Asmita Manandhar – Dhaniya Ko Achar

अस्मिता मानन्धर – धनियाँको अचार

ऊ जानुअघि
हरिया धनियाँहरू पिनेर
खुवाएथेँ ।
हरिया धनियाँहरूसंगै
धेरै माया मीठो पसिना
र सुनौँलो भविष्यको कल्पना
पिनेर
उसैलाई खुवाएथेँ ।
ऊ गैसकेपछि
मेरा बारीमा धेरै धनियाँहरू छरिएर उम्रिए
म प्रत्येक धनियाँका बोटहरूलाई
अगाध मायाले
सिँचिरहेछु प्रत्येक दिन
तर, प्रत्येकपटक
छिप्पिदै-वैलाउदै छन्
मेरा बारीका धनियाँहरू ।
सम्भवतः ऊ गैसकेपछि
उतैको धनियाँले तानेजस्तो छ
उतैको मिश्रण मन परेजस्तो छ
मेरा बारीका धनियाँहरूजस्तै
म पनि सायद
कहिल्यै याद आइन ।
अहिले
त्यहीँ धनियाँहरुसंगै
चाउरिएका छाला, तीता आँसु
र विक्षिप्त सम्झना मात्र होइन

आफ्नो जिन्दगी नै पिनेर
अचार बनाइरहे’छु ।

(पारिजात महिला कविगोष्ठी श्रृङ्खला-४ मा वाचित)

Rakesh Karki – Party Bhitra Phoot Chha

राकेश कार्की – पार्टी भित्र फुट छ

पार्टी भित्र फुट छ
पार्टी भित्रै गुट छ

देशको आफ्नै सरकारले
अर्को पार्टीलाई कुट छ

पार्टीमा बस्दिन भन्नेलाई
जबरजस्ती चुट छ

जनताको नाङ्गै खुट्टा
सेना संग बुट छ

शासकले ठोक भन्नासाथ
रिस उठनेलाई भुट छ

स्याहारेको निजी संपति
लुटी खानेलाई लुट छ

नरपिशाच सन्तान देखी
आमाको मन टुट छ

-लस् एन्जेलस्

Yuddha Prasad Mishra – Hun Ma Euta Sarwahara

युद्धप्रसाद मिश्र – हुँ म यौटा र्सवहारा

क्रुर यी अस्तिकहरूले रक्त चुसिएको छु सारा
पेट भोको पीठ नाङ्गो हूँ म यौटा सर्वहारा

झोपडीतक छनै पथको ज्यूँदोछु पक्रि किनार
रातभर चम्किरहन्छन् नेत्रमा नौ लाख तारा

खून पसिना बेच्दा काहीँ पाउँछु केही सहारा
वर्ग शत्रु जित्न लिन्छु विश्व जनमतको सहारा

देशमुक्ति गर्न दिन्छु खुनका अनमोल धारा
पेट भोको पीठ नाङ्गो हूँ म यौटा सर्वहारा

२९ अगष्ट १९८१

Sadhana Sharma – Andolan

साधना शर्मा – आन्दोलन

सपनीमा पनि सँधै आन्दोलन देख्छु अचेल
जब केही लेख्न खोज्छु अशान्ति नै लेख्छु अचेल
आतंक र दुश्मनी नै छाएको छ जताततै
शान्ती माग्दै आरतीले आफ्ना आँखा सेक्छु अचेल

विकास गर्छु भन्नेले नै विकास भाँच्न थालेका छन्
युवाहरुमाथि फेरि जाल नौलो हालेका छन्
म त पासो पर्दिन नि, विचार गरि टेक्छु अचेल
तर जब लेख्न खोज्छु, अशान्ति नै लेख्छु अचेल

सत्तालोलुप नेताहरुले अब जातै फालेकाछन्
आगो बाली निर्दोषलाई आगा भित्र हालेकाछन्
बाटो हिंड्दा ढुङ्गा, ईंटा, लाठाहरु छेक्छु अचेल
त्यसैले त लेख्न खोज्दा अशान्ति नै लेख्छु अचेल
लेख्न खोज्दा सँधैभरि अशान्ति नै लेख्छु अचेल!!

