Suwas Khanal – Bancheko Samaya

सुवास खनाल – बाँचेको समय

स्वभाविक छ
भत्किनु
तर अस्वभाविक छ
भत्किनु , भत्किनु र भत्किरहनु

प्रश्न जाहेज छ
भत्काइरहनु मात्र ठीक हो भने
निर्माण किन आवश्यक छ ?

अहिले पत्रिकाहरू
भत्केका तस्विर छापिरहेका छन्
टेलिभिजन
भत्किनु ठीक वा बेठीक बहस चलाइरहेछ
कोलम्निस्टहरू
भत्किनुकै पक्ष, विपक्षमा
विचार विमर्श गरिरहेछन्
चित्रकार
कोरिरहेछ भविष्य भत्किरहेको
भयावह चित्र
फोटो पत्रकार सबभन्दा बिकाउ
फोटो खिच्ने धुनमा छ –भत्काइकै

फरक फरक भत्काइका
आयोजक ,समर्थक
नेताहरू
कार्यकर्ताहरू
कुन भत्काइ ठीक
कुरा उठाइरहेछन्

हो सबैसबैसँग
भत्काइकै आग्रहहरू छन्
हो सबैसबै अलापिरहेछन्
भत्काइका
ससाना साम्प्रदायिक धुनहरू

हो भत्किनुनै ठीक हो भने
बन्नु किन आवश्यक थियो ?
हो चर्किनु नै सुन्दरता हो भने
कुरुपता के को अर्थ हो ?

यो अहिलेको युग
बेचिरहेछ संवेदना
जोगाइरहेको छैन
यो अहिलेको समय
टुक्रिरहेको छ क्षणक्षण
जोडिइरहेको छैन

तर एउटा घर
पूर्ण निर्माणले राम्रो देखिन्छ
न कि एकएक इँट्टा इँट्टामा ।

Komal Shrestha Malla – Maato Bhairahechha Baluwa

कोमल श्रेष्ठ मल्ल – माटो भै रहेछ बालुवा

पुज्नु पर्नेले नपुजेर, माटो भै रहेछ बालुवा,
भक्त नभए माटोमा, के पलाउछ पालुवा ।

गार्है हुन्छ अब यो मन्दिरलाई चम्काउन,
भक्ती मरेकाहरुले सक्तैनन् माटो फुलाउन ॥

पुज्नु पर्नेले नपुजेर, माटो भै रहेछ बालुवा,
भक्त नभए माटोमा, के पलाउछ पालुवा ।

छन जो बचेकाहरु, माटोमा जिउंदै मरे सरी,
हेर हेर माटोको टिलपिल आसु गह भरी ।।।

पुज्नु पर्नेले नपुजेर, माटो भै रहेछ बालुवा,
भक्त नभए माटोमा, के पलाउछ पालुवा ।

Krishna Bause – Afnai Paribhasha Mathi Prashna Chinha

कृष्ण बाउसे – आफ्नै परिभाषामाथि प्रश्न चिन्ह
(मधुपर्क २०६६ मंसिर)

जब म बाटोमा ओहोरदोहोर गर्छु
मेरो स्पर्शमा आउँछ
एकातिर
सधैँ सबैलाई जीवन बाँड्दै हिँडिरहेको निश्चिन्त हावा
र अर्कातिर
सधैँ चिन्तामा डुबिरहेको एउटा मान्छे ।
जब म बाटोमा ओहोरदोहोर गर्छु
मेरो कानमा पर्छ
एकातिर
मनै रमाउने चराको चिरबिर
र अर्कातिर
अनुरागीलाई पनि
वैरागी बनाउने
घरघरमा घन्काइएको
क्रन्दनको गीत ।
जब म बाटोमा ओहोरदोहोर गर्छु
मेरो स्पर्शमा आउँछ
एकातिर
भर्खरै चरनतिर लागेका
वस्तुले छाडेको तातो श्वास
र अर्कातिर
आत्मघातको बारुद बोकेर हिँडिरहेको
आफ्नै चिसो लाश ।
तब म यो सोच्दै अवाक् बन्छु-
कसरी गर्ने मैले
अब मान्छेको रूपमा आफ्नो परिभाषा !
पानी, पतङ्ग र चेतना नभएका प्राणीका ढकहरूमा
तौलँदै
मान्छेको रूपमा
आफ्नै
विक्षिप्तता !

