Gopi Krishna Prasain – Ye Taliban Shasak Haru

गोपी प्रसार्इ – ए तालिवान शासकहरु

ए तालिवान शासकहरु
तिम्रो त्यो रामापिथेकस खप्पर
प्राग ऐतिहासिक चिन्तन
लघुताभासको मन
साँच्चैनै तिमीहरु त ढङ्गेयूगका सिकारी पो रहेछौ !

बुद्धत्वको सभ्यता संसारकै ज्योति
यूगले अमरत्व पाइसकेको यो घडी
आकास गङ्गा हाँसेको छ
धर्तिले नक्षत्रसँग माया गाँसेको छ
यस्तो अप्रतिम दैवत्वको झलक !

तिम्रा ती राक्षसी हातहरु
छि: तिमीलाई जन्माएको घरती पश्चातापले गलेको होला
हजारौं वर्षको अफगानी सभ्यता र यो कालखण्ड
कस्तरी ढलेको होला
मेरो त अनुमान सम्म मात्र हो ।

शान्तिका धिमे मूच्र्छनाहरु मारेर
मानव सभ्यतालाई कैद गर्ने तिम्रो राज्य
संसारले नबुझेको कानून
सारा निष्पट्ट जङ्गलभन्दा पनि एकाकार पो रहेछ
दैवको लीला
बुद्धहरुको भेला
बुद्धहरुको छातीमा संगीन घोच्ने ब्वाँसाहरुलाई किन
त्रिपिटकले स्वीकार्छ
मोटार आक्रमणले प्रताडित
कठै ती जीवन्त मूर्तिहरु
कूख्यात घृणित तिम्रा हातहरुलाई
यो नेपाली मन बारम्बार धिक्कार्छ ।

(अफगानिस्तानको बामियानमा बुद्धका मूर्तिहरु ध्वस्त पार्न तल्लिन तालिवान शासकहरुप्रति शब्द बिरोध गरि लेखिएको )
– वेलायत

Saru Binda – Aghoshit

सरु विन्द – अघोषित
(मधुपर्क बैशाख, २०६७)

अब उप्रान्त
तिमी र मबीचको पर्खाल ढल्नेछ
पहाडहरू फुट्नेछन्
जेलहरू तोडिनेछन्
आकाश खस्नेछ र
हामी दुवैलाई ढाक्नेछ ।
न बन्देज रहनेछ सिन्दूरको ।
न भरोसा रहनेछ चुराको
फजुल कुराहरू नगर
वकवासहरू बन्द गर
म युद्ध निम्त्याउँछु प्रणयको !
प्रेम हो यही यो-
सिन्दूर र चुराहरको बार नलगाउ
जायज र नाजायजको प्रश्न नउठाउ
प्रणय हो यही यो –
मेरा दृष्टिबाट ओझेल नपर
जायज र नाजायज छुट्याउन
म तिम्रा निम्ति संविधान लेख्छु
हो, अघोषित संविधान !
जहाँ सूर्य अस्ताउँछ एकछिन, उदाउनका लागि ।
जहाँ ढोकाहरू बन्द हुन्छन् लुटेराहरूका लागि ।
पैले जन्माउन नसकेको
वीर छोराहरू छन् तिम्रो गर्भभित्र !
गर्भहरू तुहिन सक्छन्
हे सूर्य ! त्यतिञ्जेल नउठाऊ
हे आकाश ! मेरो प्रणयलाई ढाक
पि्रय, म तिम्रो गर्भबाट
अर्को सूर्य जन्माउँछु ।
भो चाहिँदैन-
रगतले लतपतिएको सूर्य !
अँध्यारोबाट पराजित सूर्य !
लुटेराहरूले कैद गरेको सूर्य !
भो चाहिँदैन
युगयुग समयसँग हारेको सूर्य ।
तिम्रो सगरमाथाले हमेसा छेक्ने सूर्य !
यसैले अघोषित जस्तै छ तिम्रो गर्भभित्र
पृथ्वीलाई पुरुषार्थ दिने मेरो सूर्य !
मेरो पृथ्वीलाई कायरहरूले चुरा पहिर्या ए
मेरो पृथ्वीलाई लुटेराहरूले सिन्दूर लगाए
मेरो पृथ्वीलाई नपुङ्शकहरूले युगयुग भोगे
ए सूर्य ! तिमी अस्ताऊ-
म अब
पृथ्वीसँग अघोषित सम्झौता गर्छु ।
हो, अब उप्रान्त पृथ्वीका गर्भबाट जन्मनेछ-
मेरो ब्रहृमाण्डको अर्को जीवित सूर्य !

