Ram Prasad Prasain – Itihas Ko Daldal Pathshala

रामप्रसाद प्रसाईं – इतिहासको दलदल पाठशाला

समयका अनगिन्ति ट्रँकणहरु
युगोद्घाटनका अजम्बरी अभिलेखालयहरुमा
बिस्तारै बिस्तारै पाँजिदै जान्छन्
बैँसालु मनका दिग्भ्रमित इतिहासहरु
अनवरत प्रवाहमा अभ्यस्त नदीहरू
नागबेली र तरेलीका साथसाथ
बढिरहेछन् अघि
चुम्नलाइ स्वाभिमानका फोक्टाहरू
फोक्टैभित्रका भए पनि स्वकीय सत्ताका किल्लाहरु

श्रद्धाका सम्मोहनकारी बगानमा
आस्थाका आखेट टेकेर बथान उफ्रिरहन्छन्
सुनाखरीका धुनसँगै
पुतली फुलिरहेजस्तै
सूर्योदयको पूर्बाद्धमा
शहादत गर्न तम्तयार शीतविन्दुजस्तै
टाइरिसिस् महोदयका अदालतबाट
नियतिका गालामा थप्पड बर्साउने एक्लो इडिपस् जस्तै

सीमसारमा जीवन मुस्कुराउँछ
जिजीविषाका जोतारामा विडम्वनाका जुवामा नारिंदा
युगोदयका गोधूलीमा
जनमनका भावना रोप्दै
प्रष्फुटनका अक्षरहरूमा
लुप्त विकट हार्दिकता छचल्किएझैँ
मनको बारीमा
अनन्त आँखाले सजाउँछन्
गोश्वारा आकाशहरूलाइ

स्वाभिमानका हरिया पानाहरुमा
इस्पातका नीला मसीले लेख्नुछ इतिहास
वैंसालु सारङ्गी र एकजोर आँखाहरुको

फिर्ता लिइ छाड्नु छ
शिल्पीहरुको नाक, कान, हात र पसिनाको मोल
लुटिइएका अक्षरहरुले सिंगारिएका ताम्रपत्रहरुबाट

हो
त्यसैले
फलैंचामा कचहरी चलाउनु छ,
नियाँ निसाफ गर्नु छ,
गर्नु छ फैसलाः टाउकाहरुको जसजसले
जोडेका थिए दक्षका शिरताजमा बोकाको टाउको
शक्ति र सत्ताका उन्मादमा पलाएका रूमानी पैजेरुहरुसंगै

कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल

Sudhir Chhetri – Bagar Byapar

सुधीर छेत्री – बगर-व्यापार

बगरको छातीमा
भुत्भुते खेलेर ह्नखोर्सेर
एकहुल हुण फर्के।
व्यवस्थाको न्यायपालिकाबाट हेपिएका
भूमिपुत्र कुकुरका जिब्राहरू
खाद्य-अनुदानका रहल टपरी चाट्दैछन्।

*

अग्ला टक्सिक दृश्यहरू
आँखा पोल्दै आँखीभौं उचालेर भित्र पस्छन्।
चिप्ला अनि चिल्ला बुदुनाहरू
स्पर्शको अमूर्त्त गणित
अनुभूत गराइवरी
जिब्रोको आयतनमा
आगामी स्वादको तन्तुलाई चिमोटेर
पानीमा बेपत्ता भए।

*

हे पर्यटक !
हिमाल स्वच्छ, जल र राशि, विशुद्ध यहॉंको
मान्छे र ईश्वर, ब्युँझन्छ सँगै, प्रकृति जहॉंको

*

धुपीका सोलोडोलो छेपारीमा
चट्याङ्ले ताछेर पीप भरेछ।
किशोर चेपेगॉंढाहरू
मन लाएर जीवन-कला घोकिरहेछन्
शान्तिजुलूसका कमिलाहरू
बालुवाभरि
आदिम स्लोगनहरू कराउँदै होलान्,
खै सुनिन्न!

