Prem Oli – Afoo Ta Aba

प्रेम ओली – आफू त अब (झटारो )

हलो जोत्दा जोत्दै
फोन आयो पार्टीको
आफू त अब
काठमाण्डौं गइन्छ
मन्त्री नि भइन्छ
नूनदेखि सुनसम्म
रेलदेखि तेलसम्म
फलदेखि मलसम्म
बेस्सरी बढाइन्छ
कमिसन नि पाइन्छ
आउने दशैमा
पजेरोमा आइन्छ।

खलो पोत्दै गर्दा
फोन आयो पार्टीको
आफू त अब
राजधानी गइन्छ
मन्त्री नि भइन्छ
मान्नेलाई चुनेर
नमान्नेलाई थुनेर
कसैलाई चुटेर
कसैलाई कुटेर
कर्मचारीलाई ठीक पारिन्छ
खान हुने
खान नहुने
सब कुरो खाइन्छ
जसरी हुन्छ
आउने दशैमा
कालो गाडीमा आइन्छ।

घाँस काट्दै गर्दा
फोन आयो पार्टीको
आफू त अब
ठुलो शहरमा गइन्छ
मन्त्री नि भइन्छ
बन जङगल
हात्ती गैंडा सब खाइन्छ
भ्रष्टचारी, दुराचारी
सबको बिल्ला लाइन्छ
आउने दशैमा
चिल्लो गाडीमा आइन्छ।

हाँस मार्दै गर्दा
फोन आयो नेताको
आफू त अब
कान्तिपुरी गइन्छ
मन्त्री नि भइन्छ
महँगो टाइ-सुट लाइन्छ
प्रभुको गीत गाइन्छ
देश बिदेश धाइन्छ
ह्विस्की र पोर्क खाइन्छ
डलर नि पाइन्छ
आउने दशैमा
चिप्लो गाडीमा आइन्छ।

Bibek Dulal Chhetri ‘Damak’ – Kohi Bhanchha U (Gajal)

विवेक दुलाल क्षेत्री “दमक” – कोहि भन्छन् उ (गजल)

कोहि भन्छन् उ हट्टाकट्टा जवान् हो
कोहि भन्छन् उ गरिबको भगवान् हो

साच्ची उसले नगरेको केहि रहेनछ
यसर्थ उ दुइ होइन सबैको वान् हो

देख्यौ माथि गाको केकेमा अल्झ्यो केकेमा
गणतन्त्र नलेखि मानिस उ महान् हो

लर्तरो छ सबै चिज आफ्नो होस् भन्छ
मरे पनि उ सातपुस्ता बोक्ने बहान् हो

रिस या खुशीले सबै उहि मन पराउछन्
काम नगर्ने अल्क्षिको उ बडेमाको शान् हो

कसैले सुनाइ दियो “विवेक “लाई यो कुरा
कर्म गर्ने मान्छेको लागि श्रम नै बलवान् हो .

अस्तु :
दमक ,झापा

Basanta Koirala ‘Prabha’ – Andhakar Fali Aau (Nepali Gajal)

वसन्त कोइराला ‘प्रभा’ – अन्धकार फाली आऊ दिलको बत्ती बाली (गजल)
(मधुपर्क २०६६ चैत)

अन्धकार फाली आऊ दिलको बत्ती बाली
नव नेपालको स्वागतमा बजाउँदै ताली
दुःख दर्द सबै बिर्सी उज्यालोको खोजी गर्न
अधरलाई Continue reading “Basanta Koirala ‘Prabha’ – Andhakar Fali Aau (Nepali Gajal)”

Ananda Ram Paudel – Naya Nepal

आनन्दराम पौडेल – नयाँ नेपाल

‍‍नयाँ नेपाल निर्माण गर्न
दलित
जनजाती
आदिवासी
अपाङ्ग
महिला
र मधेशी
सवै पठाइयो
नेपाली मात्र भेटिएन।

Somnath Subedi – Abhab

सोमनाथ सुवेदी – अभाव

टक्टकिएर सबै पीडा
सिनित्तै सकिएर हृदयको भक्कानो
म अभावको साम्राज्यमा पुगूँ
जहाँ
अभावैअभाव होस् दुःखको !
सकिएर जम्मै आँखाको आँसु
रुनै नपाउ अबदेखि
झ्याप्पै निभेर हृदयको आगो
जल्नै Continue reading “Somnath Subedi – Abhab”

Bishnu Kumar Basnet – Timi

बिष्णु कुमार बस्नेत – तिमी

आँखामा राख्दा बिझाउन्नौ कैलै,
तिमी न मुटुमा राख्दा बिझाउँछौ।
सम्झनामा आउँछौ तिमी हरपल
हरछण, सुटुक्क खै किन परेला भिजाउँछौ।

