Saroj Dhital – Timilaai Chindaa

सरोज धिताल – तिमीलाई चिन्दा

तिमीलाई चिन्दा
के तिम्रा आखाले खोलेथे ढोका
र प्रवेश गरेथे तिम्रो सानो संसारमा ?
तिमीलाई चिन्दा
के तिम्रा स्वरहरूले खोलेथे ढोका
र प्रवेश गरेथे तिम्रो मनको विहारमा ?
तिमीलाई चिन्दा
तिम्रो ओठमा लिपेको मुस्कान
वा तिम्रो परेलीमा झुन्डिएको थकान
तिम्रो ठाडो शिरमा देखिने आत्मसम्मान
वा तिम्रो सुकोमल अनुहारमा लुकेको स्वाभिमान
केले खोलेथ्यो द्वार
प्रिये †
र मैले पाएथे तिम्रो संसार ?
आज
जब
हाम्रा स–साना संसारहरूबीच
कुनै सीमा रहेन
एकाकार भैसकेका छन् ती
अब त्यो
तिम्रो रहेन, मेरो रहेन
अझै पनि चञ्चल मन
उत्सुक छ जान्न
भन न प्रिये,
कसले खोलेथ्यो त्यो द्वार
र मैले पाएथे तिम्रो सानो संसार ?

Purna Biram – Yo Samaya Hamro Nimti Ghatak Chha

पूर्ण विराम – यो समय हाम्रो निम्ति घातक छ
(मधुपर्क असार, २०६८)

धूवाँका मुस्लाहरूले छोपेका छन् आगोलाई
र बजाउन सकेको छैन आगोले नगरा
यदाकदा बज्ने आगोको सुसेलीलाई
बहिरहेको हावाले उडाएर लग्छ
यो समय हाम्रो निम्ति घातक छ
अहिले पोलियोको थोपा चाटिरहेछ शिशु मुसोलोनीले
भोलि मस्तिष्कमा नित्से र जेन्टाइल च्याप्छ
फासीवादको कुलो बन्छ र तन्क्याँदै आफूलाई नदीको आकारमा समावेश गर्छ
सूर्य खोज्दाखोज्दै मृत्युले अँगालोमा लिन्छ हामीलाई
यो समय हाम्रो निम्ति घातक छ ।
प्रत्येक झाडीमा सर्पहरूले आश्रय पाउनु
र डस्नका निम्ति झाडीको झण्डा समातेर
मानिसका बस्तीहरूमा घसि्ररहनु
सहरहरूमा कार्लमाक्र्सको सट्टामा
तेरानले पाइपबाट धूवाँ फुक्नु
बलभद्रहरूले एक मासा खोले पाउन
एक तोला छापावाल सुनको मूल्य तिर्नु
रोएर सकिदोरहेनछ आफूसँग भएको आँसु
यो समय हाम्रोनिम्ति घातक छ ।
हरेक पल्ट ट्राटस्कीले लेनिनको मुकुण्डो लगाएर
भी.सी. तक्माको तौलको अपमान गर्नु
खाली गोडा लिएर अमर सिंहले वगुवामा सहिदको गीत गाउनु
अक्टरलोनीहरू नयाँ जुत्ताका साथमा नयाँ कोट लगाएर
गोरखा बजारमा हरपल दौडिरहनु
दसौं सङ्गीनले छातीमा घोचेर पनि मृत्युले नअँगालेको
खोक्पाजस्तै यो समय हाम्रो निम्ति घातक छ ।
युगकै जिउँदो मानिस मुर्दामा अनूदित हुनु
र कागले लिएर आएका हाडहरू एकत्रित गरेर
विशाल किस्ती बनाउने अभियानमा संलग्न हुनु
र किस्तीमा देखापरेको व्यञ्जनमा
सहिदका रगतका थोपाहरू तपतप चुहिनु
चातकले ठाडै ब्रहृमपुत्रको पानीमा चुच्चो डुबाएर
आफूलाई वातावरणमा उद्घाटित गर्नु
आवहवाले लेख्न नसक्नु
चातकको निम्ति एउटै पनि पतिया पुर्जी
यो समय हाम्रोनिम्ति घातक छ ।
यात्रामा नाइलजत्रो भएर तुवाँलो जम्मा हुनु
र यात्रुहरू एउटा फोहोर खाल्डोमा निसास्सिएर
निभाइएको आगोभित्र मुच्र्छनामा पर्नु
खपेर मौसमका मारहरू
ढुङ्गाका कापहरूमा फुलेका मकरकाँचीहरू कापमै सड्नु
र अत्तर बनाउन कोही कतैबाट ननिस्किनु
यो समय हाम्रोनिम्ति घातक छ ।
बजारमा दुर्वासा भनेर दर्ताको पुस्तिकामा दर्ता भएको दुर्वासाले
दुष्टहरूलाई श्रापित गर्नु सट्टा
एक थोपा महका निम्ति आफ्नो तपस्यालाई तिरोहित गरेर
डुँडमा आफ्नो मुखलाई राख्नु
र जिब्रोले महलाई कुकुरले आफ्नो घाउलाई
चाटेजस्तै चाट्नु
महको मातमा मेलामा देखापर्नु
र तपस्यालाई स्वाहा बनाएर
घामकै अगाडि नर्तकीसँग मेलैमा नाच्नु
यो समय हाम्रोनिम्ति घातक छ ।
नीला रङहरूले डेरा जमाएका ओठहरूबाट
कहिल्यै डेरा सारेन नीलो रङले !
परदेशिएको मौसम कहिले आउँछ ?
सूर्य खोज्दाखोज्दै मृत्युले अँगालोमा लिन्छ हामीलाई
यो समय हाम्रोनिम्ति घातक छ ।
सलह पनि देखिन्छ अब लगाउने वाली खान आतुर
इन्द्र हुँ भनेर घोषणा गर्ने भीडहरू
कौरवको लामभन्दा कम्ती छैन
ढक्की बनाउने भनेर बुन्न थालेको छ भकाभक
आफ्नोनिम्ति मात्रै चल अचल-सम्पत्ति सुरक्षित राख्ने दराजहरू
यो समय हाम्रोनिम्ति घातक छ ।