-पोष्ट बक्स नं. ४५२५, काठमाडौँ

Bhojraj Baral – Basekai Thaun Swarga Banaune Ho Bhane

भोजराज बराल – बसेकै ठाउ स्वर्ग बनाउने हो भने

हेर्नुस, भोलि सबेरै कुद्नु छ,
मेरो काम, आजै फत्ते हुनु पर्छ!
हेरौंला नि हजुरको दुख, काम तुरुन्तै हुन पर्छ,
मलाइ धेरै हतार छ,
हजुर, भन्नुस, क-कसलाई भन्न पर्छ!

लौन, थुनामा परेछ रे,
जाँड को सुरमा, तथानाम भनेछ रे,
एक दुइ लात ठोक्दैमा, कोची हालेछन बिचरोलाई,
निकाल्न आएको, पार्टीका साथि लिएर,
लौ भन्नुस, के गरौँ, छुटाउनै पर्यो यो मोरोलाई!

लोकसेवा दिएको छ, राम्रै गरेको छ रे
सबै पाना भरेको छ रे,
लौन, नाम निकाल्न पर्यो,
ठुलै मान्छे संग आएको छु,
जागिर मिलाउला भनेर, कसम खाएको छु!
अलिकति कोसेली ल्याएको छु!

गहुँत छर्कन पर्छ,
शुद्ध हुन्छ भान्छो, गोबरले लिप्न पर्छ,
मरेकाले दुख दिए बाबु, पितृ बोलाउनु पर्छ,
कि त धामी झाँक्री, खोज्न पर्छ,
जनावरको बलि चढाउनु पर्छ,
भाकल गरेको छु, एउटा बोको रोज्न पर्छ!

यस्तै यस्तै सोचाइ पालेर,
फेरिंदैन गाउँ र समाज,
सिर्फ भगवानको नाम मा लामो दाह्री पालेर!

समय फेरिंदै जाँदा,
पाठ्यक्रम फेरिन पर्छ,
सबैले गल्ति गर्न सक्छन,
झुठो सहि हुँदैन, गुरुले भन्दैमा,
दुइ र दुइ जोडेर पांच हुँदैन, दश पटक गन्दैमा!

जति कुर्ले पनि, जति तिर्थ नुहाए पनि,
नकाटेको चिट्ठा पर्दैन,
मन फेरिन पर्छ, सोचाइ फेरिन पर्छ,
लालचका आँखा फेरिन पर्छ!

आफू जस्तै,
सबैको पेट उस्तै हो,
अघाउँदा पनि भोको पेट देख्न पर्छ,
भोकाले पनि दिनेको मन देख्न पर्छ,
कुवा भित्रै बसे पनि,
बाहिर अर्को सन्सार देख्न पर्छ,
सबैले केहि न केहि गर्नै पर्छ,
स्वर्ग पुगेका छैनन, फलाकेरै कोहि,
बनाएरै पुगेका छन् स्वर्ग कति,
बसेकै ठाउ स्वर्ग बनाउने हो भने,

आउ तिमि केहि राम्रो गर, म उस्तै गर्छु!
तिमि मेरो चुलो बनाउ, म तिम्रो भकारी भर्छु!!

Komal Bhatta – Aafnai Desh Ka Byatha Haru

कोमल भट्ट – आफ्नै देशका व्यथाहरू

आफ्नै देशका व्यथाहरू सुनिदिने कोही छौ कि ?
च्यातिएको हृदयलाई तुनिदिने कोही छौ कि ?

अन्याय र अत्याचारले ढाकेको छ जताततै
कुकर्मका बाटाहरु थुनिदिने कोही छौ कि ?

रोग,भोक,अशिक्षा र बेरोजगारी बढ्यो धेरै
सर्वसुलभ अवसर त्यो चुनिदिने कोही छौ कि ?

रुनेहरू रोएकैछन् कोही खित्का छोडछन् सधैं
सबले हाँस्न पाउन भनी गुनिदिने कोही छौ कि ?

परस्परका भेदभाव र बैमनश्य हटाएर
एकताको एउटै माला उनिदिने कोही छौ कि ?

पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
4th March,2013

Gopal Jhapali – Sarbahara Ko Neta

गोपाल झापाली – सर्वहाराको नेता

पुषको ठिहिमा हुस्सुको ब्याल्क होलले निल्दै गरेको सडकमा
म हात जोडेर मुखले फुक्दै न्यानो भ्रम खोजी रहेको छु ,
तिमी त्यहि सडक आडैको महलमा बसेर मकल ताप्दै
म प्रति दया देखाउँछौ र फलामे झ्यालमा आएर
एकमुठि सिगरेटको धुँवा म तिर हुर्याउँछौ ।

प्रत्येक साँझ पेगहरुले तिमीलाई स्वागत गरिरहेका बेला
म एक माना बगेडा लिएर झुपडी भित्र छिर्दै हुन्छु
त्यहि बेला दुधे छोरी मेरा खल्तिको खान्तलासी गर्न थाल्छे ,
सायद तिमी त्यहि बेला रङ्गिला यौवनहरु एक एक गर्दै सुम्सुम्याउन थालि सकेका हुन्छौं ।
पर्दा उचालेर तारासँग खित्किँदै तिमीले मुलायम हत्केलामा
भोगको बिस्कुन सुकाउँदै गर्दा
म मेरी सुत्केरी श्रीमतीको भोक मेटाउन जाउलो छड्काँउदै
अँगेनाको धुँवा चिर्दै धुरीबाट तिनै तारा सँग सर्माईरहेको हुन्छु ।

माक्र्सवादका ठेली सिरानीमा बिझाउँदै तिमी कृत्रिम सपना खोजी गर्दै हिड्छौं,
किनकि त्यहि सपना भित्र तिम्रो बिपना बाँचेको छ ।
जुन सपनाले तिम्रो उडान उचाई लिने क्रममा भएकै बेला
मेरो गन्धे पसिनाले भिजेको मयलपोसबाट छिरेको बतासले
म आँतमा शितलता भरि रहेको हुन्छु ।
किनभने मेरो सपनाले तिम्रो जस्तो उडान लिन सक्दैन
किनकि म त सर्वहार हुँ, तिमी सर्वहाराको नेता ।

लखनपुर, झापा

Shyamal – Dasani Ko Lehanga

श्यामल – दसनीको लेहङ्गा

तातो हावाको झाँकाले
फरफराउँछ
पराजित मुलुकको झन्डाजस्तो
दसनीको लेहङ्गा ।

धेरै चोट सहिसक्यो
धेरै रगत बगाइसक्यो
धेरै बलात्कार खपिसक्यो
जमिन्दारको बाँझो खेतमा
धेरै कुलो लगाइसक्यो
घामपानीको मारले
जति मधुरो देखिए पनि
अझै रङ्गीन छ
हजारौँ फूल फुल्ने उद्यानजस्तो
दसनीको लेहङ्गा ।

दाउरा लिन गएको
जङ्गलबाट फर्केन
कसैलाई थाहा छ कि
कहाँ फरफराइरहेछ बुट्टेदार
दसनीको लेहङ्गा ।

Rakesh Karki – Jati Jati Para Sarchheyau (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – जति जति पर सर्छयौ (गजल)

जति जति पर सर्रछयौ उति नजिक बसुँला म
जति जति फुक्न खोज्छ्यौ उति उति कसुँला म

घुर्काएर ठुस्कीएर रूँदै जित्न खोज्छ्यौ भने
ति आंशुका थोपा थोपा संग संगै खसुँला म

कति सजिलै भन्छ्यौ नि मेरो माया छैन भनि
थुने पनि छेके पनि त्यो दील भित्र पसुँला म

डराई समाजसंग कुल् घरान खोज्छ्यौ भने
जात पात कुरीतिलाई गोमन बनि डसुँला म

डराउदिन कसैसित तिमीले हात थामे पुग्छ
साथ तिमी दिन्नौ भने भैगो एक्लै फसुँला म

विर्सीभुली कसम बाचा चोखो माया जलाइदिए
अंजुलीमा खरानी लीइ छाती भरी घसुँला म

Sumitra Wangdel Cheli – Paschim Bata Udaune Gham Kasto Hola (Gajal)

