Rakesh Karki – Tataundai Jawani (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – तताउदै जवानी (गजल)

कसैले इसारा गरेझैँ भएथ्यो
कि यो दिल उनैमा मरेझैँ भएथ्यो

रहरमा म हाँसे अधर त्यो गुलाबी
नजरमा उज्यालो छरेझैँ भएथ्यो

तताउदै जवानी रमाउदै खुसीले
दगुर्दै Continue reading “Rakesh Karki – Tataundai Jawani (Nepali Gajal)”

Santosh Khadka – Kshitiz Pariko Shanti Ra Prem

सन्तोष खडका – क्षितिजपारिको शान्ति र प्रेम

म अविच्छिन्न कुरिरहेको छु क्षितिजपारिको सुन्दर जीवनलाई
जहाँ सदाबहार प्रेम र शान्ति छ
तर म बाँचिरहेको छु कृत्रिम जिन्दगी
जहाँको बस्ती प्रेम र शान्तिको अनिकालले Continue reading “Santosh Khadka – Kshitiz Pariko Shanti Ra Prem”

Baidyanath Upadhyaya – Pratibimba

बैद्यनाथ उपाध्याय – प्रतिबिम्ब

मरूभूमि जस्तो अतृप्तता
छ जीवनमा
कुनै चीजले पनि
तृप्त गराउन सक्दैन!
जानी-जानीकन भिडिएको छु
सूर्योदय देखि सूर्यास्तसम्मको दौडमा
म र मेरोको रंग पोतेर
उज्ज्याला अनुहारभरि
केवल आफ्नो तस्वीर हेर्न चाहने म मान्छे!
म चाहन्छु
मेरो समयमा
आफ्नै अनुहारको बिम्ब उत्रयोस
मेरो क्यानभासमा पीडाको ध्वाँसो खनिएर
धमिलिएको यो समय
चाहनाहरूको रंग पोखिएर
छताछुल्ल छ यो रात
असमन्जसमा छु
मैले उतार्न चाहेको त्यो प्रतिबिम्ब कुन हो?

(Sent to Sanjaal Corps via Email)

Hari Adhikari – Sharan Aansu (Nepali Gajal)

हरि अधिकारी – शरण आँसु (गजल)

नयाँ नयाँ प्रक्रियाहरुको प्रकरण जारी छ
पुरानो यो मेरो देशको अपहरण जारी छ!

आन्दोलनको भुइँचालोहरुले देश भत्कियो
फेरि राज्यविप्लवको नयाँ जागरण जारी छ!

बाँच्न पाउनु पर्छ भन्दै लडेका मान्छेहरुको-
चौताराहरुमा अनसन, आमरण जारी छ !

वीरपुर्खाहरुको रगतले कोरिएको सीमारेखा
धमिलो पानीले पखाल्ने आचरण जारी छ!

स्वतन्त्रता र स्वाभिमानको चिराग निभ्दो छ
अरुको शिक्षा, अरुकै भिक्षा र शरण’ जारी छ!

(Sent to Sanjaal Corps via Email)

Lekhnath Paudyal – Patita-Pawani Shree Gangaji Ko Jhanki

लेखनाथ पौड्याल – पतित-पावनी श्री गङ्गाजीको झाँकी

ठाडै कैलाशदेखी
द्रुततर गतिले गड्गडाएर झर्दी
झर्दा श्रीशङ्करैको
गल-गलित ठुलो सर्पझैं सल्ल पर्दी ।
लाखौं चट्टान चिर्दी
विकट गिरिशिला-कन्दरा चूर्ण Continue reading “Lekhnath Paudyal – Patita-Pawani Shree Gangaji Ko Jhanki”

Chandra Ghimire – Aalekh Ma Sunil Bastakoti

चन्द्र घिमिरे – आलेखमा सुनिल बस्ताकोटी

ट्यामचरो बासे
जो कोही फकिन्छ
तन्नेरी टाँगा चढेको
सुनिल बस्ताकोटी पनि सल्कियो
जूनको म्यानहटनमा गुँड लाउने
‘ठूलो मान्छे’ बन्ने लोभमा
छिरेथ्यो राजमार्गको पाइपमा
बिसौनीमा भो जम्काभेट
ऊ र झल्लु साहुजी सहरको
त्यो पैलो एपिसोड ।

