Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 008 – Hamro Bhet Hundaina Ho Ki Kahilyai

नेपाली हरिया पहाड वनका यी घाम–छायाहरु
हामी दम्पति, शान्ति कान्ति कलिला, यी मोह–मायाहरु
यो संयोग जुटाउने कुन थियो कल्ले बिगार्यो अनि
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि

पृथ्वीमा अबदेखिलाइ Continue reading “Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 008 – Hamro Bhet Hundaina Ho Ki Kahilyai”

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 010 – Laun Laun Ra Khaun Khaun Baya Mai

‘यो टाढा परदेशबाट घरमा चाँडै तिमी जाउली
डोर्याईकन शान्ति कान्ति सुखले बा’लाइ देखाउली
पाहाडी चिडिया उडी रहरको पहाडमै जाउली’
भन्दैमा सखि ! गैसक्यौ, अब कहाँ के गर्न हे पाउली

साँचेको किन त्यत्ति मात्र रुपियाँ आफ्नै लुकाईकन
के के गर्न थियो, गयौ नि ! मनको धोको नफोईकन
चौतारी म बनाइदिन्छु त्यसले संसारको मार्गमा
फोई बन्धन गुप्त त्यो रहरको, जाऊ सखी ! स्वर्गमा

अर्काको नझुकी अगाडि घरको मर्का लुकायौ कति
तिम्रो धैर्य र मुस्कुराहट मिली गर्दै गएँ उन्नति
मेरो आज फल्यो कमाइ, तर हा ! तिम्रो ढल्यो देह यो
हे मेरी सखि ! दुःखको समयकी, छोडी गयौ खोप यो

लक्ष्मी भै धनधान्यपूर्ण घरमा बस्नै तिमी पाइनौ
हुर्काईकन लालबाल सुखले जानै तिमी पाइनौ
लाऊँ लाउँ र खाउँ खाउँ वयमै आफू कसोरी गयौ
बन्दैमा कति हाइ हाइ सबकी, सारा रुलाई गयौ

तिम्रो बाइस वर्षको रहर यो बोल्ने सखी बाँकि छन्
छातीको दश धार प्यार पिउने छोरी दुवै बाँकि छन्
यो तिम्रो म छु, चित्तभित्र प्रतिमा तिम्रो अझै बाँकि छ
छैनौ किन्तु तिमी ! यहाँ हृदयको तिम्रो सबै बाँकि छ

मान्छे जन्मिन आउलान् तर तिमी रानी कहाँ पाउँला
त्यो बान्की अनुहारको, नजरको पानी कहाँ पाउँला
मान्छेमा छलले छिपीकन तिमी छाया पनी पाउँला
त्यो बानी, दिल त्यो, त्यही किसिमको माया कहाँ पाउँला

सानो मानिसलाई भूमितलमा हुर्काइदिन्छौ किन
सानो त्यो दिलभित्र विश्वभरिको माया बसाल्छौ किन
लैजान्छौ नि ! उमेरमै रहर त्यो पुग्नै नपाई किन
लैजान्छौ वरदान फेरि भगवन ! भोग्नै नपाई किन

छातीलाई फुलाउने कुसुम यी फुस्की कहाँ झर्दछन्
टाढा टेक्न उचालिने चरण यी खुस्की कहाँ पर्दछन्
मान्छे हिँड्दछ सुख्ख खोज्न, कसरी त्यो दुखःमै पर्दछ

आत्मा आउँछ हाँस्नलाइ, कसरी रोएर त्यो मर्दछ

वैली यो मधुमास जान्छ, बिउँझी क्वैली जसै बोल्दछ
उड्छन् बादलमा भुवा, सिमलले कोया जसै खोल्दछ
ब्यूँझी जीवन, घाम जूनमनि यो केही फुकेको मन
फुस्काई कसले लग्यो कुन दिशा, मेरी कहाँ छौ ? भन

छोई भूतललाइ इन्द्रधनुले लाखौँ सिँगारे पनि
रातीका सपना बिहान बिउँझी साँचा बनाए पनि
मान्छेलाइ मिले पनी अजमरी खोजेर सञ्जिवनी
फर्कन्नौ यस लोकमा, जुन गयो यो गैगयो जीवनी

गैह्री खेत ! फलेर धान नझुला बाला सुनौला तल
टुप्पाबाट लदाबदी नफलिदे वैशाखको काफल
आउन्नन् वनभात खान वनकी रानी छहारीमनि
नाघी पर्वत स्वर्गमा गइसकिन् आनन्दकी इन्द्र्रिनी

बेहानीपख उठ्तिनन् अब उनी आई नबोला चरी !
टाढा देवलमा नबज्न शहना ! नाना बिलौना गरी
कल्ले हेर्छ र झुल्किएर चुचुरा पाखा सिँगार्छन् रवि
छन् खुल्ला अब रुप रङ्ग रमिता उल्लास छाया–छवि

डालाबाट नबोल कोइलि ! झुली, वैलिन्छ रे यो वन
काला केश नबाट है युवति हो ! फुस्कन्छ रे जीवन
यात्री आखिर जान्छ रे नगर है यो मार्गमा पीरती
देवी स्वर्ग गईसकिन् नगर है यो साँझमा आरती !