*

हे पर्यटक !
कन्दरामाथि, सुनखरी राम्रा, भित्ता र पाखामा
सुविधा राम्रो,नैसर्गिक यस्तो, उपत्यका काखमा

*

आँखामा इन्द्रेनीको धागो

हातमा मर्चाले मुछेको निद्रा बोकेर आएका
शबरीहरूले आवेगको लट्टाईबाट
मेरो अनुभूतिको गुड्डड्डीलाई
रूखको टुप्पासम्म उचालिरहेछन्।
चर्मराएर बज्छन्
मेरा शारीरिक वाहनका चक्काहरू।

*

पातका नशाहरूमा बर्षौं अघिको हुरी चल्मलाउँछ।
हावाको हेलिकप्टरले पिठ्यूँको क्षेत्रफलमा चिसो छरेर जान्छ।
त्रिपिटकका पानाहरू झैं
फर्फराइरहेका केराका पातले
अभूतपूर्व गीत गाएर
गाम्भीर्यको हावा पखाली
चाञ्चल्यको रिदम् बजाउँछ।

*

कत्थक पुतलीहरू
अक्षरका फोका आँखामा फुटाउँदै
जीवनको रौं छाम्न नदिई
दृश्य सिलाएर फर्कन्छन्।
पुतलीहरू मिलेर
पखेटाभरि छापिएको
बेनेडेटो क्रोचेका
चिट्ठीहरू पढिरहेछन्।

*

साइँलाका छोराहरू
भोलि
यो जङ्गलको कर्चीमर्ची बटुल्न
यही लुगा र कत्लासितै आउँछन् ;
अनि हराइसकेका अनेकन् भाषाहरूका
स्वरहीन अवशेषहरू बटुल्छन्।
सार्वभौमिकताको लेउमा चिप्लेर
खुट्टा ताछिँदा तर
पञ्चायती मलम छैन वरिपरि।

*

हे पर्यटक !
हरियो पहाड, चरा र जङ्गल, सुन्दर छवि छ
टेन्टमा सुत्नु, शौचालय राम्रो, दाम यसको पॉंच-सय छ

Ram Prasad Prasain – Itihaas Ma Bartamaan Ko Ankha

रामप्रसाद प्रसाईं –  इतिहासमा बर्तमानको आँखा

पढेथेँ
पृथ्वी गोलो छ रे
क्रम उपक्रमहरूसंगै
समय, सन्दर्भ र चेतनाहरू
घुम्दा हुन्
यिनै र यस्तै वृत-परिवृतहरूमा
ठीक यसपालि पनि यस्तै भो

“जिन्दाबाद
मुन्ताजर अल-जायदी
अभिवादन मेरो
मेरो अभिमानको
गोरवशाली इतिहाँसको”

भन्ने

“म भोको पेट
म रोगी समय
म किलो शेरा टु र
रोमियो अप्रेसनका पाप्राहरू
धाँजा धाँजामा
धज्जी उडाइएका दशगजाका खम्बाहरू म
सुगोली सन्धिले आत्मदहन गरिरहेको
दुई ढुङ्गाहरूबीचको
तरूल म,
उनै राजा महाराजाले खाँडो जगाउँदा
बिटुलिइएको तिनीहरूकै दरबारमा
थन्किरहेको चाँदीको चुठुवा म”

अब धन्य छु
मुन्ताजर अली-जायदीहरूप्रति
तिम्रा विविध, परिमार्जित र नयाँ सँस्करणहरूप्रति

सुनेथेँ
हो, रहेछ
युग जन्मन्छ
घटना घट्छ
समयको भीरबाट
चेतनाका लाभा खस्दै जाँदा
युगको बलेसीमा
एउटा ठूलो बाघले
साना स्यालहरू

साना पाठाहरूलाई
टुक्रयाउँछ
सस्याना अस्थिहरूमा
अनि
मबाट ऊ भएपछि
मान्छे चोखे मन्छाउँछ

मोच मार्छ—जागीत्रहरूको,
कागति झुण्डयाउँछ—
धोकाधडीका ढोकाढोकाहरूमा,
खुर्सानीको धुलो छर्कन्छ—
खसखसाउँछन्, काला मनहरू
फाटेको जुत्ता चप्पल हल्लाउँछ—
स्वाभिमान र सँप्रभू अस्तित्व

स्वाधीन बर्चश्वहरूको
अनि उही
पुरानै जुत्ताको झट्टी हान्छ
नयाँ उसको लागि समय हो
दिन हो, भोलि अनि युगीन बुलन्द
फेरि
च्यातिइएका, टालेका जुत्ताहरू
देखाइरहन्छ
किनकि

