R R Chaulagain – Sapana

आर. आर. चौलागाईं – सपना

मैले देख्न छोडिसकेको थिएँ
सपना
अचानक कहाँबाट आयौ तिमी
पत्तै भएन
र देखाएर गयौ
असङ्ख्य सपनाहरु ।

कुनै बेला म खुब सपना देख्थेँ
पहाड उक्लेको सपना
हिमाल चढेको सपना
समुद्र तरेको सपना
खाडी नाघेको सपना
सायद कसैले पनि देख्दैनथे होलान्
मैले जति सपनाहरु ।

कुन सपनाको कुरा गरुँ म ?
बिरुवा रोपेको सपना ?
पानी हालेको सपना ?
गोडमेल गरेको सपना ?
फूल फुलाएको सपना ?
सायद तपाईँहरुले पनि देख्नुभएको थिएन होला
त्यत्ति मीठा सपनाहरु ।

पहाड उक्लिन्छु भन्नेहरुले
पहाड उक्लिरहेकाहरुलाई
पहाडबाट खसालेपछि
हिमाल चढ्छु भन्नेहरुले
हिमाल चढिरहेकाहरुलाई
हिमालबाट धकेलेपछि
समुद्र तर्छु भन्नेहरुले
समुद्र तरिरहेकाहरुलाई
समुद्रमा डुबाएपछि
खाडी नाघ्छु भन्नेहरुले
खाडी नाघिरहेकाहरुलाई
खाडीभित्र पुरेपछि
हरबखत कहाँ देख्न सकिँदोरहेछ र सपना ?

बिरुवा रोप्छु भन्नेहरुले नै
बिरुवा रोपिरहेकाहरुलाई
बिरुवा उखेलेर फालेपछि
पानी हाल्छु भन्नेहरुले नै
पानी हालिरहेकाहरुलाई
पानीको गाग्री फुटाएपछि
गोडमेल गर्छर्ुुन्नेहरुले नै
गोडमेल गरिरहेकाहरुलाई
हातबाट कुटो खोसेपछि
फूल फुलाउँछु भन्नेहरुले नै
फूल फुलाइरहेकाहरुलाई
नीलडाम हुने गरी कुटेपछि
सपना देख्छु भन्नेहरुले नै
सपना देखिरहेकाहरुलाई
किचिमिचि पारेपछि
हरप्रहर कहाँ देख्न सकिदोँरहेछ र सपना ?

मलाई ब्युँझाएर गयौ तिमीले
मलाई उठाएर गयौ तिमीले
मलाई अल्झाएर गयौ तिमीले
मलाई बल्झाएर गयौ तिमीले
अब कति खस्नुपर्ने हो पहाडबाट थाहा छैन्
अब कति धकेलिनु पर्ने हो हिमालबाट थाहा छैन्
अब कति डुब्नुपर्ने हो समुद्रमा थाहा छैन
अब कति पुरिनुपर्ने हो खाडीमा थाहा छैन
अब कति दुख्ने हुन् सपनाहरु थाहा छैन ।

तिमी बिजुली चम्केजस्तो
झिलिक्क चम्क्यौ र बिलायौ
तिमी चट्याङ परेजस्तो
एकैछिन आयौ र हरायौ
तिमी हुरी चलेजस्तो
मनलाई लथालिङ्ग पार्यौ र गयौ
तिमी खहरेजस्तो
गड्गडाएर आयौ र अलप भयौ
अब विरुवाहरु कति उखेलिने हुन् थाहा छैन्
अब गाग्रीहरु कति फुट्ने हुन् थाहा छैन
अब कुटाहरु कति खोसिने हुन् थाहा छैन
अब फूलहरु कति चुँडिने हुन् थाहा छैन
अब सपनाहरु कति बिथोलिने हुन् थाहा छैन ।