सपनीमा छाउँछौ तिमी,
बिपनीमा आउँछौ।
मलाई भेट्न भनि-भनि,
दोबाटोमा धाउँछौ।
आँखामा…
चोर आँखाको भाकाले,
बोलाउँछौ तिमी मलाई।
तिमी मलाई हेरी-
हेरीकन, टोलाउँछौ।

Bishwa Sigdel – Rujheko Majheri

विश्व सिग्देल – रुझेको मझेरी

टाढा यात्रामा गएका
एकजोडी गौंथली
हिजै राती दलिनमा
वास बस्न आइपुगे

मैले चुलो लोटाउँदा
गग्रेटोमा बसे
बत्ती कात्न लाग्दा
मूलथाम वरिपरि घुमिरहे

म तिम्रो यादमा रमाइरहेथें
गौंथलीले दियो घरमा बसेर
साउतीको स्वरमा खै के–के भने
लाग्यो
तिमीलाई सोधिरहेछन् !

अघिल्लो हिउँदमा
हामी
यही अगेनाका छेउमा
सुत्थ्यौं नि हो गि ?

कटुसका काँढा त
खुट्टामा मात्र बिझ्छन्
ऐसेलुका काँढा त
हात मात्र कोपर्दछन्

हाल: बार्लोगञ्ज,मसुरी

Vijaya Koirala – Shoshak Ra Samanti Ko (Nepali Gajal)

विजय कोइराला – शोषक र सामन्तीको (गजल)

शोषक र सामन्तीको किल्ला ढाल्नुछ।
अन्याय र अत्याचारको जरो फाल्नुछ।

सिधा औंलो निष्काम भो सधैँ हारिरहने।
सकुनीको चतूर चाल अब चाल्नुछ।

दबिएका बोली सारा माथि उठाउन।
क्रान्तिको दीप मन मुटुमा अब बाल्नुछ।

कति दब्ने कति मर्ने सोझा जनता ती।
अत्याचारी-शोषकलाई जेल हाल्नुछ।

रोएका ती जनता सारा घाऊ ताजै छन्।
मलमरुपि बोली लगाइ पीडा टाल्नुछ।

नयाँ नेपाल नयाँ नेपाल सस्तो नारा भो।
युवा सारा माथि उठि विकास थाल्नुछ।

Yogendra Raj Sharma – Sarkar Chor

योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’ – सरकार चोर

मान्छे मान्छेसँग
र मान्छे बाटोसँग लाज मान्छ
र झ्यालमा पर्दा लगाउँछ ।
मान्छे मान्छेसँग
र मान्छे बाटोसँग डराउँछ
र ढोकामा चुक्कल लगाउँछ ।
हरेक मध्यमवर्गीय Continue reading “Yogendra Raj Sharma – Sarkar Chor”

Somraj Abhaya – Hamrai Chha Thulo Jagat

सोमराज अभय – हाम्रै छ ठूलो जगत्
(मधुपर्क २०६६ असोज)

पैसा गोरखनाथको, मुलुक नै श्रीपस्पतिनाथको !
साँढेमा सुनका चढेर शिवजी रक्षा गरून् देशको !
छोडून् पौरख गर्नलाई सबले बाँधून् दुवै हात नि !
हाम्रो Continue reading “Somraj Abhaya – Hamrai Chha Thulo Jagat”

Saroj Dhital – Sfatik Ko Chiso Bhitra Kaid Itihaas

सरोज धिताल – स्फटिकको चिसोभित्र कैद इतिहास

एकचोटी
एउटा इतिहास–
एकादेशको कथाभन्दा
धेरै सत्य एउटा इतिहास
पग्लिएर आफ्नै आगोमा
बलेछ लाभा झैँ ।

एउटी वीराङ्गना
दन्त्यकथाकी परीभन्दा
धेरै सत्य एउटी वीराङ्गना
जन्मिएर आफ्नै गर्भबाट उठिछ जीवन झैँ ।

थाहै भएन
निलेछ त्यो लाभाले जीवनलाई कि
पिएछ जीवनले तातो लाभालाई
ती एकाकार भए

अहँ
थाहै भएन
लपेट्यो इतिहासले उसलाई वा
धारण गरी वीराङ्गनाले इतिहास
ती साँच्चै एकाकार भए

तर
जमेकी छ ऊ आज
चिसो इतिहाससँगै
स्फटिकको ठण्डीभित्र कैद भएर
दूर क्षितिजमा सुनिँदैछ
धारिलो, चिसो
बरफको धारले आहत
घाइते मान्छेको क्रुद्ध आवाज

“के अब कहिल्यै बग्दैन
लाभा इतिहासको
आगो के मरिसक्यो ?
जीवन के उठ्दैन फेरि?
के दन्त्यकथा भई
वीराङ्गना ?”