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 005 – Lau Anjuli Tin Baar Jal Ko

सेलायो उनको चिता र दिनको ज्वाला निभ्यो पश्चिम
यो छाया–छविको डुब्यो दिन, डुब्यो रङ्गीन त्यो जीवन
थोत्रो देवल, शून्यसान दुनियाँ, सारा अँध्यारोतिर
जाऊ हे सखि ! साँझको शिखरको पारी उज्यालोतिर

बत्ती यो घरबाट बल्छ अहिले सङ्घारमा दख्खिन
बाल्थिन् यै घरभित्र बत्ति घरकी लक्ष्मी उनी क्वै दिन
हे वैवस्वत ! बत्ति यो शहरमा तिम्रो लगी जोडिद्यौ
उल्टीद्यौ सब अन्धकार उनको बाटो तिमी छोेडिद्यौ

छायारुप लिएर शून्य घरमा आई नच्याऊ अब
हाम्रा आँसु नहेर, निष्ठुर बनी माया चुँडाल्द्यौ सब
हल्का प्वाँख उचाल, झार भुइँमै धूलो र मैलो जति
जाऊ सुन्दर शान्त देश, पुतली ! हे ज्योतिकी सन्तति !

लाऊ अञ्जुलि तीन बार जलको, खाएर जाऊ सखी !
यौटा फुल चुँडेर दिन्छु दिलको लाएर जाउः सखी !
आँसू आज पुछेर दुःख सब यो बिर्सेर जाऊ सखी !
मान्छेको घर अन्धकार छ भनी सम्झेर जाऊ सखी !

आऊन् पुष्पविमान पुण्यबलले निस्केर आकाशमा
हाँसी क्यै वरदान द्यौ रहरको, जाऊ सखी ! बैँसमा
लैजाओ अमरावती शहरमा हे स्वर्गका देवता !
ताराका सँग हाँस है, अब तिमी नौ लाखमा एउटा

हाँस्यौ, प्यार गर्यो, बिगार गरिनौ कैल्यै कसैको यहाँ
यो चारै दिनमा पनी गरिसक्यौ जो गर्नुपर्ने यहाँ
केही बाँकि भए म गर्छु सँगिनी ! ज्यूँदै छु आधा अब
तिम्रो खेल समाप्त भो सब, तिमी विश्राम लेऊ अब

मट्टीलाइ फुकेर प्राण बिउँझ्यौ हे फुलकी वासना !
हाँस्यौ घाम र जूनको मनि यहाँ हे स्वर्गकी सिर्जना !
देवी ! जोबनमै गयौ, मलिन यो मट्टी बिसाईकन
हाम्रै जीत छ प्यार चार दिनको पायौ महापावन

टाढा निर्मल मौन शान्त गहिरो आनन्दले दीपित
तिम्रो शाश्वत धामभित्र भवको पर्दा खसाली सुत
एकै बार जहाँ सुतेर कहिल्यै पर्दैन है ब्यूँझन
बल्छन् बाहिर जून्किरीसित जहाँ नौलाख तारागण

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 006 – Meri Lachchhin Ki Jahan

कोठामा कसरी पसूँ, नजरकी श्रृङ्गार छैनौ तिमी
यत्रो शोक कहूँ कहाँ, हृदयकी आधार छैनौ तिमी
कोठामा अघि भर्खरैतक थियौ बोलीरहेकी तिमी
ए छैनौ कसरी भनूँ ! हृदयमा खेलीरहेकी तिमी

मेरी लच्छिनकी जहान ! घरमा बल्दैन बत्ती अब
बत्तीनेर मुहार चारु भरिलो पर्दैन देखा अब
सन्तोषी मुखमा सुखी हृदयको झल्किन्न माया पनि
भित्तातर्फ कपालको गुजमुजे पर्दैन छाँया पनि

मैले यो परदेशमा घर त्यसै बिर्सीसकेको थिएँ
आमाको टुहुरो थिएँ, प्रिय सखी पाईसकेको थिएँ
मेरा सुन्दर शान्ति, कान्ति सुघरी, डेरा थियो यो कुटी
हे सन्तोष गरिबकी ! गइसक्यौ मेरी तपस्या उठी

कल्ले लिन्छ र गुप्त गर्व मनमा, मैले गरुँ पौरख
कल्लाई सुखिनी बनाउन भनी मैले उठाऊँ दुख
कल्लाई सँगमा लिएर अब यो सारा गृहस्थी गरुँ
छातीमा प्रतिमा लिएर उनकै बाँचूँ कि यद्वा मरुँ

