ललिजन रावल – पीडाको पोखरी भित्रबाट
युगौँदेखि पीडाको पोखरीभित्र रहेर पनि
गालामा कतै कतै आँसुका छापहरु भएर पनि
आप्mना आँखाहरुमा एउटा सुनौलो सपना बोकेकाहरु !
उहिलेदेखिको यो लामो कालो रातलाई ढल्न देऊ
यसैभित्र एउटा बलियो आगोलाई दन्किदै बल्न देऊ ।
तिम्रा हातहरु हावामा
ध्वजाहरु झैँ लहराइरहेछन्
तिम्रा अनुहारहरु यो अँध्यारोमा
ताराहरु झैँ टिमटिमाइरहेछन्
तिम्रा आवाजहरु भयंकर आँधीबेरी चल्दा
जन्मिने ध्वनिहरु झैँ फैलिरहेछन्,
साँझको माझमा उत्रिएर रातको स्तुतिगान
गर्नेहरुलाई गल्न देऊ
विश्वासको दियोमा अझै चेतनाको तेल थपेर
त्यसलाई जल्न देऊ
प्रत्येक ठाउँहरुबाट हावामा मिसिएर
वीरताको साहसको गन्ध फैलिन्छ चारैतिर
त्यही गन्धबाट प्रेरणा पाएर
अर्काे वीर र साहसी जन्मिन्छ अर्कोतिर
शरीरहरु ढल्छन् तिनका तर
शीरहरु हिमाल झैँ ठडिन्छन् मान्छेका हृदयनिर,
जीवन दिएर रगतले उमारेका बोटहरुलाई फल्न देऊ
अहिले बलियो गरी चलिरहेको हुरीलाई चल्न देऊ ।