Bikram Subba – Pilo

बिक्रम सुब्बा – पिलो

युगौँदेखि उत्तानो आँ…खोलेर बसेको
कान्तिपुर
कहिल्यै नअघाउँने खञ्चुवा मुख
जसको अनुहारबाट सर्वत्र पीपैपीप खस्या’छ
किनभने पीलोझैँ पाकेर निधारमै
ढ्याक्क सिंहदरबार बस्या’छ ।

Acharya Prabha – Yo Barsha Hamrai Hit Banera Aaunechha

आचार्य प्रभा – यो बर्ष हाम्रै हित बनेर आउनेछ

बिस्मृतिको धुलोमा
पुरिँदै, धसिँदै
अनि कुना,कन्दरा र डाली डालीमा
लहराउँदै आयो भन्छन्
नयाँ बर्ष।

मनमष्तिस्कमा
बिझाउँदै,पोल्दै
अनि आँखा र अधरहरूमा
लोलाउँदै, मुस्काउँदै
सुसायो भन्छन्
नयाँ बर्ष ।

खै त! अतितमा झै
उल्लास र उमंग
नयाँ बर्षको?
खै त! बिगतमा झै
हर्ष र खुशियाली
नव आगमनको?
हो सबै प्रश्नहरू
अनुत्तरित छन्
सबै जिज्ञासाहरू
मौन छन्
किनकि हामी सबै
यस घडी मौनताको
छाँयाभित्र अल्मलिएकाछौं
त र पनि हामी
हौं, आशाबादी
यो बर्ष हाम्रै हित
बनेर आउनेछ,
यो समय हाम्रै जीत
बनेर छाउनेछ।

पन्साऊँ नकारात्मक
सोंचहरूलाई,
हटाऊँ बैमनष्यताका
पर्खालहरूलाई,
गरौं न्वारान
आउने नयाँ शिशुको
राखौँ नाम
शान्ति र सद्भाव भनी ।

पर्दैन गर्न स्वागत
फूलको हत्या गरेर
पर्दैन गाउन गीत
शुभकामना भनेर
गरौं चोखो आत्माले
भाव स्वच्छ पोखेर
मिलाऊँ हातहरू
नयाँ बर्ष सुखद
होस् भनेर।

यही कामना गरौ
सबै मिलेर,
नयाँ भावना जगाउँ
नव बर्ष फलोस्, फुलोस
भनेर।

Bibek Dulal Chhetri ‘Damak’ – Aajkal Ta Manchhe Ko Bichar (Gajal)

विवेक दुलाल क्षेत्री “दमक” – आजकाल त मान्छेको विचार (गजल)

आजकाल त मान्छेको विचार यति पगारिएको छ
पुरा नहुने सपनाको भारी बोकेर , उ पछारिएको छ

मेरो देशमा कृतिमान राख्नेहरूको कुनै कमि छैन
अनि त नियम र कानुनले नदिएको कुरालाई सकारिएको छ

पुरानो र नयाँ पुस्ता बिचमा लम्बिएको छ दूरी
विद्वान छोराबाटै मध्येरातमा बाबु लघारिएको छ

बिज्ञापन र प्रसिद्दिले खानै माग्दैन होला शायद
यहि भएर होला सुन्दरीको मुहार दिन दिनै लतारिएको छ

ए अविस्वास र अहितको खातिर जिउनेहरू हो !
विवेक आफैमा सक्षम छ ,नठान्नु उ कसैको दयामा पसारिएको छ .

अस्तु :
(वास्तविक नाम : भानुभक्त दुलाल )
दमक ,झापा
हाल : अबुधाबी , यु ए इ .