पोखरा

Dhundi Raj Aryal – Phoksundo Taal: Prem Ko Saagar

ढुण्डीराज अर्याल – फोक्सुण्डो तालः प्रेमको सागर
(मधुपर्क मंसिर, २०६७)

फोक्सुण्डो तालमा देख्छु नेपाली दृढ सौम्यता
गहिरो तालमा भेट्छु नेपाली दिलको कथा
ताल आफैँ बन्यो मान्छे, ताल मान्छे बनेर म
गीतका तालमा आफैँ तालजस्तै रमेर म ।
चौरीसँगसँगै खेल्छ लुकामारी हिमालमा
काखमा निलिमाजस्तै सजिएर बिहानमा
बोलाउँछ उषाकाल सम्झेर दिन सुन्दर
परीझैं स्वर्गकी लाग्ने मोहित कुन हुन्न र ?
‘क्याराभान’ बनाएर ठिन्ले डुल्छन् किनारमा
कौतुहलमय डोल्पोको रहस्य मिल्छ तालमा
प्रेमको शुद्ध यात्रामा निस्कनेहरूलाई यो
स्वागत मनले गर्छ प्रेमकै पथमा छ यो ।
रिग्मो गाउँसँगै आफ्नो अस्तित्व सल्बलाउँछ
कस्तुरी मृगको बास्ना फोक्सुण्डो मगमगाउँछ
सेताम्य झरना बग्दै गीत गाएर झर्झर
सुलिगाउँ बनी र्झछ भेरीमा मिल्छ निर्झर ।
बुकी फूलसँगै हाँस्छ प्रकृति नै हँसाउँछ
निलो सौन्दर्यमा रम्दा विश्वसारा अटाउँछ
सभ्यताको गुरु हो यो शान्तिको दीपज्योति हो
दुःखी, क्रन्दन, रोगीको औषधि उपचार हो ।
आम्ची आफैँ बन्यो ताल औषधि छ जटामसी
अमृततुल्य पानीमा कस्तुरी घोल्छ रे बसी
पाँचऔंले मिसाएर चिराइतो मिलाउँदै
यार्सागुम्बासँगै स्वस्थ सञ्जीवनी पिलाउँदै ।
यश कीर्ति फिजाएर आफैँमा हिमदूत भै
इतिहास सधैं खोज्छ कर्मशील सपूतझैं
प्रेमको दीप हो रिग्मो देशको प्यार बग्दछ
नेपाली दिलमा आज मुटु स्पन्दन बन्दछ ।
सलबलाउँदो पानी तरङ्ग चुम्न उत्सव
ताल नै प्रेमको छानो अन्यत्र पो कहाँ छ र ?
सिङ्गो आकाश फोक्सुन्डो छल्कने जलको कण
गहिरो मित्रता गाँस्दै मुस्कान जूनको बन ।

-गुल्मी
हाल काठमाडौँ

Bijaya Devkota – Shahar Natakma Byasta Chha

विजय देवकोटा – शहर नाटकमा व्यस्त छ

पश्चिमीकरणको भुवादार विजारोपणवाट हुर्केको
नग्नताको अन्तिम लक्ष्मणरेखा पार गर्दै
म बसेको शहरको केही गल्ली
मध्यदिनमा आधुनिकीकरणको रिहर्सल गर्दैछ
मानौं ;
दर्शनभित्रको Continue reading “Bijaya Devkota – Shahar Natakma Byasta Chha”

