Baidyanath Upadhyaya – Goreto Haruma Hidnu

बैद्यनाथ उपाध्याय – गोरेटोहरुमा हिंडनु

सजिलो हुँदैन
गोरेटोहरुमा हिंडिरहनु
जहाँ दुवैतिर काँडे झारहरु उम्रिएका हुन
र बेलुकीको समयले
दिनको उज्ज्यालोलाई क्रमश निल्दै गरेको होस
र त्यहीं हिंडनेलाई
आफ्नो गन्तव्यको पनि थाह नहोस…
तब यसरी हिंडदै जानु
बीहड जङ्गलमा, एकलै
कति यातनाहरु जन्माउँछ।
मेरा साथी!
म पनि यस्तै गोरेटोहरुमा
हिंडिंरहेछु साँझ-बिहान
काँडे झारहरुको चुम्बनले
हरपल रगताम्य छन पाइलाहरु
अनेक वेदनाहरुको चिच्याई
सुनेको नसुनै रहन्छ एकान्तका पलहरुमा।
बाटामा छोडिएका रक्तिम पदचिह्न
धुलाको तरपमुनि गुमनाम सुतेका छन।
थाह छैन अरु अगाडि
कति बाटो हिंडनु छ
गुज्रदैं इ गोरेटाहरुबाट
कति व्यथाहरु झेल्नु छ
म दिशाहीन र पथभ्रष्ट भएको छु
कहाँ कहाँ अरु कति ठोकर
खानु छ…
यस्तो स्थितिमा इच्छा-अनिच्छाको
के सवाल उठन सक्छ!
केवल हिंडदै जानुनै
आफ्नो नियति भएको छ
बिकल्पको कुरानै यहाँ
कहाँ?

Maniraj Singh – Tundikhel

मणिराज सिंह – टुँडिखेल

नचाहँदा नचाहँदै फुलेका
तितेपानीको पूmलझैँ
सून्य हृदय र रित्तो आकाश छामेर
गरीब बाबुको
तरुनी छोरीले
यौवनको उन्माद
थाम्न नसकेर
आकर्षण, तिरस्कार र चाहनाको शूल रोपेझैँ
चुपचाप निस्सासिरहेछ
सिंगो टुँडिखेल ।

बाक्लो अन्यौल पहिरेर
बिरुपाक्षले आर्यघाट कुरिरहेझैँ
मकैबारीमा गाडिएको मचानमा उक्लेर
धपाइरहेछ स्याल र बाँदरहरू
र दिन गनिरहेछ एक एक गर्दै
मकैका गेडाहरू छोडाउँदै
बिद्रुप हाँसो हाँसिरहेछ
एक्लो, नाङ्गो र हताश टुँडिखेल ।

अधुरा सपनाका टुक्राटुक्रीहरू
छातीको ओढारमा लुकाएर
प्रेमीकाको अत्यास लाग्दा चाहनाको
जोहो गर्दागर्दै
पत्नीको स्तन क्यान्सरको
ओखती गर्न नसकेर
किंकर्तव्य विमुढ भै
आफैँसँग तर्सिरहेछ टुँडिखेल
शायद
स्वामित्व हराएको खेतको आलीमा उभिएर
आफैँलाई नियालिरहेको कृषकझैँ
घाँटीमै अडकिएको क्रन्दनको हिक्का
अस्पष्ट सीत्कार र आँखाको डिलमा टल्किएको आँशु
निलेर मनका खोकिलाहरूमा
भक्कानिरहेछ टुँडिखेल ।

मसानका ढिस्काहरूमाथि टेकेर
रगतका फाल्साहरू फिँजाएर जताततै
साउती गरिरहेछ साँघुरा गल्लीहरूमा
अस्ताउँदो सर्यको मलामी जान तम्सेर
मृत्यु उत्सव आयोजन गर्दैछ
स्वयम्भूको तश्रो नेत्र मुन्तिर
बारुद्धको तन्ना फिँजाएर
बागमतीको दुर्घन्धित बगरमा
एकतमासले कुरिहरेछ टुँडिखेल ।