Prakash Dhamala – Samaya, Shahid Ani Santan

प्रकाश धमला – समय, शहीद अनि सन्तान

धेरै वर्ष अघि
टाटनामा भेडा बाख्रा कराउँदै गर्दा
तबेलामा घोडी बछेड़ी हिन्हिनाउँदै गर्दा
म माथिल्लो छिमेकीकोमा रातो तारा माग्दै थिएँ
पर क्षितिजमा परिवर्तन चियाउँदै गर्दा
मेरा सन्तान हन्बेर्नोझैँ परजीवीको हातबाट
शोषणको तेल पुस्न विवश थिएँ
भूमिसंग सुहागरात मनाउन
चट्टानहरु ब्यस्त थिए
बिचारी मेरी जननी रुँदै, कराउँदै, हिकहिकाउँदै
बलात्कार स्वीकार्न बाध्य थिइन्
त्यतिखेर
समय निश्चित परिधिभित्र कैद थियो
जञ्जिरमा, यातनामा, बलात्कारमा, गोला-बारुदमा
लठ्ठीमुंग्रीमा |

बीस वर्ष अघिसम्म मेरी भूमि
आँधी-तुफान जन्माउँछु भन्थिन्
सौर्य बीरबहादुर जन्माउँछु भन्थिन्
आस्थावान हर्कबहादुर जन्माउछु भन्थिन्
एकताको प्रतिमूर्ति दिलबहादुर जन्माउँछु भन्थिन्
ऐतिहासिक बहादुर जन्माउँछु भन्थिन्
जसले तराई, पहाड, हिमालमा
पुरिएका आफ्ना सन्तानहरु खोज्न सकुन्
तर समयको कोल्टे फेराइसंगै
पाषणहरुको घुमाउरो जालमा परेर
मेरी भूमिले हजारौं भ्रुण हत्या गर्नु प-यो
कहिले चिरांगको डम्फु गएर
कहिले उत्तरी चेमगांग गएर
कहिले मध्य-साम्ची गएर
कहिले दक्षिण गेलेफुग गएर |

अहिले
मेरी जननीको तस्विर बोकेर
मेरा भावी सन्तान संसारभर छरिएका छन्
अतीतको असह्य घाउ बोकेर
सुन्दर भविष्य सुरक्षार्थ निरन्तर हिँडिरहेछन्
“तिम्रो” ग्रोस नेसनल हेपिनेसको लालचा नगरी
तिम्रो कुकुर हाँस्ने सडक
तर मान्छे रुने घरहरुको स्थिति बोध गराउन
अनवरत प्रयास गरिरहेछन
यो समय परिधि बाहिर स्वतन्त्र छ
सत्यमा , आदर्शमा , भ्रातृत्वमा,एकतामा
सायद् तिमीले आतंककारी कल्पना गरेका
मेरा पुर्खा शहीद भएर अमर थिए
अमर छन्
अनि अमर रहने छन्
समयको ऐतिहासिक पृष्ठभूमिमा |

– Adelaide Australia

Bhawesh Bhumari – Timro Eklo Nirnayale

भावेश भुमरी – तिम्रो एक्लो निर्णयले
(मधुपर्क २०६६ माघ)

तिम्रो एक्लो निर्णयले हुनु घाइते भा’छु
तिम्रै प्यारको जाहेरीमा हाजिर हुन आ’छु

जेल हाल या त नेल अब तिम्रो खुसी
म बाँचुला तिम्रै छेउमा पिरो आँसु पुछी
तिमीबाट एक्लिएँ म मलाई एक्लै पा’छु
तिम्रै प्यारको जाहेरीमा हाजिर हुन आछु

तिम्रो मन सुखी देख्ने मेरो इच्छा बाँकी
यत्ति इच्छा राखुँला म जुनीजुनी साँची
तिमीलाई खोज्दा मैले पीरको गीत गा’छु
तिम्रै प्यारको जाहेरीमा हाजिर हुन आ’छु

-मरन्ठाना-८, प्यूठान

Yuddha Prasad Mishra – Chhaun Hami Badmas

युद्धप्रसाद मिश्र – छौं हामी बदमास

व्यथा दूर भई निम्न वर्गमा
शान्तिको लिन सास
आयो क्रान्ति ठूला-ठालुको
उडे होस हवास

लाखौं झुपडीका प्रगतिमा
महलहरूको नाश
जीवन सारा लुटिएकाको
खुकुरीमा विश्वास

हाम्रा श्रमले महल-महलमा
हुन्छन् हास बिलास
रण्डी नाच्छन् व्हिस्कि ब्राण्डी
ढल्छन् कयौं गिलास

जाग्यौं अब सन्तान देशका
पार्छौं एकै गाँसर्
वर्ग शत्रुका निम्ति हामी
उग्रवादी हौं खास

