Sudha Kiran – Mechi Ma Dukchha Malai, Mahakali Ma Dukchha

सुधा किरण कंडेल सापकोटा – मेचीमा दुख्छ मलाई, महाकालीमा दुख्छ

मेचीमा दुख्छ छोरी, मलाई महाकालीमा दुख्छ
एस्सो कोल्टे फेरेझै गर्छु, फेरी सगरमाथा र कर्णालीमा दुख्छ ।
मेरा लाला-बालालाई बोक्दै उकाली ओराली गर्दा
कहिले पहाडमा दुख्छ छोरी, कहिले तराइमा दुख्छ ।
दु:खको बर्षा मै माथि नै भएझै लाग्छ
सम्हालिदै अगाडि बड्न खोज्छु, चसक चसक हिमालमा दुख्छ ।

सम्पन्नताका च्यादरले तिमीहरुलाई ढाक्न नसके पनि
सुन्दर र शान्ता कर्म थलो दिएकै थिए ।
एकतको मुहन फोड्ने, शन्तिका सन्देशहरु छर्ने
महान हस्तिहरु जन्माएकै थिए ।
पौरख गर्ने हातहरु त तिमीहरुका हुन्,
सुनौला फुल फुलाउने माटो मैले दिएकै थिए ।
फेरी किन मेरो जनकपुरमा ठोक्छौ, मेरो बाजुरामा ठोक्छौ
पल्टाई पल्टाई मेरो मनाङ र मुस्ताङमा घोच्छौ ।

पहिले म सुन्दर आनी शान्ता थिए, तिमीहरुको प्यारो थिए
छोरी, आज मलाई आफ्नै सन्तानका रगतले पोतेका छन् ।
मेरै मुटुमा आन्दोलनका चर्का नाराले घोचेका छन्
कहिले मेरो बागमतीलाई तर्साउदै, नारायणी हसाउ छन्
कहिले मेरो राते भिरलाई उठाउदै सगरमाथा भुकाउ छन् ।
मेरा अँग अँग दुखाउ छन् छोरी
मलाई पल-पलमा रुवाउ छन् ।

दुई ढुङ्गा बिचको सानो तरुल भएपनी
खुशी थिए म,
तर मलाई कहिले उत्तरबाट चुड्छन्,
कहिले दक्षिणबाट चुस्छन ।
आफनै आमको अस्मिता लुटिदा, टुलु टुलु हेर्ने मेरा सन्तान देख्दा
दुख्छ छोरी मलाई,
कहिले मेचीमा दुख्छ, कहिले महाकालीमा दुख्छ ।

सन्देश पाएकी थिए, मलाई मै भित्रबाट चुड्दैछन अरे
मेरा आफ्नै छोरा नातिहरु फुटेर अंसको माग गर्दैछन अरे ।
बिबश छु म, छोरी लाचार छु
चिराचिरा भएर बच्नुको पिडाले सताउदा
मलाई कहिले मडिमा दुख्छ छोरी कहिले बेनिमा दुख्छ

छोरी, देश प्रेमीहरु कोही होशमै छन भने
मेरो मुटु पोल्ने काहानी सुनाइदेउ
भनिदेउ म सिकिस्त बिरामी छु
कहिले मेचीमा दुख्छ मलाई, कहिले महाकालीमा दुख्छ ।

Rakesh Karki – Hiun Pare Kasto Hola (Nepali Baal Gajal)

इन्जिनियर राकेश कार्की – हिउँ परे कस्तो होला (बाल-गजल)

हिउँ परे कस्तो होला
छे्उमै झरे कस्तो होला

फुस् फुस् रूई जस्तै अहो
पोल्टा भरे कस्तो होला

हिम घर बनाएर
फु फु गरे कस्तो होला

हात गोडा फिँजाएर
लडी छरे कस्तो होला

हिँउको त्यो चउरमा
मने चरे कस्तो होला

माथी फ्याँकी हिउँ डल्लो
ठाउँ सरे कस्तो होला

लेखे जस्तै सुने जस्तै
देखे हरे कस्तो होला ।।

– लस् एन्जेलस्

Rajendra Shalav – Aama

राजेन्द्र शलभ – आमा

सूर्यजस्तै ठूलो रातो टीका
निधारमा लगाउँदा
मेरी आमा साह्रै राम्री देखिनु हुन्थ्यो ।
संसारकै सबभन्दा तेजस्वी स्वास्नीमानिस
तर बुवा बित्नु भएपछि
आमाले रातो टीका लगाउन छोड्नु भयो
बिना टीका मलिन देखिन्छ आमाको अनुहार ।

