Nira Sharma – Ama Haru Ho Buddha Janmau

आमाहरु हो जाग अब
आँशु बगाउन छोडेर आऊ
थाकिसकेका कोख रसाउंदै
फेरि एउटा बुद्ध जन्माउ
बम र बारुदको धुंवा भित्र
तिम्रै सन्तानहरु निसास्सिएका छन्
हिंसा, कोलाहल र चित्कार भित्र
कलिला मनहरु तर्सिएका छन्
वातावरण कहालिएको छ
हराएको छ घामको न्यानो अनि
छेकिएको छ जुनको उज्यालो पनि
खोसिएको छ शीतलता
मौलाएको छ उच्छृंखलता
पानी बग्ने खोलाहरुमा
रगत बग्न थालेको यो परिवेश भित्र
तिमी कसरी मौन छौ आमा ?
वन, पाखा र भन्ज्यांगहरुमा
बन्दुकहरुको बिस्कुन लागेको छ
माया खेल्ने आँखाहरुमा
रगतको आँशु बगेको छ
त्यसैले आमा,
आफ्नो गर्भमा शान्ति मगाऊ
फेरि एउटा बुद्ध जन्माऊ ।

पैंचो माग्नु परेको छ आफ्नोपन
वर, पर छिमेकहरुमा
शिला खोज्नु परेको छ आफ्नै मन
विध्वंश पछिका भग्नावशेषहरुमा
देबता भनेर पुजेका ढुंगाहरु
आफ्नै टाउकोमा बर्सिएका बेला
माकुराको चाल हुने भए
बरु कोखमा आगो लगाऊ
मार, काटको बाटो नहिड्ने
थुप्रै मनहरु जन्माऊ
सक्छौ भने आमाहरु हो
रावण होइन, राम जन्माऊ
हराएको शान्ति खोज्न
फेरि एउटा बुद्ध जन्माऊ
नेपालीहरुको आँशु पुछ्न
उही गौतम बुद्ध जन्माऊ ।

काठमाण्डौ, हाल: अमेरिका

Nira Sharma – Timi Ekli Bana

कुमारीहरुलाई बिहे नगर्ने सल्लाह छ
सिन्दूर पुछिइरहने यो समय
सिउँदो उजाडिएको यो क्षण
अब सिउंदोमा कुनै रौनक छैन
जुनसुकै बेला सिनित्त पखालिन सक्छ
सिन्दूरको, अहं कुनै भर छैन

ढकमक्क फूलेको फूलको पात
अनायासै खस्न सक्छ
धपक्कको बैसको पहिलो रात
कालरात्री हुन सक्छ
भो कुमारी, बिहे नगर

बरु बिबाहित छौ भने
बाँझै बस अब तिमी
गर्भे टुहुराकी आमा हुन
गर्भधारण नगर भो,

हो अब नगर गर्भधारण
बाँझै बस बरु तिमी
निर्बाध भोग्नु पर्छ यदि भने
पिडाहरु एकपछि अर्को गर्दै
बाबुको छत्रछायाँबाट बञ्चित
टुहुरा टुहुरी हुर्काउनुको पिडा
एउटा अबोध शिशुको
बा खोई ? प्रश्नको पिडा
भो सहने आँट नगर

बाँझै बस बरु तिमी
हिंसाले हिंसा नै जन्माउँछ भने
हिंसाको बेला सृजित सुक्रकिटलाई
आफ्नो डिम्बमा स्थान नदेऊ
सिउँदो पुछिएका, काख उजाडिएका
हजारौं अवलाहरुको उजाड बस्ती
भो, अरु फैलन नदेऊ

हिम्मत गर, नारी तिमी
बिहे नगरेर, आमा नबनेर
एकचोटी सृष्टिलाई छेकीहेर
सृष्टि चक्र नै रोकी हेर
यदि जीवनमा शान्ति हुने
झिनो पनि आशा छैन भने
मातृ वात्सल्यको लिप्सा नगर
नारी तिमी बाँझी बन
बरु तिमी एक्ली बन ।

काठमाडौं, हाल: अमेरिका ।

Nira Sharma – Anurodh

आफ्नो वल्लो आँगनबाट
पल्लो आँगन चहारे झैँ
मधेस झर्न सक्दिनँ म
अचेल।
एउटै घर एउटै छानो
तर सोच फरक छ
अचेल।

सोचहरूलाई पर्खाल बनाएर
खै किन कोरिँदैछन् यी सीमारेखाहरू
सिङ्गो एउटा नेपाल नबनेर
किन भाचिँदैछन् आफ्नै भूगोलहरू
विस्मृतिका गर्भमा विलिन
नाता साइनो र आत्मियतासँगै
किन हराएका छन् अस्तित्वहरू?