– ३३, काठमाडौँ

Ramesh Khakurel – Dashain

रमेश खकुरेल – दशैं
(Source : Himal Khabar)

गइन् वर्षा नानी खुलुलुलु पखालेर धरती
शरत् हाँस्तै आयो सबसित लगाएर पिरती
सफा चिल्ला राम्रा तरुवनहरू पात हरिया
फलेका छन् नाना फलफुलहरू टम्म रसिला।

सकी Continue reading “Ramesh Khakurel – Dashain”

Biplav Pratik – Nahareko Manchhe

बिप्लव प्रतिक – नहारेको मान्छे

मैदानमा म एक्लै छु
र झयाल थुनेर घरहरूको
च्याइरहेछौ तिमीहरू ।
मलाई मान्छेहरूले तमासा हेरेको मन पर्छ
र मलाई लाग्छ
मान्छेहरू तमासा हेर्ने केवल एक हूल भीड मात्रै हुन्
मलाई गर्व छ
मैदानमा म एक्लै छु ।

रुन्छु म, मलाई पनि दुःख छ
चोट, प्रहार अनि विचारको दुःख
तर गौरव छ मलाई, मैदानमा म एक्लै छु ।

आँधीसँग सामना गर्ने कुनै युवक
प्रहारसँग सामना गर्ने कुनै युवती भेट्ने रहर छ
आँसुका थोपालाई मोतीका रूपमा सजाएर
रत्नजडित किस्तीमा पेस गर्ने रहर छ ।