जबजब गोधुलीको बेला
निधारमा सूर्यको रातो टीका लगाएको
आकाशलाई देख्छु ,
म आमालाई सम्झन्छु ।
रातो टीका लगाएको
आकाश पनि राम्रो देखिन्छ
तर, आमा जत्तिको राम्रो होइन ।

Gopal Jhapali – Khai Ma Ke Garchhu

गोपाल झापाली  – खै म के गर्छु

घाम झकाएको बेला,
जून ब्यूझिएको बेला
मेरो यात्रा शुरु हुदै थियो
दोबाटोमा टक्क अडिएर सोध्यौ,
कहिले फर्कन्छौं ?
म त घाम खोज्न र जून भेट्न
हिडेको मान्छे
अर्थात मेरो ओडार भित्र
मुसुक्क मुस्काउने ज्योती लिन
हिडेको मान्छे
खै कहिले आउ“छु,कहिले फर्कन्छु ।

कोपिला हा“स्न लागेको बेला
फूल भाग्न खोजेको बेला
म बगैंचामा पस्न खोज्दै थिए,
मुल ढोकामा बाटो छेकेर सोध्यौ
के लिएर आउ“छौ ?
म त का“डा भित्र बाट थुङ्गो लिन र
थुङ्गो भित्र बाट का“डा फाल्न हिडेको मान्छे
अर्थात का“डो नभएको फूल र फूल नभएको
खोज्न हिडेको मान्छे
खै के लिएर आ“उछु,के दिन आ“उछु ।

म त नौं महिना देखि रजश्वला रोकिएकी स्त्री
आङ्खनो संगै अर्को प्राण बोकेर हिडेकी गर्भिणी,
हिजो सम्म आगो निलेर अंगार निकाल्ने मान्छे
ब्यथाले च्यापेर मुटु चर्किएको बेला
नाडी समातेर आ“खा जुधाएर सोध्यौ,
के जन्माउ“छौ ?
म त अचेल बरफ निलेर पानी निकाल्न
नसक्ने भएको बेला,
अर्थात प्राण निचोरेर मेरो बिंडो थाम्ने
उत्तराधिकारी पाउन लागेको बेला
खै के जन्माउ“छु,कस्तो जन्माउ“छु ।

Ashank Upadhyaya – Yaad Aaunchha (Nepali Gajal)

आशांक उपाध्याय – गज़ल – याद आउँछ

जब हेर्छु झुल्के घाम तिम्रो याद आउँछ
लेख्न खोज्छु आफ्नै नाम तिम्रो याद आउँछ

परेलीको तीर सुक्यो तिमीलाई सम्झी
गर्न खोज्छु केहि काम तिम्रो याद आउँछ

न बिरानो हुन सके न आफन्त मान्छ्यौ
भुली सके आफ्नै गाम तिम्रो याद आउँछ

आँखा खोज्छ तिम्रो चित्र मन भन्छ अब
भुल्न गर्नु छल छाम तिम्रो याद आउँछ

छाती भित्र नदेखीने गरि बसी सक्यौ
मेट्न खोज्दा मनको डाम तिम्रो याद आउँछ

Rakesh Karki – Binti (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – बिन्ती (गजल)

नसोध मेरो जात बिन्ती
नछुटाउ मेरो हात बिन्ती

हाँसीरहन देउ मुटुलाई
नगर कत्ति घात बिन्ती

झ्याङि्न देउ जीन्दगानी
नचुँड एउटै पात बिन्ति

खुशीले फिँजाउ फूलैफूल
सजाउ मेरो रात बिन्ती

चाखी राखन देउ जवानी
लाग्नदेउ मलाई मात बिन्ती

Kabita Thapa – Timro Saath (Nepali Geet)

कविता थापा – तिम्रो साथ (गीत)

