Baldev Bhattarai – Birya Dan Garna Sakdina Ma

बलदेव भट्टराई – वीर्यदान गर्न सक्दिन म

बिहानी मनोरम छटाको भूमिमा
पहेंलिदै गरेका रवि किरणहरु
पहेंलो समुद्रमा डुबुल्की मार्दा
उत्तरबाट ध्वंसको ध्वाँस र रगतको गन्ध बोकेर
क्षेप्यास्त्र गोता लगाउँछ
त्यहीं कतै युद्धभेदी लडाकु जहाजहरु
शान्तिका प्रवर्तकहरुको इशारामा
प्रतिरक्षाको अभ्यास गर्दैछन्
अबुझ म
चिसिएको शसंकित मन लिएर
सन्नाटा बाँच्छु
आँखीभौँ सल्बलाउँछन् !

हिमाली मनोरम छटाको भूमिमा
बिहानी भालेको डाक नहुँदैं
दूलो पसेका भ्यागुताहरु
ट्वार-ट्वार गर्दै कोकोहोलो गर्छन्
वर्षाको संकेत
खडेरीको मौसममा मेघको महत्व, कठै !

लाचार भएका कोदालाहरु
आकाश नियाल्छन्
जात-प्रजातका भ्यागुताहरुको जोहो गर्छन्

चलेको चलन
ईन्द्र खुशी पार्न, धुमधाम
बिहे गरिन्छ भ्यागुताको
चारै दिशाका पण्डितहरुको मन्त्रोच्चारणमा
खोइ, थोपा खस्दैन आकाशबाट
शीतलताले छुँदैन कतै !
मनमा, तनमा पसिना खल्खली
उफ !

मुस्काउँदै गरेको त्यो बालक
वनकुसुम !
मेरी प्रिय अर्धागिंनीको अंगालोमा खेलाउने रहर
त्यो अधैर्यता
माफ गर प्रिय !यसपाली पनि
वीर्यदान गर्न सक्दिन म
मेरो मनभरि,
आशंका,भ्रम,भय,आक्रोश र जलनको आगो छ
जुन मेरा सन्तानले बोक्न नपरोस
विज्ञान भन्छ, वंषानुगत गुण ।

जहाँ जे भए नि
आऊ, यो साँझ सब बिर्सेंर
समागम गरौं
अलिकति मनको नैरास्यता भगाऔं
प्राकृतिक-अप्राकृतिक
गर्भनिरोधको उपाय कायम राखौं ।