Bhawani Paudel – Jiwanka Mulyaharu

भवानी पौडेल – जीवनका मूल्यहरू

जीवन अस्ताउँछ
अस्ताउँदैनन् जीवनका मूल्यहरू
जीवन ढल्दछ
ढल्दैनन् जीवनका रंगहरू
फूल झर्दछ
झर्दैनन् फूलका सुवासहरू
फूल मर्दछ
मर्दैनन् फूलका सौन्दर्यहरू
हिम बग्दछ
बग्दैनन् हिमालका शिखरहरू
नदी बग्दछ
बग्दैनन् नदीका गतिहरू
धुवाँ उड्दछ
उड्दैनन् आगोका रापहरू
बादल फाट्दछ
फाट्दैनन् सगरका छातीहरू
घाम डुब्दछ
डुब्दैन उज्याला दिनहरू
छाल उर्लिन्छन्
उर्लन्नन् सागरका गुणहरू
नासिन्छन् वस्तुका रूपहरू
मासिन्छन् वस्तुका शरीरहरू
तर मर्दैनन् वस्तुका गुणहरू
त्यसैले
तिमी जुन रंगको भए पनि
तिमी जुन जातको भए पनि
तिमी जुन भाषाको भए पनि
तिमी जुन वर्गको भए पनि
मान्छेका जात हौ तिमी
फगत मान्छेका जात
गोड तिमीभित्रका ऐजेरूहरू
फाल स्वार्थका काँडाहरू
रोप मानवताका मूल्यहरू
उठाउ सेवाका हातहरू