सपनीमा पनि सँधै आन्दोलन देख्छु अचेल
जब केही लेख्न खोज्छु अशान्ति नै लेख्छु अचेल

Pravin Khaling – Paurakh Palayan

प्रवीण खालिङ  – पौरख पलायन

मिडास टच वर्तमानले
हरिनाथ फुटेको गाँउको गोरेटो कुल्चन्दै आएपछि
गाँउका आरूफुले सपनाहरू
एकाएक नाइटमेयर्समा परिणत हुन्छन्,
गाउँलाई ऐंठन पर्छ।

डाँडाको सिरेटो छिर्ने
पौढ़ शिक्षा केन्द्रको लालटिन जस्तो
ढिपढिप गाउँका इच्छाहरू
नटराज पेन्सिलको ठुटोले
व्यक्ताउन नसकेपछि
गाँउको अभ्यास पुस्तिका बाँझै बस्छ।

हलोको फाली भऩ्दा बलियो
गाउँको पौरख र पसिना
*मनरेगाको धुलोमा सोस्सिए पछि
आफ्नो पाखुरीमा विश्वास
हराइपठाउँछ गाँउ।

पुरानो मोडलको खपालु गाउँमा
चुरनको नोट जस्तो साहुलियत पसे पछि
नथाक्ने इलमहरू गल्न थालेको छ
गोरेटाहरूले भटाभट सेक्स चेञ्ज गर्दैछन्
धमाधम सड़कहरू बन्दैछन्।

बेला कुबेला गाउँलाई ओभरडोज भइबस्छ
साहुलियतको एडिक्सनले
मात्तिन्छ गाउँ ।
भर्खरै खोलिएको ब्युटिपार्लर
नयाँ साइबर क्याफेबाट फर्किएको गाउँलाई
धुलो लाग्नसक्छ,हिलो लाग्नसक्छ
ड्योड्रन्टले पसिना छेक्नु थालेपछि
गाउँबाट स्वनिर्भरको बस्तीमा अनिकाल लाग्छ
युगौ पुरानो त्यो छिप्पट पौरख आफ्नो प्यारो गाउँ छोड्न बाध्य बन्छ।

*मनरेगा- महात्मा गान्धी ग्रामीण रोजगार ग्यारेन्टी

गान्तोक

Bhupin Byakul – Saancho

भूपिन ब्याकुल – साँचो

एउटा साँचो मैले तिमीलाई दिएको छु

म आँफै एउटा बन्द कोठा हुँ
कहिलेकाहीँ
आँफै खोल्न सक्दिन कोठाको ताल्चा
छिर्न सक्दिनँ कोठाभित्र
र छिरिहालें भने पनि
बुझ्न सक्दिनँ कोठाको मौन-ध्वनि

मैले पनि खोल्न नसकेका पानाहरु छन्
पढ
र सच्याउ यो कोठाको नमिलेको ब्याकरण
उडेको छ रङ भित्ताको
त्यसलाई मुटुको रङले सजाउ
बर्षौदेखि
काम चलाएको छु सीमित हावाले
झ्यालहरु खोल
र नयाँ हावा भित्रिन देउ
साँघुरो हुनसक्छ कोठा तिमीलाई
मसँग तन्किने भित्ताहरु छन्
यसलाई आफू अट्ने गरी तन्काउ

बन्द आफुलाई सम्पूर्ण खोल्न
कोही एकजनाको हात चाहिँदो रहेछ
कोही एकजनाको साथ चाहिँदो रहेछ

मलाई खोल्न
एउटा साँचो मैले तिमीलाई दिएको छु !

Narnath Luitel – Pinda Payou Ta

नरनाथ लुइँटेल – पिण्ड पायौ त ?

पढ्दै गएँ माक्र्सवादी साहित्यका कुरा
उन्कै भोगाइले काटे अध्यात्मका जरा
तिनै जरा समातेर तर्क गर्थें कैले
उनी हार्थिन् मजैसँग जितिदिन्थेँ मैले !

“पढेका छौ, बुझेका छौ, हामीभन्दा धेर
संस्कार र रीतिथिति तिमी आफैँ फेर
ज्ञान सिकी जीवनमा लागु गर्नुपर्छ”
भन्थिन् उनी “उम्रिन ता केही छर्नुपर्छ !

विचारका नयाँ बिउ तिमी छर छोरा
ठिँगुरिँदै जान्छन् पक्कै संस्कारका जरा
नझुक है कैल्यै तिमी आफ्नो आस्थासँग
जबरजस्ती नगरिद्यौ मेरो आस्था भङ्ग !”

उन्को यस्तो सोचाइ नै मेरो दर्शन बन्यो
सहिष्णुता सदाचारको मूलबाटो खन्यो
ठूलीभित्र बग्थ्यो सँधै संस्कारको खून
म चैँ फेरि कस्सिएथेँ रुढीबूढी धून !

कैल्यै ठेस लगाइनन् मेरो आस्थामाथि
मैले दोष लगाइन उनको आस्थामाथि
ठूली गर्थिन् पूजा वर्त सामान जुटाइदिन्थेँ
तीर्थ धाम जान्थिन् उनी खर्च पठाइदिन्थेँ !

मृत्यूसंस्कार बारे पनि कुरा गथ्र्यौं हामी
भ्रम हो भन्थेँ म ता तर आस्था मान्थ्यौ तिमी
“छोरा तिम्रो आस्था पनि बलियो छ भने
क्रिया–काज नगर भो, पिण्ड–पानी दिने !”