Bibek Dulal Chhetri Damak – Timro Ahankar Lai Thichera (Nepali Gajal)

विवेक दुलाल क्षेत्री “दमक” – तिम्रो अहंकारलाई थिचेर (गजल)

तिम्रो अहंकारलाई थिचेर जादैछु
तिमी भित्रको बेथिती मिचेर जादैछु

जे पर्ला आओस युग सताउन मलाई
उसको दासत्व उसैमा पिचेर जादैछु

पर्दैन बर्षात् बिना मेघ गर्जन
तर म पुरै समुन्द्र किचेर जादैछु

कसैले सोधेमा भनि दिनु तिमीले
म “विवेक “आफ्नै नाम शिचेर जादैछु .

अस्तु .
दमक ,झापा
हाल ; अबुधाबी , यू ए ई .

Rakesh Karki – Glass Ko Ram Jham Mai Chhu (Gajal)

इन्जिनियर राकेश कार्की – गिलासको झमझम मै छु (गजल)

घेरा दिने भित्तो मलाई घरजम मै छु
भीडमा गिलासको स्वादिलो झमझम मै छु

खाली र रित्तो मन ननाचे के भो र
त्यो पाउजुको झन्कारको छमछम मै छु

वाह वाह भन्छन् फ्याँकछन् पैसा हुर्र
हीरा र मोतीको अहा चमचम मै छु

यो भित्र पीडाले नहाँसे के भो र
बाह्य त होहल्ला सहित रमझम मै छु

यस्तै भयो कल्ले र भो एक्लो भन्छ
टिक टिक समयको चालको हरदम मै छु

————————————-

बहर : सरीअ
सूत्र : मुस्तफ्इलुन्++ + मुस्तफ्इलुन् +‍ मफ्ऊलात
SSIS SSIS SSSI
————————————

Tanka Prasad Chaulagain – Nanu Nikai Para Bhayou (Nepali Gajal)

टङ्कप्रसाद चौलागाईं – नानु निकै पर भयौ (गजल)

नानु निकै पर भयौ अलि वर सरिदेऊ
मग्मगाउँदै बास्नाले सोह्र शृङ्गार गरिदेऊ ।

आँखा तर्दै, रिसाउँदै, तकियालाई अठ्याउँदै
प्रेमीको स्वागतार्थ पलङछेउ झरिदेऊ ।

थाकेको यो शरीर सम्पूर्ण सुम्पिदिन्छु
मनभित्रको प्रेमाग्नि चारैतिर छरिदेऊ ।

पन्चेबाजा, डोली चढ्दा कति राम्री देखिएकी
त्यही लुगामा सजिएर सिउँदो रातै भरिदेऊ ।

Moti Ram Bhatta – Kahan Janma Payen

मोतीराम भट्ट – कहाँ जन्म पाएँ

कहाँ जन्म पाएँ, कहाँ आज आएँ
दुखीमा म पैला भनी चाल पाएँ

हरे कर्म मेरो पनि के रहेछ
विधाता ममाथि बिरानै भएछ

यीजस्ता अह्राई म बस्ने उसोरी
यिनैको हुकुंमा छुँ ऐले कसोरी

विवेक् छैन कत्ती पनी दैवलाई
न मेरै दोष् के भनूँ एसलाई

– ‘प्रियदर्शिका’, नाटिका पृ १८

Saroj Dhital – Dhunga

सरोज धिताल – ढुङ्गा

ढुङ्गा–
त्यो साह्रो चीज
जो सधैँ निष्ठुरताको प्रतीक भयो
– कविका निम्ति

ढुङ्गा –
त्यो निर्जीव चिज
जो सधैँ कठोरताको प्रतीक भयो
कविका निम्ति

एक दिन
काटियो
ताछियो
घोटियो
मूर्तिकारको हातबाट
र एउटा सुन्दर अनुहार देखा प¥यो ।

आँखाभरि टिल्पिल–टिल्पिल आँसु लिएर
मुहारमा किञ्चित मुस्कान पोतेर
केही लजाए झैँ गरी
कृतज्ञ स्वरले बोल्यो ऊ सुस्तरी
मूर्तिकारसँग–

“प्रिय मानव !
स्वीकार गर
मेरो मनको बगैँचामा फुलेका फूलहरू !”