खुशी बाँडि राख
तिमी हाँसि राख
तिम्रो हरेक हर्षसंगै
म मुस्कुराइरहने छु

उमङ्गले झुमि राख
तिमी नाचि राख
तिम्रा मोहक नृत्यसंगै
म ताल मिलाइरहने छु

मनमा छोइ राख
तिमी गाइ राख
तिम्रा मीठा धुनसंगै
म गुन गुनाइरहने छु

प्रीत सजाइ राख
तिमी साथ दिइराख
तिम्रा ढुक ढुकीसंगै
म माया गरिरहने छु

– क्यालिफोर्निया

Chaitanya Adhikari – Barsha

चैतन्य अधिकारी – वर्षा

वर्षा भैरहेछ,
छड्के कोण पारेर
झ्यालबाट आकाशतिर, बादलहरुतिर चियाउँदा
आँपका पातहरुमा पटपट बजिरहेको पानी
र बलेंसिमा चुहिरहेको स्यार्र स्यार्र,
फूलहरूमाथिबाट बिस्तारै कुदिजान्छ बतास
अध्यारो र उज्यालोको दोसाँधमा
ओत लाग्न भुर्र उडी आउछन चराहरु
र बिस्तारै पिंग खेल्छन नरिवलका पातहरु
मौन भएर पनि कति संगीतपूर्ण छ आजको दिन
फेरि मलाई मेरो गाउँको याद आउँछ
असार साउनको सम्झना हुन्छ
स्याखु ओढेर धान रोप्दै होलान रोपाहारहरु
पानी छहलिइरहेको होला खेतका आलीहरुबाट
र राग घंकिदै होला असारे गीतको
मूल फुटे होलान चौर पाखाहरुमा
र पातहरु बगाएर कुलो पछ्याउंदै होलान केटाकेटीहरु
हिलो कुल्चिदै रमाउंदै होलान
जीबनको रमाइलो गतिशील हुनुमै छ
उठ्नु, दौडनु र अघि जानुमै छ
कहिलेकाहीं फूलको मनलाई आफ्नो मनसँग मिसाउनु
कहिलेकाहीं पहाडको हृदयसंग आफ्नो हृदय साट्नु
कहिले आफैं बतास भएर उड्नु
कहिले आफै फेवाताल भएर रुक्नु
र स्वयम्भूका आँखासंग आँखा जुधाउनु
फेरि मलाई मेरा भन्ज्यांग चौतारीहरुको याद आउँछ
मेची किनारदेखि काली बगरसम्म सम्झना आउँछ
कपास छरेजस्तै फुस फुस बर्षिरहेको पानी
छाँगो खसेजस्तै दर्र दर्र बर्षिरहेको पानी
आकाशले पोल्टामा कति साँच्न सक्यो होला बर्षात ?
कसले गर्जने होला त्यति साह्रो !
कसले झिम्काउने होला चट्यांग बिजुली
कौशीमा उभिएर क्षितिजतिर टोलाउँदा
घामको अत्याचारले पिल्सिएका खेतहरु
बतासको क्रुरताले सुकेका सयपत्रीका ओठहरु
र चराचर काकाकुलवत प्राणीहरु
हात फैलाएर स्वागत गरिरहेछन् बर्षातको
निथ्रुक्कै चप्लक्कै भिजेर / थापिएर
कृतज्ञता दिईरहेछन बर्षातलाई
कर्कलाका पातहरुमा मोति बनेको पानी
छानाहरूबाट तप तप खसिरहेको पानी
फेरि मलाई मेरो जन्मथलोको सम्झना ल्याउँछ
फेरि मलाई आफ्नै पाखापखेराको याद दिलाउँछ !

पोखरा

Rakesh Karki – Bidhuwa

इन्जिनियर राकेश कार्की – बिधुवा

कहिले सरकार पक्षको गोलीले
कहिले सरकार विरोधी टोलीले
श्रीमान् मारीयो, दु:ख बिर्सिगो
बिधुवालाई बाँच्नु पर्ने कस्तो दु:ख यो

डालो, नाङ्लो, कसौँडी रित्तै छरियो
लडीबुडी काखे बच्चा, दूधै रोकियो
छोरा छोरी भोकै रोको हेर्नै गारो
बनी गर्ने मरि गयो छैन चारो

धेरै पढेकि भए हुन्थ्यो जागिर
तर पढेकिलाई पनि छैन जागिर
लामो जिन्दगीको दु:ख हेरि सहनु पर्छ
रित्तो टपरी दुनोमा वेदना मात्र झर्छ

जति रोए पनि आँसु सकिन्न
श्रीमन्तले छोडि गयो फेरि फर्किन्न
मार्नेको जित भयो, मर्ने शान्त भो
बिधुवाको मुटु रुँदै चल्ने भो

Pawan Bhandari Kiran – Mero Nipunata

पवन भण्डारी किरण – मेरो निपुणता

रङ्गीचङ्गी फूलहरूको सौन्दर्य
सेतो हिउँको चिसो सुभाष
सानो चरिको मीठो चिरबीर
उतार्न खोज्छु मेरो क्यानभाषमा
तर असफल हुन्छु– पहिलेजस्तै।

स्वर्ण खुसीको स्वर्गीय वर्णन
न्यानो मायाको मीठो आभाष
दूर क्षितिजको सितल छहारी
उतार्न खोज्छु
उही मेरो क्यानभाषमा
पुनः असफलता चुम्न पुग्छु।

प्रकृतिको निर्मल सुगन्ध
रङ्गिन पुतली र फूलको लुकामारी
परदेशीको मातृशोक
वर्णन गर्न खोज्छु– मेरो क्यानभाषमा
असफलता पहिले जस्तै।