खोजिपस पाइन्न है भेट्न सितिमिति
कुन आमाले दिन्छन् होला यस्तो अनुमति
मलाई लाग्छ हारेँ मैले, भयो उन्कै जीत
उदार र महान्ताको गाउँछु उन्कै गीत !

धर्तीका ए आमा कुट्ने नालायक छोरा
बाँच्दासम्म राख्छौ जसले खानै नदिएर
धिक्कार छ, ढोँग तिम्रो कपाल खौरी हिन्छौ
मरेपछि पाउँदिनन् किन पिण्ड दिन्छौ ?

बाँचुञ्जेल आदर र माया स्याँहारेर
मन खुशी केमा हुन्छ सबै विचारेर
जीवन्दाता आमा नै हुन् सँधै सेवा गरौँ
ढोँग रची श्राद्ध हैन श्रद्धा गर्ने गरौँ !

आमा तिमी दुवै थियौ मेरा घाम जून
हृदयमा जतनसँग राखिदिन्छु गुन
गुन बैगुन अमरता, मान्छे अमर हैन
देखी स्वर्ग कोही पनि फर्किएको छैन !
यता दान गर्दा न त उता पुग्छ कुनै
विज्ञानले न त पुष्टि गरेको छ कुनै
चढाएथेँ फूल मैले के शिरमा लायौ ?
दाजुभाइले पिण्ड दिए के तिमीले पायौ ?

छानीछानी राम्रा–राम्रा चोला अनि सारी
लाउने भए पठाइदिन्थेँ गुण्टा कसी भारी
उठ्छन् मेरो कल्पनामा पानीका यी फोका
खानेभए बटुल्थेँ म फलफूलका डोका !

मलाई थाहा थियो तिमी के मान्दथ्यौ मिठो
पठाइदिन्थेँ बोरा बोरा मकै च्याँख्ला पिठो
पाउने भए यो धर्तीका चिज दिन्थेँ सबै
आफैँलाई नाङ्गो पारी सुम्पिदिन्थेँ सबै !

व्यर्थ अब तिमीलाई केही चाहिँदैन
यता जति थुप्रे पनि त्यता पाइँदैन
फेर्न सकेनछु मैले मेरै घर आज
गरिरेछन् कर्मकाण्ड भन्दै लोकलाज !

डो¥याउँदै छौ त तिमी वैतर्नीको गाई ?
बिरामी थ्यौ घाँस काट्न भन्यौ कसलाई ?
यी त सबै भन्ने मात्र संस्कारका बोट
उग्राएर बसेको छ गाई यहीँ, गोठ !

तिमीलाई अर्पेको त्यो पिण्ड, खलानमा
सुनाइरेछन् गरुडको पुराण दलानमा
खरानी नै बगिसक्यो अब कता झार्ने ?
मरिसक्यो मानिस जो अब कता तार्ने ?

मान्छे आफैँ इश्वर हो, खोज्छौ अन्ततिर
विज्ञानले नभेटेको कुन बस्तु छ र ?
मर्ने मान्छे कहाँ जान्छ भेटिँदैन किन ?
प्राण यतै घुम्छ भने देखिँदैन किन ?

मानिसले टेकिसक्यो ग्रह अनि तारा
चेतनाको भुङ्ग्रो छोप्ने अन्ध–परम्परा
शताब्दीका थोत्रा थाङ्ना लगाएर आगो
त्यसैमाथि खरानीमा खेल्न मन लाग्यो !

मृत्यूपछि जानुपर्ने छैन कुनै ठाउँ
म मर्दा चैँ कर्मकाण्ड विनै मर्न पाउँ
ज्यूँदो छँदै माया खोज्छ मेरो जिन्दगानी
चाहिँदैन मरेपछि मलाई पिण्ड–पानी !

३ भदौ २०६६
(आमाको स्मृत्तिमा रचना गरिएको शोककाव्य ‘ठूली’ बाट एक अंश)

Bhupin Byakul – Kiran Haruko Khel Bhoomi

किरणहरुको खेलभूमि

आँखीझ्यालबाट कोठाभित्र छिरिरहेका
ट्युवलाइटझैं
घामका किरणहरु
समात्न खोजिरहेको छ मेरो सानो छोरो
जसरी मा समात्न खोजिरहेको छु उसको बगलमा
कविताका त्यतै किरणहरु !

सोचिरहेछु –
उसले लठ्ठीझैं समात्न रहर गरेको
र समातेर खेल्न खोजिरहेको घामका किरणहरु
त्यहीं कतै उपस्थित छ जीवनको निख्खर अर्थ !

सोचिरहेछु –
किरणहरुको खेलभूमिमा
मैले पक्रिन खोजिरहेका र परपर सर्दै गइरहेका कविताका क्षितिजहरु
त्यहीं कतै उभिएको छ कविताको छायाँ !