मेरो मान बचाउँथ्यौ बरु तिमी आफु नजाती बनी
दिन्थ्यौ खान मलाइ रे कति कुरा आफु नखाई पनि
राख्यौ क्या सुखमा मलाइ, दुखमा आफु रहेरै पनि
राख्यौ मैँ कमजोरलाइ, बलियी आफु गएरै पनि

मेरो रोक्दछ व्यर्थ खर्च कसले, को लिन्छ साँचो अब
खाँचो टार्दछ मुस्कुराइ कसले साँचोमुचोले अब
मेरो इज्जत उघ्रियो, तनु चुँड्यो, उम्टन्छ कल्ले अब
लापर्वाह मलाइ गर्छ गहिरो पर्वाह कल्ले अब

कोठाका सब मालतालहरुमा तिम्रो कला बोल्दथ्यो
मेरो भावुक काव्यको लहरमा तिम्रो गला बोल्दथ्यो
तिम्रो यो घरकाज विश्वभरको दृष्टान्त मेरो थियो
जो गथ्र्यौ सजिलै तिमी, असजिलो सिद्धान्त मेरो थियो

तिम्रो आकुल केशवेश, घरको सौन्दर्य मेरो थियो
तिम्रो निर्मल चालमाल, मनको माधुर्य मेरो थियो
तिम्रो सोचविचार दुःखसुखको चातुर्य मेरो थियो
तिम्रो त्याग घरै थियो, पर त्यही औदार्य मेरो थियो

छन् छोरी टुहुरी, बनेँ विधुर हा !– आमा र रानी गयौ
छन् दुःखी परिवार आज दुइटै– छोरी बुहारी गयौ
छोटो जीवनमा यहाँ कति महान् छोडेर माया गयौ
संसारै छ नि शून्य ! चार दिनकी हे रामछाया ! गयौ

मेरो बाहिरको थकाइ घरमा हर्ला नि कल्ले अब
केही भो कि मलाइ आँसु गहमा भर्ला नि कल्ले अब
खेपी जीवनका अनेक खतरा को हाँस्छ आफूसित
बाटैमा सँगिनी थला परि ढल्यौ, जाऊँ कहाँ कोसित

संसारी सब दुःखलाइ तिमीले संम्झ्यौ कसोरी सुख
माया हो कि दया मलाइ मनमा लाग्थ्यो नि देख्दा मुख
जल्ले जीवन सुम्पियो म उसको भारा तिरुँ के गरी
सेवाको बदला नलीकन गयौ हे राजराजेश्वरी

सोझो सज्जन सद्गुणी म छु भनी भन्छन् सबै मानिस
आफ्नो चिन्दिनँ दोष, होश छ खरो, मेरो छ लाटो रिस
यो मेरो कमजोर भाव कसले जानेर हाँसी सह्यो
मान्छे भन्नु तिमी थियौ, गइसक्यौ, कल्ले चिन्यो, के भयो

दासी भैकन स्वामिनी बनिदियौ आएर मेरो घर
हाँस्थेँ बाहिर लाग्दथ्यो मनमनै तिम्रो मलाई डर
छाया भैकन जो घुस्यौ हृदयमा माया बन्यौ आखिर
मान्छेबाट उठेर दिव्य पदमा देवी बन्यौ आखिर

छन् तिम्रा अनुहार कति सखी, पृथ्वीभरी छौ तिमी
छन् तिम्रा गहना लुगाहरु अझै, कोठाभरी छौ तिमी
छन् माया, ममता र मोह, महिमा, छातीभरी छौ तिमी
छन् छोरीहरु बिर्सुँला नि कसरी, आत्माभरी छौ तिमी

Madhav Prasad Ghimire – Phool Ko Thunga

माधबप्रसाद घिमिरे – फूलको थुँगा

फूलको थुँगा बहेर गयो गंगाको पानीमा
कहिले भेट होला है राजै यो जिन्दगानीमा

झरीको पछि झुल्केको घाममा निर चढ्यो पहाडको
भर्खर प्रीति बसेको बेला पीर पर्यो बिछोडको

नहाँसु भने सखीलाई पीर मै हाँसु कसरी
रुउँला राति भनेर आँसु मै साँचु कसरी

रातमा मलाई हेर्दछ टोलाई पूर्वको ताराले
त्यो कान्तिपुरमा सपनाको सुरमा सम्झ्यो कि प्याराले

शब्द – माधव प्रसाद घिमिरे
स्वर – तारादेवी

Madhav Prasad Ghimire – Gaunchha Geet Nepali

माधबप्रसाद घिमिरे-गाउँछ गीत नेपाली

गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली
जय जय जय नेपाल सुन्दर शान्त नेपाल

गण्डकी कोशी कर्णाली मेची र महाकाली
लेक र बेंसी ब्युँझाउँछन् लहर लाख उचाली
हिमालचुली बोलाउँछ पहिलो झुल्का निकाली
सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली

सीताले सारा भिजाइन दक्षिण लंका भारत
भृकुटी तारा उदाइन उत्तर चीन तिब्बत
बुद्धले यहीं पाएथे ज्ञानको पहिलो मुहान
शिबले यहीं ल्याएथे सृष्टिको पहिलो बिहान

पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं
हामीले हिमाल उठायौं एशियाको माझमा
सभ्यता बास बसेथ्यो आएर यहीं साँझमा

यही नेपाली माटोमा दिलको फूल रोपेर
यही पहाडी शिलामा पृतको गीत खोपेर
बाँचौला हामी नेपालमा चन्द्र र सूर्य ध्वाजा लिई
नाँचौंला हामी हिमालमा ज्योतिको पंख उचाली

शब्द – माधबप्रसाद घिमिरे
स्वर – आनन्द कार्की, कुन्ती मोक्तान, तारा थापा, ममता दिपबिम, राजु लामा
संगीत – उस्ताद गोविन्दलाल
एल्बम – गाउँछ गीत नेपाली

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 001 – Ke Lekhnu Maile Paryo

धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए
मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए
छाया आज पर्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पर्यो
आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पर्यो !

मेरीलाइ म देख्छु झल्झल, त्यही टाँसिन्न यो पत्रमा
मेरीको मनको किनार रँगिलो, गाँसिन्न यो पत्रमा
यो बायाँ मुटु चस्कँदो छ कसरी, जान्दैन कोही पनि
छाया एक मभित्र रुन्छ कसरी, सुन्दैन कोही पनि

मेरा अक्षर लेखिदे वनचरी ! वैशाखको पातमा
बोल् हे गोलसिमल् ! चुँडेर दिल यो एकान्तको रातमा
लैजा बादल ! दूर देश, दिलको आँसू, कहाँ छन् उनी
आउन्नन् हकि, काव्य सुन्न उनकै फर्केर कैल्यै पनि

मेरो साथ बसेर हाँसिरहने रानी ! खरानी बन्यौ
आमा शान्ति र कान्तिकी, सकलकी साजा कहानी बन्यौ
आफैँ ईश्वरले रचेर कसरी त्यो चित्र च्यातीदियो
के थालूँ अब लेख्न जीवन जहाँदेखिन् इतिश्री भयो

सम्झी ल्याउँछु– आज छैन रिस क्यै, गाली गरेहूँ किन
जाने नै रहिछन् नि ! त्यो दिन त्यसो मैले गरेहूँ किन
आफ्नैले त कसूर गर्छ, अहिले देखेर पो के भयो
के सम्झेर गइन् उनी, गुणकथा लेखेर पो के भयो

आनन्दी दुनियाँ छ एक, मनका मेरा पखेटामनि
छन् दुःखी परिवार किन्तु घरमा चीसा परेलामनि
केही छैन उपाय, खालि कमलो छाती लिएको कवि
टाढा ताक्छ, नगीच गुम्छ, कविता मुर्दा छ, छैनन् छवि

यौटा मानिस जो गयो–हृदयको सर्वस्व मेरो गयो
यौटा पुस्तक लेखियो–हृदयको रुन्चे कुना देखियो
साँचो जीवन त्यो गुमाइ, कसरी झूटो कथा यो भनूँ
वैरीलाइ समेत लेख्न नपरोस् यस्तो अरु के भनूँ !

क्वै भन्लान्– शिरको सिँदूरसहितै गौरी गइन् स्वर्गमा
क्वै भन्लान्– यस काव्यमा अमर छन् गौरी यहीँ मत्र्यमा
बाँचेको क्षण सत्य हो, अरु कुरा के हो कसो हो अब
ती मेरी घरमा थिइन्, हृदयको छन् सम्झनामा अब

कोट्टयाऊँ कति घाउ यो कलमले अड्कन्छ अड्कन्छ है
सम्झी ती दिन, ती कुरा, हृदयमा खड्कन्छ खड्कन्छ है
खोली पुस्तक आँसुको लहर यो हेरेर बत्तीमनि
सम्झीद्यौ सबले कुनै दिन यहाँ गौरी थिइन् रे ! भनी

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 007 – Hindai Chhau Ki Basyou Katai

फर्कन्छन् वन शैलबाट बचरा सम्झेर पन्छीहरू
फर्कन्छन् परबाट प्यार घरको सम्झेर यात्रीहरू
हे रानी ! अझ फर्किनौ किन यहाँ अल्प्यौ अँध्यारातिर
हेर्छ झ्यालमहाँ बसेर टुहुरी यो शान्ति धारातिर

कोठा शून्य छ यो, उठीकन अहो ! बाटो कहाँको लियौ
तिर्खाएर पियौ कहाँ जल, यहाँ गाग्री भरेकी थियौ
टाढाको कुन छहारीमनि बसी सम्झेर के के गयौ
दौडायो कुन दूरदेश विधिले, एक्लै कसोरी गयौ

हिँड्दै छौ कि बस्यौ कतै, मुलुक त्यो कस्तो छ, यस्तै छकि
त्यो छायामय लोकबाट कहिल्यै यो लोक देखिन्छ कि
छन् तिम्रा मुखमा अझै बिफरका बुट्टा कि कस्ती भयौ
स्वप्नामा जुन आउँछ्यौ, भन त्यही सम्झूँ कि भिन्नै भयौ

लागेको मनमा छ के भन त्यहाँ हास्छ्यौ कसोरी तिमी
सम्झी शान्ति र कान्ति दूधकटुवा रुन्छ्यौ कि क्यारे तिमी
दिन्नन् फर्कन फेरि बिर्सन पनी, द्यौताहरु निठ्ठुर
त्यो एकै छिनको मात्र बिछुडले कत्रो महा–अन्तर !