सुमित्रा वाङदेल ‘चेली’ – पश्चिमबाट उदाउने घाम कस्तो होला

पश्चिमबाट उदाउने घाम कस्तो होला
धेरै देखेँ कृष्णहरू राम कस्तो होला

देश हेर्छु उभिएर सुदूर पूर्वबाट
इलामले सोध्छ सधैँ अछाम कस्तो होला

हाँगाबाट चुँडालेर फूल टिप्छन् यहाँ
झर्‍या फूल चढाउने घाम कस्तो होला

मान्छे मात्छन् धन, मान, पद, प्रतिष्ठाले
नपिइकनै भात लाग्ने जाम कस्तो होला

– दमक, झापा

Jagadeesh Ghimire – Yuddha Unmulan Yuddha

जगदीश घिमिरे – युद्ध उन्मूलन युद्ध

तालुदेखि तानेर ठाडो रेखा पैतालासम्म
दुवै हत्केलाको सरल रेखामा क्रस टाँगिएको छु यस चौबाटामा
धर्तीमा
समय र विज्ञान दुई बाटाहरू
धर्ती मसँग छैन , घर परिवार–समाज देश छैन
बरालिनु
स्टेसन
जानकीचोक,
जानकीचोक
स्टेसन
शून्य सडकमा त्रिशङ्कु र भाटभटेनीहरू सँगसँगै शोकसभामा
ओर्कनुफर्कनु धूलामा टाँगिनु हावामा उँधोमुन्टो आधा
सेरिएर हलाल बगरेको किलामा छट्पटाउँदै…….
ल्याटेन्टसिफलिस बोकेर रगतभरि समयभरि बाँड्दै सम्पर्कभरि
आनुवंशिकताभरि कीटाणुहरू, विवश वेश्यावृत्ति जिजीविषामा
अस्तित्वको कात्राले कवचले व्याख्या गरिएको पश्चिमी
चस्मा जीवनको (व्यवसायको विज्ञान) छिः छिः !
(हामी गड्यौला छौँ हर्मा फ्रोडाइट । दुवै पक्षीयलाई काम लाग्छौँ
प्रभू ! आज्ञा होस् यसो सुतौँ वा उसो पल्टौँ ?)
होइन ।
अर्थजन्य दुव्र्यवस्थामा विश्वस्त त्रिशङ्कुहरू गड्यौलाहरू
इतिहासले वर्तमान गर्भिणी बनाउँछु –
शान्तिसमूह जन्मन्छ चिहानबाट
आजसम्म पूजा भएको छ शक्तिसम्पन्न सूत्रधार मतियारहरूको
हाडनाताकरणीका–युगस्त्रीलाई नीति निर्धारण गर्दै ।
शक्ति अनिवार्य छ स्थापित हुन ।
खारिनु अनिवार्य छ पूजित हुन ।
समय छ । निश्चय छ ।
भविष्य=२H2O=O2+२H2O
सापेक्ष सत्य छ
राँको बाल्छु आऊ अब
चक्षुहीन गड्यौलाको धर्तीहीन त्रिशङ्कुको भाटभटेनीको
यातायात हुँदैन वसन्तमा केवल
तन्कनु खुम्चनु जीवन
मेरो चेतना कपाल सल्काउँछ अब
यस टुपी उन्मुलन युद्धमा
युद्ध उन्मूलन युद्धमा

Padam Bhandari – Kheti Ma Palayeka Jhaar Haru

पदम भण्डारी – खेतीमा पलाएका झारहरू

कृषि विषय पढें तर गैससको खेती गरें
कस्तो अचम्म!
बीस वर्षसम्म खेती गर्दा पनि
यो बालीको जरो, टुप्पो, पात केही देखिन
फल पनि देखिन
पाकेको फलको स्वादको त कुरै नगरौं
सानो चिचिलोको स्वाद समेत चाख्न पनि पाईन
२०४६ साल पछि बिकासे बीऊ, मल बेच्न
चार सय भन्दा बढी बिदेसीहरु कस्सिएका छन्
तीस हजार भन्दा बढी नेपाली किसानहरूले बारी बनाएका छन्
महङ्गा चिल्ला कागजहरुमा, पाना पानामा,
खेती गर्ने तरिकाबारे राम्ररी जोतिएको छ,
बीऊ छरिएको छ, मलजल गरिएको छ
तर गैससको खेतीमा बाली भन्दा झारपात बढी मौलाएको छ
खेत बारीमा बाली भन्दा झारपात हर्लक्क बढेको छ
खेती गर्ने तरिका सिकाउन
अहिले त कलेजहरूले समेत नर्सरी बनाएका छन्
साना किसानको खेतीमा बाली भन्दा झारपात मौलाउँदो रहेछ
सानै खेती भए पनि झार उखेल्न धेरै संघर्ष गरें
मैले झारलाई उखेल्न खोज्दा उल्टै झारले मलाई तान्यो
मेरो केही लागेन
खेती गर्न औजार हुनेहरुका लागि
यो खेती रोप्न सजिलो छ, बाली थन्क्याउन सजिलो छ
औजार नहुनेहरुका लागि
न रोप्न सजिलो छ, न फडानी गर्न सजिलो छ
खेतबारीमा उम्रिएको झार उखेल्न म प्रयत्नरत छु
अपत्यारिलो तर सम्भव
यो खेतीभित्र उम्रिएको झार उखेल्न म लागिरहेछु
लागिरहने छु ।
★★★