Bishwa Ram Khatri – Dui Atma Milayera Parewa Jhain Jodi (Nepali Gajal)

विश्वराम खत्री – दुई आत्मा मिलाएर परेवाझैं जोडी (गजल)
(मधुपर्क बैशाख, २०६७)

दुई आत्मा मिलाएर परेवाझैं जोडी
हुन आउने कहिले हो रेशमी घुम्टो ओडी

मानिसहरूको भीडभित्रै मान्छे अछुत भा छ
अब त उभिनु पर्छ सारा बन्धन तोडी

हामीलाई हेर्ने हजार आँखा हजार रूप देख्छ
टोक्न खोज्ने आँखाहरूलाई आऊ अन्तै मोडी

तिम्ले मैले खेल्ने ठाउँ जेल बन्यो भने
जसरी नि मिल्नुपर्छ ताला सिक्री फोडी

कुल्चिएर, छिचोलेर सारा बाधा अड्चन
सँगै बस्ने बाचा गरौं बरु स्वर्ग छोडी

नँखेल, भक्तपुर

Kedar Shrestha ‘Gagan’ – Sapani Ma Dekhen Aaja

केदार श्रेष्ठ‘गगन’ – सपनीमा देखेँ आज

सपनीमा देखेँ आज गाउँमै भएको
कान्छीसँगै घाँस,दाउरा,मेला गएको ।

आँगनभरि मखमली,वेली फुलेको
लहलह धानको बाला खेतमा झुलेको
साद्या गुन्द्रुक,मकै,भटमास,मोही खाएको
कान्छीसँगै घाँस,दाउरा,मेला गएको ।

उस्तै थियो घाम,जून उस्तै गाउँघर
सोध्दै थियो चौतारीको पीपलु र वर
धेरै पछि देखेँ आज गाउँमै भएको

Manoj Neupane – Manchhe Bhitra Ajhai Jangal Jibit Chha (Gajal)

मनोज न्यौपाने – मान्छेभित्र अझै जङ्गल जीवित छ (गजल)
(Source: मधुपर्क असार, २०६८)

मान्छेभित्र अझै जङ्गल जीवित छ
र त पाइलैपिच्छे ऊ विभाजित छ ।
दुनियाँ बदलियो भन्नु मात्र हो
पुरानै दुःखले जो कोही आजित छ ।
किताब लेख्न जनावरले जान्दैन
यसै कारण मानिस सम्मानित छ ।
ब्याटरी सकिएपछि ऊ चुप लाग्नेछ
अहिले रिमोटबाट सञ्चालित छ ।
अरुलाई दोष दिने बानी नराम्रो
मान्छे आफ्नै कर्मबाट प्रताडित छ ।

Komal Shrestha Malla – Nelson Mandela

कोमल श्रेष्ठ मल्ल – नेलसन मण्डेला !

नढल्नु पर्ने बृक्ष ढल्यो ???
बिना बादल
विश्वमै झरि पर्यो
आखा आखाबाट ..!!
पृथ्बी भरी फैलियको एउटा बृक्ष
विश्व चेतनामा
बाचेकोछ तर
हासेकोछ तर
बिजयमा फहरायको छ तर .. !!
बिशाल आकास मुनी
बिशाल धर्ती भरी
पुस्तक बने उनी
अलौकिक पाठ सिकाउने
उपहार बने उनी
बिश्वकै हात मिलाउने
चादनी िकरण बने उनी
स्वाधिनताका
एकताका
समानताका समानताका …!!
नेलसन मण्डेला !