हामी छौँ सुखमा कि आज दुःखमा के भन्नु के भन्नु ख्वै
आफैँ मर्न सकिन्न, बाँच्नु कसरी, के गर्नु के गर्नु ख्वै
छौ देवी सुखमा भने यदि त्यहाँ हामी रुँदैनौ यहाँ
हाम्रै साथ थियौ कुनै दिन भनी सम्झेर बस्छौँ यहाँ

बाँचुन्जेल सकेँ र गर्न अब के सक्नेछु गर्नै म हे
चाँडै नै सँगिनी ! गयौ नि मनका इच्छा मनैमा रहे
बाँचुन्जेल त चिन्न नै सकिनँ हे जाहान ! जे भन्दछ्यौ
गाढा आज हुँदो छ प्रेम, जति नै टाढा तिमी बन्दछ्यौ

लीलाले कहिलेकहीँ त भुइँमा ओर्लेर आऊ तिमी
नौला मानिस खेत चौर हरिया हेरेर जाऊ तिमी
आऊ शान्ति र कान्तिमा अमृतको देऊ नयाँ चुम्बन
आऊ यो मनमा पसेर सहजै लेऊ नयाँ जीवन

तिम्रा गीत म फाँट शैल वनका एक्लासमा गाउँला
आफ्ना मानिसका गएर घरमा तिम्रा कथा गाउँला
हुर्काईकन शान्ति कान्ति भुइँमा छाडी त्यहाँ आउँला
देवी ! अन्तिम साँझमा गहभरी आँसू लिई आउँला

Madhav Prasad Ghimire – Afnai Roop Ko Chhaya Heri

माधबप्रसाद घिमिरे – आफ्नै रूपको छायाँ हेरी
(‘किन्नर-किन्नरी’)

अञ्जुलिमा उबाएर पिऊँपिऊँ पानी
आफ्नै रूपको छाया हेरी छक्कै रूपा रानी

अञ्जुलिको यही पानी आफैं पिइद्यूँ त
आफ्नै रूप पिइन्छ कि? यही पानीसित

अञ्जुलिको यही पानी भुइँमा पोखिद्यूँ त
आफ्नै रूप पोखिन्छ कि? यही पानीसित

काँपिगयो अञ्जुलि त, भुइँमा पर्यो पानी
त्यस्तै फुल्यो फूल पनि, जस्ती रूपा रानी

Madhav Prasad Ghimire – Aajai Ra Raati Ke Dekhen Sapana

माधबप्रसाद घिमिरे – आजै र राती के देखेँ सपना

आजै र राती के देखेँ सपना मै मरी गएको
बतास बिना हांगाको फूल भुइँ झरी गएको

मर्स्याङ्ग्दी नदी नरमाईलो सुसाई रहेको
कहाँ हो कहाँ बादल भित्र म रोई रहेको

वारि Continue reading “Madhav Prasad Ghimire – Aajai Ra Raati Ke Dekhen Sapana”

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 002 – Hey Narayan Ke Bhayo

पानी सिमसिम बर्सिएर सकियो आषाढको रातमा
निस्के झिम्झिम ज्योतिमा जुनकिरी ओस्याइला फाँटमा
फारी बादल शैलको शिखरमा तारा उदाइन् अब
आई विष्णुमती–पवित्र तटमा मेरी निदाइन् अब

कस्तो शान्ति छ – रातको पहरा रातै घुसको सरि
रोकि श्वास मसानमा छ शिवको छाया बसेको सरि
गङ्गा खालि सुसाउँछिन् बगरमा नाना बिलौना गरी
टाढा रोइरहेछ एक बटुवा साथी छुटेको सरि

मान्छे हो, अहिल्यै अमङ्गल अहो ! भन्छौ मलाई किन
यै कालो निशिमा छिपाइ मुख यो देओ मलाई रुन
हे नारायण के भयो ! जुन कुरा भन्थेँ नहोस्, त्यै भयो
छैनौ हे सँगिनी ! तिमी कि अहिले संसार नै छैन यो !