तर, मैदानमा म ए क्लै छु
जून एक्ली, सूर्य एक्लो, पृथ्वी एक्ली

मैदानमा म एक्लै छु ।

Aman Maharjan – Bhugol

अमन महर्जन – भूगोल

भन्न त सबै पृथ्बी गोल छ नै भन्छन,
त्येसैले होला मान्छे भन्नेहरु
सुखको खोजिमै बिलाउँछन
सदा बिचरित मनहरू
यदि ताँतिमै टुंगिँछन भने
कसले पो सोच्छ र आजको
पराई कुन आफन्त

यो धर्तीको भार तिर्ने क्रम मै
पराधीनमा भास्सिएका जिबित लासहरू
आशा कै त्यांद्रोहरुमा जीबन बाचेका आत्माहरू,
निराशामै होमीएकाहरु
कहिले पो बिश्राम पाउने हुन
कहिले पो एक मुठी हाँसोमा जिउनेहुन
कहिले बिजय, कहिले पराजयको मत्यांग्रोमा
कहिले पो परेवा उडनेहो यो आकाशमा
मरिरहेछन दिन प्रतिदिन लालाबालाहरू
त्यसैत्यसै कुनै न कुनै बाहानाहरुमा

न देशले गति लिए न जनताले अघि बढ़ने जमर्को भरे
यो ढक्कन बिनाको टोकरिमा थुप्रियेका गंगाटाहरु
माथि उठन दिने कसैले कसैलाई कुरै भएन
झन सतीले सरापेको देशमा ठीक र बेठीक बुझने
कुनै साहसी मानब देखिने छाँटै छैन

आफै नियम बनाउने, आफै बिगार्ने,
आफै बोल्ने अनिं आफै सराप्ने
यो अचम्मको अनकंटार भूगोल
गोलै भए त दिन र रात, सुख र दुख हुनुपर्ने हो
तर अभाब माथि बिस्मात थोपरिने
बिस्मात माथि भूकंप मच्चिने यो भूगोल
बिश्राम को पर्खाइ मै आफ्नो अस्तित्वों मेटीने
यो कस्तो देश, अनि यो कस्तो भूगोल

Manu Brajaki – Chita Nai Diyalo Bhayo (Nepali Gajal)

मनु ब्राजाकी – चिता नै दियालो भयो

घुम्टो अब उघार न रात सारै कालो भयो
लाज ढाक्ने लुगा सबै च्यातिएर टालो भयो।

आत्मज्योति निभेपछि सिरेटोले काम्छ मुटु
चिता बाली ताप्नेलाई आज नै उज्यालो भयो।

वन–जंगल Continue reading “Manu Brajaki – Chita Nai Diyalo Bhayo (Nepali Gajal)”

Saroj Dhital – Vijaya

सरोज धिताल – विजय

होला त भनी
मैले तिम्रो कुरा सुनें
मेरो हिरो !
मिल्काएं आफ्ना आग्रहहरू
र तिमीले दिएको झोला भिरें

झोलामा एउटा कलम थियो
र थियो
एउटा बन्दुक ।

तिमीले भन्यौ–
‘कलमलाई हतियार बनाऊ
र संहार गर
गन्हाएको, कुहिएको पुरानो संसारको ।’
तिमीले फेरि भन्यौ–
‘लेख नौलो सुनौलो संसारको कविता
बन्दुकले ।’

अल्मलिएका मेरा औंलाहरूलाई
अल्मलिने समय थिएन
जिल्लिएको मस्तिष्कलाई मेरो
निमेष मार्ने फुर्सद थिएन
केही खोज्दै थिए आंखाहरू
तिनलाई डुल्ने आकाश थिएन