Bidhya Prasad Ghimire – Nishthurilai Afno Thaani Prit Laaye Pachhi (Nepali Gajal)

विद्याप्रसाद घिमिरे – निष्ठुरीलाई आफ्नो ठानी प्रित लाएपछि (गजल)

निष्ठुरीलाई आफ्नो ठानी प्रित लाएपछि
सस्तो बन्न थालेँ मित्र धोका पाएपछि ।

दिन–रात, हाँसो–खुसी उस्तैउस्तै लाग्छ
यस्तै हुने रै’छ साथी होश हराएपछि ।

कहिले छट्पटिन्छु कहिले मुर्छा परी रून्छु
मुर्दा सरी हुन्छु उनको याद आएपछि ।

मिल्नु–छुट्नु, हाँस्नु–रूनु जिन्दगीको खेल
नाङ्गिएछु यस्तै खेलमा सब गुमाएपछि ।

यही प्याला रह्यो साथ यस्मै रम्छु अब
आपैmलाई बिर्सिन्छु म यो रित्याएपछि ।

जीवन भन्नु गुम्नु अनि गुमाउनु नै रै’छ
मान्छे बन्न खोजिरा’छु सब लुटाएपछि ।

निष्ठुरीलाई आफ्नो ठानी प्रित लाएपछि ।
सस्तो बन्न थालेँ मित्र धोका पाएपछि ।

Shakuntala Joshi – Abhiyukta Samaya Ra Sapana Ko Taltal

शकुन्तला जोशी – अभियुक्त समय र सपनाको तलतल
(मधुपर्क पुस, २०६७)

झरी थामिएपछिको झिसमिसे
पीडाको धराप साँघु बिछ्याएर छातीमा
निर्निमेष हेरिरहेछ ऊ-जूनको दोछाँयामा
कोही फर्केर आउने आशाको
साँघुरो गल्छेडीतिर
उन्मत्त वैंश उम्लिएको
घोडा युगलाई कोर्रा मार्दै
आगोका झरिला कोइला चबाउने
तरुनी अनुहारहरूले
थुन्सेभरि लिएर आउने उज्यालो हेर्न
धमिलो आँखा मिच्दै
पर्खिरहेछ ऊ आतुर मन लिएर
के आउलान् त तिनीहरू ?
चिसो आङहरूमा न्यानो स्पर्श लिएर
वा कस्ता होलान् ती सपनाहरू ?
उसको आदिम बस्तीमाथि
पिरामिड उभिएको
अभियुक्त समयको टाउकोमा टेकेर
हिँडिरहेका जवान छोराहरू हेर्दै
नियाल्छ सुस्तरी
आकाश चुहिएको छाप्रोको छानो
कहिल्र्य नभरिने अभावको मानो
धनुकाँड खोसिएका रित्ता काँध
सभ्यताको पोल्टाबाट लुछिएका
झुलो, चकमक र दल्छिन् ढुङ्गाहरू
ढुङ्गासँगै टुक्रिएका विश्वासहरू
विश्वाससँगै भत्किएका जीवनहरू
यस्तै-यस्तै होलान् ?
या कस्ता होलान् ती सपनाहरू ?
ऊ नागरिकता पाएर अनागरिक बाँचेको मान्छे
तिम्रो आश्वासनको जीवन्त अभिनय
हेरिरहेछ ध्यानपूर्वक
आफ्नै आँगनमा परदेश उभिएका
मेची र महाकाली
आफ्नै धारमा बेधार बग्न विवश
कोशीका छालहरू हेर्दै
सोचिरहेछ ऊ
के फेरि फुल्छन् बागहरूमा निर्भयफूल ?
या कस्ता होलान् ती सपनाहरू ?

