Naresh Shakya – Sandhe

नरेश शाक्य – साँढे

उन्मत्त साँढे
डुक्रिँदै हिँड्छ
बीच सडकमा
सबै निरङ्कुश शासकहरु
यस्तै अहङ्कारी हुन्छन्
कोरली देखेपछि
मान्छेको हुलको बेवास्ता गर्दै
चढ्न पुग्छन्
(कामुकताको प्रदर्शन)
निर्लज्जताको यो पराकाष्ठा
अब डाम्नुपर्छ साँढेलाई
छाडा छोड्नु हुँदैन
नत्र ता यिनीहरु बेलगाम बन्नेछन्
कुल्चँदै हिँड्नेछन् सिर्जनाका फूलहरु ।

Naresh Shakya – Paglera Pani Timro Mutu Bata

नरेश शाक्य – पग्लेर पनि तिम्रो मुटुबाट

पग्लेर पनि तिम्रो मुटुबाट
मात्र ग्लेशिएर बहन्छ,
जमेर तिम्रो मुटु हिमशीला बन्छ,
दुबै स्थितिमा तिम्रो उपस्थिति हाम्रा निम्ति
कति निरंकुश र क्रुर
विषाक्त र वेदनायुक्त छ ?
तिम्रो कोखमा जीवन रस सिंचन हुने उर्वरता होला
के हामी कहिले त्यस्तो आशा गर्न सक्छौँ ?
तिम्रो ओठमा मानवता सिर्जना गर्न प्यास तृप्त पार्ने
गर्माहट होला
के हामी कहिले त्यस्तो
किन्चित अभिलाषा गर्न सक्छौँ ?
प्रगतिका मार्ग प्रशस्त हुन सक्ने
संभावनाका सारा सुन्दर र
रहरलाग्दा क्षितिजलाई ओझल पारेर
ठिही र स्याँठमा अनुवाद गरेर
तिम्रो निर्जीव र संवेदनाहीन सुन्दरतामा
हामी किन गर्व गरौँ ?
किन प्रशंसा गरौँ ?
पग्लेर पनि तिम्रो मुटुबाट मात्र ग्लेशिएर बहन्छ ।

Naresh Shakya – Sumnimalai

नरेश शाक्य- सुम्मिनालाई

ओ सुम्निमा !
मेरो मुटुभरिको अथाहअथाह चाह तिमीलाई
स्वीकार गर ल !

तिमी त फुलिसकेकी छ्यौ बैँसको हाँगामा
लालुपातेको जोवनसरह ढक्कमक
शारदीए घाममा
मुसुमुसु कौमार्य छरेर
तिम्रो लेकाली यौवन
मेरो नजरको प्यालामा
मदिरासरह छचल्किँदो छ
मेरो प्रेमको, हार्दिकताको
यो ग्रिटिङकार्ड
उपहारस्वरुप
स्वीकार गर ल !
मेरो मुटुमा बजिरहेको सङ्गीत
धिन्ताङ्धिन्ताङ्को
अविरल धुन मायाको
पयरहरु उन्मुक्त गतिमा
नाचिरहेछ स्वर लहरीमा पालामको
मेरो मायाको नजराना
कोसेली
हार्दिकताका साथ स्वीकार गर ल !
ओ लुङा !
हाम्रो बैँसको भाकाले
सुरिलो धुनले
पिरतीको नौतुम सनातन चाहनाले
ढाकोस्, गुन्जियोज वनपाखा
भञ्ज्याङ अनि चौतारी
हर मेलापात ल !

Naresh Shakya – Mero Kabita Ko Shakti

नरेश शाक्य – मेरो कविताको शक्ति
(मधुपर्क भदौ , २०६७)

तिम्रो बमभन्दा धेरै संहारक छ
मेरो कविताको शक्ति
यसको निशाना अचुक छ
यसले ताकेको गोलीले
सीधा शत्रुको छाती भेदन गर्छ
जिउँदाहरूको हड्डी
रगत, पसिना र आँसुले निर्मित
तिम्रो शोषणको महलमा
यसले धावा बोल्छ
र देख्दादेख्दै
एकैछिनमा
तिम्रा विशाल पिरामिडहरू गल्र्याम्म ढल्छन्
बाँकी रहन्छ मात्र भग्नावशेष ।
तिम्रो तोपभन्दा धेरै दुरगामी
र द्रुतगामी छ
मेरो कविताको मारक शक्ति
तिम्रो तोपले विनष्टि सिवाय
केही दिन सक्दैन
खेतमा लहलह बाली फलाउन सक्दैन
बुभुक्षा मेटाउन सक्दैन
तृष्णा तृप्त पार्न सक्दैन
बालकहरूको ओंठको खोसिएको मुस्कान
फिर्ता दिन सक्दैन
मात्र सिउँदाहरूको सिन्दुरको अपहरण
मेरो लेखनीले दिन्छ प्रेरणा
जीवन बाँच्ने
बाल्छ उत्साह र उमङ्गको ज्योति
कहिलै ननिभ्ने ।

– महालक्ष्मीस्थान, ललितपुर

Naresh Shakya – Bagnu

नरेश शाक्य – बग्नु
(मधुपर्क माघ, २०६७)

निःसर्त बगेँ
थाहा छैन कहाँ पुग्ने हो ?
जीवन बगेर
यतिका सङ्घर्षहरूको परिणाम र परिणति
के हुने हो ?
कसका लागि ?
अनिश्चित नै म बग्दैछु ।
म र्झन तैयार भएँ
ओर्लन Continue reading “Naresh Shakya – Bagnu”