दोस्रो एपिसोड
सुनिल जुहारीमा
गरिखान सडकदेखि सडकसम्म
फलेन जीविकायोग्य धुन
दगु¥यो ऊ धावक झैँ
न मौलायो कुरिलोझैँ सुरिलो धुन
हरेश गुमे के गर्छ मान्छेले ?
….निस्सारताको तातो कुण्डमा स्नान ।

तेस्रो एपिसोड
बारीको लाईकिरा लागेको घाम
बाँझो तिघे्र दिन
थुइक्क…केही गर्न सकिनँ
एउटाको भिसा गँुथेर
उड्यो सुनिल रकेट गतिमा— अन्जान देशतर्फ ।

काफ्का भए किन्थे होलान्
अरूले किन किन्थे ?
डालामा नबिकेका
सुनिलका नैराश्य शेयरहरू ।

अन्तिम एपिसोड
पानी थाप्दा
भर्छ पँधेराले गलाउने प्रश्नहरू
सुनिल कहाँ छ अवतरित ?
दुखिया वा सुखिया टापूमा ?

विदुर ‘बस्ताकोटी बा’ र
बाइफोकल ‘बा–चश्मा’लाई
रिप्ले भैरहन्छ
दुःखले हुर्काएको छोरो ।

नगरवधु रेनुकाकहाँ
लाभ–खातालाई भा छ पिनास
गाउँदेखि सुनिल निक्लेदेखि ।

सुनिल…हुन्थ्यो कि आइन्स्टाइन !
चमडा उतारेर के छ गर्दै ?
सब–वेमा शरणार्थी उङदै ?
वा म्याकडोनाल्डमा उमेर ठुङदै ?

Tanka Subba – Ma Madan Ra Meri Muna

टंक सुब्बा – म मदन र मेरी मुना

उता नेपालबाट म मदन र मेरी मुना
सपनाहरू खोज्दै
अर्को भोट हङकङ टेकेको पनि
बर्षौ वितिसकेछ
तर म मदन र मेरी मुनाका
सपनाहरू
सपना बनेर अझै आएका छैनन्
घाम भएर अझै उदाएका छैनन्,

हङकङमा हामीले
परीपरीका सपनाहरू देख्यौ
तर मात्रै देख्यौ
थरीथरीका सपनाहरू भेट्यौ
तर मात्रै भेट्यौ
किनकी यहाँ त ती सपनाहरू
देख्ने र भेट्ने संयोग मात्र मिलेको छ
तर पनि त्यसको मोहले
छुन खोज्दा
यहाँको अग्लो महलहरू भन्दा माथि
अग्लिएकाछन् सपनाहरू
चुम्न खोज्दा
यहाँको भूमिगत रेल भन्दा
तिव्र गतिमा
हुईकिएकाछन् सपनाहरू
भेट्न खोज्दा
यहाँको दुईतले गाडीभन्दा
हतार-हतार
गुडेकाछन् सपनाहरू
त्यसैले म मदन र मेरी मुना
सपनाहरूको रमिते मात्र भएकाछौँ
तै पनि हाम्रा मनहरू
त्यसै त्यसै लोभिएकाछन्
सपनाहरूलाई देखेर
यसकारण सपना खोज्नेहरूको
भीडमा धकेलेर
हङकङ शहरमा
बर्षौदेखि हराई रहेकाछौँ
उत्ता गाउँलेहरू सोच्दै होलान्
मदनले
सपनाको महल ठड्याई सक्यो
उत्ता शहरका
आफन्तहरू भन्दै होलान्
मुनाले सपनाको भकारी
भराई सकि
तर यता हङकङ शहरमा
म मदन र मेरी मुना
जीउँनुको बाध्यताले
जीवन यन्त्रवत बनाई रहेकाछौँ
किनकी दिनभरीको
जोखीम र हैरान मोलेर
हरेक साँझ लखतरान
निदाएका हुन्छौँ
र हरेक विहान
अल्लामको घण्टिले
शिथिल जीउलाई उठाईरहेका हुन्छौँ
यो यन्त्रवत जीवनको भोगाईहरूमा
खोई कहाँ छ र ?
बिहानीको त्यो मीठो निंद्रा
खोई कहाँ छ र ?
मखमलको त्यो नरम ओछ्यान
खोई कहाँ छन् र ?
ती आफन्त जनहरू
यहाँ त सपनाले सवै सुखशान्ति
र चयनहरू
निर्मम लुटि दिएको छ
निर्मम खोसी दिएको छ,