Padam Bhandari – Jhukkine Ra Jhukyaune Khel

पदम भण्डारी – झुक्किने र झुक्याउने खेल

तिमीहरुले दुनियालाई झुक्याउन बिज्ञापन गरेथ्यौ
मैलेपनि तिमीहरुलाई झुक्याउन निवेदन दिएथें
तिमीहरुले मलाई झुक्याउन लिखित परिक्षामा बोलायौ
तिमीहरुले मलाई झुक्याएकोमा म दङ्ग थिएँ ।
म आँफै झुक्किएर लिखित परिक्षामा समावेश भएथें
लिखित परिक्षामा मैलेपनि तिमीहरुलाई झुक्याएर राम्रो लेखेथें
मैले तिमीहरुलाई झुक्याएकोमा तिमीहरु दङ्ग थियौ
झुक्किने र झुक्याउने हाम्रो लुकामारी खेलमा थुप्रै वर्ष बितेको थियो
झुक्किनु र झुक्याउनु त हाम्रो नियति नै थियो ।।
फेरी तिमीहरुले दुनियालाई झुक्याउन बिज्ञापन गर्यौ
फेरी मैलेपनि तिमीहरुलाई झुक्याउन निवेदन दिएं
यसपल्६ तिमीहरुले फेरी मलाई झुक्याएर जागीरबाट हटायौ
मपनि फेरी झुक्किएर जागीरबाट हटें
फेरीपनि झुक्किने र झुक्याउने लुकामारी खेलमा
मपनि दङ्ग भएँ, तिमीहरुपनि दङ्ग भयौ ।।।
तिमीहरुको चेत खुल्योकी भनेर बिन्तीभाउ गरें
तिमीहरुलाई फेरी झुक्याउन सकिन्छ की भनेर बिन्तीपत्र चढाएँ
तिमीहरु त अर्ध निद्रामै रहेछौ
पूरा निदाएकाहरुलाई बरु ब्युझाउन सजिलो हुन्छ
तिमीहरुलाई त ब्युझाउन पनी सकिएन
निरङ्कशतामा बिन्तीपत्रको केहि अर्थ हुदैन
त्यो कुरा बुभ्mन नसकेर फेरी म झुक्किएँ
तिमीहरुले फेरी मलाई झुक्याएर वास्ता गरेनौ
यसपल्ट तिमीहरु फेरी झुक्कियौ र जागीरबाट हटायौ ।।।।
म किन झुक्किएँ र तिमीहरु किन झुक्कियौ
खोज्दै जांदा यो शहर र गाँउ बीचको फरक रहेछ
अंग्रेजी खरर बोल्ने र काममा जोतिनेहरु बीचको फरक रहेछ
अह्राउने र गर्नेहरुबीचको फरक रहेछ
फरक रहछ भन्ने थाहापाएपछि
मपनि दङ्ग भएँ, तिमीहरुपनि दङ्ग भयौ ।।।।।

म त अहिले अभावले छटपटिएका पिडितहरुको जमातमा छु
तिनीहरु परिश्रम गर्छन र सुन्दर भविश्यको सपना देख्छन,
तिनीहरुले आफ्नो कुराहरुमात्र ओकल्दैनन्
अरुको कुरा सुन्नसक्ने क्षमता गुमाएका छैनन्
तिनीहरुले अरुको कुराहरुमा पूर्वानुमान लगाउदैनन्
तिनीहरुको पूर्वाग्रह साँधेर अपराध गर्ने बानी पनि छैन
तिनीहरुले आफ्नो जीवनलाई माया गर्छन
म अहिले ती असल मान्छेहरुको भिडमा छु
म फेरीपनि तिनीहरुको माझ झुक्किएर पुगेकोमा
मपनि दङ्ग छु, तिनीहरुपनि दङ्ग छन् ।।।।।।
काठमाण्डौ देखि धेरै टाढाको गाउँ हो त्यो
३ाईतेले पानी पानी भन्दा पानी खुवाउने चलन छ त्यहां
तिमीहरुजस्ता सुन्दर अनुहार भएका मान्छेहरु त छैनन् त्यहां
तिमीहरु बस्ने जस्तो आकर्षक ठाउँपनी हैन त्यो
तर त्यहांका मान्छे केही सुन्न सक्छन्, केही सिक्न सक्छन्
तिनीहरुको माझ झुक्किएर पुगेकोमा
मपनि दङ्ग छु, तिनीहरुपनि दङ्ग छन् ।।।।।।।
तिमीहरु बस्ने अखडा मेरा लागी एउटा रीट्रिट जस्तै भयो
एउटा फिल्म महोत्सव जस्तै भयो ्
मेरालागी त सुनमा सुगन्ध थपे जस्तै भयो
अहिले त म गैंडाको छाला जस्तै बाक्लो भएको छु
जसले जति पिटे पनि दुख्न छोडेको छ
त्यसैले फेरीपनि तिमीहरु र म बीचको फरक हेर्ने रहर लागेको छ
झुक्किने र झुक्याउने खेल खेल्ने खेलाडि बन्न मन लागेको छ
किनकि झुक्याउने र झुक्किने तिमीहरु र मेरो नियति नै बनिसकेको छ ।।।।।।।।