असफलतासँग निस्फिक्री जिस्किएर
छोरा सङ्घर्ष गरिरहेको छ
किरणहरूको लठ्ठी समात्न
र त्यसलाई टेकेर धर्तीमा उभिन

ब्यस्त छु म
कविताका छायाँहरू पक्रन र त्यसलाई लगेर कसैको हृदयमा टाँग्न

सोचिरहेछु
जीवन अरु कुन बेला यति सुन्दर देखिन सक्छ ?

Badri Prasad Dahal – Srasta Ra Sirjana

बद्रीप्रसाद दाहाल – स्रष्टा र सिर्जना
(मधुपर्क बैशाख, २०६७)

स्रष्टाको तिर्सना मात्रै, कसरी बन्छ सिर्जना
आत्म-आवेग वा बेग, काव्य बन्दैन मूर्छना
छामी विगतको गाथा, वर्तमान रमाउँदा
‘कविता’ भविता बन्छ, चेतना मुस्कुराउँदा

पक्ष-पोषण ठूलाको, नगरुन् भक्ति-अर्चना
ढोंगी-रोगी न हृवौ स्रष्टा, सत्यको गर गर्जना
वादको खोरमा नाची, भाँची मूल्य र मान्यता
स्रष्टा दास बने मर्छ, सृष्टिकै भव्य सभ्यता

‘प्रतिभा’ सूर्यको दीप्ति, ‘अभ्यास’ सृष्टि-गाण हो
परिदृष्टि छ ‘व्युत्पत्ति’, स्रष्टा सृजन-प्राण हो
झरुन् पियूषकाधारा, तारा झैं शब्द चम्चम्
अप्सरा-पाउजूलाई, रचना गर छम्छम्

Pramod Dhital – Aama Ra Grihasthi

प्रमोद धिताल – आमा र गृहस्थी

गृहस्थी र आमाको साइनो
धेरै यूग पूरानो हो
आामाले गृहस्थी चलाउनुहुन्छ या
गृहस्थीले आमालाई चलाउँछ ?
यसको जवाफ छैन वहाँसँग
हरेक विहान
पूर्वक्षितिजमा पहेलो सूर्य नउघ्रदै
आमाले आगो सल्काउनुहुन्छ
या आगोले आमालाई सल्काउँछ ?
यसको हिसाब पनि छैन आमासँग ।

आमाले चलाउँदै जानुहुन्छ घरगृहस्थी यसरी नै
सँगसँगै पग्लदै जानुहुन्छ जसरी पग्लिन्छ एउटा सग्लो हिउँको ढिक्का
आकारवीहिन हुँदै अस्तित्व मेटाएर ।
पोखिनुहुन्छ करेसा बारीको माटोभरि
हरेक विहान देखि सुरु भएको जीवन
पोखिइरहन्छ ढोकाको संघार देखि पँधेरासम्म
चुलो चौको हुँदै
जुठेल्नोमा थुप्रिएका भाँडा वर्तनसम्म
रन बनका झाडीहरुदेखि गाउँघरका मेलापातसम्म
अहो, कोशीको गतिझैं बगिरहनुहुन्छ आमा
आफूलाई फिजाएर चारैतिर उर्वर बनाउँनुहुन्छ गृहस्थी
तर जीवनको खेत किन सँधै बाँझो हुन्छ ?
यसरी पग्लिएर पनि ।
कहिल्यै उठ्न सकेन आमाको सिंगो आकृति
स्वाभिमान झैं अग्लिएर ।

कर्तव्यको तातो बगरमा
एकनाश चलिरहने मेशिनझैं जीवन
विहानै झिसमिसेमा सूर्यको झुल्को भन्दा पहिल्यै उदाउँछ
हरेक दिन क्षितिजमा अस्ताउने घामसँगै अस्ताउँछ
बेहिसाब ज्यानमै सुक्ने पसीनाको सागरसँगै
आमाले कति पसीना बगाउँनुभयो ?
या आमालाई पसीनाले बगायो ?
आमाको अस्तित्वहीन जीवन देखेर
सोंचमग्न छु यतिखेर ।

आमाले जन्मेदेखि कति कर्तव्य निभाउँनुभयो ?
या आमालाई कर्तव्यले निभायो ?
यसको हिसाब छैन आमासँग ।

Matrika Pokhrel – Ma Desh Padhdai Chhu

मातृका पोख्रेल – म देश पढ्दैछु

म एक्काइसौं शताब्दीको विद्यार्थी
देशको इतिहास पढ्दैछु ।
देश गहिरिएर पढ्दैछु ।
देशलाइ पढ्दै जाँदा –
अक्षरहरू भित्रका पनि अक्षरहरू पढ्दैछु
सजिएका शान्तिका अक्षरहरू भित्र
किरिङ मिरिङ
अशान्ति र कोलाहलका चित्रहरू पनि हेर्दैछु ।
न्यायका शब्दहरू पढ्दा
जेल, नेल, बन्दुक र पुलिसका
यातनाहरू पनि भोग्दैछु ।
म एक्काइसौं शताब्दीको विद्यार्थी
देशको इतिहास पढ्दैछु ।