R R Chaulagain – Euta Mitho Kabita Lekhna Sakiyena

आर.आर. चौलागाईं – एउटा मिठो कविता लेख्न सकिएन
(मधुपर्क असार, २०६८)

कुन विषयमा लेख्ने निर्णय गर्न सकिएन
आरम्भ, मध्यान्तर र उपसंहार कस्तो हुन्छ
पहिल्याउन सकिएन
लेख्दै जाँदा नारा मात्रै हुने हो कि !
त्यसमा विम्ब र प्रतीकहरूको पाइन हाल्न सकिएन
चाहे पूरा होस् अथवा नहोस्
सपनाहरू छताछुल्ल हुने गरी बाँड्न सकिएन
न सुन्दरताको धीत मर्ने गरी प्रशंसा हुन सक्ने भो
न आँखै अगाडिको अस्तव्यस्ततालाई
धारे हात लगाएर सराप्ने अवस्था भो
सँगैको एउटा सँधियार चुँ पनि बोल्दैन
अर्को हामी उसैको कमाराकमारीजस्तो हप्की र दप्की गर्छ
कोसँग सल्लाह मागूँ कस्तो फसादमा परियो
के गर्ने के नगर्ने अलमल्ल परियो
रातमा निदाउन पनि सकिएन
दिनमा काम गर्न पनि सकिएन
के भयो भयो भेउ पाउनै सकिएन
एउटा मिठो कविता लेख्न सकिएन ।
कविता लेखेरै जिन्दगी बिताइयो
कवितासँगै निदाइयो, कवितासँगै उठियो
कविता लेखेरै प्रेम गरियो
कविता लेखेरै विवाहबन्धनमा बाँधियो
कविता लेखेवापत गाली पनि खाइयो
कविता लेखवापत पुरस्कार पनि थापियो
पटकपटक जेलको हावा पनि खाइयो
दरवारको मेजमानी पनि बुत्याइयो
कविताको आकर्षणले थुप्रै मित्रहरू कमाइयो
कविताको प्रहारले थुप्रै शत्रुहरू पनि बटुलियो
कविताकै कारणले देशदर्शन पनि गरियो
कविता पढ्न पराईभूमि पनि टेकियो
आज के भयो यस्तो अचम्म !
कविताले पत्याउँदै पत्याइनन्
फर्केर एकचोटि हेर्दा पनि हेरिनन्
रुन पनि सकिएन हाँस्न पनि सकिएन
एउटा मिठो कविता लेख्न सकिएन ।
मानिसहरू लेख्यालेख्यै छन्, सुनाको सुनायै छन्, छ्यापेकोछ्याप्यै छन् ।
यामानको किताब पनि निकालेको निकाल्यै छन्
तर कविता लेख्या हुन् कि के लेख्या हुन् थाहा छैन
खै ! के सुनाएका हुन्, के छापेका हुन्
केको किताब निकालेका हुन् त्यो पनि थाहा छैन
बोल्नु हुँदैन मारिहाल्छन्
सम्झाउनु हुँदैन झुण्ड्याइहाल्छन्
आफूले त त्यत्ति गर्न पनि सकिएन
स्याबासी लेखाउन घरघर धाउन पनि सकिएन
पुरस्कार जिप्ट्याउन खुट्टामा तेल लाउन पनि सकिएन
पुरस्कार दिलाए आधाआधा बाँडौँला भन्न पनि सकिएन
भरे साहिँलीको भट्टीमा मरुन्जेल धोकौंला भन्न पनि सकिएन

यो बारको जुनीमा त्यत्तिकै मरिन्छ कि क्या हो !
यो पनि भएन त्यो पनि भएन केही पनि भएन
बेसारे कवि/कवयित्री भएर हल्लाखल्ला मच्चाउन पनि सकिएन
अर्काको कविता सारेर आफ्नो नाम छपाउन पनि सकिएन
एउटा मिठो कविता लेख्न सकिएन ।

– हेटौँडा-४, मित्रनगर मकवानपुर