मेरा आंखाहरू, औंलाहरू
मनभित्र अटाउने सबै चीजहरू
बन्दुक खेलाई रहे
कलम चलाई रहे

आखिर त्यो चीर प्रतिक्षित पल आयो
प्रलय नादझैं केही गड्गडायो

घोषणा गर्यौ
तिमीले
विजयको

‘खै त विजय ?’
–मैले सोधें ।
तिमीले सायद केही देखाउन खोज्यौ
पछ्याइरहे“ म तिम्रा औ“लाहरूलाई
जो हावामा अल्मलिएर एकछिन
चुपचाप लुत्रुक्क झुन्डिए ।
मेरो हिरो !
सोध्दैछु म अझै
खै, कहां छ त्यो विजय ?
तिमी भने
अझै टोलाइरहेका छौ

केही देख्दैछौ तिमी ?
परपरसम्म पनि
म त एउटै परेवा देखिरहेको छैन
धुवां अझै उडिरहेको छ
पोलिएको मासुको गन्ध बोकेर
मान्छेको अर्को कुनै आकृति भेटिएको छैन

कतै नजिकबाट आइरहेछ
कसैको आर्तनाद
जो तिम्रै पीडाजस्तो लाग्छ
कतै टाढाबाट आइरहेछ
कसैको चित्कार
जो मेरै सपना रोए जस्तो लाग्छ
फगत् तिमी र म
उभिइरहेका छौं
धरतीको डढेको ढाडमाथि

भन त !
द्वापर युगमा पनि
के तिमी र म यसै गरी
टोलाएका थिएनौं
महाभारत पछि ?

Rawal Krishna – Jawaf (Nepali Gajal)

रावल कृष्ण – जवाफ (गजल)

पूर्वपश्चिम उदाउने घाम उस्तै त हो
नियतिले लखेटेको राम उस्तै त हो ।

काँडा हाँस्छ झर्दा दुख्छ मेरो पाइलासँग
रोग, भोक, शोक, प्यास अछाम उस्तै त हो ।

मनको ईश्वर कहाँ खोज्छ फूलप्रसाद टिका
पूजा गर्ने भइगो मनको घाम उस्तै त हो ।

कलम छ नि हामीसँग किताब मधुशाला
अक्षर पिई मातौँ हामी जाम उस्तै त हो ।

Ananda Adhikari – Ma

आनन्द अधिकारी – म

पानीको फोकाजस्तो
मुखबाट बाहिर निकालेर
फवाक्क फुकायौ
फुकेँ
तन्कायौ―तन्किएँ
पड्कायौ―पड्किएं
निकै चपायौ―चपाईएँ
क्रम चलि नै रहयो, के.हि समय
जव तिम्रा काननेर कंचट दुख्यो
भुइमा Continue reading “Ananda Adhikari – Ma”

Murari Raj Mishra – Mero Desh Ko Plotting

मुरारी राज मिश्र – मेरो देशको प्लटिङ्ग

राजनीतिक दलहरु–
हाउजिङ्ग कम्पनी र पोपर्टी डिलरमा
परिणत भएका छन्
अनि, नेताहरु नियुक्त भएका छन्
त्यस्को प्रोप्राईटरको पदमा,
मेरो देशको जमिनलाई
धमाधम टुक्र्यांईदै
र प्लटिङ्ग गरिंदै छ
रोपनी–रोपनीको प्लट
स्वायत्त गणराज्यमा ।

सवैको भाग पुर्याउँदा
देशको हजारौ टुक्रा हुने भयो
वाईसे–चौविसे मात्रै होईन अब त
प्रत्येक वडा–वडामा एक–एकवटा
स्वायत्त गणराज्य बन्ने भयो ।

Bhupin Byakul – Antim Hastakshar

भूपिन ब्याकुल – अन्तिम हस्ताक्षर

यो निर्दयी इश्वरले
के लेख्छ मेरो निधारभित्र
सिस्मोग्राफ ?
त्यहाँ त एउटा प्रिय हस्ताक्षर छ
अरुले गरिदिएको

डाक्टरहरुले सुनून्
मेरो मुटुको कालजयी सङ्गीत
र जानून्
कार्डियोग्राफमा Continue reading “Bhupin Byakul – Antim Hastakshar”

