भक्तपुरे काली – आज भन्दै भोलि भन्दै दुनियाँले टारेपछि (गजल)
(मधुपर्क २०६६ असोज)
आज भन्दै भोलि भन्दै दुनियाँले टारेपछि
सङ्घर्षको मैदानमा बारम्बार हारेपछि ।
हृदय यो जलेकोथ्यो, विश्वासहरू टुटेकाथे
आफ्नैले आफन्तलाई पलपलमा मारेपछि ।
न्यानो लाग्छ पोल्ने घाम सुन्दर लाग्छ जुन पनि
तिमीले नै निराशाको जङ्घारहरू तारेपछि ।
कति सुन्दर हुन्छ होला जीवनको मधुवन
त्यो दिलको रातो गुलाफ यो दिलमा सारेपछि ।
लाखौँलाख वर्षसम्म बाँचिरहनु जस्तो लाग्यो
दुईथोपा आँसु अन्जान मेरालागि झारेपछि ।