Deepak Jadit – Aaja Ka Hami Yuba Haru

दीपक जडित – आजका हामी युवाहरु

एक झुण्ड युवाहरु
यता सडकमा
अवागमन अवरुद्द गराएर
उधुम मचाईरहेछौं
सवारी साधन जलाएर
ढुँगा मुढा वर्षाउंदै
तोडफोडको
ताण्डव देखाईरहेछौं
बेमतलब हामीहरुलाई
अगाडी कस्लाई Continue reading “Deepak Jadit – Aaja Ka Hami Yuba Haru”

Deepak Jadit – Tauko

ईतिहासमा कुनैबेला
टाउको थिए तिनीहरु
भित्र खोपडीमा गिदी भरिएको
बाहिर घना केशले ढाकिएको
आँखाले हेर्न सक्ने
कानले सुन्न सक्ने
मुखले आवाज निकाल्न सक्ने
जिउंदो जाग्दो टाउको थिए
लाग्थ्यो कुनैदिन त
शरिर बन्नेछन तिनीहरु
हिंडाउनेछन समग्र युगलाई
एकै चालमा छरितोसंग
उचालेर सगरमाथा
देखाउनेछन संसारलाई
सुन्दर समुन्नत नेपाल ।
ईतिहासमा कुनैदिन
हेर्न सक्ने आँखाले
निदाएको बहाना गर्यो
सुन्न सक्ने कानले
बहिरो छु भन्यो
बोल्न सक्ने मुखले
आफ्नै गिदी चपाईदियो
छेक्न सकेनन घना केशहरुले
टाउको कुहिंदै गयो
टाउको सड्दै गयो
टाउको बचाउन तिनीहरुले
ऐँजेरुको सहारा लिए
टाउको सुक्दै गयो
ऐँजेरु झाँगिदै गयो
केशहरु झर्दै गए
टाउकोको अस्तित्व झनै
खतरामा पर्दै गयो
केश बचाउन तिनीहरुले
साबुन फेरी फेरी
टाउको धुन थाले
दुर्गन्ध हटाउन तिनीहरुले
सैम्फो दली दली
टाउको पखाल्न थाले
कालान्तरमा टाउको
खल्वाट प्राय भयो
आँखा छोप्यो ऐँजेरुले
कानहरुमा पिप भरिए ।
ईतिहासमा भर्खरै
आफैंले गिदी चपाएको
टाउकोको अस्तित्व रक्षा गर्न
पर्दा पछाडीबाट मुख बोल्यो
यो हतियार उठाउने बेला हो
बिस्थापित गरेर टाउकोलाई
झाँगिएको ऐँजेरु
हो हो गरेर हल्लियो
र गिदी चपाईएको टाउकोले
ठम्याएको समयमा
हतियार उठाउने हात
खोज्न थाले तिनीहरु
कहिल्यै पुर्ण बन्न नसकेको
आफ्नै शरिरमा ।

Deepak Jadit – Khai Mero Ghar

आज पनि एउटा दिन गलेर गयो
बिहानको उमंग
दिन छिप्पिन नपाउंदै शिथिल भएको
मैले आफ्नै आँखाले देखें
बेलुकी सम्ममा थाकेर
लत्र्याकलुत्रुक म
आफ्नै मनको आँगनमा निस्किएं
मनकै आँगनको डिलमा थचक्क बसें
पछाडी फर्केर हम्केरा हाल्दै
बलेंसी हेरें
अझै छन त्याँहा
बलेंसीमा बगेका रगतका टाटाहरु
कैले यो मन खुर्कीखार्की पारेर
फाल्नु रगतका ति टाटाहरु
र सफा पार्नु यो मनको घर आँगन ?
खुईय ! सुस्केरा काढेर
घर हेरें
अहँ छैन मेरो घर
अझै नियाँलेर हेरें
देखिनं कतै
मेरो मनको घर
यो रातको निश्पट्ट अंधकारले
घ्वाप्पै छोपेको हो कि
साँच्चै हराएको हो मेरो मनको घर ?
भाउन्न छुट्यो मलाई
अहो ! मेरो घर साँच्चै हरायो
जुरुक्क उठें
आँखा अगाडी तिर्मिर तिर्मिर
ताराहरु झिल्किए
के ले के ले मलाई
फन्फनी घुमायो
हैन म ढल्दिनं
ढल्नु हुंदैन मैले
आँखै सामु हेर्दाहेर्दै हराएको
मेरो घर खोज्नु छ मैले
खै मेरो घर ?