Pravin Khaling – Narcotics Gaun

प्रवीण खालिङ – नार्कोटिक्स गाउँ

यो बर्खादेखि
धाराको पानी सुक्यो
खोल्सामा मूल फुटेन
धनमानले पनि खेत जोतेन।
अनौ समात्ने हातले झण्डा समातेपछि
गाउँ बाझो भएको छ जीवन उमार्न नसकेर।
माटोको गन्धले मस्त हुने गाउँ
अहिले डोपिङ गर्छ
सानुमतिको ढुग्री, बुलाकी र तिलहरूहरू चिटफण्डमा हालेर
सुकेनाश भनेपछि थर थर काप्ने गाउँ
एड्सको विज्ञापन सुन्न मन पराउँछ।

यतिले पनि गाउँलाई पुग्दैन
सँञ्चो विसँञ्चो छदै छ
अपुगको लहरे खोकि चलिबस्छ
बेला न कुबेला ख्वाक ख्वाक..
पहेलो फायल बोकेर गाउँ शहर गइबस्छ
गोरेटोहरूको सेक्स चेञ्ज गर्न चहान्छ गाउँ
अलकत्रे सटकमा हिँडन चाहन्छ गाउँ
नरेगाको क्यामोफ्लाइज रोजगारले
हराएको जस्तो लाग्ने गाउँको दुःख
प्रत्येक दिन हाम्मे हाम्मेमा दुख्छ
गाउँलाई पनि अवसाद हुन्छ
हाइपर टेन्सन हुन्छ
यत्रो विशाल व्यवस्थासित भिड्न्त गर्नसक्ने क्षमता कहाँबाट ल्याओस गाउँले
त्यसैले डोपिङ गर्छ गाउँ
नार्कोटिक्स लिन्छ गाउँ।
पहिलेको हली अहिले राजनीतिको हल्ला भएको छ
पाटीमा पार्टीको कुरा गरिबस्छ
तर उसले बुझ्दैन

पार्टीले दशैं नटर्ने कुरा
पार्टीले मूल नफुट्ने कुरा
पार्टीले न चाढ़ टर्छ
न त मुखमा माड़ पर्छ
तरैपनि यो गाउँ डोपिङ गर्छ
राजनीति गर्छ।

Saroj Dhital – Saitan Ko Yug

सरोज धिताल – सैतानको युग

क्षमा गर भगवन् !
अब यो रुखको वास
तिमी छोडिदेऊ
र चित्त बुझाऊ
सानो गमलाको तुलसीमा
यो त पीपलको रुख हो
पायो भने बेस्सरी पैmलिन्छ यो
जगतै ढाक्न सक्छ यसले त ।

म त मान्छे
तिमीलाई जत्तिकै खुसी पार्नुपर्ने
अर्को छ मेरो जीवनमा
सैतान ।

उसको लागि
तिमीलाई जत्तिकै ठाउँ चाहिन्छ यहाँ
युग त
तिम्रोभन्दा बढी उसैको हो ।

हिउँद, २०६०

Rupesh Rai – Kranti

रुपेश राई – क्रान्ति

अब, कस्तो क्रान्ति चाहियो हँ?

प्रश्नै प्रश्न मात्र उम्लिरहन्छ
अरुवा उम्लने गाउँमा। सहरले
छ्वाइँय भुटुन हाल्यो राजमा दाल।

बास्ना चल्दैन गाउँमा
रुगाले प्याल-प्याल सिङान मात्र Continue reading “Rupesh Rai – Kranti”

Suyarma Rai – Oh Buddha

सुयर्मा राई – ओ बुद्ध … !

एक भीड मान्छेहरू
भर्खरै युद्धपोतबाट फर्केर
एकजोडा परेवा
उडाए आकाशमाथि- भुर्ररर
शान्तिको नाममा ।

म सधैंजसो देख्ने गर्छु
मान्छेहरू जीवनको लामोखण्ड
गोलावारुदमा बिताएर
एकनिमेष फूर्सद
परेवा उडाउन भीड गर्छन् यो ठाउँमा ।

लामो कालदेखि
मैले यो भीड
देख्दैभोग्दै र, यी मान्छेहरू पढ्दै आएको छु ।
एक क्रुर
तर उदासीन-आँखा ।
एक कठोर
तर नैराश्य-आत्मा ।
एक हिंस्रक
तर दिशाहीन-मानवता ।
सहसा बोकेर जसै पाइला राख्छन्-यो ठाउँमा ।
र्फकदा उज्यालो चेहरामा
असीम खुशी र चरम आनन्द
पोल्टाएर र्फकन्छन- शान्ति अनुभूतको मृदु मुस्कान लिएर ।