Dipendra KC – Aastha Ra Paribhasha Dashain Ko

दीपेन्द्र के.सी. – आस्था र परिभाषा दशैंको

अव !
फेरिदिन मन लाग्छ
आस्था र परिभाषा दशैंको ।

जव !
तिम्रो मुहार हेर्छु
के चम्किन्छ र ? दशैं त्यहाँ
शुभकामनाहरुका प्रकाशले ।
बर्षायाममा पानीले चुटिएको पहाडझैं
हरक्षण पखालिएर बगेका छन् अपूरा खुशीहरु
हरक्षण भत्किएका छन् अपूरा इच्छाहरु
सत्य र विजयको आस्थामा लत्रदैं
कति धेरै भ्रमहरु साटीरहें शुभकामनाका
मात्र यो आउँछ र जान्छ
छोडेर यथास्थिति !

अघिल्लो साँझ–
दशैंको मीठो कल्पनामा
असँख्य ताराहरु जस्तै
उज्याला रहरहरु सँगै निदाएर
विहान –
रित्तो दशैं व्यहोर्ने वालकहरु
पशुपतिका भिकारीहरु
जमीन्दारका हलियाहरु
साहुजीका नोकरहरु
मुखियाका गोठालाहरु
दशैंको जड्यौरीमा
नमिलेका कपडाहरु पहिरिएर
दशैंको सन्देश छर्दै
जव वीच सडकमा हात पसारेर
ङिच्च दशैं माग्छन्
अनि
फेरिदिन मन लाग्छ
आस्था र परिभाषा दशैंको ।

यसपालि तिमी–
जाउ केहीक्षण र,
वास्तविक दशैं मनाउ त्यहाँ
बसेर पुछारमा राज्यसत्ताको
यसपालि म –
दशैं मनाउँछु
वसेर केहीक्षण सिरानमा राज्यसत्ताको,
त्यसपछि त वास्तवमै
अर्थ रहदैन होला
रौनकता, माहोल, महत्ता र औपचारिकताहरु
विजया दशमीको
त्यसैले त,फेरिदिन मन लाग्छ
आस्था र परिभाषा दशैंको ।

विजया दशमी २०७०
बागलुङ, हाल ः ओस्टण्डे बेल्जियम ।

Matrika Pokhrel – Sabai Kura Sancho Hunechha

मातृका पोखरेल – सबै कुरा साँचो हुनेछ

सबै कुरा साँचो हुनेछ त्यसबेला,
बगरमा पल्टिएका
काला ढुङ्गाहरू बोकेर
घोडाहरू शिखर चढ्न खोज्नेछन्,
आकाशबाट चराहरू लड्नेछन्,
र, भ्यागुताहरू चराको प्वाँख टाँसेर
सिंहदरबारभित्र पस्नेछन्,
आजका मितिको टुकुचाको पानी अँजुलीमा उघाएर
शुद्धजलको बहस छेड्नेछन् पण्डितहरू,
बाघमाथि चढेर मृग
आफ्नो लक्ष्यको,
सुदूर यात्रा तय गर्नेछ,
लाटोकोसेराहरू,
घामको सुन्दरताको बखान गर्न
व्यासासनमा बस्नेछन्,
र, इतिहासको क्रुर नियति बोकेर
वर्तमान बगिरहनेछ
अनाथ रगतको बागमती ।

* * * *

हो, सबैकुरा साँचो हुनेछ त्यसबेला,
अस्पतालभित्र डाक्टरहरू
जीवित र मृत मान्छेहरू
छुट्याउन असमर्थ हुनेछन्,
वर्षाको भेलले,
देवीथान भत्किएको बेला
सिद्धान्त रक्षाका लागि
अदालतमा मुद्दा लड्नेछन्
निरीह राजनीतिज्ञहरू,
मेरो गाउँको निश्चल कुवामाथि
फेरि घोलिने छन्
एसिडका रङ्गीबिरङ्गी पोकाहरू,
हो, त्यसबेलासम्म
यो सब भइरहनेछ,
जबसम्म बग्ने छ–
हाम्रो रगतमा पहेँलो रङ्ग,
सबै कुरा सामान्य हुनेछ त्यसबेला
जबसम्म देखिने छ
हाम्रो आँखाको पर्दामा
कात्रोको जस्तो पहेँलो रङ्ग,
हो, त्यतिबेलासम्म
सबैकुरा साँचो हुनेछ ।

Komal Shrestha Malla – Akaal Ka Mrityu

कोमल श्रेष्ठ मल्ल – अकालका मृत्यु ?