Bhupendra Mahat – Maisaap Hajur Achel [Nepali Gajal]

भुपेन्द्र महत – मैसाप हजुर अचेल पिउन थाल्नु भएछ

मैसाप हजुर अचेल पिउन थाल्नु भएछ
ओईलाएको फुल जस्तै जिउन थाल्नु भएछ

चिसो सिरेटोमा पनि उदाङग चल्ने अङ्ग
अचेल गर्मिमा पनि छोप्न थाल्नु भएछ
वैँशको रापमा बाफिएको नसालु माद
बोझिलो भयो कि, नसकी खेप्न, फाल्नु भएछ

आँखा भरी बग्न लागेका अधुरा सपना
बिझ्ने भयो कि, नसकी थेग्न बाल्नु भएछ
अभिमानले भत्किएका मायाका प्रणय
कतै जोडिन्छ कि भनी लेख्न थाल्नु भएछ

Saroj Dhital – Prem

सरोज धिताल – प्रेम

शब्दहरू
जो मूर्तिकारको सानो छिनो भएर
ढुङ्गालाई अर्थ दिन्छन्,
शब्दहरू
जो पानीको विशाल प्रवाह भएर
नदीलाई जीवन दिन्छन्
शब्दहरू
जसले सृष्टि गर्छन्
जसले अर्थ दिन्छन्
र जसले संहार पनि गर्छन्
तिनै शब्दहरू
कुनैकुनै बेला
आफै
लाजले शिर पनि निहुराउछन्

टिप्न सक्ने वस्तु हो र सत्य ?
शब्दले कसरी बाधोस् ?
प्राप्य छ र पूर्णता ?
शब्दमा कसरी अटाओस् ?
आरोह्य उचाइ हो र ईश्वर ?
शब्दले कसरी चढोस् ?

प्रेम
ईश्वरको अर्को नाम हो
ईश्वर
पूर्णताको अर्को नाम हो
पूर्णता
सत्यको अर्को नाम हो ।

त्यसैले
जीवन
प्रेमको खोज हो
यात्रा हो– कहिल्यै नटुङ्गिने ।

Kumar Simkhada – Jindagani

कुमार सिंखडा – जिन्दगानी

जाने हुन्छन् फेरि फर्की आउने हुन्छन्
आफ्नो आफ्नो बाटो हजुर
लड्ने हुन्छन् संघर्षमा मर्ने हुन्छन्
जिन्दगीको सत्य हजुर

महलभित्र बस्नेलाई पीर छ महलसरी
झुप्रो कुर्ने सान्नानीलाई जीवन झुप्रैभरि
महल झुप्रो के कुरो भो पीर छ सडकमा नि
दुखभित्र हाँसो खोज्ने खेल हो जिन्दगानी

दिए खाने भन्नेहरु आज दिनेपट्टि
अमूर्त हौं भन्ने पनि गए सडी-गडी
खुसी फुल्ने पहाडभरि बेहोसीको पहिरो
सत्य बोके जीवनभरि सन्तुष्टिको ओइरो

बाटो कुर्ने बुढी आमालाई परदेशीको आस
बाटो भुल्ने परदेशीको कहाँ हो गाँस बास
बाटो होलान् लाखहजार रोज्नुपर्ने एउटा
स्वर्गलाई पछि छोडी खोज्छौ कहाँ देउता