हङकङका चाईनिज सिफुहरू
सपना दौडेको देख्छन्
घोडारेसमा
र घोडासँगै दौडाउँछन्
महिनाभरी कमाएको सपना पनि
तिनै सिफुहरू
सपना नै छापीएको देख्छन्
मार्क सिक्समा पनि
र स्वास्नीको सपनाले
किनी दिन्छन् मार्क सिक्स
तर, जब घोडा दौड सकिन्छ
र मार्क सिक्स खोलीन्छ
तब उनीहरूको हातबाट
सपना टाढी सकेको हुन्छ
तत्क्षण पाश्चातापले पोलिँदै
रीसले मुर्मुरीदै
र्फकन्छन् खाली हात आफ्नै घरतिर
यसरी सपनाले
म मदन र मेरी मुनालाई
मात्र नभएर
चाईनिज सिफुहरूलाई पनि
छक्याउँनसम्म छक्याएको छ
तै पनि हामीले
सपनालाई खोज्न छोडेनौँ
खोजीरहेकाछौँ
यता हङकङ पसेदेखि
त्यसकै पछिपछि दौडिरहेकाछौँ
थाहा छैन सपना कहिले भेटिने हुन् ?
थाहा छैन सपना सपना भएर
कहिले आउँने हुन् ?
तर पनि खोज्ने क्रम निरन्तर जारीछ
यसरी हङकङमा
म मदन र मेरी मुनालाई
वर्षौ देखि सपनाले अल्मल्याएकाछ ।

Prakar Antar – Bhram

प्रकार अन्तर – भ्रम
(Sent to Sanjaal Corps via Email)

तिमी र म मिल्यौं भने
एउटा भ्रम अवश्य हुन्छ
तर त्यो,
आकाश र धरती मिलेजस्तो
अनन्त र अमर अवश्य हुँदैन
हामी क्षणिक छौं
जवानी मैं हो यस्तो भ्रम Continue reading “Prakar Antar – Bhram”

Lali Gurans – Chyatiyeko Man

लालीगुराँश – च्यात्तिएको मन

मोजमस्ती मै डुबेछु म, थाहा थिएन कहाँ छु
ईच्छा रहर मरीसके, अहिले जीउँदो लास भाछु
खोटो रहेछ भाग्य मेरो, पाउनु दुःख पाएं
पटक पटक जीवनमा मैले धेरै धोका खाएं ।

किन होला अब मलाई आफ्नै भरोसा छैन
साधन मात्र भएँ जहिल्यै इज्जत कहिल्यै पाइन
सबै आउँछन् मिठो बोल्छन् सपना मात्र बाँड्छन्
वास्तविकता जाने पछि मिलौं दुर भाग्छन् ।

जीवन भोग्न जानीनछु अल्लारे थियो बेला
जीवन साथी साट्दा साट्दै पुगेछु देहब्यापारको मेला
धेरै पछि चाल पाएँ यो त जीउँदो नर्क रहेछ
सयौं प्रयास गरें सुध्रिन तर धेरै ढिलो भएछ ।

संगतको फलले मलाई पिर्नु सम्म पिर्यो
आफ्नो मात्र कहाँ होर परिवारकै साख गिर्यो
कसरी धानौं बाँकी जीवन जीउने रहरै छैन
समाजले नि पिर्छ मात्रै आधार कहीं पाईन ।

लक्ष्य योजना केही छैन झरेको पात भो जीवन
बोझ लाग्न थाल्यो झन् झन् मरीसक्यो यो मन
ब्यापार पनि चल्न छाड्यो खस्क्यो क्यारे जोवन
अझै कति टालौं, कति गाँसौं च्यात्तिएको यो मन ।
अझै कति टालौं, कति गाँसौं च्यात्तिएको यो मन ।