स्वतन्त्रताको हावा चलेछ किन ?
प्रलय उन्माद बिध्वन्स बोकेर
उफ !
बिजय ? पराजित !!!
सौन्दर्य ? बिस्थापित !!!
कठै कठै धर्ती कम्पित कम्पित ….. ???
समुन्द्र आखामा आखामा छल्केर …. !!
आस्था विस्वास
पग पग
पल पल
क्षण क्षण
जिन्दगी किनारा काट्दै
बिजयको गर्वमा कसि घोटी रहेछ
लास छरिएका आटका खाट हरुमा

पराजय हल्लीदै छ
बिध्वंसात्मक नसामा
कर्महरु सल्किदैछ
आवेक मृत्यु अगेनामा
मात्र
नाप तौलका तराजु तुलो
कालो पट्टी बाँधेकी देबीको हातमा
मौन सस्कार सभ्यता चिच्याई रहिछे ..
तर बर्तमान
असैह्य उल्का राहु सनी
दशा भोकी रहेछ भोकी रहेछ …
गास बास कपास कुर्लदै .. ॥
बिजय उत्सवमा
अकाल मृत्यु …..???

Dig Bahadur Tamang – Mera Desh Ka Neta Harulai

डिग बहादुर तामाङ – मेरा देशका नेताहरुलाई

मथिङ्गल भित्र टाउकोहरु अट्दैनन्
टाउको भित्र मात्र मथिङ्गल अट्छन् ।
गोलार्धभित्र पृथ्वी अटदैन्
पृथ्वीभित्र मात्र गोलार्धहरु अट्छन्
पृथ्वीले सूर्यमा किरण छर्दैन्
सूर्यले मात्र पृथ्वीमा किरण छर्छ ।

जनताहरु भित्र देश अट्दैन्
देश भित्रमात्र जनताहरु अट्छन् ।
जातिहरु भित्र समाज अट्दैन्
समाजभित्र मात्र जातिहरु अट्छन् ।
जनजातिहरु भित्र देश अट्दैन्
देशभित्र मात्र जनजातिहरु अट्छन् ।

मानिसहरु भित्र नेपाल अटदैन
नेपाल भित्रमात्र नेपालीहरु अट्छन् ।
मानिसहरु भित्र घर अटदैनन् ।
घरभित्र मात्र मानिसहरु अटछन् ।
मानिसहरु जन्मदै कुनै ठूला साना हुदैनन्
बुद्धि बिबेक मात्र ठूलो सानु हुन्छन् ।

संसारमा जातैपिच्छे राज्य बाँडिदैन
राज्यभित्र मात्र जातिहरु बस्छन् ।
संविधान कुनै बर्गको लागि लेखिन्न
संविधान सिंगो देशबासीहरुको लागि लेखिन्छ ।
त्यस्तै कानून पनि कुनै बर्गको बन्दैन
कानून सबैको लागि बराबर लागु हुन्छ ।

Gopal Kawali – Ram Bheda Ko Kheti Garchhu

गोपाल कवाली – रामभेडाको खेति गर्छु

रामभेडाको खेति गर्छु,कुरिलो पो रोप्छु म त
विदेश बसी पुगो गाउँले,देशमै पैसा छोप्छु म त

प्रकाश दिपक विदेश गए, त्यहि भाउँतामा हिंडीएछ
आफ्ना बारी रुखै होलान,गोबर मल पो बोक्छु म त

थाहा पाइयो विदेश पनि, पराईको गुलाम न हो?
चाहीएन भो बर्गर पिज्जा, ठेट्ना मकै टोक्छु म त

सोह्रै आना पसिनाको, सुक्का मोल तोक्छन यहाँ
हाम्रो श्रम भतुवा नहोस, सिमा भित्रै रोक्छु म त

बाल-बच्चा एकातिर,एक्ले ढेडु जस्ता भाछन
संगै बस्छु खोले खान्छु, सिप उतै पोख्छु म त

हँसिया हलो कोदालोले,आइज आइज भन्दै होलान्
नाङ्गो संगीत डिस्को भुल्छु,आफ्नै मादल ठोक्छु म त!!!