स्वदेश प्रेमले आशक्त मुटु
अशान्ति र मातृभूमिको रोदन
युद्ध र वियोगका आँशुहरू
टिप्न खोज्छु मेरो क्यानभाषमा
तर असफलताले जित्छ मलाई।

अब त म खुसी जेमा भेट्छु
उसैमा लागिरहन्छु
त्यो जनपक्षीय हूलमा
म पनि मिसिन्छु र निरन्तर
एउटै नारा भट्याइरहन्छु
नयाँ युगको

Mohan Rai Pardeshi – Pahadki Raani Darjeeling

मोहन राई परदेशी – पहाडकी रानी दार्जीलिङ्ग

विहानीको सिरोटोले मुटु कामे पिन
सानो रेलको आवाजले कानै दुखाए पिन
मन भित्र कुन्नि थाहै नपाई
त्यो बतासेको रेलले मन चोरिसकेछ
अनि ती चियाबारीका पातहरुले
छाती भित्र अमिट छाप छोडिसकेछन् ।

त्यो अन्धेरी सुनसान रातमा पिन
एकोहोरिएर हेर्न मन लाग्छ तिमीलाई
आकाशको तारा पो धरतीमा खस्यो की जस्तो
तिहारमा परदेशी भाईको गला भरि सजिदिने
सयपत्री र मखमलीका थंुगाहरु पो फुले की जस्तो
शुन्यतालाई चिर्दै टिलपिलाइ रहेको ती बत्तीहरु
मुटु काम्ने चिसो हावा चल्दा पिन
टाइगर हिलमा उभिएर सूर्योदयको दृश्यलाई हेर्न
मन छट्पिटंदो रहेछ ।

अनि ती सल्लाघारीहरु भित्र सुसेली मार्दै
हिउँको कठङ्गगि्रने जाडोमा पिन
सेतो हिउंको डल्लाहरु सँग मन खेल्दो रहेछ
अनि लाली गुराँसका ´्याङ्ग भित्र
लुकामारी खेल्न मन आतुर हुँदो रहेछ
हिमालय पर्वतमालाको काखमा
नव दुलही जस्ती सजिएर
बादलको घुम्टो भित्र हराउँदै
मुसुक्क हाँसीिदंदा साँच्चै
स्वर्गकी अप्सरा जस्ती देखिन्छ्यौ दाजिर्लिङ्ग
अनि
सुहागरातको पि्रयसी जस्ती
सुस्तरी लजाउँदै
लाखौं लाख पाहुनाहरुलाई
आफ्नो न्यानो अँगालो भित्र कस्सिइरहेछिन्
मेरी पहाडकी रानी
दार्जीलिङ्ग ॥

-पाख्रीबास ३
धनकुटा नेपाल

Dambar Chaulagain – Malai Naroka

डम्बर चौलागाइं – मलाई नरोक
(Source: मधुपर्क जेठ, २०६९)

युद्धको सुर्केनी
बुद्धको घाँटीमा कस्सिएको स्वयम्भुको टुँडालबाट
सर्वाङ्ग एक्लिएको नयाँ संविधान
हामीलाई भाषण पस्किएर
आफू रासन भकुर्नेहरुको
देशको कथा लेखिरहेछु
मलाई नरोक !

रगत, आँसु र पीडाका
धारामा मुछिदैं
ज्ञात अज्ञात सहिदहरुको चिहानमा
श्रदाञ्जलि अर्पण गर्दै
पीडाको गीतलाई पगालेर
तुँवालै तुँवालेले भरिएको
देशको कथा लेखिरहेछु
मलाई नरोक !

धनियाँ र फुलमाया
गुँडतिर र्फकर्दै गरेको परेवा
मान्छेको बथानले लखेटेको
हिमाली जलस्रोत जस्तै
ऋणले खोला बगेको
देशको कथा लेखिरहेछु
मलाई नरोक !

कृष्णभीरको पैरोझैं भास्सिएर
तामाकोशीको बाढीझैं बगेर
तन्नेरी पाखुराहरु पलायन भएको
निमुखाहरुलाई कष्ट हुँदै
नयाँ तस्करहरु मौलाउँदै गरेको
मन्द ग्रस्त देशको कथा लेखिरहेछु
मलाई नरोक !

अपमानित सम्पन्नताभन्दा
सम्मानित विपन्नता प्यारो लाग्छ
म मेरै स्वतन्त्र देशको कथा लेखिरहेछु
मलाई नरोक !

