा
बिनासित्ति डस्ने उदन्ड बानीले होस् ।
वर्षौदेखि बज्रिरहेछ बज्रपात टाउकामा
गोदिरहेछ गारतका गोलीले झैं
र
डामिरहेछ तिम्रो सहरले बिना कुनै डर ।
तिम्रो मुटुको मझेरी मानिने
रानीपोखरीको डिलै छेउ उभिएको
त्यो जुँगे बुढाको कुटिल धरोहर
किन, रातभर घुरेर डिस्टर्व गरिरहन्छ मलाई
टुडिखेल भित्रका घोडसवार पूर्व श्री३ हरूको हंशसम्झेर
किन सासन गरिहेछ जङ्गे कानुन अझै,
एकैक्षण भएपनि विश्राम लिए हुन्थ्यो कि ?
र
तिम्रो सहरका मालीलाई पनि सुत्न दिए हुन्थ्यो कि ?
किन अटेर पहाड झै टस् न मस् भएर
सदियौं देखि तिम्रो घन्टाघर
वेपरवाह घुमाइरहेछ आफ्ना परचक्री पखेटाहरू
र
समयको लगन मुठ्ठीमा बाँधेर
प्रतिपल घटाइरहेछ हाम्रो आयु ।
एउटै गोलार्धमा फन्को मारिरहने
कामुक वेरोजगार वायुहरू झै
जिस्क्याउँदै रानीपोखरीको नितम्बलाई
किन बेतुक वहकिरहन्छ तिम्रो सहरको सास
र
पिटिरहन्छ निरन्तर निर्दोष खाल्डोलाई ।
विधिको सासन निषेधित तिम्रो सहरमा
सति समय छादेर
भीमसेन झैं अजङ्ग उभिएको
उन्मत्त धरहराले पनि
किन देखेको होला आफ्ना आँखाले
मात्रै सासकको रगत
र
किन मैले पनि पढेको होला
त्यै रगतलाई देशको इतिहास भनेर ।
किन मैले नधिक्कारेको होला त्यतिखेरै
त्यो कलंकित कालो कोतलाई
र
किन नसरापेको होला
ती सत्ता चलाउने सासकलाई,
रगतले लत्पतिएको खुनी सालिकलाई,
र
निरङ्कुश भारदारी हुकुमलाई ।
कसरी भनौं म
सदियौं पूर्वदेखिको
पीडाको पर्याय बनेको तिम्रो सहरको नियति गाथा
र
आफूले आफैलाई गरेका आफ्ना गुनासाहरू
अनि कसरी गाली गरौ म आफैलाई
तिम्रै माटोले दिएको ओत ओढेर बसेको म
कसरी सुनाउँ तिमीलाई यसो भनेर कि ,
मलाई यो सहरका —
फूलहरूले पिटिरहेछन् ।
पातहरूले पिटिरहेछ ।
र पिटिरहेछन् ,
बैजयन्ती बतासका
हुलहरूले ।