Deepak Jadit – Ek Tukra Kagaj

एउटा टुक्रा कागज
धेरै अघिदेखि म
कोर्दै मेट्दै कोर्दै मेट्दै
थोत्रे पारिरहेथेँ
गज्याँङ्ग मज्याँङ्ग अक्षरहरुको
केरमेट केरमेट चित्र कोर्दै
कागजमा खुरुखुरु
मैलाई सारिरहेथें
लाग्थ्यो
मान्छेले यस्लाई बुझ्न नसक्लान्
त्यसैले हो क्यार
हुर्याईदियौ तिमीले
त्यो चिर्कटो पढ्न नसकेर
र भुईँमा म यतिखेर
त्यही टुक्रा कागज दुखेको छु ।

Deepak Jadit – Ke Ma Manchhe Hoon

म चोर्दछु लुट्छु गर्छु काटमार
जुटाउन फगत् पेटको आहार ।
जानेर हो यो पाप नै तार-तार
हिंड्दछु म बाटो पापकै हजार ।। १

गरि पशुतुल्य कर्म ब्यवहार
थुनेर सब आत्मज्ञानका द्वार ।
म लाउँछु मान्छे नामको जुहार
पुकार्छु मैलाई मान्छे बार-बार ।। २

भन्छु पाएँ धन्य यो मान्छेको भेष
म बोल्छु अब्बल अर्ति उपदेश ।
हिसाब ‘मेरो’को राखि केश-केश
म उमार्छु आफैं रीस, राग, द्वेष ।। ३

जान्दछु म भाग लानेछु निशेष
गर्दाकन यो प्राण हरिमा पेश ।
जगको म हुँ मिथ्या बीजन क्लेश
सम्झन्छु म मान्छे आफुलाई बेश ।। ४

जोडिन म आफु रचि धेर झूट
गराउँदछु सदा अरुमा फूट ।
तृष्णा अमेट पिउने यो प्रेम-घुँट
बाँड्नु परे दिन्छु छली कालकूट ।। ५

सदगूण मानि जो छ आफ्नो खुट
देख्छु दुर्गुण जगैको पुट-पुट ।
गुणगान आफ्नै गाउँदै अटुट
मै दिन्छु मलाई मान्छे ठान्ने छुट ।। ६

तुजुक हुन्जेल किन अरु चिन्छु
म ईश्वरैसँग पनि टेक लिन्छु ।
गलेर जब म ह्याउले खिइन्छु
तब ईश्वरको पाउमा झुमिन्छु ।। ७

उ ईश्वर हो म शरण लिइन्छु
र स्वार्थी म ईशैलाई धोका दिन्छु ।
म झूटै ईशको पूजा गरिहिन्छु
र उस्को एकमात्र भक्त भनिन्छु ।। ८

बटुली घरमा द्रब्यादि अकूत
भुल्दछु म आफ्नै भविश्य र भूत ।
नशाले धनको म भएर धूत
गरिरन्छु अनेक भाँति कर्तुत ।। ९

भएर मानिस योनिको कपूत
भनाउँछु आफुलाई देवदूत ।
जगतमा जति छन् यी प्राणीसूत
हो निर्घिणी मै छु, के म मान्छे हुँ त ? १०

Deepak Jadit – Yesari Haraunchhan Kabita Haru

आजभोलीका प्रत्येक रात
भाडाघरको साँघुरो भूंइतल्ले कोठामा
जब यौटा अभाव निदाउने कोसिश गर्छु
मनभरी उम्लिन थाल्छन
खरो बिद्रोहका लामा लामा कविताहरु
मानौं कि मनको कसौंडीमा
छड्किरहेछ कविताको भात
तातिएर खाली पेटको चम्काहरुबाट निस्किएको आँचले
अँध्यारोमै छाम्छु सिरानमुनिको खाली पन्ना
लेख्ने मन हुन्छ कविता
एक रातको भोक मेटाउनलाई
त्यतिखेर सुन्छु
पल्लो खाटमा धुसा फालेर खाटमुनी
बेफिक्रि सुतेको छ साथी
बत्ति बाल्लास् ? को खबर्दारी घुर्दै
अभाव पोल्दैन कि त्यसको छातीमा ?
देश दुख्दैन कि त्यसको मनमा ?
म किन निदाउन सक्दिन त्यहि कोठामा ?
मेरो मनमा आविष्कारको आँधी चल्छ
दुलहीको रातो टिका जस्तै निधारमा टाँस्दा
सबै सोचाईहरु लिपीबद्ध हुने
नयाँ यन्त्रको रुपरेखा कोरेर
पठाईदिन्छु नाशाका बैज्ञानिकहरुलाई
रातारात निर्माण हुन्छ मेरो आविष्कार
र उपलब्ध हुन्छ सर्बत्र बजारमा
तर निरिह, निर्धन म आफैंसंग
खरिद गर्ने क्षमता हुँदैन
अनि भोली उठेर लेख्ने संकल्प गर्दै
बिद्रोहको कवितालाई
बल्ल तल्ल निदाउछु म
बिहान उठेर हत्तार छाम्छु
खस्रा औंलाहरुले आफ्नो निधार
र फिस्स हाँसीदिन्छु आफैंलाई
नभेटेर आफु आविस्कृत यन्त्र
जब सम्झन्छु म
गए रातीको कविता बिद्रोहको
त्यहाँ सपनाले बिस्थापित गरीदिएर
मेरो कविताहरुलाई
अंगेरी र भातीपाते घारी,
जूरेलीको गुँड
भत्किएको लालपैनी बाँधहरुको उपस्थिति हुन्छ
यसरी नै हरेक बिहान
हराउने गर्छन मेरा कविताहरु
मानौं कि मेरा कविताहरु
सानोमा संगै गोठालो गरेकी
सिरानघर कि कविता हो
जो आँखाभरी सुनबुट्टे सपनाहरु बोकेर
भर्खरै हराएकी छे रत्नपार्कतिर ।