Manu Brajaki – Jati Dherai Afulai Kelaunchhan (Nepali Muktak)

मनु ब्राजाकी – जति धेरै आफुलाई केलाउँछन्

जति धेरै आफुलाई केलाउँछन्
त्यति धेरै तिमीलाई खेलाउँछन्
मरेपछि स्वर्ग जाने ढल जस्तो-
बागमतिमा आफूलाई सेलाउँछन् ।

Dipendra KC – Prasthan Kaksha Bata

दीपेन्द्र के.सी. – प्रस्थान कक्षबाट

के सोच्छन् होला ?
आमाको फेर समातेर
प्रस्थान कक्षको छेउ उभिएका
अवोध वालकहरु,
रसिला आँखाहरु हेर्दै गरेका
आमाहरु,
विहेको हप्तैदिन नवित्दै
रातै साडीमा
विदाईको लाइन उभिएका
नवदुलहीहरु ।
एकलर्को मालामा
सम्झना उनेर
श्रमवजार डुव्न हिडेकाहरुलाई
ओइलाएर सुन्दरता त्याग्नै आँटेको फूलजस्तै
लहरै आँधी खेपेका अनुहारहरु
के सोच्छन होला ?
मनभित्र करौंती चलाएर
विदाईका हात हल्लाउनेहरु
सपना वोकेर उड्छन कि ?
सपना त्यागेर उड्छन कि ?
सपनाहरु त्यहीं छोडेर उड्छन कि ?
श्रपित देशको
फोस्रो स्वाभिमानी राष्ट्रिय गीत गाउदै
के सोच्छन होला ?
प्रस्थान कक्षको छेउ उभिनेहरु ।

फेरि आउलान कि ती ?
सिद्रा झैं सुकेर
जीवन हारेका माछाहरु झैं
हरियाली वेचिसकेका
गुन्द्रुक झैं
टुक्रा टुक्रा भएर सीसाझैं
रेमिटयान्सको धारमा रेटिदै ।

साँच्चि !
के सोच्छन होला ?
आकाशको सानो झयालबाट
हावामा देश नियाल्नेहरु

सपनाहरु हावामा उडाएर फर्कनेहरु ।

बागलुङ , हाल ओस्टण्डे बेल्जियम ।

Tanka Subba – Hatharu

टंक सुब्बा – हातहरु

हातहरु
उठार्इरहेकाछौ धेरै पहिले देखि
उनीहरुको विरुद्धमा
किनभने हामीलाई
हाम्रो हात चाहिएको थियो
हाम्रो आवाज चाहिएको थियो
हाम्रो स्वतन्त्रता चाहिएको थियो
किनकी यी हातहरु हाम्रो भएर पनि
हाम्रा भएका थिएनन्
आज तिनै हातहरु
उन्मक्तीका साथ उचाली रहेकाछौ
त्यसरी उठीसकेका हातहरु
अव कहिल्यै गल्दैनन्
अव कहिल्य ढल्दैनन्
अव कहिल्य झुक्दैनन्
अव कहिल्य फुट्दैनन्
अव कहिल्य लुक्दैनन्
किनभने हातहरु पहाड वनेर उठीसकेकाछन्

हातहरु
गाउँ वस्ति शहरवाट उठेकाछन्
हरेक तह र ताप्कावाट जुटेकाछन्
देशको अङ्ग अङ्गवाट ब्युँझेकाछन्
हिमाल पहाड तर्राईवाट जागेकाछन्
जुनवेला हातहरु सत्ताका साङलाहरुले
वाँधिएका थिए
आज तिनै हातहरु उन्मुक्तीको लागि उठेकाछन्
अव यी हातहरु यसरी नै उठ्नु पर्छ
अव यी हातहरु यसरी नै जुट्नु पर्छ
गाउँ वस्ति शहरवाट
हरेक तह र ताप्कावाट
देशको हरेक अङ्ग अङ्गवाट
वहुल विचार भएर उठ्नु पर्छ
वहुल जाति धर्म संस्कृति र भाषा भएर उठ्नु पर्छ
समावेशी र संघीयताको पक्षमा जुट्नु पर्छ
किनकी तिनै वहुल हातहरुको संरचनाले वनेको छ यो देश

हातहरु
आज अस्तित्वको युद्ध मोर्चामा छन्
आफ्नो नश्लको अभियानमा छन्
जहाँ कहिल्यै नदेखिएका हातहरु देखिएका छन्
जहाँ कहिल्यै नसुनिएका आवाजहरु सुनिएका छन्
यसरी सदियौं देखि उठेका हातहरुलाई
दमनकारी हातहरुले
दमनको ज्वालामा कतिलाई होमे
दमनको संगीनमा कतिलाई घोचे
तर हातहरु उठी नै रहे
परिवर्तनशील समयले
हातहरुका विरुद्ध
हातहरु नै उठी दिएपछि
साथहरुका विरुद्ध
साथहरु नै जुटी दिएपछि
ढलेकाछन् दमनकारी हातहरु
गलेकाछन् दमनकारी ती हातहरु
डढेकाछन् दमनकारी ती हातहरु
हारेकाछन् दमनकारी ती हातहरु
यसरी स्वतन्त्रता लागि
र्सार्वभौमको लागि
स्वभिमानको लागि
अस्तित्वको लागि
कहिल्यै नढल्नेगरि उठेकाछन् हातहरु