बेहानीपख जो उठेर बटुवा चल्छन्, तिमी चल्दिनौ
यत्रो खल्बलपूर्ण भूमितलमा खाली तिमी बोल्दिनौ
धारामा जल जो भरेर युवती हाँस्छन् तिमी हाँस्तिनौ
तिम्रै मात्र भयो र के ? सब जना बाँच्छन् तिमी बाँच्दिनौ

हे गौरी ! अब हेर्दिनौ हकि तिमी ब्यूँझी उज्यालो दिन
मैले देख्नुपर्यो नि आज भुइँमा मेरी नभा’को दिन
बाँचेरै यतिसम्म, एक छिनमै के जिन्दगी सिद्धियो
मेला आज उठ्यो विशाल उनका लेखा जगत् सिद्धियो

तिम्रो अन्तिमको शिँगार सँगिनी ! कात्रो कसोरी भनूँ
तिम्रो निम्ति दिइन्छ पात्र जुन त्यो ‘टीलो’ कसोरी भनूँ
गाली होइन, किन्तु भन्नु कसरी यो अन्न बुर्की भनी
मुर्दानीर्, कसरी भनूँ, जुन तिमी मेरी थियौ जीवनी

यत्रो लोक कहाँ गयो, जब तिमी एक्लै गयौ घाटमा
चिम्ल्यौ लोचन अन्धकारबिचमा आषाढको रातमा
के भो लोक चिनेर, फेरि ममता मेरो लिएरै पनि
हा अज्ञान, अभाव, भूलहरुमा तिम्रो गयो जीवनी !

अउन्नन् अब हे नहेर, चुचुरा ! गौरी पखेरामनि
गाउन्नन् अब गाउँका युवति हो ! गौरी छहारीमनि
बर्सी जा र पहाडमा खबर यो लैजा रुँदै बादल
घर्पेटी ! अब शान्तिलाई भनिद्यौ– आमा गइन् मावल !

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 009 – Mera Rokiye Aanshu

मेरा रोकिये आँसु भल्भल त्यसै ए बग्दछौ के भनी
मैले रोइनँ आजसम्म अरुको यै मृत्यु सुन्दा पनि
मायाकी प्रतिमा ! तिमी हृदयमा मेरो गडेकी थियौ
पारी घायल चित्त, घाउ गहिरो, एक्कासि नै उप्कियौ

सम्झायो जति चित्त दुख्छ उति नै सम्झाइ के गर्दछौ
मेरो जो हुनु भैसक्यो अब दया देखाइ के गर्दछौ
केही भन्नु मलाइ मित्र ! छ भने आएर रोऊ बरु
लागेको दिलभित्र घाउ छ भने सम्झेर जाऊ बरु

छातीमा कुन दूर देशतिरको आई बिलौना बस्यो
क्यै गर्ने मन छैन, खालि रुनको धोको मलाई बस्यो
कोठाभित्र लुकेर बस्छु– उनको छाया परेथ्यो यहीँ
छातीभित्र ढुकेर बस्छु– उनको माया बसेथ्यो यहीँ

एकान्तस्थलमा बसीकन सखीलाई म बोलाउँछु
आत्मा बस्छ कता–कतातिर गई, पत्ता म त्यो लाउँछु
फर्काईकन ल्याउनेछु म उनीलाई यहाँ क्वै दिन
फर्कन्थिन् कि उनी, शरीर उनको मैले जलाएँ किन !

यो सानो घरबार चार दिनको यो भेट छोटो थियो
हामी दम्पतीको परन्तु यसमै माया बसेको थियो
जो छाया पहिले पस्यो नजरमा खुर्केर खुर्किन्न त्यो
जो माया पहिले बस्यो हृदयमा बिर्सेर बिर्सिन्न त्यो

मैले सम्झनु के छ– आज सँगमा छैनन् उनी भन्नु छ
मैले बिर्सिनु के छ– चार दिनमै अर्कै बनेँ भन्नु छ
उल्टो काँण बिभ्mयो मलाइ दिलमा कल्ले निकालिदिने
कल्लाई भन सम्झियूँ यदि तिमीलाई नसम्भूmँ भने

जानेलाइ छ सुख्ख, आज उसका लेखा यहाँ के छ र
बस्नेलाइ छ पीर, रातदिन नै छन् सम्झना निष्ठुर
केही औषधि भैदिए भुलिदिने, रोएर प्यूने थिएँ
जानेलाइ म बिर्सिएर सुखले हाँसेर ज्यूने थिएँ

मान्छे हो ! किन हाँस्तछौ हृदयमा आँसू लुकाईकन
खोज्दैमा सुख, आशमा विरहमा गैजान्छ यो जीवन
यो माया कसलाइ अर्पनु त्यसै साँचेर के हुन्छ हे
साँच्चै भन्दछु– मर्नुपर्दछ भने बाँचेर के हुन्छ हे

तिम्रो दुर्दिनमा बसेर सँगमा को पुछ्छ आँसू यहाँ
तिम्रो नाम जपी समाधिगृहमा को बाल्छ बत्ती यहाँ
पोल्टो थाप्तछ को महामरणले फ्याँक्ता महाशून्यमा
तारा बत्ति कुरेर बस्छ कुन हे, यत्रो महामौनमा