सर्वहारा हो
ऊ रूपान्त्रण हुन्छ—
उनीहरूमा
अब
उनीहरूसंग नयाँ देखाउन
फगत सपनाहरू मात्र नयाँ छन्
जित्न समग्र संसार छ
हार्न भने झिटीकुम्लाहरू
हेपाइका ख्याउटे अनुहारहरू
अमानवीयताका माखेसाङ्लाहरू
दासत्वका ताण्डवीय सँस्कारहरू
जहाँ आदिम बर्बरताका
रजगजहरू

दापिइएकाछन्
दाबिइएकाछन्
धापिइएकाछन्

आधुनिकताका उँभार र उर्बर
रूप र स्वरूपहरूमा
निर्दोष रगतले टटिइएको वर्तमानका
कुरूप र कुटिल अनुहारहरूप्रति।

अक्टोबर १६ सन् २०१०
रामप्रसाद प्रसाईं “आशुतोष आंशु”
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल।
अबुधाबी श्रमशिविरबाट।

(Sent to Sanjaal Corps via Email)

Samba Dhakal – Paani Ko Geet

साम्ब ढकाल – पानीको गीत

बाहिर निस्कनुस् त महाशय
पानीले गीत गाइरहेछ ।

असार दर्केको बेला
पानीले गीत गाउन थालेको छ
र साउन पालो कुरेर बसेको छ
मेघाच्छन्न आकाशको चउरमा पानीको अकेष्ट्रा बजाउन ।

हरियो डाँडाको छाती चिरेर
टाढा जान हतारोमा निस्केका छङ्छङाउदा छहरा हेर्नोस त
अविराम यात्रामा निस्केका धमिलो/सङ्लो नदी हेर्नोस त
कसरी गाइरहेछन् पानीको गीत ।

हुन्छ, हुन्छ बलेसीमा सुन्दा नि हुन्छ तप्प तप्प
हुन्छ, हुन्छ हिँड्दाहिँड्दै छातामाथि बज्रेका
बिर्बिराउँदा वा जोडदार थोपासँग सुने नि हुन्छ ।

सुन्न त मलाइ टाढाको थुम्कोमाथि बसेर सर्सराएको झरीसँग
पानी गीत सुन्न मन थियो,
अझ आकाशबाट झर्दै गरेको मुसलधारे पानीगीत सुन्ने प्रबल
इच्छा थियो,
झन मलाई त बादलबाटै भुइँमा नझर्दै
दर्कने पानीको गीत सुन्ने मन थियो ।

जे होस पानीको गीत सुनेरै कता कता हराउने रहर अझै छ
जे होस पानीकै गीतमा जीवनको कुनै लय मिलाउने अठोट अझै छ ।
पानीको गीत ।
पानीको गीत ।
पानीको गीत ।
प्रेयसीका हातले धान रोप्दाका छुपुछुपु पानी गीत ।
हिलोमा लठारिएका लाठेहरूका छप्लाङ्छुप्लुङ् पानी गीत ।
तरेली परेका हरिया धान खेतबाट फाल हानेका समाहाको ध्वारारारारारारा पानी गीत ।
मकैका पातै बज्ने गरी बजारिएका थोपैथोपाका पानी गीत ।

मलाई कहिलेकाहीँ मेघमल्हार गाएर पानीपानी हुन मन छ ।
पानीको गतीशीलताको असाध्यै डाहा गर्न मन छ ।
बगिरहने पानीसँग केहि सिक्ने मन छ ।
मन छ ।
मन छ ।
मन छ ।
पानी गीत सुन्ने मन छ ।

Damodar Batuwa – Kasto Fohor Yo Kathmandu

दामोदर ‘बटुवा’ – कस्तो फोहर यो काठमाडौँ
(नेपाल साप्ताहिक ३८७)

जताततै दुर्गन्ध सहरमा
वाग्मतीमा ढलको गु (गुहु)
लाजै मर्दो, धत्तेरीका
कस्तो फोहर यो काठमाडौँ ।

यही खाल्टोमा थुप्रेको छ
भएजतिको विकृति
गुन्डागर्दी, उच्छृंखलता
मसल, मनीको संस्कृति ।

मै हुँ भन्दै भाषण ठोक्छन्
नाक नभा नकच्चराहरू
लाजै मर्दो …

धोबीखोला, विष्णुमती अनि
रोएका छन् मनोहरा
भानुभक्तको अलकापुरीको
भयो दुर्दशा कठैबरा ।

राजनीतिका खलनायकले
झन् आगोमा थप्छन् घिउ
लाजै मर्दो …

गाडी मानिस ठेलमठेल
सडकपेटीमा हाट सधैँ
धूवाँ, धूलोले आँखा पोल्ने
अस्तव्यस्त छ सहर लहै ।