Bishnu Kumar Basnet – Taadhindai Jaau Timi

बिष्णु कुमार बस्नेत – टाढिदै जाउ तिमी

टाढिदै जाउ तिमी मबाट,
म भुल्दै जान्छु तिमीलाई।
कथा हाम्रो यस्तो होस्,
नदुखोस् मलाई न तिमीलाई।

चाहेर मैले खोजेको हैन यो
घडी न तिमीले चाह्यौ।
दुखाएँ मैले तिमीलाई , मुटुमै
तिमीले छुरा धस्यौ।

उडिरहने पंछी तिमी
कैदमा समाउन खोजेछु
बाटो भिन्न हाम्रो , लक्ष्य
भिन्न नसोची साथ रोजेछु।।

B J Bantawa Rai – Aafain Lai Kahan Lagera Bagaaun?

बि. जे. बान्तवा राई  – आफैलाई कहाँ लगेर बगाउँ?

म तिम्रो नजरबाट फ्याँकिएको मान्छे हुँ,
म आफैलाई खोज्न कहाँ जाउँ।
म चुँडिएर कुल्चिएको त्यो फूल हुँ,
आफैलाई कहाँ लगेर बगाउँ?

मान्छे हुँ अरु जस्तै गल्ति त हुँदोरैछ,
आफ्नैले पराई ठानी फ्याँकेपछि मन धेरै रुँदोरैछ।
बाटो पनि बन्द भयो उनीसम्म पुग्ने मेरो,
सम्झना भने सधै रह्यो उनकै सेरोफेरो।
टुक्रेको मुटु लिई अब म कता जाउँ?
म चुँडिएर कुल्चिएको त्यो फूल हुँ,
आफैलाई कहाँ लगेर बगाउँ?

मलाई छोडी उनी सुखी बनी हाँस्छिन भने
स्वीकार्य छ, जहाँ जाउन खुशीसँग बाँच्छिन भने,
म नै जिउँला बेदनाको सबै पोका पारी,
भिरि दिउँला जुनीभरी दुखका सबै भारी।
आँशु लिएर जाँदैछहु खुशी बनी तिमी रमाउ
म चुँडिएर कुल्चिएको त्यो फूल हुँ,
आफैलाई कहाँ लगेर बगाउँ?

Rupesh Rai – Janda Haru

रुपेश राई – जण्डाहरू

हुइहुइ…
जोकर करायो
प्लेकार्डको बीचबाट। गाउँले,
एकझ्याप हत्याएन, हप्ता दिनको अनिदो रातमा।
आलो-आलै मरौमा।

मरौमा,
जोक्स रिमिक्स
भएर दुःख-सुखको घरमा बेहोरा
देखाइरहेछ। गाउँ नै डराएको अँध्यारो रातमा।
पल्लो कोठा र वल्लो कोठा गर्ने मेरो विसञ्चो दिमाग
घरिघरि झुण्डी हिड्छ मर्माहत परिवारमा।

रामायण
सुँकसँक गर्दै माम्री-माम्री
परेर अस्ति नै अचेत भइदिएछ, शिक्षित
समाजको श्लिपिङ पिल खाएर। कखराहरू हुर्किनु
नपाएर सिलेटमै कचल्टिरहेन्छन्।

क्योर हुँदैन
यो घाउ गाउँको, मेम-बासा अचेत हत्केलामा लडेपछि।

पिरामा टुक्रुक्क बस्ने फ्लाश ग्यास्ट्रिक भएर उँड्छ।

नयाँ संस्करण
हुँदैन भानुभक्तको, नयाँ संस्करण हुँदैन पितृको।

जन्डाहरू
कराइरहेछन् अस्ति खसेर पुलमुनि
झर्ने आत्मालाई। उनिहरूको नियुक्तिबारे!
तिमीलाई कहाँ स्थान दिऊँ?

नछिचोलेको
समनवाद घर जङ्गलको
कुनाकाप्चामा। बौरी उठ्छ हिप्पीहरूको
ऱ्यापमा जन्डाहरू हेरेको-हेरेकै आत्मसमर्पनको अनुहारमा। स्वेत वस्त्र लिएर।

गोप्य कोठामा।
तीनचूलेमा, सँघारमा या
अन्य कहीँ

डाँडा…काँडा, खोला…नाला
बारी…कान्ला, धारा…पँधेरो, उत्तर…दक्षिण
पूर्व…पश्चिम, ट्याङ्… ट्याङ्… ट्याङ्…
ट्याङ्… ट्याङ्… ट्याङ्… ट्याङ्….