छैनन् आज उनी म रुन्छु, नहुँला भोली म, मेरा रुनन्
पृथ्वी मर्दछ पर्सि यो, पिलपिले ताराहरु ती रुनन्
सारा निष्ठुर नाशको पछि यहाँ आएर को रुन्छ हे
नाशैलाइ छ सिर्जना सब भने रोएर के हुन्छ हे

फर्की क्वै पनि आउँदैन र सधैँ पर्खन्न कोही पनि
कालो आदि र अन्त ! खालि बिचमा झिल्का लिने जीवनी
एक्लै क्वै दिन निस्किएँ म त भने कोही नखोजून् यहाँ
एक्लै अल्पिनु सृष्टिको चलन रे, कोही नरोऊन् यहाँ

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 012 – Manchhe Ho Yinlaai Pyar Gara Hai

खेल्दै शान्ति र कान्ति खाटनजिकै आई बसेका थिए
हेरी यी अनजानलाइ उनका आँसू खसेका थिए
बिस्तारै शिरमा मुसारि यिनको, केही नबोली गइन्
हाली आशिक बिन्दु बिन्दु गहको आँसू खसाली गइन्

गाईलाइ लग्यो नि ! आज कसले बाच्छो छुटाईकन
पोथी पाश परी मरी नि ! गुँडका बच्चा नहुर्कीकन
के हेछ्र्यौ यतिको बिजोग, धरती माता ! तिमी फाट हे
आमा बालककी नमार भगवन् ! संसार भर्ने भए

हेर्छे शान्ति यताउती घरभरी आमा कतै देख्तिन
हेर्छे फेरि मलाइ खालि मुखमा केही पनी बोल्दिन
‘आमा ख्वै ?’ भनि वेगले हृदयमा टाँसेर रोऊँ कि म
अज्ञानी वय चारकी छ, टुहुरी पा¥यौ विधाता, किन !

आमालाइ रुँगेर कान्ति दिलको संसार जो घेर्दथी
आधा दूध चुसेर फेरि मुखमा हाँसेर जो हेर्दथी
सुत्छे आज रुँदारुँदै हृदयमै थाकेर औँलो चुसी
मेरो झस्किरहेछ हेर, मुटुको टुक्रा ! भुईँमा खसी

मेरा चञ्चल शान्ति कान्ति सुखले नाना र चाचा भनी
खेल्थे खलबल गर्दथे घरभरी रुन्थे फुलिन्थे अनि
यी हाँस्थे जब फुल झैँ नजरको आँसू नसुक्तै पनि
ती धुन्थिन् दुधले मुहार यिनको त्यै आँसु पुछ्दै अनि

पाक्यो भात भनेर शान्ति उनकै सन्देश ली आउँथी
अड्डाबाट म फर्किएँ कि उनकै जाली कुरा लाउँथी
खाई म्वइ नचाइ कान्ति सुखले भन्थिन् मलाई उनी
‘यस्तै सानु सधैँभरी रहिरहे कस्तो हुँदो हो !’ भनी

ती देखाउँदथिन् मलाइ, कतिकी राम्री छ सानी भनी
ती गर्थिन् मनभित्र गर्व, बहुतै बाठी छ ठूली भनी
ती भन्थिन् कहिले त्यसै हजुरकी छोरी छ छुच्ची भनी
ती रुन्थिन्, यिनलाइ व्यर्थ अरुले हेलाँ गरे रे भनी

त्यो श्रृङ्गार र त्यो सुसार त्यो आधार सारा गए
आमा भन्नु गइन्, गयो हृदयको शोभा अँध्यारा भए

धूलामाथि बसेर काख उनकै ढुक्छन् यहाँ केवल
कुदछन् त्यै ममता र प्यार, कहिल्यै मेटिन्न है तल्तल

यी रोए पनि दुःख लाग्छ– यिनले सम्झे कि आमा भनी
यी हाँसे पनि सुक्ख छैन– यिनले बिर्से नि आमा भनी
को हेर्ला अब हर्षसाथ– यिनले हुर्केर खेले पनि
फाटी मर्नु छ, पीर लाग्छ– यिनले फुर्की नखेले पनि

सानीलाइ फुल्याउँला कति यहाँ औँलो चुसाईकन
ठूलीलाइ भुलाउँला कति यहाँ आँसू लुकाईकन
आफैँ यो सब वज्रपात यिनले बुझ्लान् जसै आखिर
रोऔँला अनि एक रात सँगमा हेरेर तारातिर

यो लाम्चो भरिलो मुहार, उनकै बान्की छ यो कान्तिमा
चाँडै नै रिस उठ्छ मर्छ, उनकै बानी छ यो शान्तिमा
छन् छोरीहरू गैसके पनि उनी, छाया यहाँ हेर्दछु
यी दोस्रा अवतार हुन् र उनको माया यहीँ गर्दछु

धोको क्यै यिनको पु¥याउँन भनी हिँड्दा कहीँ जोशमा
मैले भूल गरेँ भने भुवनका भाई ! गरे है क्षमा
केही गर्न नपाउँदै मरिगएँ आफैँ भने आखिर
खोजी यी टुहुरा, दयालु दुनियाँ, केही गरे है भर !