Mohan Koirala – Euta Geet Nepal Ka Lagi

मोहन कोईराला – एउटा गीत नेपालका लागि

नेपाली आमाका नेपाली अनुहारहरू ।
नेपाली माटाका नेपाली अनुहारहरू ।
म त सप्तगण्डकी बनिसकेछु अनुहारहरूमा ।
म त सप्तकौशिकी बनिसकेछु वेशभूषामा ।
मेरा कल्पनामा छाल उठेछन् सात स्वरको ।
एउटा वीणा हो नेपाल, एउटा सारङ्गी हो नेपाल ।
एउटा तुरही हो नेपाल, एउटा सहनाई हो नेपाल ।
मुर्चुङ्गामा एक्लै सेर्पिनी खेलेर झरेकी नेपाल ।
लिम्बुनी भाखा फेरी-फेरी उक्लेकी नेपाल ।
सिपालु हातले छुनू यो सप्तस्वर आफै बज्छ ।
सप्तगण्डी छुनू सिपालु हातले सप्तस्वर आफै उठ्छ ।
लहर उठ्नेछन् हिमाली क्षितिज कालीको तीर बनेर ।
कठोरता पग्लिनेछ नबोलेको वीणालाई एक स्वर दिनु मात्र छ ।
कठिन पनि छैन नबोलेको मित्र एक फेर घचघच्याउनु छ ।
टाढा छैन नचिनेको बस्ती एक फेर पुग्नुपर्छ ।
झर्नाहरू तार हुन् सारङ्गीका, झर्नाहरू रेसा हुन् मुर्चुगाका ।
सप्तगण्डकी जहाँबाट उठ्छ, सप्तकोशी जहाँबाट बज्छ ।
तमोर, अरुण निद्राबाट जुन सितारमा उठ्नेछन् स्पर्शमा ।
हिमाली पहरा गुनगुनाउनेछन् जुन गीतले
त्यो पानी उठेको छ यो सारङ्गीमा ।
त्यो छाल खेलेको छ नेपाली गितारको तारमा ।
सप्तगण्डकी सङ्गीतमय छ समूहगानले ।
सप्तस्वर त्यसैले सङ्गीतमय छ एकान्त साधनाले ।
सप्तकौशिकी त्यसैले सप्तद्वीपमा उठेको छ मणिमाणिक्यले ।
गीत उठ्नुपर्छ यो माटोमा, सङ्गीत उठ्नुपर्छ यो उपत्यकामा ।
पहाड-पहाड देखिए पनि, ढुङ्गा-माटो देहिए पनि ।
यदि देशको ढुकढुकीमा एउटै गितार छ भने ।
यदि यो तमोरमा एउटै सङ्गीत छ भने ।
यदि यो प्राणमा एउटै मुटु छ भने ।
गाउँ हो ! नेपाली हो ! गण्डकी गाउँ-गाउँ हो ! नेपाली सप्तकोशी गाउँ ।
गाउँदा धरमरले होइन । गाउँदा कम्पनले होइन ।
हिँड्दा डगमगले होइन । एउटा नेपालीले डगमग गर्नु हुँदैन ।
एउटा गीतले यो आकाश उठ्नुपर्छ ।
एउटै सङ्गीतले यो धर्ती सङ्गीतमय बन्नुपर्छ ।
कष्ट त छ गीत गाउनु र एक्लै साज बजाउनु ।
कष्ट त छ गीतमा फेरि गेडा हुनु त्यस गेडामा कल्पनाउनु ।
एउटा मदिरा हो देशको कल्पना ।
एउटा मदिरालय हो देशको सङ्गीत ।
म गीत गाउँछु नेपाली तिमी नाच । तिमी नेपाली गीत गाऊ म नाच्छु ।
त्यो एउटा गीत सेपिनीले हेलम्बूमा गाएजस्तै उच्चाइको होस् ।
त्यो एउटा गीत थकालीले गाउन लागेको भावनाको होस् ।
त्यो एउटा मनको तार डोल्पाली सुन्दरीले छोएको होस् ।
त्यो गीत शान्तिका लागि । त्यो गीत प्रगतिका लागि ।
त्यो गीत उन्नतिका लागि । त्यो थीत प्रेमका लागि ।
त्यो गीत मुसिबतमा मोहबतका लागि ।
सप्तकोशीका लागि, सप्तगण्डकीका लागि ।
अरुणका लागि, तमोरका लागि ।
त्यो गीत विश्वप्रेमका लागि ।
नेपालीका लागि ।

Bibek Dulal Chhetri ‘Damak’ – Man Ko Sangeet

विवेक दुलाल क्षेत्री “दमक” – मनको संगीत

उपेक्षा गरिएको होस्
प्रबल सत्यको
दुत्कारिएको होस्
कटु यतार्थको
तब स्वीकार्य छैन
मलाई
त्यसबाट प्राप्त खुशी .