ओ बुद्ध…. ।
हरेक अमानव र क्रुर आत्माहरू
तिमीलाई एकजोडा परेवा उडाएकै भरमा
शान्ति प्राप्त गर्न सक्छ यदि भने
के भो र ? तिम्रो नाममा
हजारौं परेवा उडाउन तत्पर छु – आकाशमा
म एक्लै- ती सम्पूर्ण मान्छेहरूको यादमा ।

Badri Palikhe – Rastra Pida

बद्री पालिखे – राष्ट्रपिडा

शरीर
राष्ट्रपिडाको ज्वरोले निष्लोट छ ।
शरीर राष्ट्रनै त हो,
सगरमाथा शिर निहुरिएको छ ।
सँधै घाम उदाउने उज्यालो अनुहार
अँध्यारो देखिन्छ ।
शरिर ज्वरोले निष्लोट छ ।
तनमा ज्वरो छ,
मनमा ज्वरो छ ।
ज्वरो चढेको चढै छ ।
राष्ट्र
पराधिनताको भयस्वास फेरिरहेछ,
जिवन
प्रत्येक साँझ बिहान
मृत्युभय बाचिरहेछ ।
हामि प्रत्येक क्षण र पलहरुमा
भयमिश्रीत गाँस र पिडादायक बासका लागि
ज्वर पिडा भोगीरहेछौ,
राष्ट्र
दुशासनको हातमा परेको छ,
राष्ट्र कुशासनको जालमा फसेको छ ।
शरीर
राष्ट्र नै त हो,
हामी राष्ट्रपीर भोगीरहेछौ,
राष्ट्र
नदीहो जोखिम तिरमा हिडिरहेछ,
शरिर
राष्ट्रपिडाले ज्वरग्रस्त छ,
राष्ट्र
शरीर नै त हो,
शरिर ज्वरोले निस्लोट छ ।

Komal Bhatta – Muluk Ko Khajana Luterai Sakhap Bho (Nepali Gajal)

कोमल भट्ट – मुलुकको खजाना लुटेरै सखापभो (गज़ल)

मुलुकको खजाना लुटेरै सखापभो
भरोषा र आशा चुटेरै सखापभो

गरीवी र भोकले सधैँ ग्रस्त पार्दा
समाजका सुस्वप्ना टुटेरै सखापभो

अशिक्षा र अन्धो समझ फैलिनाले
भविष्यत र भाग्य फुटेरै सखापभो

इलम क्यै नपाई युवाशक्ति सारा
विदेश तर्फ लर्कन छुटेरै सखापभो

कहाँहो सुशासन गयो भक्ति देशको
सबै पद र लोभमा जुटेरै सखापभो
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Ananda Ram Paudel – Byakaran

आनन्दराम पौडेल – ब्याकरण

साँधसीमाना मिचिएछकि
छिमेकीसँगको व्यवहारमा तलवितल परेछकि
ज्यापुनी दिदी कराइन्
प्रोफेशर सरले
भाषा पढाउन छाडेर
ध्यान दिएर सुने
ज्यापुनी दिदीले धारे हात लाएको
उफ्रि-उफ्रि चिच्याएको
प्रोफेशरले हेरिरहे
र अन्तमा भने
ब्याकरण मिलेन
शव्दसंयोजन, शव्दविन्यास
एउटै मिलेन।

Padma Prasad Mainali – Jastako Tasto

पद्यमप्रसाद मैनाली – जस्ताको तस्तो

कोही उड्छन् गगन विचमा कोही गुड्छन् धरामा ।
कोही रुन्छन् पथ अपथमा नाङ्गीदै यो धरोमा ।।

कोही रम्छन् महलहरुमा शानले भर्भराई ।
कोही घुम्छन् जततत कतै गाँस बास नपाई Continue reading “Padma Prasad Mainali – Jastako Tasto”