देश गहिरिएर पढ्दैछु ।
इतिहासका शब्दहरूभित्र खोज्दै जाँदा
राष्ट्रभक्ति जस्ता शब्दहरूभित्र
कोशी र जङ्गल बेचिएका
सहिछापहरू पनि देख्दैछु
देशलार्इ बनधकमा राखेका
सम्झौताका आला अक्षरहरू पनि देख्दैछु
जनभक्तका कानूनभित्र
युवाका रगत बेचिएका
राता टाटाहरूमा एक थोपा आँसु पनि खसाल्दैछु
म एक्काइसौं शताब्दीको विद्यार्थी
देशको इतिहास पढ्दैछु ।
देश गहिरिएर पढ्दैछु ।

Nirbhik Rai – Bishwa Yudhha Antim Bikalpa

निर्भीक राई – विश्वयुद्घ अन्तिम विकल्प(धन्य हुने नेता र वैज्ञानिक)

विश्वमा दैनिक पाँचलाख भुँडी घटे
सातलाख थपिँदा र पृथ्वीचाहिँ एकइन्च पनि नबढ्दा
वा बेलुन फुलाए झैँ पृथ्वीलाई फुलाउँन नहुने हुँदा
खरबौँ वर्ष पछि भए पनि
अन्न, फलफुल उभ्ने सबै खेतबारीमा र
पशुपन्छी चर्ने, डुल्ने, बस्ने सबै
जङ्गल, चौर, नागी, स्वाँरोमा घरहरु ठड्याइने
बगरमा ढुङ्गा खचाखच गर्खिए सरह र
छाना तैरिने झरीमा घुम ओडेको खेतालाको हूल झैँ
अन्न, फलफूल रोप्ने सबै खेतबारीमा घर रोपे पछि र
पशुपन्छी चर्ने, डुल्ने, बस्ने सबै जग्गामा
गाडी कुदे, गर्खिए पछि के हाली भुँडी कुहुन नदिने ?
भोकमा घरको भित्ता दार्ने, चाट्ने ?
मान्छेले घाँस खाई बाँच्ने क्षमता विकास गरे पनि
घाँस उम्रने ठाउँमा समेत घर उम्रने अन्त्यमा
चाहे खरबौँ वर्ष पछि भए पनि
कि त मान्छेको प्रजनन क्षमता धेरै र्‍हास हुनु पर्ने
जसले जन्मदर र मृत्युदर सन्तुलित भई भुँडीको समस्या टार्ने
नत्र अन्न, फलफूल, सब्जी, पशुपन्छी फल्ने
सबै ठाउँमा घर फलेपछि अन्तिम विकल्पको रुपमा
विश्वयुद्घ नमच्याई धर नपाइने खरबौँ भुँडी छाँट्न
त्यसैले विश्वयुद्घ झोस्ने नेता, परमाणुबम जन्माउने र
परिवार नियोजनको उपाय अविष्कार गर्ने वैज्ञानिक,
बिहा गर्न नसकेका वा नचाहेका मान्छे र
निसन्तान दम्पति कृतज्ञ हुनु पर्ने
विश्वयुद्घको चपेटाबाट उम्कनेहरुचाहिँ,
विश्वयुद्घको विनाशको दाँजोमा
भुँडी भर्ने मौका पाएको बरु भलो ठानी ।

१२ साउन २०६६, मनमैजु, काठमाण्डू
जन्मथलो -नेपालेडाँडा, भोजपुर

Sudarshan Shrestha – Samaya

सुदर्शन श्रेष्ठ – समय
(Source: मधुपर्क असार, २०६७)