Upendra Shrestha – Hamro Lagi Kina

उपेन्द्र श्रेष्ठ – हाम्रोलागि किन ?
(मधुपर्क २०६६ असोज)

अरूको निम्ति
मर्ने
र मार्ने
खोक्रो उद्देश्य बोकेको हाम्रो संस्कृति
हाम्रो परम्परा
र हाम्रो इतिहास
हाम्रोलागि किन ?
हाम्रोलागि
अर्थहीन छ यो हाम्रो अतितको गाथा
अर्थहीन छ यो हाम्रो लाखे परम्परा
र यो हाम्रो गथु संस्कृति
हाम्रोलागि
भोको बस्तीको लागि
यी खोक्रा नाराहरू किन ?
यी खोक्रा भाषणहरू किन ?
हाम्रोलागि
यो लुट र अपहरण किन ?
हाम्रोलागि
यो उग्र आतङ्कवाद र हिंसाहरू किन ?
खोइ हाम्रो गाँस ?
खोइ हाम्रो बास ?
खोइ हाम्रो गन्तव्य ?
अरूको निम्ति
मर्ने
र मार्ने
खोक्रो उद्देश्य बोकेको हाम्रो संस्कृति
हाम्रो परम्परा
हाम्रोलागि किन ?
हाम्रोलागि
अर्थहीन छ यो हाम्रो गथु संस्कृति
अर्थहीन छ यो हाम्रो लाखे नाच र तानाकिसी

Bibek Dulal Chhetri ‘Damak’ – Parkhanu Parchha Bhanera Pani Naparkheko Kshanma Manis

विवेक दुलाल क्षेत्री “दमक” – पर्खनु पर्छ भनेर पनि नपर्खेको क्षणमा मानिस

असहाय हुन्छ
निरूपाय हुन्छ
अपाहाज हुन्छ
फुर्ति सबै हराएको हुन्छ
निरह हुन्छ
पर्खनु पर्छ भनेर पनि नपर्खेको क्षणमा मानिस .

त्यो बेला उसको अनुहार हेर्न लायकको हुन्छ
जागर मरी सकेको हुन्छ
उससित आफैले आफैलाई तर्साएको क्षणको झल्को हुन्छ
उसका इच्छाहरूको मृत्यू हुन्छ
नेपथ्यमा खित्काको आवाजले उसालाई गिज्याउदै हुन्छ
निरह हुन्छ
पर्खनु पर्छ भनेर पनि नपर्खेको क्षणमा मानिस .

लाचार हुन्छ
छुब्द हुन्छ
बच्चा झैँ नाजुक हुन्छ
सुन्ने कुराहरू पनि हुदैनन् उससित
सुनाउने कुराहरू पनि हुदैनन् उससित
लक्ष्यमा हिड्न खोजेर पनि सक्दैन
एक ठाउमा स्थिर मन लिन पनि सक्दैन
निरह हुन्छ
पर्खनु पर्छ भनेर पनि नपर्खेको क्षणमा मानिस .

जसरी पुराना पातहरू झर्दै
नया पातहरू पलाउछन्
रुखमा ,विरुवामा
त्यसरी नै खराब बिचार उबाट खसेर
उसमा सज्जन बिचारहरूले हराभरा हुनु पर्ने हो ;
जसरी नदि अविचलित रूपमा
अविरल बगिरहेकै हुन्छ
त्यसरी नै उसले दृढ भै आफुलाई
आफ्नो सुदूर भबिश्यमा हिडाउनु पर्ने हो ;

तर उ सबै कर्मबाट चुके पछि निहत्था हुन्छ
उसको भाग्य बिचमै फुटेपछि उ फाल्टू हुन्छ
अनि त –
हावामा कावा खादै हिडिरहन्छ उ
अनि त –
मूलबाटो नै भुले जसरी डुलिरहन्छ उ .