शिर मण्डन होस्
सरलताको
हत्या गरिएको होस्
विवेकी ज्ञानको
तव मलाइ
यो पृष्ठभूमिमा
रतीभर उभिने
रहर छैन

नदीलाई
बग्नबाट रोकेर
जब
बनाइन्छ पर्खाल
हावालाई
बहन
निषेध गरिन्छ
तब उम्रन्छ
क्रोध ममा
एकादस रुद्रको

कुवा जस्तै
सग्ला मनहरू
जब घनिघुत हुन्छन्
जताततै
घाम जस्ता उज्याला विचारहरू
जव छूनुमुनू गर्छन्
गाउ समाजमा
तब मभित्र पनि
मनको संगीत बज्छ
“सत्य कृष्ण….प्याराको ”
बासुरी बजाउदै

पखेरामा ,देउरालीमा
दौतरीहरू
जब बोल्नेछन्
मुश्कुराउदै
शब्दको लालिमा
सप्तरंगी रंगको छटा
निस्वार्थ भै
जब छरिनेछ
आमा ,दिदी ,बहिनी
र सखिहरूको
दिप्त दिनचर्यामा
तब गुन्जनेछ
मभित्र
यौटा कालजयी गीत

उपेक्षा गरिएको होस्
प्रबल सत्यको
दुत्कारिएको होस्
कटु यतार्थको
तब स्वीकार्य छैन
मलाई
त्यसबाट प्राप्त खुशी .

अस्तु ;
(वास्तविक नाम :भानुभक्त दुलाल )
दमक ,झापा
हाल :अबुधाबी ,यू ए ई .

Simanta Lamichhane – Ma Ra Duniya

सीमान्त लामिछाने – म र दुनियाँ

म हिमाल भएर हाँसे
दुनिया को नज़रमा म धेरै चिसो भए
म आकाश भएर फैलिएँ
मेरो विशालतामा प्रश्न चिन्न उठाइयो
म प्रेमी भएँ
मलाई भाबुक भनियो
मैले नेताको बिरोध गरे
मलाई प्रतिगामी भनियो
मैले झुटको बिरोध गर्दा
मलाई नै झुटको मतियार ठहर्याईयो
म विदेशिए
मलाई भगुवा भनियो
मैले कसैसंग मारपिट गरिन
मलाई नामर्द भनियो
कसैलाई ठगिन
कमजोर भनियो
म यस्तै बस्त्राभुषणले सजिदै गएँ
आज भोलि मेरो पहिचान यहि बस्त्राभुषण भएका छन्
बस्त्राभुषण भन्दा भीत्रको म कहिले देखेन यो दुनियाले
यी बस्त्रहरु मैले कहिले चाहिन
तरपनि
यी मेरो छाया जस्तै मसंग टाँसीरहे
न यीनलाई उतारेर फाल्न सक्छु
न त जलाएर जलौनै

यीनै झुटा बस्त्र पहिरिएर
म हरेक बिहान उठ्छु
हरेक रात सुत्छु
म झुट जिउँछु
तर पनि म जिउँछु
त्यो बिहानीको प्रतिक्ष्यामा
जब
सुर्यले म भित्रको
मान्छेलाई चिनेर ढकढकाउने छ मेरो घरको ढोका
अनि यी सम्पूर्ण बस्त्रहरु झर्ने छन् मेरो जिउबाट
शिशिरमा रुखबाट पातहरु झरे झैँ
अनि म नयाँ पालुवाहरू हाल्ने छु
सक्कली सुवास छर्दै
नयाँ उत्साहसंगै
त्यो दिन म हिमाल भएकोमा डाहा गर्ने धेरै हुनेछन
त्यो दिन म आकास भएकोमा रीस गर्ने धेरै हुनेछन
त्यति हुँदाहुँदै पनि
म, म नै हुनेछु
ममा कुनै परिवर्तन हुनेछैन
परिवर्तन हुनेछ
त मात्र यो दुनियाको चस्मा