जुलियन,अफगान,०५/०१/२०१३

Ramesh Shayan – Budhha

रमेश सायन – बुद्ध

बुद्ध मैले पिउने गरेकै भट्टीमा पिउदै थिए ,
अलिक बडी मतेछन् क्यार
भोलि बिहान सगर खुल्दैन भन्दै थिए ,

माय देवीलाई वृद्धा आश्रममा थन्काएर ,
यो परिचित शहरको बेठेगान चौकमा
शरीर भरि टाटु खोप्दै
ॐ माने पेमे हुँ……….
भन्दै थिए ।

जीवनसँग थाकेर होकि
वा, मगज खुस्केर हो
हातमा बन्दुक उठाएर ,
कहिले,
म ठमेलका गल्लिमा जीवनको अर्थ खोज्छु भन्थे ,
कहिले,
धरहरामा उभिएर सिहंदरबार देखाउदै
अगामी चुनावमा,
लुम्बिनीबाट उमेदवारी दिन्छु भन्थे ।

अचेल के भएर हो
बुद्ध
एक हुल शिष्यहरुलाई पछि लगाएर
विज्ञाानको प्रयोगशाला रोवट देखाउदै भन्छन्

शिष्यहरु हो
अव मानिस सम्बेदनहिन हुनु पर्छ,
न प्रेम
न आस्ता,
न रोगी,
न दुःखी
बस यीनै रोवटहरु जस्तै सम्बेदनहिन हुनु पर्छ,।

शनिश्चरे, मोरगं

Ram Prasad Prasain – Nadi Ra Manchhe Haru

रामप्रसाद प्रसाईं “आशुतोष आंशु” – नदी र मान्छेहरू

हामी नदीहरूको
त जातै यस्तो
तल तल बग्नु पर्ने
ओरालो झर्नु पर्ने
भड्खालो भर्नु पर्ने

तिमी मान्छेहरू
हामी नदीहरूलाई
नपछ्याओ
अब हामी
नदीहरूको त
जातै यस्तो
तल तल बग्नै पर्ने
ओरालो झर्नै पर्ने
अनि
भड्खालो भर्नै पर्ने

सभ्यतामा
जय पराजयका
सँगीत गुन्गुनाउँदै
हाम फालिरहेका हामी नदीहरू
अब
रोक्नेछौं
मान्छेहरूलाई—
हाम्रा बगाइका छङछङ मात्र
अनुकरण गर्न,
हाम्रा निर्वस्त्र अस्तित्वमाथि
सौन्दर्यता जोख्न,
नग्नताका अवयवहरूमा
भाव, राग र समय
नामाङ्कन गर्न
किनकि
हामी नदीहरू क्रान्ति हौं—
निर्माण र विनिर्माणका लागि

त्यसैले
अब
दायाँ किनारका मान्छेहरूले
बायाँ हेरून्
नदीलाई

बायाँ तीरका मान्छेहरूले
दायाँ हेरून्
नदीलाई

अनि
बाध्य हुनेछ नदी
मान्छेहरूलाई
बहावको दिशानिर्देश गर्न
अनि भन्न थाल्दछ
तिमीहरू दुई किनार भएर
अब
नचुम मेरा नग्नताहरू
ननाप नग्नताभित्रका समय टङ्कणहरू
र नसुन जिजीविषाका क्रन्दनहरू
नलेख मेरा नागबेली र शिरवन्दीहरू
बस् लेखे हुन्छ
खोला-खोल्साका मिलनहरू
शाखा-प्रशाखामा भएका
‘नोमाडिक’ आवृतिकरण
अनि
प्रतिबद्ध बन
र बग हामीसँगै
मोतीहरू र नागमणिहरू खोज्न
आत्महत्या र आमहत्याले
खेलेका परेडमा
आदिमानवका मनहरूजस्तै
स्मृतिमय संग्रहालयभित्रका टुँडिखेलहरूमा
जहाँ सभ्यता
कुर्लन्छ
कथा ब्यथा विरेचन हुन
अनि
निषेधक-निरपेक्ष-निष्प्राण
एक लौटी ठेकेदारीका
चुत्थापनहरू घोल्न।