यसरी –
निरह हुन्छ
पर्खनु पर्छ भनेर पनि नपर्खेको क्षणमा मानिस .

अस्तु :
दमक ,झापा

Kumar Simkhada – Ye Naran NRN

कुमार सिंखडा – ए नारा’न एनआरएन

ए नारा’न,
यहाँ पनि सत्ताकै खेल
ए नारा’न,
यहाँ पनि भत्ता कै खेल
दिनभरिको नूनको सोझो साधु,
साँझ परेसि त हामी एनआरएन
आरएन भएनि एनआरएन भएनि
लत्ता, भत्ता, र सत्ताको खेल।

ए नारा’न,
यहाँ पनि जत्थाको खेल
ए नारा’न,
यहाँ पनि आत्थाको खेल
हप्ताभरि सोझा, त्यागी, परिश्रमी
हप्तान्तमा त हामी एनआरएन
आरएन भएनि एनआरएन भएनि
आत्था! मत्ता जत्थाको खेल।

ए नारा’न,
यहाँ पनि सत्ताकै खेल
ए नारा’न,
यहाँ पनि भत्ता कै खेल।

(अनेसास जापानद्वारा आयोजित भानु जयन्ती २०६५ मा वाचित)

Yuddha Prasad Mishra – Bhabisya

युद्धप्रसाद मिश्र – भविष्य

सामन्ती अभिशाप दिन्दिन हतोत्साही हुँदै गै सक्यो
पूँजीवाद पनी जरा कुहिन गै ढल्ने बखत् भै सक्यो
शोषणको हतियार धर्म कुन छन् निर्मूल पारी दिन
मुक्ति निश्चय पाउने क्षणहरू लागि सके झल्किन

मान्छेको प्रगति नरोकिन दिने राखेर हिक्मत् पूरा
छन् आत्मा बलवान पीडितहरू संघर्षमाथी सुरा
ज्ञानोदिप्ति हुँदै गर्इ झुपडी उठ्दै ठलुा हौसला
जान्दैछन् नर-नारीले विजयमा उतिर्ण बन्ने कला

माटोमा र मसिनमाथि पसिना बग्ने करौडौं जन
छन् एकै मतबाट पीडकहरू निर्मूल गर्नाकन
ऐलेको युग विश्व शान्तितिरको बाटो खुलाई दिने
एैलेको युग क्रान्तिले रगतको साटो रगत् नै लिने

जुन क्रान्ति बीचमा भविष्य छ उज्यालो बन्न जाने गति
जसमाथि बलिदान हुन्छ सहजै पूँजी – पथ्रा – पद्धति
यो संग्राम महानको विजय श्री भोका र नांगाप्रति
यौटासम्म पनि रहन्न अब यो धर्तीमहाँ भूपति

अगष्ट १९८१

Biwash Pokhrel – Dingla

विवश पोखरेल – दिङ्ला

रुद्राक्षको शीतल सिंयालमुनि
तपस्यारत् छ षडानन्दको सालिक
आश्चर्य भावस“गै–
प्रत्येक ओठओठमा झुन्डिएका छन्
बर्खामा, एउटा पातलो गम्छा ओच्छ्याएर
अरुण नदी तरेको षडानन्दको कथा ।

पौरखी Continue reading “Biwash Pokhrel – Dingla”

Padam Gautam – Liwang Ko Chiso

पदम गौतम – लिवाङको चिसो
(असोज मधुपर्क, २०६८)

