महेश रेग्मी – मेरी अन्तिम स्त्री
(मधुपर्क असार, २०६७)
मेरी अन्तिम स्त्री
जो वाचाल छ
म उसको श्रोता बनेर अघाउनुपर्छ
उसका तर्क र भाषणको ‘ब्रेकफास्ट’ खानुपर्छ
र, बेलाबखत स्वर्गीय दृश्य भएर विभाजित बन्छे
मलाई तृप्ति दिन ।
ऊ अमूक पार्टीको सक्रियतावादी
र, केही छायाँवादी
उसले निर्वाचन जितेकी छे
संसद्मा पुगेकी छे
समलिङ्गी अधिकारका लागि युद्धरत् ।
मलाई आवारा बनाउने सरकार
उसका लागि सत्ता पक्ष छ
र, संसद भवन
उसका लागि घर र माइती भएको छ ।
म उसको जीवनको एकछेउमा बास गर्छु
तर ऊ मेरो निवास भने होइन
र, घर पनि होइन ।
मेरा लागि ऊ अन्तरिम सम्बन्ध बन्छे
र, मेरा अङ्गहरूको विघटन गर्न खोज्छे
जसरी यो गुण्डा सहर
मेरो जिब्रो थुत्न खोज्छ
खोस्न खोज्छ मेरो वीर्य
ए मेरी अन्तिम स्त्री
म अन्तिम नायक हुन चाहन्नँ ।
पाल्पा, हालः काठमाडौं ।