समयले समर भन्न थालेको छ
कुकुरहरू बौराएर भुकिरहेछ
हत्केलाले छोप्न खोज्ने आगोको फिलिङ्गा
हात नै सबै डर्छ…डर्छ…
विराजमान छ कुर्सीमा मुर्कुट्टा
या भनूँ मुर्कुट्टा मुन्तिर कुर्सी
समय आफैँ नै जसरी तसरी आफ्नै गतिमा
चलिरहन्छ…..टिक….टिक….टिक….
विधुवा आमाहरू आफ्नो स्तन
मुख्याचालाई चुसाउन बाध्य छन्
बुख्याचाहरू कोलाहल गर्दै लड्न उद्धत छन्
कसले कोपर्न पाउने आमाको लाम्टालाई
स्यालले र्‍याल चुहाइरहेको बेला
अनिर्णयको बन्दी बनेर बालकहरू
गिद्धको छाक बनिरहेका छन्
र पनि समय
त्यसरी नै चलिरहेछ
गणतन्त्रको नाममा गणहरूलाई
नामेट पार्न
चलिरहन्छ……टिक…..टिक……टिक……
सिनो गनाएर आँगनहरू डढिरहेको बेला
भित्ता र छानासमेत सुरक्षित छैनन्
न्याय सूलीमा चढेर चिच्याउँछ आक्रान्त
चुलो चिसो भए तापनि धुरी
जलिरहेको बेला
बाँसुरीको मीठो धुनमा कानुन सुतिरहेछ
हत्यारा नै रक्षक भएको वर्तमानमा
निर्दोषहरू भट्टीमा दन्किरहेछ
आशाहरू पातालमा भासिए तापनि
समय….प्रत्येक क्षणमा पात्तिएर
चलिरहन्छ….टिक…..टिक….टिक….
निर्वस्त्र ख्याकहरू अर्कोको नाङ्गोपनाको
खिल्ली उडाउँदै आफ्नो उन्मत्तताको प्रदर्शन गर्छ
ढुसी परेको निर्विचार
खिया लागेको दिमागले
देश नयाँ बनाउने डुग्गी पिट्छ
जादुगरको पिटाराभित्र समस्या जकडिएकोझैँ
जादूको छडी घुमाएर फू-मन्तर गरिदिने ढोङ
चर्किएको अस्मितालाई अझ चर्काउन उद्धत साँढे
आफ्नो बलको घमण्डमा डुक्रिरहेछ
करोडौँ टाउकाहरूमा कैँयन लातहरूले
गिर खेलिरहेको बेला
समय चलिरहेछ
चुलिरहन्छ….टिक….टिक….टिक…..
हाडखोर मात्र बाँकी छ तिरस्कृत विश्वासको
आत्मा सबै प्लेटमा सजिएर ज्यूनारभइसके
कङ्कालले खै कसरी हल्ला गरुन्
पिचासको हातमाथि परेको बेला
छातीमा मुड्की बजारेर रगत छदाउँदै
तनतनी रगत पिएर मदमस्त भएकालाई
धुरी कटाउन कसले सकून्
कातर मन छिँडीमा लुकेर कसरी बाँच्दो हो ?
आगोको झोकामा नजल्ने को छ ?
त्यसैले
समयले मलाई पछ्याउनुभन्दा
म समयलाई उल्टाउन खोज्दै छु
हैँसे, होस्टेमा हैँसे….खप्परको दाउ राखेर
चलिरहन्छ….टिक…..टिक….टिक…..।

Dil Sahani – Ganatantra Ko Yatra

दिल साहनी – गणतन्त्रको यात्रा

कत्ति सुरक्षित छैन कमरेड
हाम्रो लोकतन्त्रको यात्रा
कत्ति संरक्षित छैन कमरेड
हाम्रो गणतन्त्रको यात्रा
जतिबेला पनि यो धरापमा पर्न सक्दछ
लक्ष्पमा नपुग्दै
जतिबेला पनि यो दर्ुघटनाग्रस्त हुन सक्दछ
खतरै खतराले भरिएको
बीच बाटोमा नै
जतिबेला पनि
चोर पर्न पनि सक्छन्
हाम्रो लोकतन्त्रको दुर्गम यात्रामा पनि
जतिबेला पनि
डाँका लाग्न सक्छन्
हाम्रो गणतन्त्रको जोखिमी यात्रामा पनि
कालाबजारी हुन सक्दछ
हाम्रो लोकतान्त्रिक गणतन्त्रको पनि
तस्करी हुन सक्दछ
हाम्रो लोकतान्त्रिक गणतन्त्रको पनि
हेराफेरी हुन सक्दछ
हाम्रो लोकतान्त्रिक गणतन्त्रको पनि
ब्लैकमेल हुन सक्दछ
हाम्रो लोकतान्त्रिक गणतन्त्रको पनि
जालसाझी हुन सक्दछ
हाम्रो लोकतान्त्रिक गणतन्त्रमा पनि
यसैले होशियार कमरेड
होशियार
होशियार कमरेड
होशियार
ग्रहण लाग्न सक्दछ
हाम्रो लोकतान्त्रिक गणतन्त्रको आकाशमा पनि
तुपारपात हुन सक्दछ
हाम्रो लोकतान्त्रिक गणतन्त्रको बाली नालीमा पनि
बज्रपात पर्न सक्दछ
हाम्रो लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा पनि
होशयार कमरेड
होशियार
जंगबहादुर फेरि जन्मिन सक्दछ
नारायणहिटी दरवारबाट पनि
जंगबहादुर फेरि जन्मिन सक्दछ
सिंहदरबारभित्रैबाट पनि
जंगबहादुरको कुनै अनिकाल छैन
जंगबहादुरको कुनै अभाव छैन
होशियार कमरेड
होशियार
लोकतान्त्रिक गणतन्त्रका साइत गरेका कमरेड
होशियार ।

Phanindra Raj Khetala – Paani Ko Swabhab

फणीन्द्रराज खेताला – पानीको स्वभाव
(रचना द्वैमासिक)