हातहरु
हतियार हुन् आफ्नो विरुद्धमा
उभ्नेहरुको लागि
हातहरु
कलम हुन् साँचो र्इतिहास
लेख्नेहरुको लागि
त्यसैले हरेक देशमा परिवर्तनको लागि
हातहरु उठेका हुन्छन्
त्यसकारण यो देशमा पनि हातहरु
धेरै पहिले देखि उठेका हुन्
धेरै पहिले देखि जुटेका हुन्
किनभने सवैलाई विश्वास थियो
यसरी उठि सकेका हातहरुले
देशको मुहार फेर्नेछ भनेर
देशको पुन निर्माण गर्नेछ भनेर
तर्सथ हाम्रा हातहरु आजभोलि
हाम्रै भएकाछन्
अव कसैले जोरी नखोजे हुन्छ
हातहरुसँग
किनभने हातहरु व्युँझि सकेकाछन्
गाउँ वस्ति शहरवाट
हरेक तह र ताप्कावाट
देशको हरेक अङ्ग अङ्गवाट
अव कसैले छेक्न नखोजे हुन्छ
किनकी हातहरु स्वतन्त्र भैसकेकाछन्

Sunil Limbu – Kewal Aanshu Le Matra Metine Chha

सुनिल लिम्बु – केवल आँशुले मात्र मेटिने छ !!

चिच्याइ चिच्याइ निका-ल तिम्रो,
लाचार गुहारका बेदनाहरू,
हाँवा, आँधी-बेरीलाई सुनाउ,
तिम्रो युगौ युगको शिकयतहरू,
गाउ, हल्ला गर या कवितामा सजाउ,
सुत्न नदेउ विवेकलाई ।

कराइ कराइ ची-र छाती, देखाउ
रोकिएको छैन धढ्कन तिम्रो,
बल्दछ ह्रदय तिम्रो अझै,
आलो रगत समेटेर,
अझै साँस बाकी छ तिम्रो,
केही अन्तिम पाइला चाल्नलाई ।

तिम्रो रगतको पाइलाहरू,
केवल आँशुले मात्र मेटिने छ !
केवल आँशुले मात्र मेटिने छ !!

(Sent to Sanjaal Corps via Email)

Ram Prasad Prasain – Sucide Note Mathi Ko Jiwanbodh

रामप्रसाद प्रसाई – सुसाइड नोटमाथिको जीवनबोध

To philosophize is to learn how to die.*

को
प्रस्तावनाले
समग्र जीवनको लक्ष्य मृत्यु#
अनि फेरि अमृत्यु किन त?!
हो, त्यसैले
दार्शनिकीकरण गर्नु
बराबर मर्न जान्नु*
भएकाले होला
हिँड्दा हिँड्दा
भिन्न समय र स्थानमा
भिन्न भिन्न आयतनका
शिल्करोडहरू
चियाउँछन्—
चिच्याउछन्—
हम्मुराबी१का आचार सँहिताहरू
आचार सँहिताभित्रका हम्मुराबीहरू
समयका गर्भमा
रोपिइएका कोत र भण्डारखाल पर्वहरूमाथि

युगको आकाश मध्ये भागमा रेटिइएपछि
नाइल सभ्यता बग्थ्यो, बग्छ र बग्नेछ-ले
चेतनाका मृत विम्वहरूमाथि टेकेर
मान्छेका मात्र अस्थिपञ्जरहरू
खप्परभित्रका आकृतिहरू, प्रतिकृति र प्रतिरूपहरू
निरन्तर निरन्तररूपले
सिर्जिरहन्छन्—
सिर्जिरहनेछन्—
पिरामिडहरू
आस्थाका
अवस्थाका
अराजकताका
किनकि
फिराऊनहरू२ गाइरहनेछन्
निरोहरूको चमेनागृहमा
दुःखी सेनेका बनेर१०, ११

मेसोपोटामियाको
बलेसी र सिकुवामा बसेर
सोच्दा हुन्
नेबुचादनेजारहरू३
आफ्ना मानसपुत्रहरू
झुलाउँदै
फुलाउँदै
फलाउँदै
औँठाछापहरूको
ठप्पा लगाउँदै
इतिहाँसका झुलनबागहरू४माथि