छरपस्ट छ मलमुत्रादि
हिँड्नुपर्ने गरी थुःथुः
लाजै मर्दो … ।

Tanka Subba – Shabdakosh Ra Shabda Haru

टंक सुब्बा – शब्दकोष र शब्दहरु

शब्दहरु
शब्दकोषको पर्खाल नाघेर
बाहिरीएकाछन्
जुन शब्दहरु युगौ देखि
शब्दकोषमा कैदी थिए
तीनै शब्दहरु
आज स्वतन्त्र भएकाछन्
त्यसैले यी शब्दहरु
यत्रतत्र,सर्वत्र
वोल्न थालीएको छ
लेख्न थालीएकोछ
सुन्न थालीएकोछ
भेट्न थालीएकोछ
र त्यसका अर्थहरु खोज्न थालीएकोछ
शब्दमा मात्र सिमीत रहेका
शब्दहरु
यसरी ब्युझेर उठेकाछन्
यसरी जुर्मुराएर हिडेकाछन्
र सशक्त आवाजहरुमा परिवर्तीत भएकाछन्
आजभोलि तिनै शब्दहरु
जताततै घन्किन थालेकाछन्
तिनै शब्दहरुको संयुक्त आवाजले
शासक थर्काएकोछ
सरकार डराएकोछ
किनकी शब्दहरु शब्दकोषबाट
विद्रोह गरेर उन्मुक्त भएका हुन्
सुनामी छाल बनेर शक्तिसाली वनेका हुन्
खिया परेका शब्दहरुको
अर्थ नलाग्ने भएकोछ
र त्यो अपरिभाषीत भएकोछ
शब्दकोषमा उपेक्षित शब्दहरु
शब्दकोषमा अपहेलित शब्दहरु
आफ्नो आत्मासम्मान लागि
र पहिचान लागि
नयाँ युगसँग नयाँ अर्थमा
नयाँ समयसँग नयाँ परिभाषामा
आदिम शब्दकोषको चौघेरा नाघेर
अस्तित्वमा आएका हुन्
त्यसैले शब्दहरु
अव साच्चैका शब्द भएर आएकाछन्
नयाँ परिस्थितीमा पनि शब्दहरुले
प्राचीन शब्दकोषलाई पुकारी रहे
शब्दहरु शब्दबाट मूल्यहीन हुनेछन्
शब्दहरु शब्दवाट अर्थहीन बन्नेछन्
किनकी नयाँ शब्दहरु
वहुल अर्थमा जन्मिएकाछन्
त्यस कारण नयाँ शब्दहरु
पुरानो शब्दकोषमा अटाउँदैनन्
नयाँ शब्दहरुलाई
नयाँ परिवेश चाहिएको छ
नयाँ शब्दकोष चाहिएको छ
यर्सथ नयाँ शब्दहरुले
पुरानो शब्दकोषको संरचना भत्काएर
नयाँ शब्दकोषको निर्माण जुटेकाछन्
किनभने पुरानो शब्दकोषमा
नयाँ शब्दहरुको अर्थ र परिभाषा हुदैन

Bhupin Byakul – Andhyaro Ko Maunata Ma

भूपिन ब्याकुल – अँध्यारोको मौनतामा

अँध्यारोको मौनतामा
केहो पनि नचिन्न अभिशप्त भएको बेला
सिर्फ बोलिदिनु तिमी
म तिम्रो आवाजलाई चिन्नेछु !

अँध्यारोमा
बगिरहेको नदी देखिनेछैन
तर नदीको आवाज सुनिनेछ
अँध्यारोमा
रोइरहेका मानिसहरु देखिनेछैनन्
तर रुवाइको आवाज सुनिनेछ !
अँध्यारोमा
जीवन
प्रेमभोक
र पीडाका संवादहरु निर्लिप्त भएको बेला
अँध्यारोमा
एकअर्कालाई चिन्न असमर्थ भइरहेको बेला
एकअर्कालाई बुझ्न असमर्थ भइरहेको बेला
बाँच्ने विकल्प केहि नरहेको बेला

सिर्फ बोलिदिनु तिमी
म तिम्रो आवाजलाई पछ्याउनेछु !

अँध्यारोको मौनतामा
आवाजहरुमात्र विकल्प रहनेछन हामीसंग
आँफूलाई चिनाउन !