पानी,
पन्यालो, यौगिक वस्तु
जीवको जीवन रस,
भिरालो तिरको
आकर्ष मौलोमा
आफ्नो जीवन निरस्त पार्दै
कुनै बेला मरुभूमिमा अल्पिने
लुकुवा प्रकृतिको यो
कसरी महोदधि बन्यो –
प्रशान्त – ताल
महादेशको तरण ताल बन्यो,
हिले पोखरीमा बाँधिएको
जीव सृष्टिको साम्राज्य
अमीवादेखि हृवेलसम्म
डायटमदेखि सिकवायासम्म
पालेर पोसेर
सगरमाथा बनेको पानी
अस्मेल बन्दै
विनाश लीला थप्छ कुनै बेला ।
स्वभाव उसको आफ्नै हो
प्रकृतिको वरदान र
जो अकाटय छ,
चाहे त्यो देव वा दानव होस्
मान्छे होस् या पशु
पानी सबैमा छ
सबै पानीमा छन्
तर,
सुङ्गुरे पोखरीको पानी
वा
मन्दाकिनीको जल
अथवा
शिव-शिरोभागकी गंगाको पानी
पानी हो पानी ।
यो धरातलको
पचहत्तर प्रतिशत ओगट्ने
तेरो र मेरो झगडाको बीज – पानी
मान्छे र पशुको

जीव जगत्को अङ्ग-प्रत्यङ्ग भिजाउने
रसाउने
पानी हो पानी ।
मान्छेमा पानी छ, हुन्छ
हुनु पर्छ,
पानी बिनाको मान्छेमान्छे होइन,
पानी इज्जत-
शान र मान हो,
पानी मरुवा
त्यो त ढुङ्गा पनि होइन,
माटो पनि होइन
किन भने
ढुङ्गा, धूलो माटोमा पनि
पानी हुन्छ,
त्यसैले,
मानिसमा पानी चाहिन्छ ।
नेतामा पानी,
जेतामा पानी,
क्रेता र बिक्रेतामा पनि
पानी हुन्छ, हुनु पर्छ,
समाजको अङ्ग,
धाक, नाक
पानी हो
पानी बिनाको मान्छे
एलर्जी बन्छ,
आफ्नैलागि क्यान्सर बन्छ
स्वभाव विरुद्ध चल्ने को ?
जाने को ?
बाँच्ने र बस्ने को ?
मान्छेको स्वभाव पानी हो
शरीर, अङ्ग प्रत्यङ्ग सबै-
सबै पानी हो,
किनभने जन्मन, बाँच्न र मर्न पनि
पानी चाहिन्छ
हो, त्यसैले
पानी बिना मान्छे
शव बन्छ, मुर्दा बन्छ ।

Mahesh Prasain – Muffler Ko Bidurap

महेश प्रसाईं – मफलरको विदु्रप
(मधुपर्क भदौ , २०६७)

टिनको छानामाथि
कुनै कालो बिरालोसित
लुटुपुटु खेलिरहेको
जूनले
चाँदनी रातमा
अनायास
आत्महत्या गर्‍यो भने
समय
मौन
बस्न सक्तैन
कतिलाई,
यो कुरा थाह छ !
बिजुली चम्किनु
बादल गर्जिनु
र इन्द्रेणी
फाट्नु मात्र
युगान्तकारी आकाशको
शाश्वत
सिलसिला हुन सक्तैन,
मानिसले
मानिस हारेको
निष्प्राण
जीवनभित्र पनि
कोलाहल हुन्छ
क्रन्दन हुन्छ
द्वन्द्व हुन्छ
कम्पन हुन्छ
वेदनाको
ज्वालामुखी हुन्छ
ती सबै
राग अलङ्कारहरूलाई
कर्कश सङ्गीतका
धुनहरूमा
जडेर
कुनै विलासी
काव्य विम्बको
तार्किक
निष्कर्षमात्र
कबुल गरिन्छ भने
समय
मौन
बस्न सक्तैन
कतिलाई
यो कुरा थाहा छ
जूनको
आत्मदाह होस्
वा विलासी विम्बको
छद्म विघटन
अरुण वा तमोरको
उर्लंदो भेल
तर्नै लागेको
बिहानसित
मफलरमा
बेरिएको समय
एकैछिन पनि
पर्खन सक्तैन
कतिलाई
यो कुरा थाहा छ !