लुटिएका छौं पिटिएका छौं
खै हाम्रो घरबास
प्रति हत्याका वीर सिपाही
छौं हामी बदमास

Rupesh Rai – Bahya Smriti Daap Bata

रुपेश राई – बाह्य स्मृति दापबाट…

स्वस्थ
तर, अस्वस्थ,
कति रोए ‘दार्जीलिङ’,
ठीक, म बाल्यावस्थामा थिएँ ।
आशा
तर, निराशा,
कति रिक्त भावना,
ठीक, म अक्षरावस्थामा थिएँ ।
‘ख’
तर, ‘भू’
कति खोजे बिकल्प
ठीक, म यौनावस्थामा थिएँ ।
भोक
तर, भोजन
कति यत्न प्रत्याशा
ठीक, म भोगावस्थामा थिएँ ।
विवेक
तर, पिँजड़ा
कति चाहे स्वतन्त्र
ठीक, म बाध्यतामा थिएँ ।
चीर
तर, नग्न
कति लागे कलङ्क
ठिक, म लथालिङ्ग थिएँ ।
पाए
तर, खोसिए
कति लुटे अस्मिता
ठीक, म वेहोशीमा थिएँ ।
मान
तर, अपमान
कति सहे उनले
ठीक, म षड़यन्त्रमा थिएँ ।
देखे
तर, अन्धो
कति भए सहिद
ठीक, म मेचमा थिएँ ।
कलम
तर, हिंसा
कति पढ़े ‘मुर्ख’
ठीक, म सन्धानमा थिएँ ।
सम्झौता
तर, विडम्बना
कति पर्खे ‘दार्जीलिङ’
ठीक, म अन्योलमा थिएँ ।
उन्नति
तर, अवन्नति
कति देखे भ्रष्टचार
ठीक, म महलमा थिएँ ।
सम्झे
तर, बिर्से
कति हतास आत्मा
ठीक, म चिकित्सामा थिएँ ।
यत्न
तर, विफल्
कति फोरे चक्षू
ठीक, म नजरबन्दमा थिएँ ।
विश्वास
तर, घात
कति फिक्सन ‘प्रदेश’
ठीक, म मुट्ठिमा थिएँ ।
विजय
तर, पराजय
कति भए अन्य
ठीक, म स्तिपामा थिएँ ।।

दार्जीलिङ

Lavanya Raj Niraula – Bishwas Gari Maya Garda

लावण्यराज निरौला – गीत
(मधुपर्क बैशाख, २०६७)

विश्वास गरी मायागर्दा
धोका पनि मिल्छ अरे
त्यसैले त कसैसँग
बरु माया नलाउनु रे ।

चोखो माया गर्नेसम्म
झुटा पनि चोखै हुने
पग्लिनेलाई फसाएर
हेप्ने उल्टै ठूलो हुने ।

प्रेमको सट्टा प्रेम नमिल्ने
कोमल मनलई तोडिदिने
सुखमा नै मात्र साथ
दुःख पर्दा छोडिदिने

साँचोमाया त्याग गर्नु
सार छैन स्वार्थीलाई
कमलो मन दुग्छ भने
तोडे हुन्छ बन्धनलाई ।

झुटो भए माया गर्छन्
साँचोलाई हेला गर्छन्
साँचोलाई झुटो पार्न
झुटकै अनेक खेला गर्छन् ।

Sarubhakta – Mutu Dhadkine Dhunga Haruko Gaun

सरुभक्त – मुटु धडकिने ढुंगाहरुको गाउं

भुगोलमा नहराएको एउटा देश
र देशमा नहराएको एउटा गाउं
जब गाउंलेहरुका मन भित्र हराउंछ
उत्तरीय क्षितिजको पर्दा
खुलेर कहिले
हिउंका चिसा चिसा फूलहरु रुन्छन्
धुरु धुरु नरोउ भन्दै
छोंगों डांडांमा

पुर्खाका आत्माहरु भतभती पोल्दै
मलाई थहा छ
त्यता कतै हराएका छन्
अंधेरी खोलाका गीतहरु
लाटो कोसेरो झोक्रीएर
भर दिन भर रात
एउटा सानो गाउं
जहां घरहरु छन्
तर मान्छेहरु छैनन्
ए, कहां हराए
भएका घरका
नभएका जस्ता मान्छेहरु ?
ए, कहां हराए
नभएका जस्ता मान्छेका
भएको घरहरु ?
लेकाली हावा
आलु गांठो कस्ले पार्ने
अनि कस्ले सुन्ने
खरबारीको अजम्बरी व्यथाहरु
उफ! तामागी
मुटु धडकिने ढुगांहरुको
एउटा सुन्दर गाउं
तिमी सेतो छाला ओढी आउनेहरुका लागी
मात्र एउटा प्राचीन संग्रहालय नबनिदेऊ !
तिमी आफ्नो अस्तित्व बिर्सेर कहिल्यै पनि
आफैलाई जीवित लास नगनिदेऊ !

रचनास्थल: तामागी, २०५५