Pravin Khaling – Tesro Gaun

प्रवीण खालिङ – तेस्रो गाउँ

अझै पनि साहुलियत पर्खिबस्नुपर्छ
भिजेल पोल्टिक्सले निर्धारित भाग्य
अभावको सोमालियामा
अपुगको टुमटुम बाँच्छ।
बरू भुँइचालो जानुनी
राहत ओखाइ पोखाइ हुन्थो, एक पेट भरिन्थ्यो
वीरमानको दिवास्वप्न बोल्छ।
फायलमा बनिएको सटक भएर
कलेज सकेकी छोरी आइपुग्छे
ब्युटीपार्लर चलाउने योजना लिएर।
फ्रस्टेटेड वीरमानको वीर्यहरू
शब्द जन्माउन असमर्थ छन्
गाउँमा शब्दको अकाल थाहा पाएर
चौतारीमा नेताले बैठक डाक्छ
सेल्सगर्ल आश्वासन दिएर जान्छ
छ्या! आश्वासन पनि डुप्लिकेट।
गाउँलाई आश्वासन बज्र जस्तो लाग्छ
तर धरती र गाउँ एकै हो
धरती किसानको हलो सहन्छ जीवन उमार्न
गाउँ आश्वासन सहन्छ सपना उमार्न।
अझै पनि बीपीएल चामल पर्खिबस्नुपर्छ
साहुलियतले निर्धारित भाग्य
पैह्रो जानुनी बरू
राहत शिविरमा बस्नु कति मज्जा हुन्थ्यो
सबै सरकारी, भात अनि तरकारी ।
गाउँमा पानीको दुःख छ
फेसबुकमा अपडेट गरेको उसको स्टाटस
सरकार समक्ष पुग्यो कि पुगेन
राष्ट्रपतिले पढ्यो कि पढेन
प्रधानमन्त्रीले लाइक गऱ्यो कि?
देशको हजरौं वीरमानशालाहरूमा
पानी छैन, खाना छैन र छैन छाना-नाना
किन कि यो राष्ट्रपति, प्रधानमन्त्रीको गाउँ होइन
यो त तेस्रो गाउँ हो तेस्रो गाउँ।

Mahesh Prasai – Kayar Haru Marna Daraunchhan (Nepali Muktak)

महेश प्रसाई – कायरहरू मर्न डराउँछन् (मुक्तक)

कायरहरू मर्न डराउँछन्
क्रान्तिको इतिहास शहीदको बलिदानबाट शुरु हुन्छ
नामर्दहरू मारिन डराउँछन्
शान्तिको इतिहास तानाशाहको चिहानबाट शुरु हुन्छ ।

Umesh Rai Akinchhan – Mahatwa

उमेश राई ‘अकिञ्चन’ – महत्त्व
(मधुपर्क जेठ, २०६९)

बार्दलीमा बसेर
खोकिरहेको बृद्ध मान्छे
सोच्दो हो
किताबका भारी बोकेर
सिमाना काटेका छोराछोरीहरू
धर्तीको
कति नं. अक्षांश र देशान्तरमा
सपनाका गलैचाहरू बुनिरहेका होलान् ?
कुनै अधबैंसेलाई
कतै बसमा, माइक्रोमा, टयाक्सीमा वा
हिँड्दा हिँड्दै शहरका अनाम गल्लीहरूमा
आˆनो यौवनका दिनहरू
फर्केलाझैं बनाइदिने
पुराना दिनका गीतहरू
झट्ट सुन्दा
आˆनो शरीरमा दौडिरहेको रगत पनि रोकेर
दाँज्न मन लाग्दो हो
मध्यान्हपछि
सानो अझ सानो हुँदै
श्रीमतीको निधारमा अट्ने
टीकाजत्रो घाम
स्वार्थी प्रेमीको नाममा
पहाडजत्रो आँसुको ढिक्का झार्दै
त्यो बटुवा
ओझेल पर्दो हो
वारि डाँडाबाट पारि डाँडातिर
भागिरहेको बतासभन्दा छिटो, र
सोच्दो हो
गमलामा संसार देख्नेलाई
मीठो लाग्दैन सायद
जङ्गली फूलको सुवास ।

– विराटनगर

Komal Shrestha Malla – Prashna Chha

कोमल श्रेष्ठ मल्ल – प्रश्न छ ??