कुनै एउटा पूर्वाग्रह
जस्तो, कोकटेलको रमरम जस्तो;
धिपधिप ताल दिइरहेको। सुनिदैछ गाउँमा अहिले
हाम्रै चिन्तामा उसको चिन्ता जन्डा भएर हिँडिरहेको। पालैपालो बखान्दै।
विभिन्न भाषामा।

तिम्रो… गाउँमा… ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ्…
अनिकाल… पसेछ… ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ्…
तिम्रो… घरमा…ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ्…
पितृको बेहाल भएछ… ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ्…

ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ् ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ्
ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ्…
ट्याङ्ट्याङ्… ट्याङ्ट्याङ्
ट्याङ्ट्याङ्… जन्डाहरू कराइरहेछन् निद्रा बिगारेर तुक्काहरूमा।

Dr. Govinda Singh Rawat – Swasni Ra Remote

डा. गोबिन्दसिंह रावत – स्वास्नी र रिमोट

स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए
आफुले चाहेको बेला अन गर्थे
नचाहेको बेलामा अफ गरिदिन्थे
मनपरेको कुरागर्दा सुनी दिन्थे
डुल्ने र किन्ने कुरा गर्दा बन्द गरी दिन्थे
स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए

आधा रातमा साथीभाइ र पार्टीबाट फर्किदा
रिसले मुर्मुराएर उनी झर्किदा
मिउट थिची दिन्थे अनि कचकच नसुनी सुति दिन्थे
घरमा पनि कहिले काँही हुस्की वियरको चुस्की लगाउँदा
उनी रिसाउन कराउन थाल्दा
स्टप थिची दिन्थे चुस्कीलाई निरन्तरता दिदै
स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए

बाहिर जानअघि सिंगारिदा
फास्ट फोरवर्ड गरी चाडै गराइदिन्थे
आफुलाई माया गर्दाको बेला भने
बारम्बार रिवाइण्ड थिच्दै प्ले गरिबस्थे
स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए

साच्चै भन्या स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए
मन लागेको बेलामा प्ले गरेर हेरीरहन्थे
रिस उठेको बेलामा स्टप थिचेर बसी दिन्थे
उनले कराउँदा भोलुम घटाईदिन्थे
आफुले बोलेको बेला नसुन्दा भोलुम बटाईदिन्थे
स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए

आफ्नो चासो हुँदा सुनी मात्र रहन्थे
जस्तो गन्थन गरे पनि
अनि रिसाएर कराउँदा स्टप थिची दिचेर
अर्को च्यान हेर्न थाल्थे
किनमेलको कुरा गर्दा च्यानल फेरी दिन्थे
माया गर्न थाल्दा पज गरीदिन्थे
स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए

तर स्वास्नी रिमोटबाट चल्ने हैन
उनी त आफै रिमोट हुँन
हामी पो उनको रिमोटबाट चल्ने
निरिह पति
त्यसैले कल्पनामा रमाएर केही क्षणको स्वतन्त्रता पाए पनि
हामी रिमोटबाट चल्ने रोबर्ट हौं
स्वास्नीको रिमोटबाट चल्ने
हामी त आज्ञाकारी टिभी हौं
स्वास्नी त रिमोट चलाउने सूत्रधार हुँन
हामी त फगत रिमोटबाट चल्ने यन्त्र हौं
कार्यालयमा हाकिले चलाउछन्
समाजमा नेताले चलाउछन्
घरमा स्वास्नीले चलाउछन्
हामी त फगत रिमोटबाट चल्ने यन्त्र हौं

टोरोन्टो, क्यानाडा

Ramesh Kumar Pradhan – Pirati

रमेशकुमार प्रधान – पिरती

नलाई नहुने
लगाएर नसकिने
यो पिरती
आँखाको भाषामा पनि हुँदोरहेछ
मनको गहिराइमा पनि हुँदोरहेछ
फूल भई फुलिदिँदो रहेछ
कहिले ओइलाउँदो रहेछ
पिरतीको परिभाषा यस्तो रहेछ
विछोडमा पनि पिरती बल्झी दिँदोरहेछ
मिलनमा पनि पिरती सङ्गम भई दिँदोरहेछ
मुटुमा पनि छुँदोरहेछ
कहिले
आँसुको सतहमा नुहाउँदो रहेछ
कहिले हाँसोको गहिराइमा लुक्दोरहेछ
कस्तो यो पिरती
जहाँ गए पनि पिरती
पिरती नै पिरती ।