सभ्यताका व्यास र हेरा५ गुफाभित्र

योगातीत
भावातीत
जीवनातीत

समय र सन्दर्भको
अक्षरब्रह्म६ खिप्दै रहेका
सुकरात हजुरबाहरू
हातभरि घुङरिङ्ग र सेउली लिएर
दौडिरहेछन्
म्याराथुन
प्राचीन युनानी ओलम्पस पहाड
देखि
सगरमाथा फेदीसम्म

शिरभरि छपक्कै छोपेका
जट्टाहरू पछाडि झड्कार्दै
लामा लामा दाह्री मुसार्दै
अघि अघि
बुर्लुक्क बुर्लुक्क
उफ्रिरहेका बाख्राका पाठाहरू
पछि पछि
प्लेटो, अरस्तु र सिकन्दर महानका सहपाठीहरू
लाग्छ,
जीवन्त छ मुत्यु
सदाबहार छन्
अजीवन=अमृत्यु
श्रष्टाका अमरताहरू
यो बोधिवृक्षमुनिको नाट्यशालामा
छरिइएका
सुकरातका
कतै ‘आइडिया’७का छापहरू, छायाँहरू अनि छालहरू
खसाए होलान् कतै दौड्दा दौड्दै
ग्रेटवाल
अनि
युफ्रेटिसको पटाङ्गिनीभरि

मृत्यु असहज छ
सहज छैनन्
अमृत्युहरू पनि
जीवन एउटा प्रक्रिया
मृत्यु सहजीकरणको

विचार मृत्यु
दर्शन मृत्यु
प्रत्येक अस्वीकृति विचार
बस्
स्वीकृति त मान्यता
एक स्वयंसिद्ध तथ्य
अनि प्रत्येक पूर्णविराममाथि प्रश्नवाचक
विचार निर्माण हुन्छ
विनिर्माण हुन्छ
अस्वीकृत हुन्छ
तर
बिनाश हुन्न
हुन सक्दैन पनि

आत्म स्वीकृति

आम स्वीकृतिको
द्वन्द्वत्मकतामा

हेमलक विचार
विचार हेमलक
त्यसैले त यहाँ
विचार यमलोक भएथ्यो
एकाडेमी र लिसियमका
दार्शनिक वाटिकाहरूमा८
सुकरात विचार हो
विचार हाँसी हाँसी मर्छ
हेमलक६ पिएर
असत्यहरूका दागबतीमाथि हाँस्नलाई

उज्यालाका सलेदा
हाँसी हाँसी निख्खर
बन्दछन्
प्रमिथियसको जीवन ज्योतिमा
हेमलक, यार्सागुम्बा, पाँचऔँले, पाखन्बेद, बिखुम्मा
पाइला पाइलाका
म्याराथुनमा
अभ्यस्त सुकरातहरू
बिषका प्यालामाथि
नापिरहन्छन्
जीवन

जीवन—
नाचिरहन्छ
अस्तित्व—
मुस्काइरहन्छ,
युग युगको दार्शनिक ढाँचामा

प्रलय-लय-विलयका नेपथ्यमा
बिगब्याङ्गको महाविष्फोटले
आज
मूर्तिवत् मान्छे
मान्छेवत् समय

रूमलिँदा रूमलिँदै
ज्ञात अज्ञात चक्रवातहरूमा
मोतीहरू अविरल भासिरहेछन्
प्रबास प्रलापका गहिराइहरूमा
प्रज्ञा प्रबोधनका अज्ञापित पीँधहरूमा
क्षत विक्षत विक्षिप्त समयका
सिकारू अनि विज्ञ आलाकाँचा शल्यक्रियामा

त्यसैले
अबोध घुम्टाहरूबाट, सनपाटका बोराहरूबाट, धुम्म आकाशका घुमहरूबाट
शँखघोष गरिरहनेछन्
युयुत्सुहरू
जिजीविषाका दिउलहरू खन्नलाई
खातका खात सुसाइड नोटहरूमाथि
किनारैबाट
साक्षी बकिरहन्छ, जीवन
आफ्नै मृत्युशैय्यामा
स्वयँ
‘ऊ’
आफैं
हो,
एक
चश्मदिद गवाह
किनकि
क्षेत्राधिकारीहरूको क्षेत्र अतिक्रमण भयो

बिटुलिदैछन्
बरालिदैछन्
बहकिदैछन्

विस्मृतिको रसपानमा
धुमिल, अर्ध/नग्न
स्वभक्षणा तथा आत्महन्ताका करबीरे मसानहरू

असहज सत्य
उही उपसंहारभित्र
अनन्त जीवनको पराग

Cowards die many times before their deaths;
The valiant never taste of death but once.**

अपठ्यारो यथार्थ
‘एक सुकराती विडम्बना’।***

पाद टिप्पणीहरू:

* Cicero

** William Shakespeare

*** Socratic Irony

# Sigmund Freud

१. Hammurabi is known for the set of laws called Hammurabi’s Code, one of the first written codes of law in recorded history.