सर्म्पर्क टुटाएर
कस्तो दुरी तय गर्न खोज्दैछौ ?
रगत बगाएको भूलेर
अझै व्यथा थप्ने कोशिस गर्दैछौ
के तिमीलाई देश प्यारो लाग्दैन ?
धेरै पढें तिमीलाई मैले,
तर विश्वास गर्न भुल भएछ
तहसनहसका ती दृष्य भुलेर
मेट्न खोजें हृदयका आला घाउ छटिराहरु
झन् झन् घाउ थपिदै चहर्‍याई रहेछ
यी आँखाले खिचेका चित्रहरु
तिमी भन कहिले मेट्न सक्छौ ?
अतितका ती मनमोहक दृष्यलाई
तिमी भन कहिले पुन निर्माण गर्न सक्छौ ?
सायद तिमी संग
ती अतितका विभत्स घटना छैन होला
छैन भने, विर्सेकै हौ भने
एक पटक नियाली हेर मेचीकालीको छातिलाई
कति गहिरो घाउ खटिरा, बेदना बल्झेको छ ?
तिमी नयाँ यात्राको नाउँमा
कुन यात्राको थालनी गर्न खोज्दैछौ ?
तिमी नयाँ बाटोको नाउँमा
कुन बाटो निर्माण गर्न खोज्दैछौ ?
देखाईदेउ नयाँ बाटो
जसमा करोडौ नेपाली हिड्न सकोस्
जसमा करोडौं नेपाली फुल्न र फैलन सकोस्
यहाँ त नयाँ नयाँ प्रश्नका काँडाहरु उब्जेका छन्
नयाँ नयाँ हजारौ मोड तय हुदैछन्
यात्रा कसरी बढाउने ?
जीवन कसरी चलाउने ?
परिवर्तनको जन्म पल पलमा भैरहेछ
आमाको पीडा र दुखाई कहिले निको हुन्छ ?
र हरेक नेपालीलाई
शान्तिको श्वास फेर्न कहिले मिल्छ ?
प्रश्न छ ??

Binod Roka – Kasto Jeevan

विनोद रोका – कस्तो जीवन

पछाडी हेरुँ त डर लाग्छ
फेरी तेही घडी दोहोरिन्छकी भनि
अगाडी बढ्ने कताहो कता
हिड्दै छु बर्तमानको पाइला गनी ||
मिहेनत पसिना कसको लागी
सोद्छु आँफैलाई प्रश्न गरी
छैन उत्तर आँफैसंग पनि
धिकार्छु आँफैलाई छक्क परी ||
दुलौदै प्याला आँखाहरु
सहाराको छागा भाच्दैछु
लुकी आफ्नो यौवनलाई
प्रकृतिको निम्ति साँच्दै छु ||
कस्तो जीवन रैछ मेरो
टुक्राई ह्रदय बच्दै छु
टुक्राई ह्रदय बच्दै छु ||

Komal Shrestha Malla – Bijuli Daud Ma Khai Kina

कोमल श्रेष्ठ मल्ल – बिजुली दौडमा खै किन ?

ओठले कुन थुङ्गा चुमेर
हार लगाउने
म मेरो भनेर ?
मान सान स्वाभीामानका ?
पात झरि रहेछ
हाङ्गा भाच्चि रहेछ
र बतासले उडाइ रहेछ जीवन
िबना आधिहुरि
म भने छद्म बादलको भरमा
सूर्य छेक्दैछु
झुण्ड झुण्ड मुण्ड मुण्ड
बस्ती बस्तीमा खुसीहरु भर्न मन
उदाउला भनेर ?
नबुझीने संप्रेषण
बुझपचाईएका कर्तलध्वनीहरु
अधरका सिमा नाघेर तरंगका
ईन्द्रधनु फलाक्दै
स्वर्ग निर्माण हुन्छ भनेर
प्राण बिनाका मुस्कान
आखा नानीमा राखेर
हरियालीको लोभमा … ??
अनी
पात भूल्दैछन
भोली खंंग्रीएर उडनु पर्ने
कसरी सोच्दैछन ?
कोरिन्छन सुन्दर भाग्यरेखाहरु
बालुवामा ????
बतासले सारगर्भीत ढुकढुकी
बिमोचन गर्छ भनेर
म अबुझ
होस्टे हैसेमा
टुक्रा टुक्रा मुटु खोज्दै
जात जातका डुङ्गामा
िशर निहुरि रहने
िशर निहुरि रहने
बिजुली दौडमा खै किन ?