हरेक बिहान उसैगरी
उज्यालो बाँडेजस्तो गर्दै
समय निल्दै हिँड्ने घाम
परै टल्कन्छ सिस्नेमा
र, लिवाङ आङ तन्काउँदै उठ्छ ।
आकाश छ अनन्त
बाँकी विश्वको जस्तै
जून टल्किन्छ बेलाबेला
र, चिसो हावाको सिरेटो
बहकिन्छ दक्षिण पूर्वतिर
घाम ढल्किन नपाउँदै
लिवाङ सुत्छ चिसो स्याँठसँगै ।
माडीचौर, सुलीचौर
थवाङ, भवाङ, इरिवाङ
माडीखोलाको धूनसँगै
जर्‍याकजुरुक उठ्छन्
जलजला छुन
लिवाङ विस्तारै हाई काढ्छ
र, आफ्नो अनुहार हेर्छ ऐनामा ।
धाङ्सी खोलाको पानीसँगै
बग्दै जान्छन् दक्षिणतिर
कालो इतिहासका अवशेषहरू
रगतका फाल्सा बग्छन् सँगसँगै
त्यसैका चित्कारबाट उब्जन्छन्
ठेट भाषाका लोकगीतहरू
जस्तो कि-
‘उजेलो भएको छैन, झुक्यायो जून पापी ताराले’
हो, अरू सदरमुकामजस्तै
यहाँ पनि घाम उसैगरी
उज्यालो बाँडेजस्तो गर्दै आउँछ
र, समय निल्दै जान्छ ।
अग्ला डाडाँहरूमा छेकिँदै
लिवाङ छिरेको घामको किरण
फेरि ठोकिन्छ अग्ला महलमा
र, चिसो हुन्छ उसैगरी
लिवाङको माटो
लिवाङको बाटो
र, लिवाङको अर्को पाटो ।

Biplav Pratik – Apratyaashit

बिप्लव प्रतिक – अप्रत्याशित

सपनाहरू
कति कुहिएका पनि छन् सायद
तैपनि म बोकिरहेछु काँधमा
छातीमा प्रीत छ
मैले चाहेको मेरो संसार
मेरै आँगनमा म खोज्दै बसेको पनि छु
म यात्रामा थाकेर सुस्ताएको पनि होइन
तर, म भड्की पनि रहेको छु कताकता
लक्ष्यको परेवा समाते पनि
कहिले समात्दैछु, कहिले फुत्किँदैछ ।
नभेटेका कुरा त छँदैछ
कति भेटेका वस्तु पनि नभेटेका जस्ता देखिन्छन्
त्यतिखेर किन चिच्च्याउन मन नलागोस् त मलाई ?
किन आँधीझैँ वेग नमारूँ ?
अनि किन आगोझैँ हुरहुरिँदै नबलूँ त म ?

तर, एक्कासि सेलाएँ भने म ?
हँ, अचानक म मरेँ भने, भरे राति नै ?
कहाँ बात मार्छन् होलान्
यी मभित्रका मेरा अर्न्तर्द्वन्द्व
आर्तनाद अनि अनुभवहरू ?

साँच्चै, म मरेँ भने, के हुन्छ होला, भरे राति नै ?

घट्टेकुलो, २८ मार्च १९९१

Durga Prasad Pokhrel – Ma Marne Thaun

दुर्गाप्रसाद पोख्रेल – म मर्ने ठाउँ

म त्यहाँ जन्मेको हूँ
जहाँ जागरिला जीवनहरू
डोकामा जीवन ओसार्छन्
जहाँ उत्साहित ओठहरू
तिनकै गौरव गीत गाउँछन्
म त्यहाँ जन्मेको हूँ
जहाँ जन्ममात्रले पनि माटो धन्य Continue reading “Durga Prasad Pokhrel – Ma Marne Thaun”

Manju Marmika – Man Bhitra Ko Sambedanama

मञ्जु मार्मिका – मन भित्रको संवेदनामा

आगो बलिरहेको छ
हरेक पलपलमा
आगोका ज्वालाहरु पिइरहन्छु
म क्षणक्षणमा
हरितालिका
साच्चै तीज भएर आउनु छ भने
शान्तिको राको बालेर आउ
पिडाको आघातले फुटन
बाँकि मुटुहरुलाई Continue reading “Manju Marmika – Man Bhitra Ko Sambedanama”