Muktinath Sharma – Sahitya

मुक्तिनाथ शर्मा – साहित्य
(Source: मधुपर्क जेठ, २०६९)

पाकेका स्याउका दानाभित्रको रसमाधुरी
काफल् ऐंसेलु सुन्तला आँप अम्बा भरी भरी
जस्तो पाइन्छ सुस्वाद खाँदा आनन्द आउँछ
साहित्य रस हो त्यस्तै स्वादिलोपन ल्याउँछ ।।
के गर्न हुन्छ के गर्न हुँदैन जो बताउँछ
क्रोधको बेग जो रोक्छ सभ्य शान्त बनाउँछ
शान्ति क्रान्ति यही बोल्छ बेला मौका उदाउँछ
साहित्य जीवनीभित्र स्वादिलो पन ल्याउँछ ।।
वन काफलमा जस्तै वासना मग्मगाउँछ
छल्छल्कल्कल खोलीको बोलीमा कल्कलाउँछ
चिर्बिर् चरी जुरेलीको बोल्छ माया लगाउँछ
खाना समाजको हो यो स्वादिलो पन ल्याउँछ ।।
ज्ञानको भोक मेटिन्छ भेटिन्छ चेतना सफा
सच्चिदानन्द सौन्दर्य भावना उच्च निर्मल
उन्नति प्रगति निम्ति ज्ञान विज्ञान छाउँछ
साहित्य चेतना छर्दै स्वादिलो पन ल्याउँछ ।।
भाषाको जननी हो यो मान्छेको श्रेष्ठ मित्र हो
जिन्दगीको उचाइ यो भोगको स्वाद एहि हो
स्रष्टा द्रष्टा यही नै हो समाज मन्पराउँछ
विशाल क्षेत्र साहित्य स्वादिलो पन ल्याउँछ ।।

Aryabiman Chitrakar – Manai Ta Ho

आर्यबिमान चित्रकार – मनै त हो

मनै त हो के बुझोस् यसले
तिम्रा ऐतित्युदका बाघचालहरु
मनै त हो, सहेरै बसिदिन्छन्
तिम्रा करकापहरु
के बुझोस् यसले
तिम्रा स्वार्थका ब्यालेन्ससीतहरु
गाएरै बसिदिन्छन्
आफ्ना यूलोजीका गीतहरु

मनै त हो के बुझोस् यसले
तिम्रा षड्यन्त्रका भुइचालोहरु
मनै त हो नबोलेरै कुर्छन्
आफ्नो पालोहरु
के बुझोस् यसले
तिम्रा सिम्प्याथीका अद्जस्तमेंटहरु
सहजै बनिदिन्छन् साउने भेलका
रेंटल टेन्टहरु

मनै त हो के बुझोस् यसले
तिम्रा डाइमेन्सनका परिधिहरु
मनै त हो बाधेरै राख्छन्
आफ्ना बचाऊ बिधिहरु
के बुझोस् यसले
तिम्रा रंगमंचका नाटकहरु
स्वीकार्य ठान्छन् पार्श्वध्वनिका
कथित बादकहरु

मनै त हो के बुझोस् यसले
तिम्रा पाराडाइम सिफ्टहरु
मनै त हो हाँसेरै थाप्छन्
अनवान्टेड गिफ्टहरु
के बुझोस् यसले
तिम्रा कटुवचनका धारहरु
रेत्त्तिऐरै बस्छन् बरु
गर्दैन् छेकबार अरु

मनै त हो के बुझोस् यसले
तिम्रा दोषका निराधारहरु
मनै त हो कम्प्रोमाइज गर्छन्
धैर्यका आधारहरु
के बुझोस् यसले
तिम्रा मृगतृष्णाका प्रकारहरु
अझै फराकिलो पार्छन्
आफ्नै आकारहरु

मनै त हो केहि बुझ्दैन यसले
मनै त हो केहि जान्दैन यसले
मनै त हो!!
मनै त हो !!!!