– अमेरिका

Rajendra Pahadi – Desh Harayeko Suchana

राजेन्द्र पहाडी – देश हराएको सूचना

काठमाण्डौं बानेश्वरमा रहेको
संविधानसभा भवनबाट
फुत्त निस्केर
पूर्व लाग्यो या पश्चिम लाग्यो
उत्तर लाग्यो या दक्षिण लाग्यो
केही दिन अघि मेरो देश हरायो ।
खै! देश कोसँग डरायो ?
देशलाई कस्ले तसार्यो ?
देशलाई कस्ले चुस्यो ?
देशलाई कसले लुछ्यो ?

मेरो देश
पछिल्लो समय
भेषविहिन, परिचयविहिन
स्वाभिमानविहिन बाँच्न विवश
बनेको थियो
बनाइएको थियो
देश भाषाविहिन
इतिहासविहिन
नाङ्गो बन्दै गएको थियो
खै! कुन पीडाले मेरो देशले
माटो छाड्यो
थलो छाड्यो
मित्र
मेरो देश हरायो ।

महाशय,
तिमीले थाहा पायौ ?
मेरो देश हराएको छ
कहिँ कतै देख्यौं
कहिँ कतै भेट्यौं भने
पेरिसडाँडा दरबारमा
वा सानेपा दरबारमा
वा बल्खु दरबारमा
वा शितल निवासमा
खबर गरिदिनु ।

पहाडतिर
हिमालतिर
मदेशतिर
सबैलाई खबर गरिदिनु ।
देश देख्यौ भने
देश भेट्यौ भने
च्याप्प समात्नु मेरा मित्र !

देश फुत्किन सक्छ
देश उम्किन सक्छ ।

मेरा मित्र,
मेरो आस्थाको देश
ताम्सालिङतिर लाग्यो कि
लिम्बुवानभित्र छिर्यो कि
खुम्बुवानसँग मिल्यो कि
तमुवानसँग सल्क्यो कि
खै कता लाग्यो मेरो देश ?

मेरो चेतनाको धरोहर
मेरो देश
मगरातमा पस्यो कि
एक मधेश–एक प्रदेशमा फस्यो कि
खै! यहिँ कतै काठमाण्डौं खाल्टोभित्रै
नेवा प्रदेशमा बिलायो कि
अस्तित्वको संकट खप्न सकेर या नसकेर
मेरो देश हरायो ।

मेरो देशको भूगोल हरायो
मेरो माटोको अस्मिता लुटियो
म किंकर्तव्यबिमुढ देश गुमाएको पीडा
निशर्त भोगिरहेछु
आँखा फारेर नक्शामा
मेरो देश खोजिरहेछु । खोजिरहेछु ।।

मैत्रीचोक – ४, कुश्मा, पर्वत

Kopila Thulung – Mero Pal Haru

कोपीला थुलुङ्ग ‘आंशुतोष’ – मेरो पलहरु

हरेक विहानीको उषासंगै
एउटा आशा लिएर उठ्ने गर्छु
सूर्यका किरण चारैतिर फैलिएजस्तै
फैलिन्छन् आशाका लहराहरू
तर,
ती मेरा आशाहरू लहरा बनेर फैलिनुमा र
नफैलिनुमा करिव-करिव उस्तै हुन्छन्
यसरी नै कति विते हिउँद अनि वर्षापनि
त्यसैमा म घुमीरहे ऊन घुमाउने चर्खा वनि
मैले काटेको रातमा,
सिङ्गो धर्ती ओछ्यान बन्छ
खुला आकाश मोड्ने गर्छु
कति रूज्झनु झरि वादलमा
आफू वाच्न अनि वचाउनलाई
टालेकै छु थोत्रा भोटो
नाङ्डो शरीर जोगउनलाई