– शब्दघर, काठमाडौँ

Sudhir Chhetri – Ved Ra Kricket

सुधीर छेत्री – वेद र क्रिकेट

ससाना वैदिक टाउकाहरू
बालुवाको बगरमा क्रिकेट खेलिरहेछन्।
लामा उद्देश्यपरक दाह्रीले
गेरूवा-वस्त्रमाथि अल्झेको टाउकोबाट
योगको निमन्त्रणा दिइरहेछ।
पर पोखरीमा
छायॉं ढलपल गर्नु नै कत्रो अध्यात्म छ।
ताछेका टाउकाहरू
अहिले
विकेटहरूबीच कुद्दैछन्।

हरियो डॉंडाको समवेत गम्भीरताले
यो गुरुकुलको अनुशासन निक्कै बुझेजस्तो
हलुका टाउको हल्लाउँदैछ।
थप्पडीको सिम्फोनी,
उच्चारणको कोरस,
अर्थहरूको सारेगम।

आचार्यज्यू अलि लामो छुट्टी पाऊँ न !
परीक्षाको प्रश्न कठिन पाएर
एउटी बालिकाले आत्महत्या गरी। आज।
गुरूजी मरीमरी शङ्ख फुकिबस्छ।

Komal Shrestha Malla – Malami Ta Hunchha?

कोमल श्रेष्ठ मल्ल – मलामी त हुन्छ ??

तिम्रो कन्जुसी देखेर
के दंग हुनु मृत्यु ?
कहाँबाट लेख्न शुरु गरुँ
र अन्त गरु ?
यो बिन्दुको कुरा ।
न तौलन सकिन्छ
न जाँच्न सकिन्छ
न भाँच्न सकिन्छ
न साँच्न सकिन्छ
न मास्न सकिन्छ
अनन्त अनन्त
घाटहरुमा
चिहानहरुमा
चिताहरुमा
अज्ञात रहस्यको
बिजय उत्सव चलिरहन्छ ???
उस्को उत्सवमा !!
आँशु त हुन्छ ?
पीडा त हुन्छ ?
पानी त हुन्छ ?
खरानी त हुन्छ
मात्र बाँकी फिर्तीमा
मलामी त हुन्छ !!!!

Sarita Tiwari – Durga Kumari Lai Chithi

सरिता तिवारी – दुर्गाकुमारीलाई चिठी

दुर्गाकुमारी !
बिक्षिप्त शहरिया परिबेशदेखि
लेख्दै छु तिमीलाई यो चिठी

तिमीले उपहार दिएका
नुतन रहरका फूलहरु
मेरा अनुभूतिका बगैंचाभरी
एक्कैचोटी फुल्दै छन्
बरु ओइलिएछ
तिमीले मेरा स्वागतमा पहि-याएको
सयपत्री हार

दुर्गाकुमारी !
यो “लिखितम धनी ………”
तमसुक होइन,
तिम्रो र मेरो बिशुद्ध नाताको
घोषणापत्र हो

आखिर तिमीले पनि त महसुस
गरेकी छौ नी
कसरी बाँधिएका छौं हामी
सुरुप अनुभूतीका सर्बोच्च बन्धन भित्र

तब त
तिमीले-हामीले अैंचोपैंचो गरेका दुख:सुखहरु
हिउँ प्रदेशझैं बिल्कुल सेता विस्वासहरु
र गुलाबझैं ताजा मायाहरु
हरदम मेरा सम्झनाभरि कुंदिएका छन्
अरुहरुकै निम्ति
समस्त पग्लन सक्ने
ए, आमा दुर्गाकुमारी !
ए, छोरी र बुहारी दुर्गाकुमारी !
कति बीभत्स छ
तिम्रा जिन्दगीका जमिन्हारुको क्षयीकरण
कति भयंकर छ
तिमीभित्र शताब्दीदेखि दन्किरहेको आगो
रुनु जति रोइसक्यौ आजसम्म
अब त
आफ्नै निम्ति हाँस्नुपर्छ तिमीले
जीवनका उकाली-ओरालीहरु खेप्दै
खर्कमा होओस या टारीमा
पंधेरीमा होओस या बारीमा
आफ्नै उचाइको धौलागिरि हाँस्नुपर्छ
आफ्नौ जागृतिको स्वाभिमान बाँच्नुपर्छ

२०५५/०९/३०

Haribhakta Katuwal – Rahar

हरिभक्त कटुवाल – रहर

बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहा मरेका दिनहरुको।

खिया लागेका कलका पूर्जाहरु जस्तै
गणितका सूत्रहरु पनि साह्रै पुराना भैसके
रहर छैन मलाई बाँचिदिने
केवल इतिहासका पाना हरुमा,
मैले त बाच्नुपर्छ आउने दिनहरुमा
इतिहासभन्दा बढी अरु केही भएर
त्यसैले, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहा मरेका दिनहरुको।

फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ
बनिसकेको बाटामा हिड्नभन्दा
बाटो बनाउँदै हिड्न रहर लाग्छ।
इतिहासका ठेली होइन
एउटा कोदालो चाहिन्छ मेरो पाखुरालाई
योजना होइन
पैतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरालाई
र गर्नु छ भुक्तान जम्मै
धरतीले बोकाएका ऋणहरुको
बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहा मरेका दिनहरुको।