बेहानै यिनलाइ एक चिडिया आएर बोलाउँछिन्
बारीमा यिनलाइ एक पुतली आएर खेलाउँछिन्
छाया एक सँगै रहेर यिनको रक्षा सधैँ गर्दछिन्
मान्छे हो ! यिनलाइ प्यार गर है तारा कुनै हेर्दछिन्

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 011 – Roi Aaunchha Re Asar Mahina

आए बादल गर्जिएर गिरिमा, लागे अँध्यारा दिन
छाया पर्दछ दूरबाट, छविको पाइन्न है दर्शन
कालो निष्ठुर यो असार, यसमै रोएर मेरी गइन्
यी खोला कसरी तरिन्, घनघटा उल्टी कसोरी गइन्

छाया बादलको परीकन थिए नीला Continue reading “Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 011 – Roi Aaunchha Re Asar Mahina”

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 003 – Euta Satya Katha Ma Bhanchhu

यौटा सत्य कथा म भन्छु– दुइटा प्रमी थिए सुन्दर
मिल्दो दौँतर त्यो, उमेर पनि ता पाँचै थियो अन्तर
छायाक्षेत्र हिमालको बगलमा बस्ने सुखी किन्नर
मायाप्रीति कपोतको सरि थियो प्रारम्भ भै भर्खर

मस्र्याङ्गदीतटमा Continue reading “Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 003 – Euta Satya Katha Ma Bhanchhu”

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 004 – Birsi Birsi Sakinna

लीला माइतका भुलेर घरका धन्दा तिमीले गर्यो
आमाको ममता भुलेर कसरी माया मलाई गर्यो
छातीबाट झिकेर प्राणसरिका छोरी मलाई दियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

‘ख्वै छोरीहरु छन् कता, म त गएँ, ख्वै माइती छन् कहाँ !
प्यारा ! यति रहेछ भेट, टुहुरी हेरेर बस्नु यहाँ !’
धोको यत्ति कहेर के हृदयले उल्टीरहेकी थियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

मैले सोधिनँ, अन्त्यकाल कुनमा धोको अडेको थियो
मैले रोइनँ, प्राण जान कतिको बाधा परेको थियो
हेरेँ टुल्टुल खाली, दीन मुखमा हेरीरहेकी थियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

आँसू झर्न सकेन खालि रसिला आँखा लिएकी थियौ
बाक्लो फुट्न सकेन खालि दिलको भाषा भनेकी थियौ
मेरो ध्यान गरी मभित्र कसरी आत्मा मिलाईदियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

गथ्र्यौँ दम्पति मृत्युका पनि कुरा माया र सन्तोषमा
भन्थ्यौ– मैँ पहिले मरुँ हजुरको प्यारो यही काखमा !
साँच्चै भाग्यवती सती हृदयकी सच्चा ! मलाई जित्यौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

तिम्रो पाप थिएन, चार दिनको चोला थियो कञ्चन
तिम्रो धर्म थियो, सुन्यौ दिनभरी श्रीकृष्णको कीर्तन
राती शीतल मेघको मनि महानिद्रा सजीलै लियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

तिम्रो रुप र माधुरी धमिलिँदै जाला कुनै कालमा
जानेछन् अनि बिर्र्सदै गुन पनी यो बैगुनी विश्वमा
बिर्सि बिर्सिसकिन्न किन्तु कहिल्यै जो यो अनौठो गर्यो
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

Madhav Prasad Ghimire – Lagdachha Malai Ramailo Merai Pakha Pakhero

माधबप्रसाद घिमिरे – लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो

लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
हिमालचुली मन्तिर पानी भर्ने पँधेरो

लेकै हेर्यौ लाली गुराँस बेंसी हेर्यो प्याउली
पिरती बास्ने परेवा बिरह बोल्ने न्याउली
हिमाल छुन्छ बेलुकी सप्तर्षिको ताँतीले
जुनेली रात बिताउँछु गाउँदा गाउँदै साथीले

सम्झन्छु म हिउँचुली आँसुको ढिका खसाली
यो बिरानो मुलुकमा बस्दैन माया बसाली
वनमा घाम नलागे जगत सारा अँधेरो
नौडाँडाको पारीमा प्रीतिको देश छ मेरो

मेरो कान्ले लेकैलाई पाकेर जाने बादल
हातले मैले नछोए पनि छ कति कोमल
डर लाग्छ मलाई यही बादलु छायाँले
पार्दछ जहाँ इन्द्रेणी पाइला भिज्ने मायाले

शब्द – माधबप्रसाद घिमिरे
स्वर – जनार्दम सम/लसमित राई, यशोदा पराजुली
संगीत – जनार्दम सम
एल्बम – गाउँछ गीत नेपाली