Khusi Mainali – Ma Je Chhu Thikai Chhu

खुसी मैनाली – म जे छु

ओइलाई सकेको फूललाई भमराको के नै अर्थ र
सुगन्ध केवल फक्रन लागेको कोपिलामा मात्र हुन्छ
मखमली फूलको महत्व बुझ्दैनन् यहाँ कसैले अब
जुन युगौं युगसम्म सदाबहार रहिरहेको हुन्छ ।
त्यसैले ,
भो पर्दैन अब नयाँ माली मलाई
चाहिँदैन उजाडिएको सिन्दुर भर्न
डोलीमा सजिएर जानु छैन मलाई
सुन्दर बगैँचाको हरियालीमा आगो छर्न

पिंजडाको जन्जीरले कसीएको छु
हिँड्ने बाटाहरुमा बिछ्याइएका छन् काँडा
खर्चनु पर्दैन ब्यर्थ समय मेरो लागि
चाहिँदैन तिमीले सजाएर राखेको सयपत्रीको माला

जे छु ठिकै छु ,
प्यारो छ मलाई आप्नै एक्लो संसार
जस्तो छु बाँचिरहेकै छु ,
चाहिदैन कसैको आधार
छोडीदेऊ यदि कल्पनामा हराएका छौ भने
बिर्सीदेऊ यदि सपनामा सजाएका छौ भने

अथाह हिम्मतको पहाड छ ममा
संसारसँग लड्ने क्षमता बनाएको छु
स्वार्थि र पापीहरुप्रति घृणा छ ममा
उनीहरुसँग युद्ध लड्न फेरी जन्मेको छु ।

धरान १६, जनपथ टोल, हाल: इजरायल

Khusi Mainali – Utha Naari Ho

खुसी मैनाली – उठ नारी हो

निहत्था एउटी नारीको सिउँदो खाली हुँदा
सहानुभूति पनि दर्शाउन नसक्ने तिम्रो अमानवीयता
आधा नेपाली आकाश सात समुन्द्रपारी पाखुरी बजार्न जाँदा
मूकदर्शक भएर हेर्ने तिम्रो नीरिहीपना
दुई छाक र एक सरो कपडाकै लागि हजारौँ कोस दुरीमा भौतारीँदा
धित मर्नेगरी दुधको लाम्टा चुस्न नपाएका नावालाग छोडेर
लालावालाको स्मृति मेट्न झोलामा फोटो खाँदेर मुग्लान भासिएका
नारीको वाध्यतालाई कहिल्यै बुझ्न चाहेनौ
कहिल्यै रसाएनन् तिम्रा आँखा
कहिल्यै बुझेनौ पीडा उनीहरुको
ए पुरुष भनाउँदा दमन लाद्नेहरु हो
अव त पीडाको अजस्र पहाड बोकेकी नारीलाई बुझिदेऊ
त्यसैले अब छोडीदेउ थोत्रा आडम्बरहरुलाई
तोडी देउ अब सामन्ति संरचनाका पिल्लरहरुलाई
साहस गर वर्ग सँघर्षको जालोलाई जरैबाट उखेल्न
नारी र पुरुष वीचको असमानतालाई मसानघाट पुरयाउन

नव भृकुटी र सीताको अवतारको खाँचो छ यहाँ
पुरुषहरुको तानाशाही अखडा भत्काउनु छ यहाँ
त्यसैले सुत्ने बेला हैन यो अधिकार लिने समय हो
आँसु पिएर हैन लडेर पहिचान लिने समय हो यो
खबरदार समाजका भरौटेहरु नारीहरुलाई खेलौना नठान अब
सहनशीलताको बाँध फुट्यो टुटीसके बन्धनका जन्जिरहरु अब
नारी दमनको विरुद्ध लड्नेहरुको चुनौती र न्यायिक युद्ध
थाम्न सक्ने हैसियत तयार गर ।
नारीको सम्वेदना छाम्न सक्ने हैसियत तयार गर ।

– धनकुटा – १ हिले बजार
हाल: इजरायल