सेप्टेम्बर २१, सन् २०१०
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल।
अबुधाबी श्रमशिविरबाट।

(Sent to Sanjaal Corps via Email)

Komal Shrestha Malla – Naba Durga Bhawani Le

कोमल श्रेष्ठ मल्ल – नवदुर्गा भवानीले !!

हर्ष
वा बिस्मात ?
रातो िटका िनधारमा
पहेलो जमरा शिरमा
सगुन, प्रसाद र आशिर्बाद…
नहुनु यो प्रदेसमा
म आफै यतिका बर्ष भोगी रहेछु !!!
हिसाबमा

र मेरो कर्तब्य
अनी धर्म र संंस्कृती
स्वाभीमान ?
आसु र हासोमा
यसरि नै फल्छन फूल्छन झर्छन
र पात झै उडछन पनी
मात्र याद कल्पना
अनी मायाको िबछोडमा … कठै ?
प्राण हाली दिय हुन्थ्यो नी
त्यो चादनी किरणको बिदेसीनु नपर्ने गरि
आर्षिकबादमा आर्षिकबादमा …

छरिदिए हुन्थ्यो नी
रंगीन फूल जमरा अक्षता
र प्रसादहरु !!!
मन सुधारिन,
सुन्दर दृृष्टिका चक्षु
र कर्णमा
प्रगतीका
उमंगका बाणी तरंग्याउदै
नसा नसामा भक्तिका उर्जाहरु
उमार्दै उमार्दै उमार्दै ….
िबजुली दौडेर
लक्ष्यका आकास छुने
छाती मै सगरमाथा राखि िदय हुन्थ्यो नी !
मात्र अमर चन्द्र सूर्य फर फर गर्ने
र िबजयको िबगुलमा
मात्र देश बोक्ने
नवदुर्गा भवानीले !!

Ishwar Ballav – Euta Tibra Bihana

ईश्वरवल्लभ – एउटा तीब्र बिहान

ती तीब्र उज्याला परिवेशहरू
पग्लिन्छन् रेखाहरू भएर, कि शून्य झैँ स्थिर हुन्छन्
तर पनि पग्लिनु स्थिर हुनु होइन,
पानी हुनु हो ।
परिवेश पग्लिँदा नदी हुनु हो ।
त्यसैले, बिहानदेखिन् झरेर बेलुकीसम्म
जस्तै शिखरदेखिन् तल औलसम्म,
भिज्दै पनि
हराउँदै पनि, ती उज्याला आतंकहरू
आतंकरेखा भने, केही भन्नु हुँदैन
आतंक साँझ हुनु हो
घाम हुनु हो-
पश्चिममा अल्झिरहेका ती साँझहरू
तरल हुन्छन् तीर भएर
हरेक पाइलासितै पाइला सार्दै
हरेक आघातसितै ओर्लिँदै तल
परेको तीब्र रातो बिहानजस्तो ।

Komal Bhatta – Aaja Bholi Sharam Le (Nepali Gajal)

कोमल भट्ट – आज भोलि शरमले (गज़ल)