पहिले पहिले मधेस जल्दा
कति सजिलै पग्लन्थ्यो पहाड
र निभाउँथ्यो आगो हिउँ बनेर
जुर्मुराउँथ्यो एकता एक ढिक्का भएर―
तर आज…..
ज्वालासँगै दन्केको छ मधेस
ह्वार्ह्वार्ती सल्केको छ।
सम्झौता र सहमतिमा मिल्ने हातहरू
भाँचिएका छन्,
काटिएका छन्
पहाड र मधेसका सेतुहरू
लत्रेका छन्,
भत्केका छन् ।

सयौँ वसन्त पार गरेकी मेरी आमा
नाति भेट्ने रहर पोको पारेर
पहाडबाट जब झर्छिन् मधेस,
डराई डराई पाइलाहरु कँपाउँदै
भन्छिन् तराईका सपुतहरूसँग
“बाबु ,मलाई मेरो नाति भेट्नुछ
नखेद,
मेरो बाटो नछेक
मलाई जान देऊ
न मधेसी,न पहाडी
मात्र एउटा नेपाली नाति भेट्न देऊ
मलाई जान देऊ।”

Nira Sharma – Desh Samjhera Royeko Bela

निरा शर्मा – देश सम्झेर रोएको बेला

आजकल त यहाँ
जसले जे गरे पनि हुने भएको छ
मात्र निमुखाहारुले चुपचाप खप्नु परेको छ
निरिह बनेर टुलु टुलु हेर्नुको विकल्प छैन
देखेर पनि देखिन
सुनेर पनि सुनिन भन्नुको पीडा
मन कुड्याउदै खप्नुपरेको छ
आज मेरो देश ले
मियो हराएको यो क्षण
नारिएका छन गोरुहरु
तँछाड मछाड गर्दै
छराल्लिदै बराल्लिदै
खलो उधिनिरहेछन
सिंगहरु जोतेर सिंगौरी खेलिरहेछन
तर मसँग
हेर्नुको अर्को उपाय छैन
सहनुको पराकास्टा भोगिरहेछु आजकल म
चुपचाप चुपचाप
लाचार रहन बाध्य छु

आफ्नै संन्तानबाट हेपिएकी
ममताकी खानी जननी जन्म भुमी
रक्षकहरु नै भक्षक हुदा
बलात्कृत एउटा बिवस जवानी झैँ
बेनाम बाबुको बतासे लावारिस शिशु झैँ
अपहेलित भएर बाच्न बाध्य बुड्यौली झैँ
निमुखो बनेर
जिब्रो काट्नुको पीडा
जसरि पनि सहनै परेको छ
म सहिरहेछु

काटिएर फालिएको नङको जस्तो
डडेलोले सखाप परेको वनको जस्तो
फुलो परेको आँखाको नानीको जस्तो
आँखाबाट झरेको आँशुको थोपा जस्तो
निरर्थक बन्दैछ
मेरो देशको अस्तित्व
भिरको बुर्बुरे बलौटे माटो जस्तै
नदीले काटेको खेतको पाटो जस्तै
बिस्तारै बिस्तारै
रित्तिदैछा मेरो देश
स्वार्थको दलदलमा
हरेक पल, हरेक क्षण
भासिदैछ मेरो देश

म हेरिरहेछु
खपिरहेछु, सहिरहेछु
जे गरे पनि खप्नै परेको छ,
सहनै परेको छ
देश दुखेर के भो
चित्त नबुझेर के भो
कलेटि परेका ओठहरुले रंग उडेको फिक्का हासो फाल्दै
मियो बिनाको दाईमा
दाइ-बरादो गर्नु परेको छ ।

– अमेरिका

Nira Sharma – Hiun Ko Tanna Bhitra

सफा हिउँको तन्ना भित्र
म भित्रको झन् सफा मेरो मन
पग्लिरहेछ कसैको आगमनमा
हिउँ पग्ले झैं
कल्पनामा त्यो हिउँ
तन्ना बन्न सक्छ
फूल बन्न सक्छ
ऐना बन्न सक्छ
फेरी एकै छिन पछि
पग्लेर पानी हुन सक्छ
फूल जस्तो ओइलेर
भूईंमा झर्न सक्छ
ऐना जस्तै फुटेर
चकनाचर हुनसक्छ ।

मेरो मन
हिउँ जस्तो सफा छ
हिउँ जस्तै पग्लिन सक्छ
पग्लेर बहन सक्छ
तर पानी भएर होइन
माया भएर छताछुल्ल
यत्र तत्र सर्वत्र फैलिन सक्छ
कहिले काहीं हिउँको तन्ना भित्र मेरो मन
हिउँजस्तै जमेर साह्रो हुन सक्छ
ढुंगा जस्तै कठोर हुन सक्छ
मायामा ठेस लागे
ऐना झैं चरक्क चर्कन सक्छ
मायामा खडेरी परे
फूल झैं ओइलीन सक्छ ।

आफ्नो पनमा बादल लागे
टपक्क एक थोपा आँशु बनेर
सुटुक्क एक्लै बर्सिन सक्छ
हिउँको तन्नामा लम्पसार
म भित्रको मेरो मन
सबथोक झेलेर पनि
फेरी हिउँ जस्तै सफा हुन सक्छ
मधुर मुस्कान छर्न सक्छ ।

काठमाण्डौं, हाल अमेरिका