Deepak Jadit – Uchai

सानै देखि हल्लक्कै बढेको
उसको शारिरिक उचाई
उसैको आफ्नालाई बिझायो
आफ्नैले उसलाई होच्याउन
सानो दर्जा दिए
आफन्तले दिएको सानो दर्जा
उसलाई बिझायो
बिझेको मनले गमेर उसले
आफ्नाहरुलाई अवलोकन गर्यो
देख्यो Continue reading “Deepak Jadit – Uchai”

Deepak Jadit – Bagmati Ko Niyati Gati Nepal Ko

कठैबरा !
बागग्मती
कहिल्यै बग्न सकिनन्
स्वतन्त्र भएर सलल
खोसे मान्छेहरुले
स्वतन्त्रता उनको
खुल्न नसकेर कहिल्यै
पर्यावरणको तन्तु
मान्छेहरुको चेतमा
मात्रै सडकहरु बगिरहे
जुलुश भएर सलल
न रोक्यो कहिल्यै
पेटीमा थुपारिएको डंगुर फोहोरले
डण्डीफोर निचोरेको अनुहार जस्तो
काठ्माण्डौ खित्का छाड्छ
खुट्टा उचालेर अधुरो खुशीमा
नयाँ बजार
यौटा विचार भड्काउंछ
वालुवाटार
यौटा विचार अड्काउंछ
बल्खु ट्वाल्ल परिरहँदा
नयाँ बानेश्वर
लाजले टाउको झुकाउंछ
र भन्छ
काठ्माण्डौ बाहिर
खै नेपाल कहाँ छ ?
कर्णालीको आवाज
आवाजहरुकै भिडमा बिलायो
अब त रोल्पापनि
काठ्माण्डौ मै हरायो
निमुखो रत्नपार्क बरा !
अझै विचार बगाउंछ
उरालेर मान्छेहरु सडकमा
लहर – लहर
तरंग – तरंग
जुलुशहरुमा सलल
स्थिरप्राय: बागग्मती
पुलुक्क हेर्छिन काठ्माण्डौलाई
र भन्छिन
कठैबरा ! गति नेपालको
उन्को र मेरो नियति उस्तै
संधै रोकिनुपर्ने आफ्नो गति
स्वतन्त्रता गुमाएर
अरुअरुले नै बनाएको फोहोरमा ।

Deepak Jadit – Shuvakamana

बनोस नेपाल नयाँ भएर समुन्नत सदा अगाडी बढोस
हरेक नेपाली पाईलाहरु एकैसाथ शिखर तिर चढोस ।
खनेर धमिरे खाडल देश डुबाउने कुबुद्धि सारा सडोस
जो जो छन देशलाई छिर्के हान्ने दाउमा अल्झेर आफैं लडोस ।।
एक एक नेपालीको मुटुले एकैसाथ शान्तीको मंत्र पढोस
हुंदैन है आपसी कलहले उन्नती नेपालीमनमा गढोस ।।। १

भेट हुंदा नेपाली भाई भाई चोकमा एउटै खुशीमा हाँसुन
हातेमालो गरिगरि हिंड्दै आफ्नो आफ्नो मनको धमिलो नासुन ।
नारीपुरुष ठुलो र सानो भुलेर माला समानताको गाँसुन
बराबरी आपसमा मानेर उँचनिचको असत् खेती मासुन ।। २

सबै बन्द ढोकाहरु विकाशका गजबार निकासका खुलोस
शुख शान्ती संमृद्दीका आँकुरा नेपाली घर आँगनमा झुलोस ।
बुद्धको संदेश बोकेर आत्मा सहिदको वस्ती वस्तीमा डुलोस
रक्तपात हिंसा काटमार झै झगडा नेपाली दिलले भुलोस ।।
हिंसा प्रतिहिंसाको खेल रगत प्युँने यहि घडीबाट सुलोस
शुभकामना हामी नेपालीलाई नेपाल गुराँस जस्तै फूलोस ।।। ३

तेरो अनि मेरोको भावना मेटिएर नेपाल अब हाम्रो होस
मेचिकाली सम्मै नेपाली मच्चिने सारा नेपाल अब काम्रो होस ।
फुटाई फाईदा लुट्ने बाहिरी जगत्मा नेपाल अब चाम्रो होस
जे जे भयो त्यो भयो सकियो आजसम्म नेपाल अब राम्रो होस ।। ४