२. Pharohs, who are called Firaun in Arabic, esp. in The Holy Qur’an. They ordered to make pyramids in Egypt Peninsula.

३. Nebuchadnezar suggested to prepare the Hanging Garden.
४. the Hanging Garden

५. the Hera cave where prophet Mohammed received divine words of the Koran.
६. Logos

७. प्रत्यय or Idea, edos, telos, truth, god, etc.

८. Plato’s Academy, Aristotle’s Lyceum and Followers in the Roman Empire were known as the Garden Philosophers.
९. Socrates was poisoned to death with Hemlock.
१०. Nero
११. Seneca whom Nero compelled to suicide.

अक्टोबर १० सन् २०१०
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
अबुधाबी श्रमशिविरबाट।

(Sent to Sanjaal Corps via Email)

Yagyesh Dhwoj Karki – Jaat Jaat Bhanne Lai

यज्ञेशध्वज कार्की – जात-जात भन्नेलाई

जात-जात भन्नेलाई
झूटो धर्मको मात लागेको छ,
जात-जात भन्नेलाई
अन्धविश्वासको बात लागेको छ,
जात-जात भन्नेलाई
अनेकताको घात लागेको छ,
किनभने जात-जात भन्नेलाई
समाजमा एकता वाहियात लागेको छ।

Komal Shrestha Malla – Ma (Muktak)

कोमल श्रेष्ठ मल्ल – म (नेपाली मुक्तक)

अचेल दिनहुँ
झर्न थालेको छु ?
नपिएरै जहर
जिउनुको जलपमा
कृत्रिम स्वास फेरेर
मर्न थालेको छु ?

Rakesh Karki – Dodhaar

इन्जिनियर राकेश कार्की – दोधार (कविता)

लस् एन्जेलसका साथीहरु जम्मा भयौँ
नयाँवर्ष दशैँ क्रिस्मस् मनायौँ
साँगीतिक साँझ सिनेमामा रमाउँदै
पार्टी डिजेमा कम्मर मर्कायौँ
सेलिब्रेटिजहरुको शहर यो
ब्रिफकेश बोकेर ब्लाक टाई लगायौँ
खितितिति खित्का रमाइलो गफै
विकसित देशमा चाला अर्कै
को भन्दा को कम हामी जम्मै
कस्तो कस्तो हेर फेशन आम्मै
एकादेशका राजकुमार राजकुमारी जस्तै
गगनचुम्बी महल हामी मस्तै
चिप्लिने कारमा आइफोन जोडी
हाइ हेलो ह्वाट्स अप बडी

कोठामा आएँ मस्त निदाएँ
सपनीबीच कता कता हराएँ
झुम्रो बेरी झुप्रो भित्र
अन्योलमा परेका करोडौँ मित्र
कुप्रो परी तोक्मा टेक्दै
सकी नसकी डोको बोक्दै
खुइय्या लामो सुस्केरा हाल्दै
बाढी पहिरो भीर छिचोल्दै
फाटेको कछाड पसिनै पसिना
सुत्केरी स्वास्नी लालाबाला मसिना
भोक खप्न नसकी केटाकेटी रोको
केवल एक पेट खाने धोको
घेरा फाट्या ढाका टोपी
दर्द वेदना छातीभित्रै छोपी
आँसुका ढिका डिलमै रोकी
हिँड्दैछन् झिनो आशा बोकी
टण्टलापुर घाम हत्केलाले छेक्दै
माथी आकाशमा टुलुटुलु हेर्दै
चिलगडी चिलगडी भन्दै कराइ
नाङ्गो पाखाभरी धेरै भरिया दाइ
कठै ! कति दु:ख मनै बिझाइ
बररर आँशु झर्यो मुटु चह-याइ

करोडौँ नेपालीको अनुहार उस्तै
एउटा एउटा मुहार हाम्रै जस्तै
आश गरी हामीलाई हेरेजस्तो लाग्यो
हाम्लाई पनि नबिर्सनु भनेजस्तो लाग्यो
एउटै मुहान एउटै रगत किन हामी भिन्न
नेपालीले नेपालीलाई गाह्रो माने चिन्न
कोही साथी नाङ्गो पाखामा
कोही साथी लस् एन्जेलसमा
झल्याँस्स बिउँझिएँ
परेँ म दोधारमा ।।

– लस् एन्जेलस्