Ramkaji Kone – Tin Muktak

रामकाजी कोने – तीन मुक्तक
(मधुपर्क जेठ, २०६९)

१.
जिन्दगीको धूप बिर्साउने छहारी छायाको
बयान कसरी गरूँ म त्यो कोमल कायाको
होलान् कति कति मर्ने त्यो रूपमा ए हजुर –
पहिलो सहिद बनाऊ बिन्ती मलाई तिम्रो मायाको ।

२.
छैन उज्यालो मसँग जिन्दगी पनि कालो कालो
मन दुख्दा र्झछ आँसु त्यो पनि कालो कालो
परेलीमा अँध्यारोकै बास भएर हो कि –
देख्न त देख्छु सपना त्यो पनि कालो कालो ।

३.
कोही पहिचानका खातिर आˆनै तस्बिर कोर्दै थिएँ
कोही वरदानका खातिर ईश्वर र मन्दिर खोज्दै थिएँ
मिहिनेतीहरू पसिनाको मसीले भाग्य लेखिरहँदा –
अल्छीहरू भावीसँग आˆनै भाग्य सोध्दै थिएँ ।

– महाराजगञ्ज ४, काठमाडौँ

Dr. Mohan Prasad Joshi – Bhinnata Herne Ki Samanata?

डा. मोहनप्रसाद जोशी — भिन्नता हेर्ने कि समानता ?

भन्छन् कोशीलाई पूर्वको
कर्णालीलाई पश्चिमको
उत्तरतिर खोज्दै जाँदा
पानी त दुवैको हिमालको !

पात रङ्गीन लालुपातेको
फूल लालीगुराँसको
नियालेर हेर्दा दुबैले
लाली त लालै लिएको !

स्वादमा अमिलो सिन्की हो
रस मीठो चानाको
यी दुइटै खान्कीको
मूल त आखिर मूलै हो !

लाहुरेको फूल धेरै रङको
सेतो र पहेँलो सुनगाभाको
माटोमुनि त दुवैको
गानोमै जिन्दगी बनेको !

औँलाको शोभा औँठीले
घाँटी सुहाएको सिक्रीले
आखिर दुवै गहनाले
सौन्दर्य पाएको सुनैले !

मनमोहक मूर्ति बनेको
घरको जग भै बसेको
जुन ढङ्गमा ढले नि ढुङ्गा
आखिर चोइटा चट्टानको !

(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको |)

Aryabiman Chitrakar – Sunaulo Bihan

आर्यविमान चित्रकार – सुनौलो बिहान

आँखै अगाडी छर्लंगै रात बिते
नया दिन नया प्रभातले घच्घचायो
उठेर बाहिर यसो हेर्छु
झरी परेको रहेछ
सबै जाँगरहरु फेरी सुते

आगमन सायद उसको
होला नौलो बिहान
फेरी पनि बाँचेको छु
भित्र भित्रै खन्दै आफ्नै चिहान
दुखको ओच्छ्यानमा ढल्किदै
लगाएको छु पीडाको सिरान…..

हरेक रातको मानसिक तनाव
परेन केहि नयादिन को प्रभाव
मिथ्या लाग्छ, के बाच्नु यसरि
रोउ, कराउ, चिच्याउ बेस्सर
सक्दिन पो के गरूँ फेरी???

आँखै अगाडी छर्लंगै रातबिते
सबै जाँगरहरु फेरी सुते
निभेको दियो फेरी बालेनं कसैले
दन्केको मुटु चाल पाइनौ तिमीले??
फेरी पनि बाँचेको छु
भित्र भित्रै खन्दै आफ्नै चिहान
किन यो रात्री हुदैछ निशेष
किन दिन्नौ मलाई सुनौलो बिहान???

Saroj Dhatal – Manchhe Khaderi (Nepali Short Poem)

सरोज धिताल – मान्छे खडेरी

क्यामराको भीड ?
तस्वीर त रित्तो रै’छ !
मान्छे भए पो !!

फरवरी, २००४

Sulochana Manandhar Dhital – Kritagyata

सुलोचना मानन्धर धिताल – कृतज्ञता

हृदयले रोपेको बिरुवाले
मायाले फुलाएको फूलले
आफूलाई हुर्काउने मालीलाई
साँच्चै नै चिन्न सक्छ र ?
कहिल्यै आफैँ अघि सरेर
आफ्नो मालीलाई सम्झेर
‘धन्यवाद’ भन्न सक्छ र ?