आज भोलि शरमले झुकेको छ शिर
बिनसित्ती गल्ती गर्दा लुकेको छ शिर

लुकाएको सत्य-तथ्य सबै सामू आउंदा
ओठ,मुख,तालु समेत् सुकेको छ शिर

के गर्नु र बुद्धि विवेक भ्रष्ट भए पछि
यस्तो लाग्छ संसारले थुकेको छ शिर

बरु आफ्नो क्षमतामा चित्त बुझाएर
बसेको भे हुन्थ्यो होला चुकेको छ शिर

ऐले सम्म जे भएनी हुन्न अब भन्दै
माफी माग्नु पर्ला भनी ढुकेको छ शिर

पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
9th December,2012

Geeta Khatri – Maya Ko Ghera

गीता खत्री – मायाको घेरा

सानो नै मन सानो नै खुशी पाउँदा हाँस्दछु
सबैको खुशी बर्सेको देखी मन मनै हाँस्दछु

साथी र भाईको सहयोगको मालानै गाँस्दछु
मान्यजनको आशिर्बाद्को लाई हृदयमै राख्दछु

हृदय अझै बिशाल पारी म सधैं नाच्दछु
हाते र मालो गरेर सधैं म माया गाँस्दछु

गीता त सधैं उदाङ हुन्छे सबैलाई थाहै छ
सबैको खुशीमा दिल खोली नाच्छे सबैलाई थाहै छ

थिएनन कोही रगतका नाता त्यो मलाई थाहाथ्यो
साथी र भाईको सहयोग मिल्ने अटल विश्वाश थियो

मागेमा सबले यो मर्ने चोला अर्पन गर्दछु
सिर्जना यात्रा जारी नै राख्ने यो विश्वाश गर्दछु

Pratisara Sayami – Pressure Cooker

प्रतिसरा सायमी – प्रेसर कुकर

परम्परा एउटा बडेमाको भाँडा हो-
यसैको बाक्लो बिर्कोले छोपी
मैले मेरो बर्तमानलाइ पकाउन खोजिरहेछु

उसको सितिमिति पाक्दै नपाक्ने कठोर चोक्टाहरु
पचाउन गाह्रो अपाच्य ब्यबहारहरु
आफ्नो ब्यबहारको नरम पानीमा
भिजाइ अनि उमाली नपाकेसम्म
प्रेसर ककर भित्र-
पानी आफै तातिएर भकभक उम्लँदै
नरम रसमा डुबाइ डुबाइ
पगाल्न खोज्दैछर्
बर्तमानका कठोरताहरुलाइ
तर चापको असहय थिचाइ र बन्धनले
बिकोर्ेको बाक्लो ढिकै समेत
टाउकोको बलले ठेली ठेली
सानो प्वालको झयालबाट बेगले उछिट्टिएर कराएको
प्रेसरको चित्कार सुनेँ मैले
नअटाइ नअटाइ कोच्चिएर गुम्सिनु परेको
उसको कठोर बन्धन
मुक्तिको चित्कार
बगिरहेको सल्ल सल्ल
उसका ताता उच्छवासहरु
तप्त शरीरको जलन पढेँ
मानौँ आफैलाइ पढेँ त्यहाँ मैले
किनकि पोल्दो हृदयमा
आफु भकभक उम्लेर पनिर्
बर्तमानको क्रुरता पगाल्न नसक्ने
म त्यही पानी त हँ
असहय पीडाले
आत्तिएर फुत्किन खोजिरहेको
तातोले बाफिएर पनि
एउटा मुक्त आकाशको खोजीमा
बाहिरिने आतुरताले
भौँतारिरहेको
उही तप्त पानी म
ठीक त्यही पानी
प्रेसर कुकर भित्रको ।

Yuddha Prasad Mishra – Sahi Bato

युद्धप्रसाद मिश्र – सही बाटो

संकीर्णताको परखाल नाघी
यथार्थ वैज्ञानिक पन्थ लागी
पीडितमा जागृति बत्ति बाल
भगाइद्यौ भारतका दलाल

प्रगति भो अब व्यापक जाज्वल
परिसके प्रतिगामीहरू तल
उठिसक्यो भई व्यापक जागृति
उदित भै जनमानसको स्थिति

विजयको भई दर्पण शानमा
प्रवल भै मनको बलिदानमा
जनजागृत भै उठदै गयो
परपीडनता टुट्दै गयो

असही शोषण जागृति हो सही
जनयथार्थ कुरो बीचमा नरही
फगत नित्य रुचाइ विलासता
रहन संभव छैन कतै यता

(०४७ पुस)
(लहर – २४)