Saroj Dhital – Aastha Ra Avatar

सरोज धिताल – आस्था र अवतार

मान्छेको
अगाध आस्था थियो–
भगवान्मा ।

त्यसैले
निस्तेज दृष्टि भएको
माछाको रूप लिंदा उसले
मान्छे मुस्कुराइरह्यो,
सुस्त कछुवा बनिदियो भगवान्
मान्छे पूजा गरिरह्यो,
हरे †
त्यो कुरूप सुङ्गुरकै रूप लेओस्
वा वीभत्स नृसिंह रूप धारण गरोस्
मान्छेले भजन गाइरह्यो
प्रार्थनामै लीन रह्यो ।

मान्छेको अगाध आस्था थियो–
भगवान्मा ।

तर एकदिन
जब आकाशवाणी भयो–

‘भगवान्को अर्को अवतरण हुंदैछ
र यसपालि
आकर्षक अनुहारको धनी
कुशल मायावी
मनुष्य शरीरभित्र
भगवान्को प्रवेश हुंदैछ ।’

अनि मान्छेको आस्था भत्कियो ।

मान्छेले माछालाई नबुझ्ला
कछुवा र वराहलाई नबुझ्ला
तर सुन्दर अनुहार अनि
बलिष्ट शरीरसंगै
कुटिल मन लिएर
शैतानी महलमा बस्ने
आफैंजस्तो देखिने प्राणीलाई
मान्छेले जति अरू कसैले बुझ्दैन ।

Sudhir Chhetri – Samalaingik Diary

सुधीर छेत्री – समलैङ्गिक डायरी

पहिरोको ठिक्क डिलमा
ठूलो ढुङ्गा अल्झिएजस्तै गरी
भुत्लाले ढाकिएको छातीमा
अप्ठेरोसित अड्किएको छ
ब्रा।

लिप्स्टिक चाटिरहेका उसका ओँठहरू
लियोनार्डो डि-क्याप्रियोका किशोर गाला चाट्नचाहन्छ।

व्याक्सिङ् गरिएका छेपारीदेखि
च्याउँदै हेरिबस्छ मिनिस्कर्टबाट टाउको निकालेर
एउटा अश्लील ट्याट्टुले।

शनिबारको रात।
रात्रि भोज।
नयॉं होटल।
सबै सोँचेर नाइटोमा खोपेको गुलाबको फूल
मुसुक्क हॉंस्छ।

चञ्चले हावा रत्यौली गर्छ
फेशनेबल केश-विन्याससित।

ढुकढुक गर्दै आवेगहरू गन्ती गर्छन्
कृत्रिम वक्षभित्रपट्टिको
परायथार्थवादी मुटु।

हरियो चश्मापछि
लुकेका एकजोर नारसिस्ट आँखाहरू
संशोधित दृष्टिले यौन निचोर्दै रस टिप्छ।
मुहार सँधै हँसिलो राखिराख्न
अभ्यस्तताको जोगाड गरिरहेछ
रसाद्र मेक अप्।

(Sent to Sanjaal Corps via Email)