Lekhnath Paudyal – Naitik Drishtanta


लेखनाथ पौड्याल – नैतिक दृष्टान्त

बडाले जे गर्यो काम हुन्छ त्यो सर्व-संमत ।
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।।

गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन ।
बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।।

दबिन्छ गुणिको दोष गुणका राशिमा परी ।
रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।।

कसैको लोकमा छैन एकैनास समुन्नति ।
अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।।

छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ ।
उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ ।।

ज्यादा सोझो हुनुभन्दा टढिनु छ फला-धिक ।
गरदैन कुनै सोझो ग्रहको पूजना–दिक ।।

टपर्टुञ्या पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित ।
बोलने को अँध्यारोमा महा–त्मा जुन्किरीसित ।।

सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति ।
घोचने जङ्गली काँढा पहिले नै तिखा कति ।।

मिलेर काम गर्नाले हुन्छ अत्यन्त फायदा ।
एकता हेर कस्तो छ मौरीको महमा सदा ।।

जो दिंदैन उही दिन्छु भनी गर्जन्छ सत्त्वर ।
जो हो नवर्षने मैघ उसैको हुन्छ घर्घर ।।

हुनुपर्दछ मौकामा शत्रुको पनि सेवक ।
कोइली कागकै बच्चा बन्छ सानू छँदा तक ।।

गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी ।
कौडीमा तक मिल्किन्छ भिल्लका देशमा मणि ।।

योग्य स्थानविषे मान सानाले पनि पाउँछ ।
कृष्णाका तटको ढुङ्गा देवता कहलाउँछ ।।

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।

मेटिंदैन कसैबाट आफनू कर्मपद्धति ।
बनवासी बने राम चौधै भुवनका पति ।।

धर्म हो धीरको धैर्य राखनू दु:खजालमा ।
मानू मौनव्रती हुन्छ कोइली शीतकालमा ।।

सारा सार लिई कन्था छोडी-दिन्छ गुणी जन ।
रस चुसेपछि भृङ्ग फूलमा भुल्दथ्यो किन ?

सङ्गले पनि जाँदैन दुष्टको दुष्टा रिस ।
श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष ।।

मूर्खका मनमा अर्ती गालीतुल्य बिझाउँछ ।
दूधपान गरी सर्प खालि विष बहाउँछ ।।

Pravin Khaling – Shabdako Ris

प्रवीण खालिङ – शब्दको रिस

देश हर्बलले बाड़ेको विज्ञापन
जति पनि नपढ़िने त्यसको पर्चाले
राजनैतिक नंपुसकता छर्लङ्ग पार्छ।
त्यसको पोस्टर लेख्ने हातहरूले नै
प्रजातन्त्रको बाह्रखरी मेटाउछ।

अक्षरहरूको अनिकाल परेको बेला
निरक्षरहरू महाकाल भएर
मन्दिर,गुम्पा, गिर्जा र मस्जीदहरूमा पस्छन्
शान्तिलाई गलहत्याएर
आफैलाई ईश्वर घोषणा गरेर बस्छन्।

शब्दहरूलाई नाराको कन्सर्नटेशन क्याम्पमा हालिन्छ
भकाभक अक्षरहरूको टाउको काटिन्छ
प्रजातन्त्र लेख्न बस्यो कि त्यसको निबं भाचिन्छ
वर्णमालाको आँसु बग्छ।

‘गालामा आँशुको डोब बस्दैन हजुर
पहरामा खहरेको डोब बसेजस्तो’ – पारिजात

त्यसको टुमौटे परिभाषाहरूमा
अटाउँदैन शब्दको सिद्धान्त
मान्छेको मौलिक अधिकार
त्यसको रतन्धो आँखाले ठिम्याउन सक्दैन
त्यसले शब्दको आवेग पनि देख्दैन।
हुन त
त्यसले सत्ताको कुरा गर्छ
त्यसले सत्ताको धाक लगाउँछ
तर त्यसलाई थाहा हुँदैन
शब्दको रिस
जब शब्द रिसाउँछ पानीमा आगो बल्छ
आँखाबाट आँशु होइन आगो बग्छ
संविधान र देश त ढल्छ
त्यतिबेला त्यसको सत्ता कसरी चल्छ
हो त्यतिबेला त्यसको सत्ता कसरी चल्छ ?