Tanka Subba – Paitalaharu

टंक सुब्बा – पाइतालाहरु

आजभोलि म सँग सम्वन्धित
मेरा एकजोर पाइतालाहरु
स्वतन्त्र मार्गमा गतिशील भैरहेकाछन्
जुनवेला उसको स्वतन्त्रता खोसीएको थियो
त्यो स्वतन्त्रता अहिले प्राप्त भएकोछ
त्यसैले पाईतालाहरु
आयतनको खोजिमा दौडीरहेकाछन्
पहिचानको खोजिमा लम्किरहेकाछन्
गाउँवाट विलाएका पाइतालाहरु
शहरवाट हराएका पाइतालाहरु
आज पाईतालाहरु कै कोलाहलबाट
नयाँ यात्राको तय गरीरहेछन्
हिजो विर्सीएका पाइतालाहरु
हिजो छोडिएका पाइतालाहरु
आज परीवर्तनको वाटोमा
हुरीवतास भएर वेगीदैछन्
जो यहि देशमा उपेक्षित थिए
तीनै पाईतालाहरु
आज हरेक ध्रुववाट
आज हरेक दिशावाट
आज हरेक स्तरवाट
केन्द्रतिर क्रमश नयाँ सोच लिएर
निरन्तर वढीरहेकाछन्
नयाँ घामको उज्यालो वोकेर
निरन्तर उदाईरहेकाछन्
जुनवेला यिनै पाईतालाहरु
शासकहरुको कालो नियमले
निषेधित थिए
वाञ्चित थिए
पीडीत थिए
तर तिनै शासकहरुको विरुद्धमा
आन्दोलन छेडे पछि
र्इतिहासले नयाँ मोड लिएकोछ
त्यसैले त ती नदेखिएका पाईतालाहरु
आफ्नो अस्तित्व खोज्दै
आफ्नो र्इतिहास खोज्दै
मुल सडकमा आईपुगेका हुन्
त्यसकारण प्रत्येक पाईतालालाई
पाईतालाको सरोकार वढेकोछ
प्रत्येक पाईतालालाई
पाईतालाको अधिकार चाहिएको छ
किनकी पाईतालाहरुलाई थाहा छ
पाईतालाहरुको सम्मान हुनुपर्छ भनेर
पाईतालाहरुको स्थान हुनुपर्छ भनेर
यसरी मसँग सम्वन्धित
मेरा एकजोर पाईतालाहरु पनि
आजभोलि यहि सडकमा मिसीएकाछन
किनकी यो सडक सम्म आईपुग्नलाई
पाईतालाहरुले वलिदान चडाएकाछन्
त्यसैले अव यो सडकमा
हरेक पाईतालाहरुको उपस्थिती
अनिवार्य भएकोछ
यर्सथ यो सडक
हरेक पाईतालाहरुको लागि हो
त्यसैले त पाईतालाहरु
कहिल्यै नटेकिएका ठाउँहरुमा टेकिएकाछन्
कहिल्यै नपुगेका ठाउँहरुमा पुगेकाछन्

पाईतालाहरु हिजो सम्म
सपनाको खोजीमा थिए
स्वधिनताको खोजीमा थिए
स्वतन्त्रताको खोजीमा थिए
तर आज तिनै पाईतालाहरु
सफलताको मार्गमा पुगेकाछन्
अव मसँग सम्वन्धित
मेरा एकजोर पाईतालाहरु मात्र नभएर
सवै पाईतालाहरुले यो सडकमा हिड्ने
समान अधिकार पाएकाछन्
त्यसैले यो सवैको साझा सडक हो

Rakesh Karki – Sanchchikai Ho Maile Chhaleko Haina (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – साँच्चिकै हो मैले छलेको हैन (गजल)

साँच्चिकै हो मैले छलेको हैन
डुबेँ होला यादमा जलेको हैन

छातीमै छ तस्वीर पिउँदै नशामा
मातेँ होला बरू ढलेको हैन

कोट्याउँने किरणले त्यो Continue reading “Rakesh Karki – Sanchchikai Ho Maile Chhaleko Haina (Nepali Gajal)”

Matrika Pokhrel – Usko Mrityu Ma

मातृका पोखरेल – उसको मृत्युमा

देशको मानचित्र बोकेर
गाउँगाउँ घुमी हिँड्ने
हामीले सधैं देखिरहेको
हाम्रै चेतनाको बारीमा
घाम रोपेर हिँड्ने एउटा मान्छे
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे मर्यो

उसको मृत्युमा
शोकले निन्याउरा भए
झुप्राहरू
नियास्रोले सुस्ताए
दलानहरू
अनुहारहरू फुङ्ग उठाएर
बेहोसझैं भए
गाउँका गोरेटाहरू
सहयात्रीहरूको एक हुल झैं
शिखर चढेको बेला तिर्खाएर
टुकुचाको नालीमा फालनहालेको
चेतनाको माछापुच्छ्रे
अस्तिमात्र ढल्यो
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे मर्यो ।

सुनेको थिएँ–
माटोको मायामा जून फल्छ
विवेकको छातीमा घाम उदाउँछ
इतिहास लेख्न सकुन्जेल
जून मर्दैन
घाम मर्दैन
मैले सुनेकै थिएँ
माटोको माया गर्ने मान्छे
मृत्युपछि पनि बास आउँछ
घाम र जूनमा रूपान्तर भएर
सृजनाको एउटा बोत्री
अस्तिमात्र निभ्यो
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे मर्यो ।

हाम्रो एकता, वर्ष १, अङ्क २, ०६१ असोज